+
+
Shares

पर्खिरहेका छन् विद्यालय, सम्पर्कमा छैनन् ५०० बढी विद्यार्थी

कहिलेबाट हुन्छ पठनपाठन ? कसरी हुँदैछ व्यवस्थापन ?

बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङका विद्यालयहरूले पठनपाठनको तयारी गरेका छन् । विद्यालयहरूले आफ्ना विद्यार्थीलाई सम्पर्कमा आउन अनुरोध गरेका छन् ।

दिनेश गौतम दिनेश गौतम
२०८३ भदौ २४ गते १९:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङका विद्यालयले विद्यार्थी सम्पर्कमा आउन अनुरोध गर्दै पठनपाठन सुरु गर्ने तयारी गरेका छन्।
  • रसुवामा २८५ विद्यार्थी र १६ शिक्षक सम्पर्कमा आएका छैनन्, नुवाकोटमा २२४ विद्यार्थी र ११ शिक्षक तथा धादिङमा ३ शिक्षक सम्पर्कविहीन छन्।
  • शिक्षा विभागले विद्यार्थीलाई नियमित कक्षा सुरु गर्नुअघि मनोसामाजिक परामर्श र अवस्था पहिचान गर्न स्थानीय सरकारलाई निर्देशन दिएको छ।

२४ भदौ, काठमाडौं । बाढीमा परेमा विद्यार्थीको खोजखबर छैन । पाठ्यपुस्तक छैन । ड्रेस छैन । भागेर जोगिएकाको पुस्तकसहितको ब्याग बाटोमै छुटेको छ । तर अब लयमा फर्किनुको अर्को विकल्प छैन ।

बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङका विद्यालयहरूले पठनपाठनको तयारी गरेका छन् । विद्यालयहरूले आफ्ना विद्यार्थीलाई सम्पर्कमा आउन अनुरोध गरेका छन् ।

‘कति विद्यार्थी छन् त्यो तथ्यांक आउनु पर्‍यो । त्यसैले एक पटक विद्यालयमा आउन अनुरोध गरेका हौँ,’ रसुवाको उत्तरगया गाउँपालिका–५ स्थिति नीलकण्ठ माविका प्रधानाध्यापक माधव लामिछानेले भने ।
विद्यार्थी नफर्किंदासम्म कति विद्यार्थीको लागि पाठ्यपुस्तक चाहिने हो, त्यसको यकिन गर्न कठिन भएको छ । उक्त विद्यालयमा २५ गतेदेखि कक्षा सञ्चालन गर्ने तयारी छ । बीचबीचमा सडक छैन । वारिपारि गर्न सकिने अवस्था छैन ।
‘विद्यालय आउन नसक्ने विद्यार्थी नआत्तिनु होला । पछि दोहोर्‍याएर भए पनि कोर्स पूरा गर्छौं,’ उनले विद्यालयको तयारी सुनाए ।

बाढी प्रभावित अधिकांश विद्यालयको उस्तै समस्या छ । प्रभावित विद्यालयमा भएको क्षति र कहिलेबाट पठनपाठन सञ्चालन हुन्छ भनेर हामीले जिल्लास्थिति शिक्षा विकास तथा समन्वय एकाइ प्रमुखहरूसँग कुराकानी गरेका छौँ ।

रसुवा : २८५ विद्यार्थी र १६ शिक्षक बेपत्ता

शिक्षा विकास तथा समन्वय एकाइ रसुवाका अनुसार अहिले पनि २८५ विद्यार्थी सम्पर्कमा आएका छैनन् । १७ जना शिक्षक बेपत्ता भएकोमा एक जनाको शव भेटिएको छ । आमाबुबा दुवै सम्पर्कविहीन भएका विद्यार्थीको संख्या ३९ छ ।

‘आमाबुबा नभएका बालबालिकलाई आफन्तले लानुभएको छ,’ एकाइ प्रमुख दुर्गाप्रसाद सिलवालले भने । उनका अनुसार रसुवामा ४ वटा विद्यालय पूर्ण रूपमा क्षति भएका छन् ।

‘तीन वटा सामुदायिक र एउटा संस्थागत विद्यालय कोल्याप्स भएका छन्,’ उनले भने । प्रभावित नभएका विद्यालयमा पठनपाठन सुरु गरिएको छ । ‘४–५ वटा विद्यालयलाई होल्डिङ सेन्टर बनाइएको छ । त्यहाँ पढाइ भएको छैन,’ सिलवालले भने ।

रसुवाको नौकुण्ड गाउँपालिकामा ११ गते, उत्तरगया गाउँपालिकामा २४ गते, कालिका गाउँपालिकामा २२ गते, आमाछोदिङ्मो गाउँपालिकामा २४ गतेबाट पठनपाठन सुरु भएको छ । तर गोसाइँकुण्ड गाउँपालिकामा २६ गतेबाट सुरु गर्ने तयारी छ ।

‘पूर्ण रूपमा क्षति भएको विद्यालयका विद्यार्थीलाई अर्को विद्यालयमा लगेर पढाउने तयारी भएको छ,’ एकाइ प्रमुख सिलवालले भने, ‘आवासीय रूपमा पढाउने योजना छ ।’

