+
+
Shares

ग्यास अभावले बन्द हुने अवस्थामा काठमाडौंका होटल-रेस्टुरेन्ट

व्यवसायी भन्छन्- विदेशी पर्यटकलाई खाना खुवाउनै मुस्किल

पर्यटक भनेको महत्त्वपूर्ण आर्थिक आधार हो, नेपाललाई माया गरेर आउने पर्यटकले यहाँ आएर खाना खान पाएनन् भने नेपालको छवि के हुन्छ ?

ऋतु काफ्ले ऋतु काफ्ले
२०८३ भदौ १९ गते १९:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंमा एलपी ग्यास अभावले नयाँबानेश्वरका रमेश भण्डारी, रन्जु सापकोटा र निरुता परियारजस्ता साना व्यवसायीका खाजा पसल र क्याफेको सञ्चालन प्रभावित भएको छ ।
  • काठमाडौंका १ सय शाखामध्ये १५ वटा बन्द भएको द बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेनले नियमित ग्यास आपूर्ति नपाउँदा सेवा घटाएको र व्यवसाय संकटमा परेको जनाएको छ ।
  • ग्यास अभावका कारण व्यवसायीले तराईबाट आफैं ग्यास ल्याउन नसक्ने भन्दै सरकारसँग वैकल्पिक आपूर्ति व्यवस्था र व्यवसायिक प्रयोजनका लागि ग्यास उपलब्ध गराउन माग गरेका छन् ।

१९ भदौ, काठमाडौं । काठमाडौं नयाँबानेश्वर खाजा पसल चलाइरहेका रमेश भण्डारीलाई एक महिनाअघि तात्तातो म:म, चाउमिन र आलु, चना लगायत परिकार पस्कन भ्याइनभ्याइ हुन्थ्यो । तर, एक महिनादेखि रमेशको खाजाघरको रौनकता हराएको छ । भान्सामा धेरै परिकार पाक्न छाडेका छन् ।

कारण हो- बजारमा देखिएको खाना पकाउने एलपी ग्यासको हाहाकार ।

‘ग्यासको धेरै समस्या भयो, अहिले खाजाको मेनु सबै बन्द गरेर चियामात्र पकाइरहेको छु,’ रमेशले बाध्यता सुनाए । सामान्य अवस्थामा दुई-तीन दिनमा एउटा सिलिन्डर खपत हुने उनको क्यान्टिन अहिले ग्यास अभावकै कारण रित्तो जस्तै छ ।

उनी दिनभरि डिलरतिर आँखा लगाउँछन्, तर जवाफ एउटै आउँछ- ‘आएपछि दिन्छौं ।’

रमेशको यो कथा काठमाडौंका हजारौं साना व्यवसायीको साझा व्यथा हो । बुद्धनगरमा खाजा पसल चलाइरहेकी रन्जु सापकोटाको अवस्था पनि उस्तै छ ।

बितेका २० दिनदेखि उनको पसलमा नयाँ ग्यास छिरेको छैन । महिनाको ५ वटा सिलिन्डर चाहिने उनको भान्सा अहिले एउटा सिलिन्डरले जेनतेन चलिरहेको छ ।

‘डिलरले ग्यास आएको छैन भन्छ, अरू धेरै ठाउँमा खोज्दा पनि पाइएको छैन,’ रन्जु भन्छिन्, ‘२० दिन भइसक्यो, अब त कसरी चलाउने भन्ने चिन्ता छ ।’

धादिङबाट आएर काठमाडौंमा सानो व्यवसाय गरिरहेकी रन्जुलाई अहिले ग्यास अभावले व्यवसाय नै बन्द गराउने अवस्थामा पुर्‍याएको छ ।

बुद्धनगरमै हौवा क्याफे चलाइरहेकी निरुता परियार पनि जोडिरहेको एक सिलिन्डर ग्यास सकिएपछि के गर्ने भन्ने चिन्तामा छिन् ।

विगत दुई सातादेखि उनी ग्यासको खोजीमा डिलर-डिलर भौँतारिए पनि ग्यास भने पाएकी छैनन् ।

उनको क्याफेमा दैनिक ५-६ सय कप चिया पाक्ने गर्छ । क्याफेमा अहिले एउटामात्र ग्यास सिलिन्डर बाँकी छ, त्यो पनि आधाभन्दा बढी रित्तिसक्यो ।

‘ग्यास नपाएको दुई साता भइसक्यो, अहिले चलिरहेको यो एउटा मात्र सिलिन्डर हो,’ उनले भनिन्, ‘यो सकिएपछि ग्राहकलाई अब चिया खुवाउन पाइँदैन ।’

