+
+
Shares
रिपोर्ट :

 जलनका बिरामी पानी नपाएरै मर्छन्, छैनन् पर्याप्त विशेषज्ञ डाक्टर

जलनमा पर्ने अधिकांश बिरामी दूरदराज क्षेत्रका र आर्थिक रूपमा कमजोर परिवारका हुन्छन्। उपचारमा ढिलाइ, प्राथमिक उपचारको अभाव र लामो दूरीका कारण धेरै बिरामी अस्पताल पुग्नुअघि नै ज्यान गुमाउने अवस्थामा पुग्छन्।

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०८३ जेठ ७ गते ९:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा जलनका बिरामीको उपचारमा विशेषज्ञ जनशक्तिको अभाव र प्राथमिक उपचारको कमीले मृत्यु दर र अपांगता बढाएको छ।
  • सरकारले सात प्रादेशिक अस्पतालमा जलन उपचार केन्द्र विकास गर्ने योजना अघि सारेको छ तर जनशक्ति अभावका कारण सेवा प्रभावकारी हुन सकेको छैन।
  • कीर्तिपुर अस्पताल जलन उपचारको प्रमुख केन्द्र हो जहाँ देशभरका बिरामी उपचारका लागि आउने गर्छन्, तर संक्रमण नियन्त्रण र आवश्यक पूर्वाधार अभावले चुनौती छ।

६ जेठ, काठमाडौं। कीर्तिपुर अस्पतालको बर्न वार्डमा ९ वर्षका एक बालक टोलाइरहेका छन्। बायाँ हात पूरै जलेको छ। दायाँ खुट्टाको घुँडामुनिको भाग सग्लो छैन।

दाङ घोराहीका उनी गत १९ वैशाखको साँझमा साथीभाइसँग खेल्न घरबाट निस्किएका थिए। खेल्ने क्रममा फोहोर जलाउने ठाँउमा पुगे। असावधानीपूर्वक लड्दा उनलाई आगोको लप्काले भेट्यो।

‘साथीहरूसँग खेल्ने बेला लडेर आगोमा परेछ। त्यो ठाउँमा फोहोर जलाउने गरिएको थियो’ छोराको घाउ देखाउँदै बालककी आमाले भनिन्, ‘अहिले अलि सञ्चो भयो। त्यसबेला त हेर्नै नसक्ने थियो।’ घटनापछि परिवारले बालकलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याए।

‘एक हप्ता त्यहीं उपचार गरियो। तर घाउ निको हुने संकेत देखिएन’ उनले भनिन्, ‘घाउ सञ्चो नहोला भन्ने चिन्ता पनि बढ्दै गयो। एक सातापछि काठमाडौं नै ल्यायौं।’

उपचारमा संलग्न चिकित्सकका अनुसार समयमै विशेषज्ञ उपचार शुरू हुँदा घाउ चाँडै निको हुने सम्भावना हुन्थ्यो। तर उपचार ढिलो शुरू भयो। पोलेको ठाउँमा संक्रमण फैलिएकाले निको हुन अझै समय लाग्ने देखिएको चिकित्सकहरूले बताएका छन्।

धनुषाको गणेशमान चारनाथ नगरपालिका–४ की २४ वर्षीया रेणु परियारको भोगाइ पनि कम पीडादायी छैन। खाना पकाउने क्रममा भएको दुर्घटनापछि उनले देब्रे हत्केला नै गुमाउनुपर्‍यो।

२०८१ असार २८ गते बिहान उनी घरमै खाना पकाइरहेकी थिइन्। रेणु छारेरोगको बिरामी थिइन्। ग्यास बालेर अण्डा उसिनिरहेका बेला एक्कासी बेहोस भइन्। कराहीमा उम्लिरहेको पानी उनको अनुहारमा घोप्टियो। क्षणभरमै अनुहार र देब्रे हात गम्भीर रूपमा जल्यो। परिवारजनले हतार–हतार उनलाई उपचारका लागि जनकपुर प्रादेशिक अस्पताल पुर्‍याए।

