+
+
Shares

विपद् पर्खिरहेको वीरेन्द्रनगर

खोलानालामाथि बढ्दो अतिक्रमण, अव्यवस्थित ढल तथा उपत्यकाको पानीको निकास साँघुरो हुँदा सामान्य वर्षामा समेत वीरेन्द्रनगरको दक्षिणी भू–भाग डुबानमा पर्छ ।

यज्ञ खत्री यज्ञ खत्री
२०८३ भदौ २९ गते १६:१५
Listen News
0:00
0:00
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बिहीबार बेलुका एक घण्टामा ४५ मिलिमिटर पानी पर्दा वीरेन्द्रनगरको खजुरा, मंगलगढी र ऐरी चोकसहित मुख्य बजार क्षेत्र डुबानमा परेको छ।
  • डुबानले आर्मी स्कुलको १० मिटर पर्खाल भत्किएको, पसल र सवारी साधनमा क्षति पुगेको र तुलसी बुढाथोकी चट्याङबाट घाइते भएकी छिन्।
  • विशेषज्ञ र स्थानीयले खोलानाला अतिक्रमण, निकास साँघुरो र अव्यवस्थित शहरीकरणलाई डुबानको कारण भन्दै वीरेन्द्रनगरमा दीर्घकालीन समाधान आवश्यक रहेको बताएका छन्।

२९ भदौ, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर गत बिहीबार बेलुका एकाएक डुबानमा पर्‍यो । एक घण्टाभित्र परेको पानीले मुख्य बजार क्षेत्रको खजुरा, मंगलगढी हुँदै ऐरी चोकसम्म जलमग्न बन्यो ।

वीरेन्द्रनगरको मध्य मागमा रहेका खोर्के, इत्राम र नेवारे खोला उर्लिए । बेलुका ४:३० देखि ५:३० बजेसम्म परेको पानीले कर्मचारी, विद्यार्थी, शिक्षक र सर्वसाधारणको केहीबेर बिचल्ली भयो । स्कुल र कार्यालयबाट घर फर्किरहेका उनीहरूले डुबानको सामना गर्नुपर्‍यो ।

यो एक घण्टाको अवधिमा वीरेन्द्रनगरमा ४५ मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतका सूचना अधिकारी राममोनी मिश्रले जानकारी दिए । उनका अनुसार पछिल्लो २४ घण्टामा वीरेन्द्रनगरमा ५० मिलिमिटर पानी परेको छ ।

‘जसमा ४५ मिलिमिटर हिजो एक घण्टाको अवधिमा मात्रै परेको थियो,’ उनले भने, ‘यो एकदमै ठूलो पानी हो । जसले गर्दा वीरेन्द्रनगरको धेरै ठाउँ डुबानमा परे ।’ उनका अनुसार बिहीबार बेलुका ५:४५ बजे सुर्खेत एअरपोर्टमा मापन गर्दा ४५ मिलिमिटर पानी परेको थियो ।

के कति क्षति भयो ?

बिहीबारको वर्षाबाट मानवीय क्षति नभए पनि भौतिक क्षति भने भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक कविन्द्रसिंह बोहराले जानकारी दिए । उनका अनुसार, डुबानकै कारण वीरेन्द्रनगर–६, मंगलगढीमा रहेको आर्मी स्कुल कम्पाउन्डको १० मिटर पर्खाल भत्किएको छ ।

एकाएक उर्लिएको खोर्के खोलाले वीरेन्द्रनगर–४, शहीद पार्कका किसान सूर्य सलामीको भैंसीको पाडो बगायो । वीरेन्द्रनगर–८, मोडेल कलेज नजिकै सडकको नालाको पानी थुनिँदा सोही ठाउँका ४–५ वटा पसलमा क्षति भएको छ । पसलमा पानी छिर्दा लाखौँका कपडा र सामानहरू नष्ट भएका छन् ।

घरको आँगनमा चट्याङ पर्दा वीरेन्द्रनगर–१४ लादेकी ३७ वर्षीया तुलसी बुढाथोकी घाइते भएकी छिन् । उनको कर्णाली प्रदेश अस्पताल कालागाँउमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जुम्ला रोड आसपास क्षेत्रमा पार्किङ गरेर राखिएका सयौँ सवारी साधनहरू डुबानमा परे । साइकलमा यात्रा गरिरहेका विद्यार्थीहरू बगे । ठेला व्यापारी, अटो चालक, मकै पोल्ने महिलाहरूको तितरबितर भयो ।

