News Summary
Generated by OK AI. Editorially reviewed.- भोटेकोशी–रसुवा बाढीले प्रभावित पत्रकारहरूको परिवारसँग नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले संवाद र राहत सहयोग सुरु गरेको छ।
- बाढीले नुवाकोटका पत्रकार निराजन पौडेलका बुवा, आमा, काका, काकी र बहिनीसहित परिवारका पाँच सदस्यको ज्यान लिएको छ।
- महासंघले बेपत्ता पत्रकार राजकुमार नेपालीको खोजी, प्रभावित पत्रकारको पुनर्स्थापना र तत्काल उद्धारमा सरकारसँग माग गरेको छ।
२२ भदौ, नुवाकोट । भोटेकोशी-रसुवा बाढीका कारण घरबारविहीन भएका, बेपत्ता भएका तथा परिवारका सदस्य गुमाएका पत्रकारहरूलाई नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले संवाद र सहयोग शुरु गरेको छ।
बाढीबाट प्रत्यक्ष प्रभावित भई जनधनको क्षति व्यहोरेका पत्रकारहरू निराजन पौडेल (नुवाकोट/रसुवा), किरण अधिकारी (नुवाकोट), सन्नी श्रेष्ठ (नुवाकोट), विपिन मल्ल (धादिङ) र नुवाकोटका बेपत्ता पत्रकार राजकुमार नेपालीको परिवारसँग संवादसँगै राहत रकम हस्तान्तरण गरिएको हो।
महासंघका अनुसार प्रभावित पत्रकार र उनीहरूका परिवारको अवस्था हेरी सम्बन्धित शाखामार्फत तथा प्रत्यक्ष भेटेरै उक्त सहयोग रकम उपलब्ध गराइएको छ।
बाढीले नुवाकोटको विदुर नगरपालिका–७, तुप्चेका पत्रकार पौडेलको परिवारमा अकल्पनीय क्षति पुर्याएको छ। बाढीले उनका बुवा, आमा, काका, काकी र बहिनीसहित परिवारका पाँच सदस्यको ज्यान लिनुका साथै घर र सम्पत्तिसमेत बगाएको छ। परिवारका सदस्य गुमाएको शोकमा पौडेल हाल काठमाडौँको टोखामा किरियामा बसेका छन्।
महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारू मगरको अगुवाइमा नुवाकोट शाखा अध्यक्ष रामहरि गजुरेल, रसुवा शाखा अध्यक्ष केशव पौडेल र धादिङ शाखा अध्यक्ष सीताराम अधिकारीलगायतको समन्वयमा प्रभावित पत्रकारहरूलाई भेटेर सहयोग गरिएको हो।
विपद्का कारण पत्रकारका घरपरिवारमा मात्रै नभई उनीहरूले काम गर्ने सञ्चारमाध्यम र सञ्चार उपकरणमा समेत ठूलो क्षति पुगेको महासंघले जनाएको छ। सडक तथा यातायात अवरुद्ध हुनुका साथै विद्युत् र इन्टरनेट सेवा प्रभावित हुँदा प्रभावित क्षेत्रमा समाचार सङ्कलन र सम्प्रेषणमा समस्या उत्पन्न भएको छ।
महासंघ बागमती प्रदेश अध्यक्ष मगरले विपद्को समयमा आफ्नो ज्यान जोखिममा राखेर नागरिकलाई सूचना प्रवाह गरिरहेका पत्रकारहरूको सुरक्षा, सञ्चार सेवा, आवश्यक उपकरण तथा राहतका विषयमा गम्भीर बन्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
पत्रकारहरूको अभिभावक संस्था भएका नाताले विपद्मा परेका पत्रकारको पुनर्स्थापना र बेपत्ताहरूको खोजीका लागि महासंघले समन्वयकारी भूमिका खेलिरहेको उनले बताए। यसका साथै, बाढीमा फसेकाहरूको तत्काल उद्धार, बेपत्ताको खोजी तथा घाइतेको उपचार कार्यलाई थप प्रभावकारी बनाउन महासंघले सरकारसँग माग गरेको छ।
प्रतिक्रिया 4