+
+
Shares

बाढीमा हराएका विद्यार्थी खोजिरहेका प्रधानाध्यापक

नीलकण्ठ माध्यमिक विद्यालयका प्रधानाध्यापक माधव लामिछाने सुनाउँछन्– केही अभिभावकसँग र होल्डिङ सेन्टरका मान्छेहरूसँग हाम्रा विद्यार्थीको अवस्था के छ ? कसरी बसिरहेका छन् ? एक पटक भेटौं भनेर हिँडेको हुँ ।

दिनेश गौतम दिनेश गौतम
२०८३ भदौ २९ गते १८:११
Listen News
0:00
0:00
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवाको उत्तरगया गाउँपालिका–५ स्थित नीलकण्ठ माध्यमिक विद्यालयका १०० बढी विद्यार्थी अझै सम्पर्कमा छैनन्, प्रधानाध्यापक माधव लामिछानेले भेट्न होल्डिङ सेन्टर र काठमाडौंसम्म खोजी गरेका छन्।
  • १० भदौको भोटेकोशी बाढीमा उक्त विद्यालयका ५०८ विद्यार्थीमध्ये १०० हराएको र चार शिक्षक पनि प्रभावित भएको प्रधानाध्यापक लामिछानेले बताए।
  • विद्यालयले १०० जनाका लागि आवासीय व्यवस्था तयार पारेको छ र सरकारले २०० जनाको हिमाली आवासीय छात्रावास कोटा दिनुपर्ने माग गरिएको छ।

२९ भदौ, काठमाडौं । रसुवाको उत्तरगया गाउँपालिका–५ स्थित नीलकण्ठ माध्यमिक विद्यालयका प्रधानाध्यापक माधव लामिछाने बाढीमा हराएका विद्यार्थी खोजेर हिँडिरहेका छन् ।

१० भदौको विनाशकारी भोटेकोशी बाढीमा धेरै विद्यार्थी हराए । बाँचेकाहरू होल्डिङ सेन्टरमा रहेको थाहा पाएपछि विद्यार्थी खोज्दै उनी रसुवा, नुवाकोट हुँदै काठमाडौं आइपुगेका रहेछन् ।

उक्त विद्यालयका १०० बढी विद्यार्थी अझै सम्पर्कमा छैनन् । बाढीमा परी २०० विद्यार्थी हराएको अनुमान थियो । ‘तर तथ्यांक घटेर अहिले १०० मा आएको छ,’ प्रधानाध्यापक माधव लामिछानेले भने ।

गत बिहीबारदेखि विद्यालय खोल्ने निर्णय भयो । ‘विद्यालय सञ्चालन गर्ने भनेर खोल्यौं । दुई दिन हेर्‍यौं । डेढ सयजति विद्यार्थी फर्किए,’ उनले भने, ‘बाढीअघि ५०८ जना विद्यार्थी थिए । बाढीमा १०० विद्यार्थी हराए ।’

बाँकी विद्यार्थी कहाँ छन् त ? विद्यार्थी विद्यालय नफर्किएपछि उनी होल्डिङ सेन्टरहरूमा पुगे ।

‘फोन सम्पर्कबाट केही अभिभावकसँग र होल्डिङ सेन्टरका मान्छेहरूसँग हाम्रा विद्यार्थीको अवस्था के छ ? कसरी बसिरहेका छन् ? उनीहरूका अभिभावकको अवस्था के छ भनेर सोधखोज गरेका थियौं । एक पटक भेटौं भनेर हिँडेको हुँ,’ उनले भने, ‘भोगटीटारबाट फलाखु खोलाको झोलुङ्गे पुल तरेर दुई–साढे दुई घण्टा उकालो उक्लिएर नुवाकोट दरबारतिरका होल्डिङ सेन्टरहरूमा छिर्दै विद्यार्थी भेट्दै आएँ ।’

काठमाडौंमा पनि केही विद्यार्थी आएको खबर पाएपछि उनी यहाँ आएका हुन् । ‘तर काठमाडौंमा कता हुनुहुन्छ भनेर खोजेको, मेलोमेसो मिलेको छैन,’ उनले भने, ‘बाढीले घर बगाएपछि कतिपय आफन्त खोज्दै काठमाडौंमा आउनुभएको छ ।’

आफन्त गुमाएपछि काजकिरिया गर्न पनि उता ठाउँ नभएपछि काठमाडौं आएका थिए । सोही क्रममा विद्यार्थी पनि अभिभावकसँगै आएका छन् ।

विभिन्न होल्डिङ सेन्टरमा पुग्दा आफ्ना विद्यार्थीसँग उनले भेट गरे । ‘कति विद्यार्थी नुवाकोटतिरकै होल्डिङ सेन्टरमा रहेछन्,’ उनले भने, ‘भेट हुँदा विद्यार्थीहरू खुसी भए ।’

उनले विद्यार्थीमा दुईथरी मानसिकता देखे । एउटा आफूहरूलाई स्कुलले लगिदिए हुन्थ्यो भन्ने छ । तर जाने बाटो छैन । केही विद्यार्थी फर्किंदा फेरि बाढीपहिरो आउने हो कि भन्ने रहेछ,’ उनले भने ।

