News Summary
Generated by OK AI. Editorially reviewed.- डट्पेनको बिर्कोमा राखिने सानो प्वालले निलेको अवस्थामा श्वास नली पूर्ण रूपमा बन्द हुन नदिएर सुरक्षा जोखिम कम गर्छ।
कलम हामीले धेरै प्रयोग गरेको वस्तु हो । स्कुल जाने उमेरदेखि पाको उमेर हुँदासम्म कुनै न कुनै पल हामीले कमल समाइरहेकै हुुन्छौँ । सायद यो पढिरहँदा तपाईंहरूमध्ये कतिपयले हातमै समातिरहनुभएको पनि होला ।
कति जनाको खल्तीमा, ब्यागमा कलम अवश्य छ होला । हेरक कलमको बिर्कोलाई एक पटक ध्यान दिएर हेरौँ त, त्यसमा सानो प्वाल हुन्छ ।
आखिर किन राखिन्छ त कलमको बिर्कोमा सानो प्वाल ?
हामीले दैनिक जीवनमा कलम प्रयोग गर्दा बिर्को लगाउने र खोल्ने गर्छौं । तर धेरैजसो मानिसले त्यस बिर्कोको टुप्पामा रहेको सानो प्वालबारे कहिल्यै गहिरिएर सोचेका हुँदैनन् । यो प्वाल कुनै सुन्दरता वा आकर्षणका लागि गरिएको डिजाइन होइन । यसको पछाडि मानवीय सुरक्षा र व्यावहारिक पक्ष जोडिएको हुन्छ ।
प्रायगरी सानो बिर्को भएका डट्पेनहरूमा अनिवार्य रूपमा यस्ता प्वाल राखिएको हुन्छ ।
सुरक्षामा सुरक्षा जोखिम कम गर्न
डट्पेनको बिर्को सानो हुने हुँदा विशेष गरी बालबालिका वा कलम टोक्ने बानी भएका व्यक्तिहरूले झुक्किएर निल्न सक्छन् । यदि यस्तो बिर्को श्वास नलीमा अड्कियो भने प्वाल नभएको खण्डमा हावाको बाटो पूर्ण रूपमा बन्द हुन सक्थ्यो । प्वाल भएको बिर्कोले भने हावाको आवतजावत सम्भव बनाउँछ । तत्काल श्वास रोकिएर गम्भीर अवस्थामा पुग्नबाट जोगाउँछ । अस्पताल पुग्ने र घाँटीबाट बिर्को निकाल्न समय मिल्छ ।
हावाको सन्तुलन मिलाउन
हामीलाई लाग्न सक्छ कि कलमको बिर्कोमा प्वाल राख्दा मसी सुकेर कलम काम नलाग्ने हुन सक्छ । तर, वास्तवमा यसको ठीक उल्टो हुन्छ । त्यो सानो प्वालबाट हावा आवतजावत हुँदा कलमभित्रको हावाको चापलाई सन्तुलित राख्छ र मसीलाई सुक्न दिँदै न। यसबाट पास हुने हावाको मात्रा धेरै थोरै हुने भएकाले त्यसले मसी सुकाउँदैन । कलमको सुरक्षा र कार्यक्षमताका लागि प्वालले राम्रो काम गर्छ ।
बिर्को लगाउँदा भित्रको हावा बाहिर निस्कन्छ र खोल्दा हावा भित्र छिर्छ । यसले चाप सन्तुलित राख्छ र बिर्को सजिलै खोल्न तथा लगाउन सकिन्छ।
कसरी सुरु भयो ?
यसको सुरुवात बेलायतबाट भएको मानिन्छ । सन् १९७० देखि १९८४ सम्म त्यहाँ धेरै बालबालिकाको कमलको बिर्को निलेर मृत्यु भएपछि सुरक्षा मापदण्ड बनाइएको थियो । सन् १९९१ मा, बीआईसी लगायतका कम्पनीहरूले डट्पेनको बिर्कोको माथिल्लो भागमा सानो प्वाल राखेर डिजाइन गर्न थाले । यसपछि त्यसको अर्थ र उद्देश्य बुझेर अन्य कम्पनीहरूले पनि यसलाई पछ्याउन थाले ।
अहिले यो डिजाइनका लागि अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड नै लागू गरिएको छ ।
प्रतिक्रिया 4