जलनबाट घाइते रेणु परियार । फाइल तस्वीर

अनुहारको करिब ७० प्रतिशत भाग जलेको थियो। ६ दिनसम्म आईसीयूमा राखेपछि उनलाई सामान्य वार्डमा सारियो। तर घाउ निको हुने साटो झन् बल्झिँदै गयो।

संक्रमण बढ्दै जाँदा उनको अवस्था जटिल बन्दै गइरहेको थियो। थप उपचारका लागि काठमाडौं जाने एम्बुलेन्स भाडा समेत भएन। पैसा जुटाउन नसक्दा केही दिन प्रादेशिक अस्पतालमै बस्नुपर्‍यो। स्थानीय पत्रकार र अभियन्ताको सहयोगमा उनलाई कीर्तिपुर अस्पतालमा पुर्‍याइयो। तर त्यतिबेलासम्म ढिलो भइसकेको थियो। समयमै प्रभावकारी उपचार नपाउँदा रेणुको देब्रे हातको हत्केला काट्नुपर्‍यो।

सरकारले काठमाडौं बाहिर बर्न उपचार केन्द्र विकास गर्ने योजना सहित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, नारायणी अस्पताल, वीर अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र सेती प्रादेशिक अस्पतालका लागि एक–एक करोड पनि छुट्यायो। केहीले वार्ड पनि बनाए। तर आवश्यक विशेषज्ञ जनशक्ति अभावका कारण ती अस्पतालमा सेवा प्रभावकारी रूपमा सञ्चालन भएको छैन।

‘समयमै उपचार पाएको भए हत्केला फाल्नुपर्ने थिएन होला। एक हात नै नहुँदा काम गर्न सकिंदैन। अरूकै सहारामा बाँच्नुपर्ने भयो’ उनी भन्छिन्, ‘काठमाडौं पुगेपछि सरसहयोगले ज्यानसम्म बच्यो।’

अर्को उदाहरण हेरौं‌। मुगु घर भएकी पाँच वर्षकी बालिका आगो ताप्ने क्रममा शरीरको अधिकांश भाग जल्यो। ती बालिकालाई बचाउन परिवारले दुर्गम गाउँदेखि काठमाडौंसम्मका अस्पताल चहार्नुपर्‍यो।

ती बालिकाका ठूलोबुबा जय धर्म लाबडका अनुसार गत पुस २२ मा घर बाहिर आगो बालेर ताप्ने क्रममा दुर्घटना भएको थियो। बालिका आफ्नी बहिनीसँग आगो ताप्दै बसेकी रहिछन्। ‘पुसको जाडो थियो, बाहिर आगो बालेर बसेका थिए। बच्चीले लगाएको कपडा चाँडै बल्ने रहेछ। एक्कासी शरीरमा आगो सल्कियो’, लाबड भन्छन्।

घटनालगत्तै परिवारले बालिकालाई मुगुको नजिकैको रातोपानी अस्पताल पुर्‍याए। तर त्यहाँ डाक्टर भेटिएनन्, औषधि पनि पाएनन्। त्यसपछि बालिकालाई बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र लगियो। तर त्यहाँ पनि तत्काल उपचार सम्भव नभएपछि चिकित्सकले रेफर गरेर ठूलो अस्पताल लैजान सुझाव दिए।

जसोतसो छिमेकमा सापटी मागेको रकमले एम्बुलेन्समा हालेर बालिकालाई सुर्खेत अस्पताल पुर्‍याए। बालिकाको अवस्था जटिल थियो। चिकित्सकले तुरुन्तै काठमाडौं लैजान सुझाव दिए। तर हवाई टिकट काट्ने समेत पैसा थिएन। त्यसपछि पत्रकार प्रकाश सिंह र बिभिएस नेपालको पहलमा बालिकालाई हवाईमार्गबाट काठमाडौं ल्याइयो। थप उपचारका लागि आर्थिक सहयोग भयो।