यो त वीरेन्द्रनगरको माथिल्लो भाग थियो । वीरेन्द्रनगर–९ र १० को तल्लो क्षेत्रका नागरिक रातभरि जाग्राम बसे । कतिपय स्थानीयवासी घर छोडेर सुरक्षित स्थानतिर लागे । माथिबाट आएको पानीले वीरेन्द्रनगर उपत्यकाको तल्लो तटीय क्षेत्र झनै डुबानमा पर्छ । पर्सेनी, लबस्ता, तिलपुर, इटौरा र घोग्रेनी लगायतका क्षेत्र डुबानमा परे ।

किन डुबानमा पर्छ वीरेन्द्रनगर ?

सामान्य वर्षा हुँदा वीरेन्द्रनगरको तल्लो तटीय क्षेत्र जलमग्न भई धनजनको क्षति हुने गरेको छ । खोलानालाको बढ्दो अतिक्रमण र धमाधम शहरी पूर्वाधार निर्माण हुँदा वर्षेनी डुबानको समस्या निम्तिने गरेको भू–तथा जलाधार व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख शिखर चपाईं बताउँछन् ।

उपत्यकाको तल्लो खण्डमा अतिक्रमणले खोलानाला साँघुरिएको र माथिल्लो खण्डमा अपवादबाहेक २०–२५ मिटर खोला चौडा रहेको उनले बताए । ‘अलि तल्लो भागमा गएपछि खोलाहरू साँघुरो हुँदै नालामा परिणत हुन पुगेको देखिन्छ,’ चपाईंले भने, ‘डुबानको खतरा निम्त्याउने मुख्य कारण नै यही हो ।’

उनका अनुसार, वीरेन्द्रनगर प्रदेश राजधानी भएसँगै वीरेन्द्रनगरमा आवास निर्माण क्रम पनि तीव्र रूपमा बढ्दो छ । तर ती घरको पूर्वाधार निर्माण पर्यावरणमैत्री छैन । ‘जहाँकहीँ सिमेन्टका संरचनाहरू मात्रै छन् । पानी रिचार्ज हुने ठाउँ नै छैन,’ उनले भने, ‘प्रत्येक घरको छतको पानी पाइपमार्फत आफ्नै खेतबारीमा रिचार्ज हुने प्रणाली लागु गर्न आवश्यक छ ।’

वीरेन्द्रनगरका खोर्के, इत्राम र नेवारे लगायतका खोलाहरूमा बाढी आउँछ । तर यसरी उर्लेर आउने बाढीको निकास भने एउटै छ– वीरेन्द्रनगरको दक्षिणतर्फ रहेको निकास खोला । तर उक्त निकास साँघुरो भएकाले ठूलो भेलसहितको बाढी आउँदा खोला थुनिन्छ । पानीको भार बढी हुँदा भेल बस्तीमा पस्छ । तल्लो तटीय क्षेत्र जलमग्न हुन्छ । बस्ती डुबानमा पर्छ । धनजनको क्षति हुन्छ ।

निकास खोलाको द्वार साँघुरो भएकै कारण तल्लो तटीय क्षेत्र जोखिममा रहेको वीरेन्द्रनगर–९ का वडाध्यक्ष ऋषि गिरी बताउँछन् । ‘निकास साँघुरो हुँदा उपत्यकाको पानी बाहिर जान सक्दैन । ५ वर्षअघि खोर्के, बडिघाट र गेरुनी खोलाको संगमस्थल डोजर लगाएर चौडा बनाएपछि अहिले डुबानमा कमी आएको छ,’ उनले भने, ‘क्रमागत आयोजनाका रूपमा निकास खोल्ने काम जारी छ ।’

तर, निकास खोलालाई खुकुलो बनाएर उपत्यकाको पानी बाहिर फाल्नु दीर्घकालीन समाधान नभएको भू–तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुख चपाईं बताउँछन् । ‘उपत्यकाको पानी उपत्यकामै रिचार्ज हुनुपर्छ । नत्र त्यसले अर्को सङ्कट निम्त्याउँछ,’ उनले भने, ‘त्यो दीर्घकालीन समाधान होइन । घर निर्माण गर्दा पर्यावरणमैत्री संरचना अनिवार्य बनाउनुपर्छ । जसले छतको पानी सहजै सोस्न सकोस् ।’