नेपाली समाजमा क्याफे छिर्नेबित्तिकै ग्राहकले खोज्ने पहिलो चिज नै चिया हो । तर, ग्यास अभावले निरुतालाई आफ्नो मेनुबाट सबैभन्दा लोकप्रिय पेय पदार्थ चिया नै हटाउनुपर्ने बाध्यात्मक अवस्थामा पुर्‍याएको छ । चियामात्र होइन, ग्यास सकिएपछि क्याफेको भान्सा नै ठप्प हुने देखिन्छ ।

ग्यास नहुँदा विकल्प के त ? निरुतासँग यसको ठोस उत्तर छैन ।

हौवा क्याफे सञ्चालक निरुता परियार

‘ग्यास सकिएपछि त कोल्ड ड्रिंक्स (चिसो पेय) र कालो चियामात्र बेच्ने हो,’ उनी भन्छिन्, ‘चिसो पेय पदार्थका भरमा क्याफे कति दिन टिक्ला ?’

उनले प्रयोग गर्ने सगर ग्यासको डिलरमा बुझ्दा जहिले पनि एउटै जवाफ आउँछ- ‘ग्यास आएको छैन, आएपछि पाउनुहुन्छ ।’

नयाँ बानेश्वरस्थित ‘कफी टेल्स’ क्याफेकी सञ्चालक उजिना थापा मगरलाई पनि भएको ग्यास सकिएपछि पाइएला कि नपाइएला भन्ने चिन्ता छ ।

ग्यास अभावबीच पनि क्याफे सञ्चालन गर्न उजिनाले ‘विद्युतीय चुलो पनि प्रयोग गर्दै आएकी छिन् । उनले आफ्नो क्याफेमा ग्यास प्रयोग कम गर्दै धेरैजसो परिकार विद्युतीय माध्यमबाटै तयार पार्ने गरेको बताइन् ।

कफी टेल्स’ क्याफे सञ्चालक उजिना थापा मगर

‘मैले धेरै परिकार विद्युतीय चुलो प्रयोग गरेर बनाउने गरेकी छु,’ उनले भनिन्, ‘म:म, चिया लगायत परिकार बनाउन ग्यासकै प्रयोग हुन्छ, भएको ग्यास सकियो भने के गर्ने भन्ने चिन्ता त भइरहन्छ ।’

सानामात्र होइन, ‘ब्रान्ड’ नै संकटमा

ग्यासको यो रापले साना खाजाघर मात्र होइन, ठूला रेस्टुरेन्ट चेनहरूलाई समेत नराम्ररी पोलेको छ । छोटो समयमै देशैभरि सञ्जाल विस्तार गरेको ‘द बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेन’ समेत अहिले ग्यास अभावकै कारण रक्षात्मक अवस्थामा पुगेको छ ।

बर्गर हाउसका संस्थापक बसन्त लामाका अनुसार काठमाडौंका १ सय शाखामध्ये १५ वटा त पूर्ण रूपमा बन्द भइसकेका छन् ।

‘जति छ त्यति चलाइरहेका छौं, नभएको ठाउँमा बन्द गर्नुपर्ने स्थिति छ,’ लामा भन्छन्, ‘एउटा शाखालाई दैनिक २-३ वटा सिलिन्डर चाहिन्छ, तर कुनै पनि डिलरले अहिले नियमित आपूर्ति दिन सकेका छैनन् ।’

सरकारले व्यवसायी आफैंले तराईबाट ग्यास ल्याउन सक्ने भने पनि त्यसमा धेरै कानुनी र व्यावहारिक जटिलता रहेको उनी बताउँछन् ।

‘तराईमा पनि ग्यास अभाव छ, फेरि त्यहाँबाट ल्याउँदा कुन डिलरको हो, किन ल्याएको भनेर प्रहरीले बाटोमै सोधपुछ गर्छ, कतिपय ग्यास त बाटोमै गायब हुने डर हुन्छ,’ उनी भन्छन् ।

ग्यास अभावसँगै आर्थिक मन्दीको दोहोरो मार

ग्यास अभावमात्र व्यवसायीको समस्या होइन । लामाका अनुसार अहिलेको आर्थिक सुस्तताले समेत रेस्टुरेन्ट व्यवसाय प्रभावित भएको छ ।

‘मान्छेको कमाइ राम्रो भए पहिलो खर्च खानामा गर्थ्यो, रमाइलो गर्थ्यो, रेस्टुरेन्ट जान्थ्यो,’ लामा विश्लेषण गर्छन्, ‘अहिले आर्थिक मन्दीले पनि मान्छेलाई तनाव दिन थालेको छ, व्यापारीहरू डराएका छन्, साना व्यवसायीले काम गर्ने वातावरण नै छैन ।’