काठमाडौं आएपछि बालिकालाई कान्ति बाल अस्पताल पुर्‍याइयो। करिब दुई हप्ता उपचार भयो। तर बालिकाको अवस्था जटिल भएकाले पूर्ण उपचार सम्भव भएन।

‘कान्तिमा आईसीयू बेड खाली भएन। छोरीको स्वास्थ्य पनि ठीक भएन। त्यसपछि कीर्तिपुर अस्पतालमा तीन महिना उपचार गरियो’, लाबड सम्झिन्छन्। आगोले बालिकाको शरीरको करिब ६० प्रतिशत भाग जलेको थियो। तीन महिनाको उपचार अवधिमा बालिकाको उपचारमा करिब नौ लाख रुपैयाँ खर्च भयो।

जलन हुँदा शरीरबाट ठूलो मात्रामा तरल पदार्थ नष्ट हुन्छ। यदि समयमा पानी वा स्लाइन नदिइएमा शरीरका महत्त्वपूर्ण अंग जस्तै मुटु, मस्तिष्क र अन्य संवेदनशील अंग–गम्भीर रूपमा प्रभावित हुन्छन्। यसले बिरामीलाई छिट्टै जटिल अवस्थामा पुर्‍याएर मृत्युको जोखिम बढाउँछ।

लाबड परिवारका लागि त्यो रकम तिर्न सक्ने क्षमता थिएन। ‘यदि सहयोग नपाएको भए बच्चीलाई बचाउन सक्ने अवस्था थिएन’, लाबड भन्छन्। लामो उपचारपछि बालिकालाई अहिले घरमै लगिएको छ। आगोले उनको जीवन सधैंका लागि बदलिदिएको छ।

‘अहिले खाना खान्छे, अलि–अलि हिंड्छे। छोरी जीवनभरको अपांगता भई’ लाबड भन्छन्, ‘ज्यान बच्यो भन्नेमा खुशी छौं। तर उसको भविष्य अब कस्तो हुन्छ भन्ने चिन्ता छ।’

कीर्तिपुर देशभर जलनका बिरामी उपचारका लागि पुग्ने प्रमुखमध्ये एक अस्पताल हो। काठमाडौं उपत्यकाभित्र र बाहिरका अधिकांश जलनका बिरामी सोझै वा रेफर भएर यही अस्पतालमा आउने गर्छन्।

कारण स्पष्ट छ– जलनको प्रभावकारी उपचारका लागि देशभर पर्याप्त सेवा नहुँदा बिरामीहरूलाई काठमाडौं नै आउनुपर्ने बाध्यता छ।

अस्पतालको तथ्यांक अनुसार कीर्तिपुर अस्पतालमा आउने जलनका बिरामीमध्ये उपत्यकाका करिब ८ प्रतिशत मात्रै छन् भने ९२ प्रतिशत बिरामी काठमाडौं बाहिरका जिल्लाबाट आउने गरेका छन्। तीमध्ये पनि जलनका घटना बढी हुने प्रदेशका रूपमा मधेश प्रदेश देखिन्छ।

chart visualization

जलनमा पर्ने अधिकांश बिरामी दूरदराज क्षेत्रका र आर्थिक रूपमा कमजोर परिवारका हुन्छन्। उपचारमा ढिलाइ, प्राथमिक उपचारको अभाव र लामो दूरीका कारण धेरै बिरामी अस्पताल पुग्नुअघि नै ज्यान गुमाउने अवस्थामा पुग्छन्।

विज्ञहरूका अनुसार जटिल जलन भएका कतिपय बिरामीको त मृत्यु अस्पताल पुग्नुअघि नै बाटोमै हुन्छ। यसको प्रमुख कारण भनेकै प्राथमिक उपचार नपाउनु हो।

प्राथमिक उपचार नै पाउँदैनन्

नेपालमा जलनको बिरामीका लागि विशिष्टकृत अस्पताल छैनन्। ठूला सरकारी अस्पतालहरूमा ५ देखि १० बेडसम्मको जलन उपचार कक्ष तोकिए पनि दक्ष जनशक्ति र आवश्यक सुविधा अभावका कारण अधिकांश बिरामीलाई काठमाडौं ‘रेफर’ गरिन्छ।