२०७१ साउन २८ र २९ गते भीषण वर्षा हुँदा बाढी आयो । बाढीका कारण उपत्यकाको निकास खोला थुनियो । राजमार्गदेखि दक्षिणपट्टिको भागमा ठूलो जनधनको क्षति भयो । बाढीपहिरो, डुबानका कारण सुर्खेतमा मात्रै १२५ जनाले ज्यान गुमाए । करोडौँ धनमालको क्षति भयो ।

पानी पर्दा यहाँका स्थानीय अहिले त्यही विपद्को दिन सम्झिएर त्रसित हुन्छन् । त्यसअघि र पछि पनि निकास खोला खोल्ने र बस्तीतर्फ तटबन्ध न गर्नेबारे थुप्रै योजना बने । तर कार्यान्वयन हुन सकेनन् ।

निकास खोला आसपासमा अहिले बस्ती पातलो भएकाले पनि धेरै अहिले ठूलो क्षति नभएको जानकारहरू बताउँछन् । तर पछिल्लो समय बस्ती दिनप्रति दिन बढ्दै छ । विगतमा जस्तै ठूलो बाढीले निकास थुनिएर पानी बस्ती परे क्षति पनि बढ्ने निश्चित रहेको वीरेन्द्रनगर–९ निकास खोलाका स्थानीय कल्टु थारु बताउँछन् ।

निकासको समस्या केही हदसम्म समाधान भए पनि ९ नम्बर वडाको माथिल्लो भागमा नयाँ समस्या देखा पर्न थालेको वडाध्यक्ष गिरी बताउँछन् । उनका अनुसार, वीरेन्द्रनगर दक्षिणतर्फको खोर्के खोला मिचिँदा त्यहाँको पानी बस्तीमा पस्न थालेको छ । ‘एकल महिलाको अफिसदेखि लाटिकोइली मन्दिर क्षेत्रसम्मको भूभाग अहिले जोखिममा छ,’ उनले भने, ‘वर्षेनी नयाँनयाँ समस्या देखा पर्न थालेका छन् । खोलाको पानी बस्तीमा पस्न थालेको छ ।’

अनपेक्षित दुर्घटना भोग्नु नपरोस्

उपत्यकाको निकासबारे समयमै नसोचे भोलि ठूलो समस्या आउने पर्यावरणका जानकार मनोज एमसी बताउँछन् । ‘वीरेन्द्रनगर ठूलो विपद् पर्खेर बसेको छ । यसको समाधान समयमै नखोजे हामीले ठूलो क्षति बेहोर्नु पर्नेछ,’ उनले भने, ‘२५ गते बेलुका एक घण्टा आएको पानी लगातार ५ घण्टा परेको भए वीरेन्द्रनगरको अवस्था के हुन्थ्यो ? कसैले कल्पना गरेको छ ?’

वीरेन्द्रनगरको डुबानलाई तीनै तहकार सरकारले गम्भीरताका साथ लिनुपर्ने एमसी बताउँछन् । ‘नगरपालिकाले आफ्नो साधन र स्रोतले नभ्याउने भए प्रदेश र संघीय सरकारसँग आवश्यक समन्वय गर्न गरेर काम गर्नुपर्छ,’ उनले भने, ‘तर यसतर्फ नगरपालिकाका र प्रदेश सरकारले नै गम्भीरतापूर्वक लिएको देखिँदैन ।’

पूर्वयोजना बनाएर सतर्कता नअपनाउने र क्षति भइसकेपछि पछुताउने सरकारी प्रवृत्तिले ठुलो नोक्सान हुने गरेका अनेक उदाहरण रहेको पर्यावरणका जानकारी एमसीले बताए । ‘डुबानकै कारण वीरेन्द्रनगरले पनि अनपेक्षित दुर्घटना भोग्नुपर्ने दिन नआउला भन्न सकिँदैन । सबै गम्भीर भएर लागौँ,’ उनले भने, ‘हामीले अर्को २०७१ पर्खेर बसिरहेका छौँ ।’

गुरुयोजनाविपरीत खोलानाला अतिक्रमण गरेर भौतिक संरचना निर्माण गरिँदा पनि वीरेन्द्रनगरमा मनसुनजन्य विपद्को जोखिम बढेको वीरेन्द्रनगर–६ का युवा अगुवा हरि कँडेल बताउँछन् । अव्यवस्थित ढल तथा उपत्यकाको पानीको निकास साँघुरो हुँदा सामान्य वर्षामा समेत दक्षिणी भू–भाग डुबानमा पर्ने गरेको उनले बताए ।