नुवाकोट : २२४ विद्यार्थी र ११ शिक्षक सम्पर्कमा छैनन्

बाढीग्रस्त जिल्ला नुवाकोटमा २२४ विद्यार्थी र ११ शिक्षक सम्पर्कविहीन छन् । एकाइ प्रमुख सूर्यबहादुर खत्रीका अनुसार १० वटा विद्यालयमा क्षति पुगेको छ । जसमा दुई वटा संस्थागत विद्यालय छन् । अहिले १० वटा विद्यालयलाई होल्डिङ सेन्टर बनाइएको छ ।

नुवाकोटमा पनि बाढीको प्रभाव नरहेका विद्यालयमा पठनपाठन सुरु भएको छ । विदुर नगरपालिकामा आजदेखि विद्यालय खोलिएको छ । क्षति भएका विद्यालयका विद्यार्थीलाई वैकल्पिक माध्यमबाट सिकाउने योजना बनाइएको छ ।

‘सरकारी तथा गैरसरकारी संस्थाको सहयोगमा सिकाइलाई निरन्तरता दिने तयारी भएको छ,’ एकाइ प्रमुख खत्रीले भने । त्रिभुवन त्रिशूली माविमा १ असोजदेखि कक्षा सञ्चालन गर्ने तयरी भएको उनले बताए । क्षति पुगेका विद्यालयलाई भवन वा जग्गा दिएर छिट्टै सुरु गर्ने तयारी भएको छ ।

‘स्थानीयको सामुदायिक भवन र प्रदेशले पनि जग्गा उपलब्ध गराउने भनेको छ । शिक्षा मन्त्रालयले आवसीय रूपमा चलाउन बजेट पेस गर्न भनेको छ,’ उनले भने । होल्डिङ सेन्टर भएका विद्यालयमा आधामा कक्षा र आधामा विस्थापितलाई राख्ने योजना छ ।

नुवाकोटमा त्रिभुवन त्रिशूली मावि, रामचन्द्र आवि, चेतना आवि, गणेशमान सिंह आवि, त्रिशूली बोर्डिङ र उत्तरगया बोर्डिङ पूर्ण रूपमा क्षति भएका छन् । चण्डेश्वरी मावि र क्षेत्रपाल आविमा आंशिक क्षति पुगेको छ ।

धादिङ : ३ शिक्षक सम्पर्कविहीन, विद्यार्थीको खोजी हुँदै

धादिङमा ३ जना शिक्षक सम्पर्कविहीन छन् । शिक्षा विकास तथा समन्वय एकाइका अनुसार एक जना शिक्षकको शव फेला परेको छ । त्यसैगरी ४ जना पूर्वशिक्षकको पनि शव फेला परेको र २ जना सम्पर्कविहीन छन् ।

एकाइ प्रमुख कृष्णकुमार श्रेष्ठका अनुसार विद्यार्थी कहाँ छन् भन्ने तथ्यांक संकलनको काम भइरहेको छ । धादिङमा १० वटा विद्यालयमा क्षति पुगेको छ । आजदेखि विद्यार्थीलाई मनोपरामर्श दिन थालिएको उनले बताए ।

‘मनोपरामर्श दिएपछि मात्र पढाउन सुरु हुन्छ । विद्यार्थीको विवरण संकलन गर्ने काम भइरहेको छ । आज पनि त्यसैमा कर्मचारी खटिनुभएको छ,’ उनले भने ।
धादिङमा बागेश्वरी मावि, अम्लेश्वर गुरुकुल, सक्सेस एकेडेमी, भद्रकाली गुरुकुल, जलेश्वरी मावि, कालीदेवी मावि, बुद्धिविकास आवि, शंखादेवी मावि, राइजिङ स्टार र धुषा सामुदायिक सिकाइ केन्द्रमा क्षति पुगेको एकाइले जनाएको छ ।

मनोसामाजिक परामर्शपछि मात्रै कक्षा

सरकारले विद्यार्थीलाई मनोसामाजिक परामर्श दिएर मात्र कक्षा सञ्चालन गर्न भनेको छ । शिक्षा विभागले परिपत्र जारी गर्दै विद्यार्थीमा भय, त्रास, तनाव तथा अन्य मनोसामाजिक असर पर्न सक्ने भएकाले नियमित पठनपाठन सुरु गर्नुअघि मनोसामाजिक अवस्था बुझ्न स्थानीय सरकारलाई भनेको छ ।

सम्बन्धित विद्यालय तथा स्थानीय तहलाई स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीसँग समन्वय गरी विद्यार्थीहरूको मनोसामाजिक अवस्था पहिचान गर्न निर्देशन दिएको छ ।

‘विद्यार्थी नियमित कक्षा सञ्चालनका लागि तयार भएको सुनिश्चित गर्नुपर्छ । त्यसपछि मात्रै नियमित पठनपाठन सञ्चालन गर्न व्यवस्था मिलाउनुपर्छ,’ विभागले भनेको छ ।

लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?