+
+
Shares

भग्नावशेषको शिविरबाट

अमरदीप सुनुवार अमरदीप सुनुवार
२०८३ भदौ ३० गते १८:४७

भग्नावशेषको थुप्रोले
बनेको अभिशप्त शिविरबाट
खण्डहर प्रकृतिशालामा टोलाएर
होस ठेगानाविहीन भएर
किंकर्तव्यविमूढ मुडमा
हामीहरू हर हमेसा
पढिरहेछौं निर्माण–विनिर्माणका बडापत्रहरू
गमिरहेछौं प्रलय–महाप्रलयका आख्यानहरू।

तिमीहरू भग्नावशेषले थिचिएपछि
आफन्त र साथीहरू स्वयं भग्नावशेष बनेपछि
हामी एकाएक स्तब्ध भएका छौं
सर्लक्कै अर्धचेतयुक्त भएका छौं
हामी भग्नावशेषतुल्य भएका छौँ।

एउटै लासमा
धेरैले दावी गरिरहेको
आततायी महाविपत्तिको
घनघोर त्रासदीबीच
खण्डहर किनारामा उभिएर
कहालिँदै चुपचाप पिइरहेछौँ पीडाहरू
बर्बराउँदै मौनताको कोलाहलहरू ।

बेपत्ताहरूको सूचीहरूमा
प्रतिवादी समयको प्रहरहरूमा
आफन्तको लास भेट्टाउनु अहोभाग्य मान्दै
गराएर डी एन ए परीक्षण
बनेर अभिभावकविहीन अनाथ
अग्रपंत्तिमा उभिएर याचना गरिरहेछौँ
चामत्कारिक उद्धार र पुनर्स्थापनाको
र खण्डहर बगरको किनारमा भक्कानिँदै
मागिरहेछौँ ज्वाजल्यमान जीवनको भिक्षा।

प्रकृति रिसाउनुको पनि हद हुँदो हो
बाढीले बौलाउनुको पनि सीमा हुँदो हो
तर यो लम्पसार परेको विरासतको
छताछुल्ल पोखिएको रौद्रताबीच
पचाइरहेछौँ–आततायी यातनाहरू
निलिरहेछौँ–विपद्का ताण्डव औकातहरू।

विकासको कोपभाजन
र महत्वकांक्षाको रतन्धो
दोछाँया परेको सीमानामा
हामीलाई माफ गर्नुहोस्
लासहरूको बिस्कुनबीच
लाचार समयरेखामा छट्पटाउँदै
हामीले गर्न सकिरहेको छैनौं
जिजीविषाको बन्ध्याकरण।

उदासिन स्मृतिहरू
छटपटाइरहेका सपनाहरू
र निस्सासिएका सुस्केराहरू सुसेल्दै
मोटो समयको चोटलाई बदर गर्न
खोटो प्राकृतिक खम्बीरलाई खारेज गर्न
करुणाको हस्तरेखालाई कौशल करार गर्न
सदर गरिरहेछौं प्रकृतिका महासच्चाइहरू।

प्रकृतिक महाप्रलयका विरुद्ध
भग्नावशेषतुल्य भएर
भग्नावशेषकै शिविरबाट
चित्कारका आँसु खसाल्नु बाहेक
सहयोगी हातहरू उठाउनु बाहेक
आगातलाई विपत्तिका पाठहरू सिक्नु बाहेक
भग्नावशेषको चिहानमाथि उभिएर
खोजिरहेछौँ हराइरहेकाहरूलाई
गरिरहेछौँ उत्खनन् पुरिएकाहरूलाई
र लेखिरहेछौं श्रद्धासुमन मृतात्माहरूलाई।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?