News Summary
Generated by OK AI. Editorially reviewed.- खप्ती-ढल्केबर २२० केभी प्रसारण लाइनका दुवै सर्किटमा समस्या आएपछि काठमाडौं उपत्यका र मध्य क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ ।
- बिहान ८:५२ बजे सर्किट-१ को तार चुडिएर ट्रिप भएको र ९:१८ बजे सर्किट-२ पनि ट्रिप भएपछि प्रसारण सम्पर्क विच्छेद भएको प्राधिकरणले जनाएको छ ।
- भारतको उत्तर प्रदेशस्थित सम्पतिया सबस्टेसनबाट मैनहिया सबस्टेसन हुँदै वैकल्पिक आपूर्ति सञ्चालन गरी बिहान ९:४४ बजेदेखि काठमाडौं उपत्यकामा विद्युत् आपूर्ति पुनः सुरु गरिएको छ ।
१२ भदौ, काठमाडौं । आज काठमाडौंमा विद्युत् आपूर्ति अनियमित बनेको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार निर्माणाधीन हेटौंडा-ढल्केबर ४०० केभी प्रसारण लाइनको तार तान्ने कामका लागि १३२ केभी प्रसारण लाइन निर्धारित ‘सटडाउन’ मा रहेका बेला खप्ती-ढल्केबर २२० केभी प्रसारण लाइनका दुवै सर्किटमा समस्या आएपछि काठमाडौं उपत्यका सहित देशको मध्य क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुन पुगेको हो ।
प्राधिकरणका अनुसार बिहान ६:४० बजेदेखि हेटौंडा-अमलेखगञ्ज र कमाने-अमलेखगञ्ज १३२ केभी प्रसारण लाइन निर्धारित सटडाउनमा थिए । त्यस समयमा विद्युत् प्रणाली ढल्केबर-खुर्कोट–खिम्ती-भक्तपुर-स्युचाटार प्रसारण मार्गबाट सञ्चालन भइरहेको थियो ।
यसै क्रममा बिहान ८:५२ बजे खप्ती-ढल्केबर २२० केभी प्रसारण लाइनको सर्किट-१ को तार चुडिएर लाइन ट्रिप भएको थियो । त्यसपछि बिहान ९:१८ बजे सोही प्रसारण लाइनको सर्किट-२ समेत ट्रिप भएपछि विद्युत् प्रसारण सम्पर्क विच्छेद हुँदा काठमाडौं उपत्यका सहित देशको मध्य क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको प्राधिकरणले जनाएको छ ।
विद्युत् आपूर्ति यथाशीघ्र पुनर्स्थापना गर्न प्राधिकरणले वैकल्पिक प्रसारण मार्ग प्रयोग गरेको थियो । भारतको उत्तर प्रदेशस्थित सम्पतिया सबस्टेसनबाट मैनहिया सबस्टेसन हुँदै विद्युत् आपूर्ति सञ्चालन गरिएको हो ।
वैकल्पिक व्यवस्था मार्फत बिहान ९:४४ बजेदेखि काठमाडौं उपत्यकामा विद्युत् आपूर्ति पुन: सुरु गरिएको प्राधिकरणले जनाएको छ ।
हाल सम्बन्धित प्राविधिक टोलीले अवरुद्ध प्रसारण प्रणालीको स्थलगत निरीक्षण तथा आवश्यक मर्मतसम्भारको काम गरिरहेको छ । प्रसारण लाइनमा देखिएको समस्या पहिचान गरी प्रणालीलाई नियमित सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्राधिकरणले जनाएको छ ।
प्रतिक्रिया 4