+
+
Shares

जलन उपचारका लागि सरकारले दिने विशेषज्ञ तालिममा को-को हुँदैछन् सहभागी ? 

राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले जलन सेवाको राष्ट्रियस्तरीय उपचार मापदण्डअनुसार तेस्रो तहको सेवा प्रवाह गर्न आवश्यक दक्ष जनशक्ति तयार गर्ने भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ५ गते १४:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले जलन उपचारमा दक्ष जनशक्ति तयार गर्न ३० कार्यदिनको विशेषज्ञ तालिम सञ्चालन गर्ने भएको छ।
  • राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले जलन सेवाको राष्ट्रियस्तरीय उपचार मापदण्डअनुसार तेस्रो तहको सेवा प्रवाहका लागि पाठ्यक्रम र सामग्री विकास गरेको छ।
  • तालिमको पहिलो समूह असोज ७ देखि कात्तिक १८ गतेसम्म कीर्तिपुर अस्पतालमा प्रा. डा. शंकरमान राईको प्रमुख प्रशिक्षणमा सञ्चालन हुनेछ।

५ असोज, काठमाडौं । सरकारले जलन उपचारमा जनशक्ति तयार गर्न ३० कार्यदिनको जलन उपचारसम्बन्धी विशेषज्ञ तालिम सञ्चालन गर्ने भएको छ।

राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले जलन सेवाको राष्ट्रियस्तरीय उपचार मापदण्डअनुसार तेस्रो तहको सेवा प्रवाह गर्न आवश्यक दक्ष जनशक्ति तयार गर्ने भएको हो । केन्द्रले जलन उपचारसम्बन्धी विशेषज्ञ तालिमको पाठ्यक्रम तथा सामग्री विकास गरेको छ।

स्वास्थ्य मन्त्रालयमा ६ साउन २०८३ मा बसेको बैठकको निर्णयअनुसार जलन उपचार कक्ष स्थापना भएका अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका लागि तालिम सञ्चालन प्रक्रिया अघि बढाइएको हो।

स्वास्थ्यमन्त्री निशा महेताको सचिवालयका अनुसार तालिममा शल्य चिकित्सक तथा सामान्य चिकित्सा विशेषज्ञ, शल्यकक्षका नर्स, सघन उपचार कक्षका नर्स तथा आकस्मिक सेवामा कार्यरत स्वास्थ्यकर्मीलाई सहभागी गराइनेछ। तालिमपछि सम्बन्धित अस्पतालमै जलन उपचार कक्षरजलनवार्डको स्थापना, विस्तार तथा सुदृढीकरण गरी विशिष्टीकृत जलन उपचार सेवा प्रवाह गर्न सक्षम जनशक्ति तयार हुने अपेक्षा गरिएका छ ।

तालिमको पहिलो समूह कीर्तिपुर अस्पतालमा प्रा. डा. शंकरमान राईको प्रमुख प्रशिक्षणमा दुई चरणमा सञ्चालन हुनेछ। पहिलो चरण असोज ७ देखि ३० गतेसम्म र दोस्रो चरण कात्तिक ९ देखि १८ गतेसम्म सञ्चालन हुनेछ। पहिलो समूहमा नारायणी अस्पताल, मधेश प्रदेशबाट चार जना र प्रदेश अस्पताल, कर्णाली प्रदेशबाट चार जना गरी आठ जना सहभागी हुनेछन् ।

तालिममा जलन भएका बिरामीको आकस्मिक तथा शल्य उपचार, घाउको मूल्याङ्कन तथा व्यवस्थापन, छाला प्रत्यारोपण, सघन उपचार, आकस्मिक अवस्थामा बिरामीको प्राथमिकता निर्धारण, तरल पदार्थ व्यवस्थापन, संक्रमण नियन्त्रण, पोषण, दुखाइ व्यवस्थापन तथा जलन उपचार कक्ष सञ्चालनलगायत विषयमा सैद्धान्तिक तथा प्रयोगात्मक अभ्यास गराइनेछ।

राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले यसअघि पनि जलन उपचारतर्फ आधारभूत जलन उपचार र प्राथमिक जलन उपचारसम्बन्धी तालिम सञ्चालन गर्दै आएको छ। आधारभूत जलन उपचारसम्बन्धी तालिमअन्तर्गत हालसम्म ११ समूहमा १९९ जना र प्राथमिक जलन उपचारसम्बन्धी तालिमअन्तर्गत २३ समूहमा ३६४ जनाले तालिम प्राप्त गरिसकेका छन्।

नयाँ तालिमको विस्तारसँगै जलनका बिरामीलाई उपचारका लागि काठमाडौँमै पठाउनुपर्ने अवस्था क्रमशः कम हुने र सम्बन्धित अस्पतालबाटै विशिष्टीकृत जलन उपचार सेवा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?