News Summary
Generated by OK AI. Editorially reviewed.- यस वर्ष तीज र चौरचन एकै दिन परेका छन्, । चौरचन मिथिलामा भाद्र शुक्ल चतुर्थीको साँझ मनाइन्छ ।
- चन्द्रमालाई अर्घ्य दिँदै परिवारको कल्याण र सन्तानको दीर्घायुको कामना गरिन्छ।
हामी कहाँ धेरै पर्वहरू हुन्छन् । र हरेक पर्वका आफनै बिशेषताहरू छन् । पहाडमा तीजको रौनक छाउँदा तराई–मधेसमा पनि त्यसको प्रभाव पुग्छ । कुनै समय आफ्नै सांस्कृतिक परम्परामा सीमित देखिने पर्वहरू अचेल सबैका साझा हुने गरेका छन् । तीज सामान्यतया चौरचनको अघिल्लो दिन पर्छ । कहिलेकाहीँ भने दुवै पर्व एउटै दिन पनि पर्न सक्छन् । यस वर्ष त्यस्तै भएको छ । तीज र चौरचन एकै दिन परेका छन् ।
मिथिलाका महिलाहरूले पनि तीजको व्रत लिने गरेका छन् । र तराईको छठ अब तराईमा मात्र सीमित छैन । पर्वहरूबीचको यो सांस्कृतिक आदानप्रदानले हाम्रो समाज बदलिँदै गएको छ । एउटै देशमा बस्ने मानिसहरूले एकअर्काका आस्था, परम्परा र उत्सवलाई आत्मीयताका साथ स्वीकार गरिरहेका छन् ।
तीजको आफ्नै कथा छ । चौरचनको आफ्नै मौलिकता छ । तीजमा शिव–पार्वतीको प्रेम, श्रीमानको आयु, दाम्पत्य जीवन र पारिवारिक सुखको कामना गरिन्छ । चौरचनमा भने मिथिलाको आँगनबाट चन्द्रमातर्फ अर्घ्य उठ्छ । परिवारको कल्याण, सन्तानको दीर्घायु र जीवनमा सुख–शान्तिको प्रार्थना गरिन्छ ।
दुवै पर्वमा महिलाको आस्था, व्रत र पारिवारिक मंगलकामना जोडिएका छन् । यद्यपि यिनका सांस्कृतिक अभिव्यक्ति फरक छन् । यही भिन्नताभित्र नेपालको सांस्कृतिक विविधताको सुन्दरता लुकेको छ ।
भाद्र शुक्ल चतुर्थीको साँझ । दिनभरको चर्को घाम बिस्तारै सेलाउँदै गएको हुन्छ । घरका आँगनहरू सफा गरिएका हुन्छन् । कतै गोबरले लिपिएको भुइँमा पिठार र सिन्दूरले अरिपन (चौका) बनाइएको हुन्छ । त कतै छतमा पूजा सामग्री सजाइएको हुन्छ । भान्साबाट ठेकुवा, पुरी, खीर र दहीको सुगन्ध फैलिरहेको हुन्छ । घरका महिलाहरू चन्द्रमा उदाउने प्रतीक्षामा हुन्छन् । बालबालिकाहरूको आँखामा प्रसादको उत्सुकता हुन्छ ।
अनि जब क्षितिजमा चन्द्रमाको उज्यालो देखिन्छ । हातमा फलफूल, पकवान र पूजा सामग्री बोकेर परिवारका सदस्यहरू आकाशतर्फ फर्कन्छन् । चन्द्रमालाई अर्घ्य दिइन्छ । यो मिथिलाको जीवन, संस्कृति, पारिवारिक सम्बन्ध र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको आस्थाको उज्यालो हो । र यही उज्यालोको नाम हो, ‘चौरचन’।
चन्द्रमालाई हेर्ने कि नहेर्ने ?