क्यान्टिन सञ्चालक रमेश भण्डारीलाई लाग्छ- ‘ग्यास सहज हुनासाथ उनको क्यान्टिनमा फेरि पहिलेकै जस्तो परिकार पाक्नेछन् ।’

बुद्धनगरकी रन्जु सापकोटालाई आशा छ- ‘भोलि त पक्कै डिलरमा ग्यासको गाडी आउने छ ।’

तर, लामाजस्ता ठूला लगानीकर्ता भने राज्यको नीति र आपूर्ति व्यवस्थालाई लिएर सशंकित छन् ।

राजधानीका यी केही प्रतिनिधि उदाहरण मात्र हुन् । लामो समयदेखि चुलिएको ग्यास अभावले चुलो मात्र निभेको छैन, साना व्यवसायीको लगानी समेत धराशायी हुने जोखिम बढेको छ ।

पर्याप्त ग्यास नपाएपछि व्यवसायीले ग्राहकको अर्डर सीमित गर्न थालेका छन् भने आफ्नो मेनुबाट धेरै ग्यास खपत हुने परिकार नै हटाउन बाध्य भएका छन् । खाना पकाउने समय समेत छोट्याएर काम चलाउनुपरेको उनीहरूको भनाइ छ ।

यस अभावको तत्काल समाधान नखोजिए स्थितिले भयावह रूप लिन सक्ने चेतावनी व्यवसायीहरूले दिएका छन् । ग्यास नपाएकै कारण कतिपय होटल र रेस्टुरेन्ट बन्द भइसकेका छन् भने सञ्चालनमा रहेकाहरूले पनि जुनसुकै बेला सेवा रोक्नुपर्ने बाध्यता खेपिरहेका छन् ।

होटल तथा रेस्टुरेन्ट व्यवसाय पर्यटन क्षेत्रसँग जोडिएको हुँदा यसको प्रत्यक्ष असर अहिले आन्तरिक तथा वाह्य पर्यटकले पाउने सेवामा समेत पर्न थालेको होटल एसोसिएसन नेपाल (हान) का अध्यक्ष विनायक शाह बताउँछन् ।

होटल एसोसिएसन नेपाल (हान) अध्यक्ष विनायक शाह

शाहले ग्यास अभावका कारण विदेशी पाहुनालाई गुणस्तरीय र पर्याप्त सेवा दिन नसक्दा अन्तर्राष्ट्रिय स्तरमै नेपालको पर्यटन क्षेत्रबारे नकारात्मक सन्देश जान सक्ने भन्दै गम्भीर चिन्ता व्यक्त गरे ।

ग्यास अभाव मध्यनजर गर्दै नेपाल आयल निगमले बुधबार व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्री वितरण रोकेर घरायसी उपभोक्तालाई प्राथमिकता दिने भनेको थियो ।

व्यवसायीले ल्याउन चाहे तराई नै पुगेर ल्याउन सक्ने निगमको भनाइपछि होटल तथा रेस्टुरेन्ट व्यवसायीले आपत्ति जनाएका थिए ।

त्यसपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले होटल तथा रेस्टुरेन्ट व्यवसायीलाई बोलाएर छलफल गरेकी थिइन् ।

अध्यक्ष शाहले ग्यास अभावका कारण नेपाल आउने पर्यटकलाई खाना खुवाउन नसकिने अवस्था आएको भन्दै यसले अन्तर्राष्ट्रिय स्तरमै देशको छवि बिग्रने चिन्ता व्यक्त गरे ।

‘हिजोको छलफलमा मन्त्रालयले ग्यास पाउनुहुन्छ भनेको छ,’ उनले भने, ‘हामी ग्यासको सबभन्दा ठूलो ग्राहक हौं, सबैभन्दा धेरै खपत हाम्रै हुन्छ र अहिले हामीले ग्यास नपाएर व्यवसाय नै संकटमा परिसक्यो ।’

साना खाजाघर र पसल बन्द नै भइसकेको अवस्थामा ठूला होटललाई पनि बुकिङ धान्न मुस्किल परेको उनले बताए ।

‘हामीसँग बुकिङ छ, तर नेपाल आउने पर्यटकले तिमीहरूसँग ग्यासै छैन, खाना कसरी खुवाउँछौ भनेर सोध्ने अवस्था आइसक्यो,’ शाहले अनलाइनखबरसँग भने, ‘पर्यटक भनेको महत्त्वपूर्ण आर्थिक आधार हो, नेपाललाई माया गरेर आउने पर्यटकले यहाँ आएर खाना खान पाएनन् भने नेपालको छवि के हुन्छ ?’