कीर्तिपुर अस्पतालका वरिष्ठ प्लाष्टिक सर्जन डा. शंकरमान राईका अनुसार जलनका बिरामीले सबैभन्दा आधारभूत उपचार नै पाइरहेका छैनन्। जलनका गम्भीर बिरामीको मृत्युदर, अंगभंग उच्च हुनुको प्रमुख कारण उपचार ढिलो शुरू हुनु हो।

जलन भएका बिरामीका लागि सबैभन्दा महत्त्वपूर्ण प्रारम्भिक उपचार अन्तर्गत शरीरमा प्रशस्त तरल पदार्थ दिनुपर्छ। बिरामीको पिसाब सफा नहुन्जेलसम्म निरन्तर पानी पिलाइरहनु आवश्यक हुन्छ।

विशेषगरी जलनपछि पहिलो २४ घण्टामा पर्याप्त मात्रामा ‘फ्लुड’ (पानी) नपाउनु गम्भीर समस्या भएको डा. राई बताउँछन्।

डा. शंकरमान राई

उनी उदाहरण दिंदै भन्छन्, ‘यदि ६० किलो तौल भएको व्यक्तिको शरीरको ५० प्रतिशत भाग जल्दा पहिलो २४ घण्टामा करिब १२ लिटर फ्लुड दिनुपर्छ।’ जबकि सामान्य अवस्थामा मानव शरीरमा करिब पाँच लिटर मात्रै रगत हुन्छ।

विज्ञहरूका अनुसार जलनका बिरामीलाई शुरुका २४ घन्टामा सादा पानी वा स्लाइन मार्फत कम्तीमा १० देखि १५ लिटर तरल पदार्थ दिनुपर्ने हुन्छ। तर धेरै बिरामी लामो समयसम्म पानी नपाएरै अस्पताल पुग्ने गरेका छन्।

‘पानी समयमै नदिंदा शरीरको रक्तसञ्चार बिग्रन्छ र बिरामीको ज्यान जोखिममा पर्छ’ डा. राई भन्छन्, ‘जलेका बिरामीले प्राथमिक उपचार नै पाइरहेका हुँदैनन्। यही कारणले धेरै बिरामी बाटोमै मृत्यु हुने अवस्था आउँछ।’

जलनका बिरामीलाई अस्पताल ल्याउँदा धेरैजसो अवस्थामा एम्बुलेन्स प्रयोग गरे पनि आवश्यक स्वास्थ्य सावधानी भने प्रायः अपनाइँदैन। विशेषज्ञहरूका अनुसार गम्भीर जलन भएका बिरामीलाई स्वास्थ्यकर्मीको निगरानीमा प्राथमिक उपचार गर्दै अस्पताल ल्याउनुपर्ने हुन्छ।

विकसित देशको तुलनामा नेपालमा जलनका बिरामी मृत्युदर अधिक छ। विकसित देशमा जलन भएकामध्ये ३ प्रतिशतसम्म बिरामीको मृत्यु हुन्छ। तर नेपालमा १५ प्रतिशतको हाराहारीमा मृत्यु हुने गरेको छ।

साना र ठूला गरी वार्षिक ७० हजार जलनका घटना हुने स्वास्थ्य मन्त्रालयको अनुमान छ। तर तीमध्ये सबै बिरामी अस्पतालसम्म पुग्न सक्दैनन्।

वरिष्ठ प्लाष्टिक सर्जन डा. किरण नकर्मी विकट क्षेत्रबाट आउने अधिकांश बिरामीले अस्पतालसम्म आइपुग्दा पानी नै नपाइरहेको बताउँछन्।

दुर्गम क्षेत्रका बिरामीहरू प्रायः सिधै एम्बुलेन्स मार्फत काठमाडौं पठाइने भएकाले बाटोमा आवश्यक उपचार नपाउने समस्या छ। जलनपछि तत्काल गरिनुपर्ने प्राथमिक उपचारमा हुने गल्तीका कारण धेरै बिरामी गम्भीर अवस्थामा पुग्छन्।