‘नगरपालिकाको गुरुयोजनाविपरीत खोलानाला च्यापेर संरचना बनाइएका छन्,’ उनले भने, ‘खोला बस्तीमा होइन, बस्ती खोलामा गएपछि बाढीको जोखिम बढेको हो ।’ वीरेन्द्रनगर–६, को मुख्य बजारमा रहेको खोर्के खोला व्यक्तिको दर्तावाला जग्गामा बगिरहेको र ऐलानीमा मान्छेहरूको घर बनेको उनले बताए । ‘खोला च्याप्दै गएपछि कुनै न कुनै दिन उसले आफ्नो स्थान ओगट्छ,’ उनको चेतावनी छ ।

नियामक निकायको बेवास्ताका कारण वीरेन्द्रनगरमा वर्षेनी जोखिमपूर्ण बसोबास बढ्दो छ । घर निर्माणको कागजी प्रक्रिया पूरा गरेपछि नगरपालिकाले निर्माण स्वीकृत दिन्छ । तर विपद्को जोखिमबारे अनुगमन तथा नियमन गर्दैन । कतिपयले जोखिम मोलेरै ऐलानी जग्गामा समेत पक्की संरचना बनाएका छन् ।

वीरेन्द्रनगर–३ मा मात्रै ५०० घरधुरी बाढी र कटानको उच्च जोखिममा रहेको वडाध्यक्ष विनोद सिंह विष्ट बताउँछन् । खोला किनारमा बनेका अधिकांश घरहरूमा विपद्को जोखिम रहेको उनले बताए । ‘चाइना पुलदेखि उत्तर र दक्षिण क्षेत्रमा खोला छेउमै बनाइएका घरहरूमा विपद्को खतरा छ,’ उनले भने, ‘खोला क्षेत्र छोडेर संरचना बनाउन भने पनि स्थानीयहरू अटेरी गर्छन् ।’ निर्माण मापदण्डमा २० मिटर जग्गा खोलालाई छोड्नुपर्ने भए पनि त्यसो हुन नसकेको उनी बताउँछन् ।

प्रदेश तथा स्थानीय सरकारले मनसुन सुरु हुनुपूर्व नभई वर्षा सुरु हुनासाथ प्रतिकार्य योजना बनाउँदा विपद्को समयमा धनजनको क्षति हुने गरेको हो । ‘सरकार विपद्कै समयमा आएर तयारी थाल्छ,’ वीरेन्द्रनगर–९ का स्थानीय सुरज क्षेत्री भन्छन्, ‘बाढी पहिरो कति बेला आउला र उद्धार गरौंला भन्ने खालका मात्रै योजना बन्छन् ।’ तर बाढी पहिरो र डुबान नै नहुने गरी सरकारले योजना बनाउन नसकेको उनको गुनासो छ ।

राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार वीरेन्द्रनगरमा कुल ३८ हजार ३७७ घरधुरी रहेका छन् । नगरपालिकाले निर्माण गरेको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाको अध्ययन प्रतिवेदनका अनुसार करिब ६१ प्रतिशत घरधुरी जोखिममा रहेको उल्लेख गरिएको छ । नगरका कतिपय वडामा पहिरो र केहीमा बाढी तथा चुवानलगायतको जोखिम उच्च रहेको छ ।

नगरको वडा नम्बर १२ को खोरिया, १३ को अधिकांश भू–भाग, १४ र १५ को सबै क्षेत्र पहिरोको जोखिममा छन् । उक्त वडाहरूमा बसोबास गर्ने एक हजार ३३५ घरधुरीमध्ये ६६७ घर पहिरोका कारण पूर्ण क्षति हुनसक्ने प्रतिवेदनमा भनिएको छ । ती वडाका ६६८ घरधुरीमा आंशिक क्षति पुग्न सक्ने अध्ययनले देखाएको छ ।

नगरका १ देखि ८ र १२ नम्बर वडा बाढीको जोखिममा छन् । त्यस्तै, वडा नम्बरर ९ र १० डुबानको उच्च जोखिममा रहेका छन् । बाढी र डुबानबाट आंशिक र पूर्ण रूपमा गरी एक हजार २०० बढी घरधुरी प्रभावित हुने देखिएको छ ।

‘सामान्य पानी परे पनि वीरेन्द्रनगरको बजार क्षेत्र डुबानमा पर्छ,’ वीरेन्द्रनगरका योजना शाखा प्रमुख प्रकाश पौडेल भन्छन्, ‘डुबानबाट मानवीय क्षति नभए पनि आर्थिक क्षति भने वर्षेनी भइरहेको छ । त्यो क्षेत्रका व्यवसायमा डुबानले क्षति पुर्‍याइरहेको देखिन्छ ।’

के गर्दैछ, वीरेन्द्रनगर नगरपालिका ?