‘हामी कर तिर्ने नागरिक हौं, तराईबाट आफैं ग्यास ल्याउन सक्दैनौं’

हिजोको छलफलमा उद्योगमन्त्री यादवले होटल व्यवसायीलाई सहज छ भने तराई गएर ग्यास ल्याउन भनेकी थिइन् ।

मन्त्रीको त्यो तर्कलाई अध्यक्ष शाहले ठाडै अस्वीकार गरेका छन् । बाटोको जीर्ण अवस्था, अतिरिक्त ढुवानी खर्च र सुरक्षाका कारण त्यो सम्भव नभएको उनको भनाइ छ ।

‘हामी विधिवत दर्ता भएका छौं, सरकारलाई कर तिरेका छौं, रोजगारी दिएका छौं भनेपछि हामी पनि त नागरिक नै हौं नि !,’ शाहले भने, ‘यो त वेलफेयर स्टेट हो, हाम्रो पनि रोजीरोटी र व्यवसाय चल्नुपर्‍यो नि, तराईबाट आफैं ल्याउन बाटोको सुरक्षा कसले दिन्छ ? बाटोको अवस्था त्यस्तै छ, अतिरिक्त खर्च कसले तिर्ने ?’

विनालगानी सरकार २५ प्रतिशतको हिस्सेदार बन्छ, सुविधा दिँदैन : रेबान

रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान) का अध्यक्ष संघर्ष विष्ट राज्यले व्यवसायीबाट विनालगानी २५ प्रतिशत हिस्सेदारी लिने तर होटल व्यवसायलाई उद्योगसरह सुविधा नदिएको भन्दै असन्तुष्टि व्यक्त गर्छन् ।

‘राज्यको ८० प्रतिशत अर्थतन्त्रको भूमिका निभाउने निजी क्षेत्र नै हो, ८५ प्रतिशत जति रोजगारी सुनिश्चित गर्ने क्षेत्र पनि यही हो,’ अध्यक्ष विष्टले भने, ‘विनालगानी २५ प्रतिशतको हिस्सेदारी यो सरकार र राज्यले लिन्छ, कुनै पनि व्यवसायीले व्यवसाय गर्दा २५ प्रतिशतको हिस्सेदार राज्य हुन्छ ।’

विष्टले राज्यको अर्थतन्त्रको ठूलो हिस्सा ओगट्ने निजी क्षेत्रलाई संकटका बेला सरकारले बेवास्ता गरेर गैरजिम्मेवारपन देखाएको  आरोप लगाए ।

‘राज्यले अहिले व्यवसायीलाई आफ्नै खर्चमा ग्यास ल्याऊ भन्नु गैरजिम्मेवारी हो,’ अध्यक्ष विष्टले भने, ‘राज्यले यसरी पन्छिन खोज्नुले उहाँहरूको आफ्नै क्षमतामाथि प्रश्नचिह्न खडा गरेको छ ।’

काठमाडौंमा ग्यास अभाव भएका कारण पाँचतारे होटलदेखि सामान्य रेस्टुरेन्टसम्मलाई आफ्ना ग्राहकलाई सेवा दिन र खाना खुवाउन धौ-धौ परेको विष्टले बताए ।

‘ग्यास नै नभएपछि अब बिस्तारै व्यवसाय नै बन्द गर्दै जानुपर्ने स्थिति देखिँदैछ,’ उनले भने, ‘तर, त्यस्तो अवस्था नआओस् भन्ने हाम्रो चाहना हो ।’

व्यवसायी आफैंले तराई गएर ग्यास ल्याउन सम्भव नभएको भन्दै उनले राज्यबाट वैकल्पिक व्यवस्था मिलाउनुपर्नेमा जोड दिए ।

‘यो त भद्रगोल भयो, एउटा बाटो बन्द भयो भने अर्को बाटोबाट कसरी आपूर्ति सहज बनाउने भन्ने भूमिका त राज्यको हो, राज्यले अभिभावकत्व लिनुपर्ने हो,’ अध्यक्ष विष्टले भने, ‘हामी घरमा खाना पकाउनका लागि मात्रै जिम्मा लिन्छौं, व्यावसायिक प्रयोजनका लागि जिम्मा लिँदैनौं भनेर राज्य पन्छिन मिल्दैन ।’

तस्विरहरू : चन्दरबहादुर आले/अनलाइनखबर

लेखक
ऋतु काफ्ले

काफ्ले अनलाइनखबरकाे बिजनेस ब्युराे संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?