जलन हुँदा शरीरबाट ठूलो मात्रामा तरल पदार्थ नष्ट हुन्छ। यदि समयमा पानी वा स्लाइन नदिइएमा शरीरका महत्त्वपूर्ण अंग मुटु, मस्तिष्क र अन्य संवेदनशील अंग–गम्भीर रूपमा प्रभावित हुन्छन्। यसले बिरामीलाई छिट्टै जटिल अवस्थामा पुर्‍याएर मृत्युको जोखिम बढाउँछ।

दार्चुला वा ताप्लेजुङ जस्ता दुर्गम जिल्लाबाट काठमाडौं आइपुग्न २४ घण्टाभन्दा बढी लाग्छ। ‘एम्बुलेन्समा बिरामी हेर्ने स्वास्थ्यकर्मी हुँदैन’ डा. किरण भन्छन्, ‘परिवारका सदस्यलाई पनि पानी खुवाउनुपर्छ भन्ने जानकारी हुँदैन। धेरै बिरामी पानी नपाएरै मर्छन्।’

वीर अस्पतालका वरिष्ठ प्लाष्टिक सर्जन डा. पियूष दाहाल पनि प्राथमिक उपचारमा त्रुटि हुँदा बिरामीको मृत्युदर बढ्दै गएको बताउँछन्। ‘हामीले प्राथमिक उपचारका तालिम केही ठाउँमा दिएका छौं’  डा. दाहाल भन्छन्, ‘तर व्यवहारमा लागू हुनसकेको छैन। गम्भीर बिरामीलाई उपचार गरेर रेफर गर्नुपर्ने ठाउँमा धेरैले सिधै पठाइदिन्छन्।’

डा. किरण नकर्मी

रेफर गर्दा स्वास्थ्यकर्मी अनिवार्य हुनुपर्नेमा व्यवहारमा पूर्ण रूपमा लागू नसक्दा मृत्युदर बढ्दो रहेको चिकित्सक जिकिर गर्छन्।

डा. पियूषका अनुसार सातै प्रदेशमा स्थापना गरिएको जलन उपचार केन्द्र प्रभावकारी हुँदा मात्रै मृत्युदर घटाउनुका साथै अपांगता हुने जोखिम कम गर्न सकिन्छ।

जलनका बिरामीको मृत्युदर घटाउने सबैभन्दा प्रभावकारी उपाय समयमै प्राथमिक उपचार उपलब्ध गराउनु हो। गम्भीर अवस्थामा रहेका बिरामीलाई सिधै ठूलो अस्पताल पुर्‍याउने मानसिकताभन्दा पहिले नजिकैको स्वास्थ्य संस्थामै प्रारम्भिक उपचार उपलब्ध गराउनु बढी महत्त्वपूर्ण हुन्छ। विशेषगरी राजमार्ग आसपासका स्वास्थ्य संस्थामा जलनका बिरामीका लागि प्राथमिक उपचार केन्द्र स्थापना गर्न आवश्यक छ। त्यस्ता केन्द्रबाट प्रारम्भिक उपचार उपलब्ध गराएमा बिरामीको अवस्था जटिल हुन नपाउने डा. पियूष बताउँछन्।

‘बिरामीलाई जतिसक्दो चाँडो ठूलो अस्पताल पुर्‍याउने सोच बढी छ’ डा. पियूष  भन्छन्, ‘गम्भीर भएका बिरामीलाई पहिला प्राथमिक उपचार पूरा गरेपछि रेफर गर्नुपर्छ। तर यस्तो अभ्यास नै छैन।’

डा. पियूषका अनुसार नेपालका सबै स्वास्थ्य संस्थामा पूर्ण जलन उपचार केन्द्र सञ्चालन गर्नु सम्भव नभएकाले रणनीतिक रूपमा राजमार्गमा करिब दुई–दुई घण्टाको दूरीमा प्राथमिक उपचार केन्द्र स्थापना गर्नुपर्ने आवश्यकता छ।