चौरचनलाई मिथिलाको लोकभाषामा चौठिचन्द, चौठीचाण वा चौथचन्द्र पनि भनिन्छ । भाद्र शुक्ल चतुर्थी अर्थात् गणेश चतुर्थीको दिन साँझपख मनाइने यो पर्व नेपालको मधेस तथा कोशी प्रदेशका मैथिली सांस्कृतिक क्षेत्र र भारतको उत्तरी बिहारमा विशेष महत्त्वका साथ मनाइन्छ ।
मिथिलाको यो पर्वको आफ्नै मौलिकता छ, जहाँ गणेश चतुर्थीका दिन चन्द्रमा हेर्न नहुने जनविश्वास पाइन्छ । त्यही दिन मिथिलामा चन्द्रमालाई श्रद्धापूर्वक अर्घ्य दिइन्छ । यही भिन्नताले चौठिचन्दलाई अझ रोचक बनाउँछ ।
चौरचनको दिन चन्द्रमालाई अर्घ्य दिँदा मानिसहरूले आफ्नो परिवारको कल्याण, सन्तानको दीर्घायु र जीवनमा सुख–शान्तिको कामना गर्छन् । त्यसैले यो पर्व चन्द्रपूजा मात्र नभई पारिवारिक मंगलकामनाको पर्व पनि हो ।
चौरचनसँग जोडिएको सबैभन्दा चर्चित पौराणिक विश्वास चन्द्रदर्शन र मिथ्या(गलत) कलंकसँग सम्बन्धित छ । लोकविश्वास अनुसार गणेश चतुर्थीका दिन चन्द्रमालाई हेर्दा मानिसमाथि झुठो आरोप वा कलंक लाग्न सक्छ । यसलाई कतिपय ठाउँमा चोरीको आरोप वा चरित्रमाथि लाग्ने मिथ्या दोषसँग पनि जोडिन्छ । यही कारण चन्द्रदर्शन नगर्ने मान्यता कतिपय धार्मिक परम्परामा पाइन्छ ।
यससँग सम्बन्धित गणेश र चन्द्रमाको कथा प्रचलित छ । कथाअनुसार, एकपटक चन्द्रमाले गणेशको रूपको उपहास गरे । त्यसबाट क्रोधित गणेशले ‘भाद्र शुक्ल चतुर्थीका दिन तिमीलाई हेर्ने मानिस कलंकित हुनेछन्’ भनी चन्द्रमालाई श्राप दिए । पछि चन्द्रमाले क्षमा मागेपछि श्राप शिथिल भएको र यस दिन विधिपूर्वक चन्द्रपूजा गरी अर्घ्य दिएमा कलंकबाट मुक्ति पाइन्छ’ भनेको कथा प्रचलनमा छ ।
चौरचनमा चन्द्रमाको पूजा गर्नु यही लोकविश्वाससँग जोडिएको मानिन्छ । तर चौरचनको कथा यतिमै सीमित छैन । श्रीमद्भागवत महापुराणमा वर्णित स्यमन्तक मणिको प्रसंगलाई पनि यस पर्वसँग जोडिन्छ । श्री कृष्णमाथि स्यमन्तक मणि चोरी गरेको आरोप लाग्छ । पछि सत्यको खोजी हुँदा त्यो आरोप असत्य प्रमाणित हुन्छ । यही कथालाई चौठी चन्द्रको दिन चन्द्रदर्शनबाट लाग्ने भनिएको कलंकसँग जोडेर व्याख्या गर्ने परम्परा पाइन्छ ।
मिथिलाको आँगनमा चौरचन
