News Summary
Generated by OK AI. Editorially reviewed.- हिमालयन इन्टरनेशनल भास्कुलर समिटको दोस्रो संस्करण चैत ३ देखि ७ गतेसम्म काठमाडौंमा हुने भएको छ।
३१ भदौ, काठमाडौं । हिमालयन इन्टरनेशनल भास्कुलर समिट (हिमभास) को दोस्रो संस्करण आगामी चैतमा काठमाडौंमा हुने भएको छ । विश्वका भास्कुलर चिकित्सा विशेषज्ञलाई नेपालको एउटै मञ्चमा जोड्ने उद्देश्य बोकेको यो शिखर सम्मेलन चैत ३ देखि ७ गतेसम्म सञ्चालन हुनेछ ।
आयोजकका अनुसार यसपटक सम्मेलनलाई अघिल्लो संस्करणभन्दा व्यापक बनाउँदै १०० भन्दा बढी देशका विशेषज्ञ चिकित्सक तथा वैज्ञानिकलाई निमन्त्रणा गरिएको छ । हालसम्म ६० भन्दा बढी देशका प्रतिनिधिले सहभागिताका लागि नाम दर्ता गराइसकेका छन् ।
मंगलबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै हिमभासका अध्यक्ष डा. सन्दीपराज पाण्डेले यसपटक अघिल्लो संस्करणको तुलनामा कम्तीमा दोब्बर वदेशी विशेषज्ञ सहभागी हुने अपेक्षा गरिएको जानकारी दिए ।
उनका अनुसार सन् २०२४ मा आयोजित पहिलो हिमभासमा ४२ देशका विज्ञ चिकित्सक तथा वैज्ञानिक सहभागी भएका थिए । तीन दिनसम्म चलेको उक्त सम्मेलनमा स्वदेशी तथा विदेशी गरी ३५० भन्दा बढीको सहभागिता थियो ।
‘पहिलो सम्मेलनले नेपालमा भास्कुलर चिकित्सासम्बन्धी अन्तर्राष्ट्रिय स्तरको सम्मेलन आयोजना गर्न सकिन्छ भन्ने आधार तयार गरेको छ’ अध्यक्ष पाण्डेले भने, ‘यसपटक त्यसलाई अझ ठूलो र प्रभावकारी बनाउने तयारी गरेका छौं ।’
सम्मेलनको मुख्य उद्देश्य हिमालय क्षेत्रसँग सम्बन्धित मुलुकसहित विश्वका विभिन्न देशका भास्कुलर विशेषज्ञलाई एउटै मञ्चमा ल्याएर ज्ञान, सीप, अनुसन्धान र उपचारका अनुभव आदानप्रदान गर्नु रहेको पाण्डेले बताए ।
सम्मेलनमा भास्कुलर चिकित्सा तथा शल्यक्रियासँग सम्बन्धित नयाँ अनुसन्धान, वैज्ञानिक पेपर र पोस्टर प्रस्तुत गरिनेछ । आयोजकका अनुसार यसपटक ३०० भन्दा बढी पेपर तथा पोस्टर प्रस्तुत गर्ने तयारी भइरहेको छ ।
अमेरिका, बेलायत, अस्ट्रेलिया, इटाली, फ्रान्स, उरुग्वे, जापान, चीन, भारत र संयुक्त अरब इमिरेट्स (युएई) लगायतका देशका विशेषज्ञ सम्मेलनमा सहभागी हुनेछन् ।
त्यस्तै बंगलादेश, पाकिस्तान, भुटान, श्रीलंका, फिलिपिन्स, थाइल्यान्ड, मलेसिया, सिंगापुर, टर्की, अस्ट्रिया, कोलम्बिया, इजिप्ट, हङकङ, स्वीडेन र ओमानलगायत देशका विज्ञहरूको सहभागिता पनि सुनिश्चित भइसकेको आयोजकले जनाएको छ ।
हिमभास २०२७ को अर्को महत्वपूर्ण उद्देश्य नेपालमा मेडिकल पर्यटन प्रवर्धन गर्नु रहेको अध्यक्ष पाण्डेले बताए । उनका अनुसार पहिलो हिमभासमा सहभागी ४० भन्दा बढी विदेशी विशेषज्ञ सम्मेलनपछि नेपालका विभिन्न पर्यटकीय क्षेत्रमा पुगेका थिए । उनीहरू माउन्टेन फ्लाइट तथा अन्नपूर्ण आधार शिविर ट्रेकमा समेत गएका थिए ।
प्रतिक्रिया 4