वीरेन्द्रनगरमा विपद् प्रतिकार्यका लागि नगरपालिकाले छुट्टै टिम खडा गरेर काम गरिरहेको वीरेन्द्रनगर नगरपालिकाका आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख यामलाल गिरी बताउँछन् । ‘विपद् प्रतिकार्यका लागि हामीले नगरपालिकामा छुट्टै टिम नै बनाएर काम गरिरहेका छौँ’ उनले भने, ‘मौसमको अवस्था हेरेर तल्लो तटीय र खोला किनाराका बस्तीलाई सूचना दिन्छौँ । तत्काल उद्धार तथा राहतका लागि पनि तयारी अवस्थामा छौँ ।’

आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख गिरीका अनुसार, विपद् व्यवस्थापनका लागि आवश्यक नीति निर्माण, दक्ष जनशक्तिको व्यवस्थापन, उपकरण र प्रविधिको जोहो गरिएको छ । नगर क्षेत्रमा कुनै विपद्का घटना भइहालेमा त्यसबाट प्रभावित बनेकाको उद्धार, राहत र पुनर्स्थापनाका लागि पनि वीरेन्द्रनगरले आफूलाई तम्तयार राखेको गिरीले बताए ।

बाढीको जोखिम न्यूनीकरण गर्न पालिकाले नगरभित्रका आँप खोली, खोर्केखोला, इत्रामखोला र नेवारेखोला लगायतको बहाव क्षेत्र व्यवस्थित गरिरहेको नगरपालिकाले जनाएको छ । अति जोखिममा रहेका वडा नम्बर १ को आँप खोली, वडा नम्बर १२ को इत्रामखोला र खोर्केखोला किनारमा रहेका बस्तीलाई जोगाउन तटबन्ध गरिएको छ ।

वडा नम्बर १२ को इत्रामखोला ।

आपतकालीन कार्य सञ्चालन केन्द्रले आफ्नो सञ्चार संयन्त्रका माध्यमबाट नगर, वडा र टोलस्तरमा विपद् व्यवस्थापन समिति, विपद् उद्धार कार्यदल र गैरसरकारी संस्थालाई समेत तयारी अवस्थामा राखेको प्रमुख गिरीले बताए ।

उनका अनुसार, विपद् व्यवस्थापन ऐन र कार्य योजनाका आधारमा जोखिम संवेदनशील भू–उपयोग योजना, भू–उपयोग नीति, जग्गा एकीकरण, भूकम्पीय जोखिम आकलन, भौतिक पूर्वाधार तथा भवन मापदण्ड लगायतका नीति लागु गरिएको छ । विपद् जोखिमका दृष्टिले वीरेन्द्रनगरका वडा नम्बर २ र ९ बाढी र डुबानको उच्च जोखिममा छन् ।

वडा नम्बर १ को आँप खोली तटबन्ध ।

यस्तै, वडा नम्बर १४, १५ र १६ पहिरो, वडा नम्बर ३ भूकम्प र वडा नम्बर १६ चट्याङबाट प्रभावित हुँदै आएका छन् । नगरपालिकाले आपतकालीन नम्बर १०१ समेत प्रयोगमा ल्याइएको छ । आपतकालीन कार्य सञ्चालन केन्द्रमा मनसुन पूर्वतयारी तथा प्रतिकार्यका लागि रबर बोट २, दमकल २, डोजर २, लाइफ ज्याकेट ८० थान, रबर ट्युब २० थान, एम्बुलेन्स १, स्टुङइसर ५, फायर बल १० थान, फायर सेफ्टी इक्युपमेन्ट ४ थान तयारी अवस्थामा राखिएको नगरपालिकाले जनाएको छ ।

त्यस्तै, ६५ लाख रुपैयाँको विपद् व्यवस्थापन कोषसमेत बनाइएको छ । नगरपालिकाले नगरस्तरीय विपद् व्यवस्थापन कोषलाई वृद्धि गर्दै विपद्का लागि तत्काल राहतको प्रबन्ध गर्ने जनाएको छ ।

लेखक
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?