चौरचन पर्वको दिन घर सफा गरिन्छ । आँगन लिपपोत गरिन्छ । पिठार र सिन्दूरले अरिपन (चौका) बनाइन्छ । अरिपन मिथिलाको परम्परागत चित्रकला हो, जसमा धार्मिक विश्वास, प्रकृति र जीवनका प्रतीकहरू समेटिएका हुन्छन् । त्यहि चौकामा पूजा सामग्री सजाइन्छ । धूप, बत्ती, फूल, अक्षता, सिन्दूर र अन्य सामग्री राखिन्छन् । घरमा तयार पारिएका पकवान तथा प्रसादलाई विशेष महत्त्व दिइन्छ । ठेकुवा, पुरी, खजुरिया, दही, खीर, मिठाई, फलफूल, मखान लगायतका सामग्री ठाउँ र परिवार अनुसार तयार गरिन्छन् । कतिपय घरमा माटाको भाँडोमा दही जमाइन्छ । मौसमअनुसार केरा, काँक्रो, स्याउ लगायतका फलफूल पनि पूजा सामग्रीमा समावेश हुन्छन् ।
चौरचनको साँझ चन्द्रमा उदाएपछि परिवारका सदस्यहरू पूजा सामग्री लिएर आँगन वा छतमा जम्मा हुन्छन् । व्रतालुहरूले चन्द्रमालाई अर्घ्य दिन्छन् । परिवारका सदस्यहरू चन्द्रमालाई प्रणाम गर्छन् । सन्तानको दीर्घायु, परिवारको सुख र जीवनको कल्याणका लागि प्रार्थना गरिन्छ । पूजा सम्पन्न भएपछि प्रसाद ग्रहण गरिन्छ । दिनभरको व्रत समाप्त हुन्छ । अनि घरमा खुसी र आत्मीयताको वातावरण फैलिन्छ । त्यो क्षणमा प्रसादको मिठासभन्दा एकसाथ उभिएको परिवारको मिठास निकै ठूलो हुन्छ ।
अन्न, प्रकृति र श्रमको सम्मान
चौरचनमा चन्द्रमालाई अर्पण गरिने प्रसादले प्रकृति र मानव श्रमबीचको सम्बन्ध पनि सम्झाउँछ । चामल खेतबाट आउँछ । दूध पशुपालनबाट । फलफूल प्रकृतिको उपहारबाट । ठेकुवा र पुरी घरको भान्सामा तयार हुन्छन् । यी सबै मिलेर एउटा पूजा सामग्री बन्छ । यसमा किसानको पसिना छ । पशुपालकको श्रम छ । घर सम्हाल्ने महिलाको मेहनत छ । प्रकृतिको उदारता छ ।
त्यसैले चौरचनको प्रसादलाई केवल धार्मिक भोगका रूपमा हेर्नु यसको गहिरो अर्थलाई सीमित गर्नु हो । यो त अन्न, श्रम र प्रकृतिप्रतिको कृतज्ञता पनि हो । मिथिलाको कृषि संस्कृतिमा चन्द्रमा, ऋतु, वर्षा र अन्नको सम्बन्ध गहिरो छ । चन्द्रमाको शीतल उज्यालोमा अर्घ्य दिँदै परिवारले जीवन धान्ने प्रकृतिप्रति आभार व्यक्त गर्छ ।
बदलिँदो समय र चौरचन
अब समय बदलिएको छ । गाउँका माटोका आँगनहरू धेरै ठाउँमा सिमेन्टका भएका छन् । संयुक्त परिवारहरू एकल परिवारमा बदलिँदै छन् । रोजगारी र अध्ययनका लागि युवाहरू शहर तथा विदेशमा छन् । तर चौरचनको आस्था हराएको छैन ।
कतै गाउँको आँगनमा दियो बलिरहेको छ । कतै शहरको छतमा अरिपन बनाइएको छ । कतै विदेशमा रहेका छोरी–बुहारी भिडियो कलमार्फत परिवारको पूजामा सहभागी भइरहेका छन् । परम्पराको स्वरूप बदलिन सक्छ । पूजा सामग्री बदलिन सक्छ । बस्ने ठाउँ बदलिन सक्छ । तर परिवारको मंगलकामना र संस्कृतिप्रतिको आत्मीयता बाँकी रहन सक्छ ।
प्रतिक्रिया 4