यसले दुर्गम क्षेत्रबाट आउने बिरामीलाई प्रारम्भिक उपचार उपलब्ध गराउन सहयोग पुग्ने उनले बताए। जलनको प्रारम्भिक उपचार स्थानीय स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीले नै गर्न सक्छन्। तर त्यसका लागि आवश्यक आधारभूत तालिम दिनु अपरिहार्य हुन्छ।

सरकारले भने प्रादेशिक अस्पतालमा जलन वार्ड विस्तार गरी सेवा सुचारु गरिरहेको दाबी गर्छ। तर प्रादेशिक अस्पतालमा जनशक्ति अभावका कारण सेवा प्रभावकारी हुनसकेको छैन।

प्लाष्टिक सर्जनको अभावलाई प्रमुख चुनौतीका रूपमा औंल्याउँदै जनरल सर्जन र मेडिकल अफिसरलाई तालिम दिएर सेवा सञ्चालन भइरहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारी बताउँछन्।

मन्त्रालयले प्रत्येक प्रदेशका तोकिएका अस्पतालमा जलन वार्ड स्थापना, उपकरण व्यवस्थापन, तालिम र रेफरल प्रणाली सुदृढ गर्ने काम अघि बढाइने जनाएको छ।

आगामी आर्थिक वर्षको बजेटमा पनि जलनलाई प्राथमिकता दिएको डा. समीर बताउँछन्। ‘एमजीपी र जनरल सर्जनलाई तालिम दिने र क्षमता अभिवृद्धि गर्ने योजना छ’ उनी भन्छन्, ‘विशेषज्ञ सेवा सबै ठाउँमा तत्काल उपलब्ध गराउन कठिन भए पनि चरणबद्ध रूपमा सुधार गर्दै जानेछौं।’

‘जटिल बिरामी संक्रमण फैलिएर मर्छन्’

जलनका बिरामीको मृत्युको अर्को मुख्य कारण संक्रमण नियन्त्रण गर्न नसक्नु हो। संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी जलनका बिरामीको उपचारमा संक्रमण सबैभन्दा ठूलो चुनौती रहेको बताउँछन्। शरीरको धेरै भाग जलेपछि अधिकांश बिरामीको मृत्यु संक्रमणकै कारण हुनेगर्छ।

सामान्य अवस्थामा छाला शरीरको महत्त्वपूर्ण प्रतिरक्षा कवच हो। स्वस्थ छालाले बाहिरी ब्याक्टेरियालाई शरीरभित्र प्रवेश गर्न दिंदैन। तर जलनका कारण छालाको सतह नष्ट भएपछि शरीरको भित्री तह खुला हुन्छ र संक्रमण सजिलै हुन सक्छ।

डा. अनुप सुवेदी

नेपालमा जलनका बिरामीमा संक्रमण नियन्त्रण गर्न तीनवटा प्रमुख चुनौती रहेको डा. अनुप बताउँछन्।

पहिलो, जलेको भाग तुरुन्त छोप्ने आधुनिक विकल्पको अभाव। विकसित देशमा ‘छाला बैंक’ तथा कृत्रिम छाला जस्ता प्रविधि प्रयोग गरेर घाउ छोप्ने गर्छन्। जसले संक्रमणको जोखिम घटाउँछ।

नेपालमा सन् २०१४ बाट कीर्तिपुर बर्न अस्पतालमा छाला बैंक शुरू भयो। तर, पर्याप्त रुपमा छाला दान नै हुँदैन।

चिकित्सकका अनुसार ३० प्रतिशतभन्दा बढी गहिरो जलन भएका बिरामीलाई आफ्नै छालाले पुग्दैन। त्यस्तो अवस्थामा अरू मानिसको छाला प्रत्यारोपण गरेर बिरामी बचाइन्छ। कृत्रिम छाला पनि महँगो हुँदा विपन्न नागरिकले प्रयोग गर्न सक्दैनन्।