बस्ती नरहेपछि कतिपय अभिभावक नफर्किने मनस्थितिमा रहेको उनले पाए । ‘हाम्रो बस्ने ठाउँ छैन । फर्किएर कहाँ बस्ने ? के खाने भन्ने चिन्ता छ,’ लामिछनेले भने, ‘त्यो चिन्ताले विद्यार्थीमा दोधार पाएँ ।’

यो विद्यालय अग्लो ठाउँमा भएकाले बाढीले क्षति पुगेन । तर बाटोमा आउँदै गरेका विद्यार्थी परेका थिए । कक्षा ६, ७, ८ र १० कक्षाका विद्यार्थीको कोचिङ चलेको थियो । विद्यालयमा भएका विद्यार्थी पनि जोगिए । तर तल्लो कक्षाका विद्यार्थी धेरै परे ।

‘३ कक्षाबाटै १६ जना विद्यार्थी हराइरहेका छन् । नर्सरी, केजी, १, २, ३, ४ र ५ कक्षासम्मका विद्यार्थीलाई बसमा लिएर आउँथ्यौं । ९ र ११–१२ कक्षाका विद्यार्थी हिँड्दै आउँथे । १० कक्षाका विद्यार्थी आइपुगिसकेका थिए,’ उनले भने, ‘बाटोमा हिँड्दै आउने विद्यार्थीहरू बाढीको चपेटामा परे ।’ सडकमा निस्केर स्कुल बस कुरेर बसेका विद्यार्थीलाई बाढीले लग्यो ।

बुवा–आमा दुवै गुमाउने बालबालिका छन् । अभिभावकविहीन भएका बालबालिका पनि होल्डिङ सेन्टरमा छन् । उनीहरूलाई विद्यालयमा लैजान चाहन्छन् लामिछाने ।

‘अब बुवा–आमा गुमाइसकेपछि अभिभावकत्व गाउँपालिकाले लिनुपर्छ । विद्यालयको हिसाबले हामीले पनि लिनुपर्छ । ती विद्यार्थीलाई विद्यालय ल्याउन खोजेर हिँडिरेका छौँ,’ उनले भने ।

विद्यार्थी मात्र होइन उक्त विद्यालयका चार जना शिक्षक पनि बाढीमा परेका छन् । ‘अहिलेसम्म एक जनाको शव पहिचान भएर काजक्रिया गरिसक्नुभयो । अरू तीन जना बेपत्ता नै हुनुहुन्छ,’ उनले भने ।

शोकलाई शक्तिमा बदलेर विद्यालय सञ्चालन भइरहेको छ । तर विद्यार्थी विद्यालयमा ल्याउने वातवरण बनाउन उनी लागिरहेका छन् ।

‘विद्यार्थी विद्यालय फर्किने वातावरण बनाउनु पर्नेछ,’ उनले भने, ‘जो विद्यार्थी विद्यालय छोडेर ठाउँ सुरक्षित भएन भनेर नुवाकोटतिर आइपुग्नुभएको छ, विद्यालय सुरक्षित ठाउँमा छ । तर परिवारको बसोबासको कुनै ठेगान नभएर आउनुभएको छैन । विद्यार्थीलाई विद्यालय फर्काइहाल्न जरुरी छ ।’

आवासीयका लागि १०० बेड बनाइसकिएको छ । ‘ओढ्ने–ओछ्याउनेसहित सबै तयारी अवस्थामा छ । किचेनका सामानहरू पनि तयारी अवस्थामा छन् । १०० जनाको लागि व्यवस्थापन भइसकेको छ,’ लामिछानलेले भने ।

सरकारलाई हिमाली आवासीय छात्रावासको प्रबन्ध गरिदिन उनको आग्रह छ । ‘२०० जनाको आवासीय व्यवस्थापन गरिदिनुस् भनिराखेका छौं । हिमाली आवासीय छात्रावास भयो भने अभिभावकले पनि बुझ्नुहुन्थ्यो,’ उनले भने, ‘सरकारले हिमाली छात्रावासको कोटा २०० जनाको प्रदान गर्‍यो भन्नेबित्तिकै अभिभावकमा, विद्यार्थीमा सकारात्मक ऊर्जा प्रदान हुन्छ।’ विस्थापितलाई राख्न जग्गा पहिचान गर्न स्थानीय तहलाई उनी आग्रह गर्छन् । घरबारविहीन भएकालाई सुरक्षित बासको व्यवस्था भएमा अभिभावक फर्किने आशा उनको छ ।

‘घरबारविहीन भएका छन् । प्रत्येक घरमा कोही न कोहीलाई बाढीले लगेको छ । उनीहरूको सुरक्षित बासको व्यवस्था गर्नुपर्छ । विद्यार्थी अभिभावकलाई मनोवैज्ञानिक रूपमा तयार पार्नुपर्ने छ,’ प्रधानाध्यापक लामिछानेले भने ।

तस्वीर-भिडियो : आर्यन धिमाल/अनलाइनखबर

लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?