News Summary
Generated by OK AI. Editorially reviewed.- सांसद बुद्धिप्रसाद पन्तले प्रतिनिधिसभामा नागरिकता दुरुपयोग गरेर राजस्व छली गर्ने र निर्दोषलाई फसाउने घटना बढेको भन्दै सरकारको ध्यानाकर्षण गरेका छन् ।
- उनले पविन्द्र साह गोढको नागरिकता दुरुपयोग गरी कम्पनी दर्ता, बैंक खाता खोल्ने र त्यही कम्पनीमार्फत राजस्व छली गरेको उदाहरण प्रस्तुत गरे ।
- पविन्द्र साहलाई उच्च अदालत पाटनले तीन करोडभन्दा बढी जरिवाना र छ महिनाको कैद सुनाएको तथा म्याद गुज्रिएपछि प्रहरीमार्फत कारागार पठाइएको पन्तले बताए ।
३१ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बुद्धिप्रसाद पन्तले राजस्व ठगीको प्रवृत्तिबारे संसद् र सरकारको ध्यानाकर्षण गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले भने, ‘अहिले देशमा अरूको नागरिकता दुरुपयोग गरेर माफियाहरूले राजश्व छली गर्ने र निर्दोष व्यक्तिलाई कानुनी फन्दामा पार्ने घटना बढिरहेका छन् ।’
आफ्नो निर्वाचन क्षेत्रका विपन्न युवा पविन्द्र साह गोढ यसको उदाहरण बताए । ‘सामान्य चिनजानका व्यक्तिहरूले उहाँको नागरिकता दुरुपयोग गरी कम्पनी दर्ता गरेर बैंक खाता समेत खोलि पावर अफ अटर्नी आफूसँग राखेर पछि त्यही कम्पनीमार्फत राजस्व छली गरियो,’ उनले भने, ‘राजश्व अनुसन्धानले दायर गरेको मुद्दामा उच्च अदालत पाटनले उनलाई तीन करोडभन्दा बढी जरिवाना र छ महिनाको कैद सजाय सुनायो ।’
उनका अनुसार पविन्द्र साह राजस्व छली त परै जाओस आफ्नु नाममा खुलेको कम्पनी, बैंक खाता, मुद्दामा कानुनी प्रतिरक्षा र पुनरावेदनको प्रक्रियाबारे पनि अनभिज्ञ रहेका छन् ।
अन्तत: म्याद गुज्रिएपछि प्रहरीले पक्राउ गरी कारागार पठाएको उनले बताए ।
‘मेरो क्षेत्रमा मात्रै यस्ता आधा दर्जन घटना छन्,’ उनले भने, ‘राजस्व छलीका वास्तविक दोषीलाई कारबाही गरि नागरिकता दुरुपयोगबाट फसाइएका त्यस्ता निर्दोष युवालाई न्याय दिन सभामुखज्यू मार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’
प्रतिक्रिया 4