News Summary
Generated by OK AI. Editorially reviewed.- प्रदेश अस्पताल सुर्खेत र नबिल बैंकले चैत २७ देखि २९ गतेसम्म सुर्खेतमा निःशुल्क जलन उपचार शिविर सञ्चालन गरेका छन्।
- शिविरबाट करिब ५० जना जलन पीडितलाई परामर्श, उपचार र शल्यक्रिया सेवा प्रदान गरिने बैंकले जनाएको छ।
- जटिल बिरामीलाई काठमाडौं कीर्तिपुर अस्पतालमा रिफर गरी निःशुल्क उपचारको व्यवस्था मिलाइने बैंकले खुलाएको छ।
२७ चैत, काठमाडौं । प्रदेश अस्पताल सुर्खेत र नबिल बैंकको संयुक्त आयोजना तथा फेक्ट नेपालको प्राविधिक सहयोगमा सुर्खेतमा निःशुल्क जलन उपचार शिविर सञ्चालन भएको छ ।
चैत २७ देखि सुरु भएको ‘नबिल निःशुल्क जलन उपचार शिविर’ २९ गतेसम्म सञ्चालन हुने छ । जलनका कारण दीर्घकालीन समस्या भोगिरहेका विपन्न तथा आर्थिक रूपमा कमजोर नागरिकलाई शिविरमा परामर्श, उपचार तथा शल्यक्रियालगायतका सेवा प्रदान गरिने बैंकले जनाएको छ ।
सुर्खेतमा सञ्चालन हुने यस शिविरबाट करिब ५० जना जलन पीडित लाभान्वित हुने बैंकको अपेक्षा छ । जटिल समस्या भएर शिविरमा आएका बिरामीलाई काठमाडौंको कीर्तिपुर अस्पतालमा रिफर गरी निःशुल्क उपचारको व्यवस्था मिलाइने बैंकले जनाएको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गरिएको निःशुल्क जलन शिविर लुम्बिनी प्रदेश तथा मधेश प्रदेशको जनकपुर र वीरगञ्जमा पनि सञ्चालन गर्ने बैंकले जनाएको छ ।
यसअघि फागुन १२ देखि १४ गतेसम्म धनगढीमा सञ्चालन भएको पहिलो शिविरमार्फत ६५ जना जलनका बिरामीले निःशुल्क उपचार पाएका थिए। जसमध्ये २० जना बिरामीको सेती प्रादेशिक अस्पतालमै वरिष्ठ चिकित्सकद्वारा शल्यक्रिया गरिएको थियो भने जटिल किसिमका १८ जना बिरामीलाई काठमाडौं सांखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा रिफर गरिएको थियो ।
शिविरमा आगोले पोलेर शरीरको एक भाग अर्को भागसँग जोडिएको, हातका औंला टाँसिएको अवस्था भएकाहरुले निःशुल्क उपचार पाउनेछन् । साथै जन्मँदै ओठ तालु (मुखभित्र जिब्रोभन्दा माथि) चिरिएका, जन्मदै औंला जोडिएका, बढी भएका तथा चोटपटक लागेर समस्या भएकाले पनि परामर्श लिन सक्ने बैंकले जनाएको छ ।
जलनका घटनाका पीडितलाई तत्काल र विशेष हेरचाह आवश्यक पर्दछ । तर आफ्नै ठाउँमा जलन उपचार केन्द्र नहुँदा पीडितले समयमै गुणस्तरीय उपचार नपाउने अवस्था छ । जलनका कारण पीडा भोगिरहेका व्यक्तिहरुलाई उपचार गरी उनीहरुको जीवनमा सुधार ल्याउने प्रयास स्वरुप शिविर आयोजना गरिएको बैंकको भनाइ छ ।
प्रतिक्रिया 4