दोस्रो, अस्पतालभित्र संक्रमण रोकथाम तथा नियन्त्रण (इन्फेक्सन प्रिभेन्सन एन्ड कन्ट्रोल) प्रणाली कमजोर हुनु हो।

जलनका बिरामीलाई छुट्टै कोठा वा आइसोलेसनमा राख्नुपर्छ। तर अधिकांश अस्पतालमा बिरामीहरू नजिक–नजिक राखिनुपर्ने अवस्था छ। जसले एक बिरामीबाट अर्कोमा संक्रमण सर्ने जोखिम बढाउँछ।

‘बिरामीका आफन्तबाट, स्वास्थ्यकर्मीको हातबाट पनि कीटाणु सर्न सक्छ’  डा. अनुप भन्छन्, ‘त्यसैले प्रत्येक बिरामीका लागि छुट्टै गाउन र कडा सरसफाइ मापदण्ड आवश्यक हुन्छ।’ धेरै अस्पतालमा जनशक्ति अभाव र बेडको चापका कारण संक्रमण नियन्त्रणका मापदण्ड पूर्ण रूपमा पालना हुनसकेको छैन।

तेस्रो चुनौती औषधिप्रति प्रतिरोधी जीवाणु (एन्टिमाइक्रोबियल रेजिस्टेन्स) को बढ्दो समस्या हो। नेपालमा मानिस र पशुपन्छी दुवै क्षेत्रमा एन्टिबायोटिकको जथाभावी प्रयोग हुने भएकाले धेरै ब्याक्टेरिया औषधिप्रति प्रतिरोधी बनिसकेका छन्।

‘सामान्य एन्टिबायोटिकले काम नगर्ने कडा प्रकारका ब्याक्टेरिया धेरै भेटिन्छन्’ डा. अनुप भन्छन्, ‘जलनमा संक्रमण हुँदा महँगा र शक्तिशाली औषधि प्रयोग गर्नुपर्छ। जुन विपन्न बिरामीका लागि खरिद गर्न कठिन हुन्छ।’

कीर्तिपुर अस्पताल

जलनका बिरामीमा मुटु, मिर्गौला लगायत अंगहरू पहिले नै कमजोर अवस्थामा हुने भएकाले संक्रमण थपिएपछि अवस्था झन् जटिल बन्छ।

जलन उपचार प्रभावकारी बनाउन सर्जनसँगै संक्रामक रोग विशेषज्ञ, प्रशिक्षित नर्स र सरसफाइ सम्बन्धी जनशक्ति सहितको समन्वित प्रणाली आवश्यक पर्ने डा. अनुपको भनाइ छ। ‘बर्न केयरमा संक्रमण नियन्त्रणको भूमिका अत्यन्त ठूलो हुन्छ’ उनी भन्छन्, ‘यस्ता पक्ष बलियो नभएसम्म मृत्युदर घटाउन गाह्रो हुन्छ।

विशेषज्ञ जनशक्तिको अभाव

सरकारले देशभर जलन उपचार सेवा विस्तार गर्ने घोषणा गरेको छ। त्यसअनुसार काठमाडौं बाहिर सात स्थानमा बर्न उपचार केन्द्र विकास गर्ने योजना अघि सार्‍यो।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, नारायणी अस्पताल, वीर अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र सेती प्रादेशिक अस्पतालमा सेवा विस्तार गर्न एक–एक करोड पनि छुट्यायो। केहीले वार्ड पनि बनाए। तर आवश्यक विशेषज्ञ जनशक्ति अभावका कारण ती केन्द्र प्रभावकारी रूपमा सञ्चालन हुनसकेका छैनन्।

नेपाल मेडिकल काउन्सिलको तथ्याङ्क अनुसार नेपालमा प्लास्टिक सर्जन १३ जना मात्रै छन्, ती पनि अधिकांश काठमाडौंमै केन्द्रित छन्।

