+
+
Shares

चम्पादेवी ‍: गन्तव्यमा मात्र होइन, यात्रामा आनन्द

शंकर गिरी शंकर गिरी
२०८३ असोज ५ गते २१:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चम्पादेवीतर्फको हाइकिङमा हरियाली, वनको शान्त वातावरण, रंगीचंगी फूल र चिसो हावाले हाइकिङलाई रमाइलो बनाउँछ।

एउटा चलनचल्तीको भनाइ छ, ‘आनन्द गन्तव्यमा होइन यात्रामा हुन्छ ।’ चम्पादेवीको यात्रामा यही अनुभूति गरियो । त्यसो त चम्पादेवी आफैंमा आकर्षक गन्तव्य हो । तर, त्यहाँसम्म पुग्नका लागि जति पाइला हिँडिन्छ, त्यसको अर्कै मज्जा छ ।

यसपालि अलि घमाइलो मौसम पारेर हामी चम्पादेवीतर्फ लागेका थियौं । चम्पादेवी हाइकिङ जाने विभिन्न रुटमध्ये काठमाडौंको बल्खु–दक्षिणकाली सडकमा पर्ने चाल्नाखेलबाट हाम्रो यात्रा सुरु भयो ।

शहरको कोलाहल र व्यस्तताबाट केही पर पुग्नासाथ बाटोको परिवेश बदलिन थाल्छ । बिस्तारै उकालो लाग्दै जाँदा हरियाली, वनको शान्त वातावरण, बाटोछेउ फुलेका विभिन्न प्रजातिका रंगीचंगी फूल तथा चिसो हावाले यात्रालाई थप रमाइलो बनाउँछ।

असोजको सुरुवातसँगै मनसुनको बिदाइ र शरद ऋतुको आगमन सम्मुखमा छ । कहिले घाम, कहिले बादलको लुकामारी । सफा हुँदै गएको आकाश, हरिया डाँडाकाँडा र चलिरहेको चिसो हावाले हाइकिङको आनन्दलाई अझ बढाइरहेको थियो।

करिब ३–४ घण्टाको पैदल यात्रामा उकालो र ओरालो गरिरहँदा बालबालिकादेखि वृद्धवृद्धासम्म र युवायुवतीका समूह भेटिन्छन् । कोही साथीभाइसँग गफिँदै र रमाउँदै हिँडिरहेका हुन्छन्, कोही थकाइ मार्दै वरिपरिका दृश्य नियालिरहेका हुन्छन् भने कोही मोबाइल र क्यामेरामा यात्राका क्षण कैद गरिरहेका देखिन्छन् ।

यात्राकै क्रममा कतैबाट टौदह, सिकाली चौर, बागमती नदी र काठमाडौं उपत्यकाको फराकिलो भू–दृश्य देखिन्छ । माथि पुग्दै जाँदा शहरको भिडभाड क्रमशः टाढिँदै जान्छ र प्रकृतिसँगको दूरी छोटिँदै गएको अनुभूति हुन्छ ।

चम्पादेवीको सानो मन्दिरसम्म पुग्नु यात्राको एउटा गन्तव्य अवश्य हो । तर यो यात्राको सुन्दरता गन्तव्यमा मात्र सीमित छैन । बाटोमा भेटिने फूल, वनको हरियाली, चिसो हावा, साथीभाइसँगको हाँसो र बीच–बीचमा देखिने उपत्यकाका दृश्यले यात्रालाई नै सम्झनलायक बनाउँछन्।

सायद त्यसैले चम्पादेवी यात्रा केवल एउटा हाइकिङ रुट होइन– केही घण्टाका लागि भए पनि शहरको व्यस्तताबाट बाहिर निस्किएर बाटोसँगै रमाउने अवसर हो ।

यिनै विविध अनुभवका कारण चम्पादेवी काठमाडौं उपत्यका वरपरका आकर्षक हाइकिङ रुटमध्ये एक बनेको छ।

लेखक
शंकर गिरी

शंकर गिरी फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?