प्लाष्टिक सर्जनको सरकारी दरबन्दी एकदमै कम हुँदा अध्ययन गर्न समेत चिकित्सक आकर्षित छैनन्। प्रदेश स्तरमा जलनको उपचार शुरु गर्दा ठूलो टिमको आवश्यकता पर्छ। सेवा सञ्चालन गर्न आवश्यक जनशक्तिको संख्यालाई ध्यानमा राखेर त्यही अनुसारको दरबन्दी सिर्जना गर्नुपर्ने र उत्पादन बढाउनुपर्ने डा. पियूष बताउँछन्।

सरकारले नीति तथा कार्यक्रममा जलन उपचारलाई प्राथमिकतामा राखे पनि दरबन्दी विस्तार नगर्दा योजना कार्यान्वयनमै समस्या देखिएको छ। ‘सरकारले योजना त बनाएको छ। तर जनशक्ति थप नगरेपछि काम कसरी अघि बढ्छ ?’ डा. पियूष प्रश्न गर्छन्, ‘कता–कता सरकार आफ्नै प्राथमिकतामा पनि चुकेको जस्तो देखिन्छ।’

जलन उपचारलाई प्रभावकारी बनाउन र व्यवस्थित गर्न विशिष्टकृत केन्द्रको आवश्यकता छ। वीरमा केडी जोशी बर्न सेन्टर स्थापना गरिएको छ। अप्रेशन थिएटर समेत सञ्चालनमा छ। तर आवश्यक जनशक्ति भने छैन।

‘छुट्टै दरबन्दी सिर्जना गर्न प्रस्ताव पनि पठाएका छौं’ डा. पियूष भन्छन्, ‘तर डाक्टर र नर्सको अभावका कारण आईसीयू व्यवस्थापनदेखि शल्यक्रियासम्ममा कठिनाइ छ।’

डा. पियूष दाहाल

जलनको उपचारमा प्लास्टिक सर्जनले मात्रै उपचार गरेर हुँदैन। यसको लागि क्रिटिकल केयरको फिजिसियन, एनेस्थेसिया, फिजियोथेरापी, क्लिनिकल साइकोलोजिस्ट लगायत जनशक्तिहरू चाहिन्छन्।

‘जलन उपचार गर्ने भनेर छुट्याइएका प्रादेशिक अस्पतालमा दुई जना मात्रै सर्जन राख्ने हो भने १४ जनाको आवश्यकता पर्छ। सरकारले तत्काल आवश्यक जनशक्तिलाई उत्पादन गर्नुपर्छ’ डा. शंकरमान भन्छन्, ‘जनरल सर्जनलाई तालिम दिएर सेवा सञ्चालन गर्नु बाहेक अन्य विकल्प अहिले छैन।’

प्लास्टिक सर्जन बन्न लामो समय लाग्ने भएकाले छोटो समयमा जनशक्ति उत्पादन गर्न कठिन छ। एमबीबीएसपछि तीन वर्ष जनरल सर्जरी विषय अध्ययन गर्नुपर्छ। त्यसपछि थप तीन वर्ष प्लास्टिक सर्जरीको अध्ययन गर्नुपर्छ। यस्तो लामो अध्ययनका कारण पनि धेरै चिकित्सक यस क्षेत्रमा आउन इच्छुक हुँदैनन्।

त्यसैले बर्न उपचारका लागि वैकल्पिक उपाय खोज्नुपर्ने अवस्था आएको डा. शंकरमान बताउँछन्। उनका अनुसार प्लास्टिक सर्जनको अभावमा जनरल सर्जन वा एमडीजीपी चिकित्सकलाई विशेष तालिम दिएर बर्न उपचारमा परिचालन गर्ने योजना अघि बढाइएको छ।

कीर्तिपुर अस्पतालमा एकवर्षे ‘बर्न सर्जरी फेलोसिप’ कार्यक्रम सञ्चालन गरिएको छ। जसलाई नेपाल मेडिकल काउन्सिलले मान्यता दिएको छ। उक्त तालिम पूरा गरेका चिकित्सकलाई काउन्सिलमा ‘बर्न सर्जन’का रूपमा दर्ता गर्न सकिने व्यवस्था गरिएको छ।

तर एकवर्षे तालिममा पनि चिकित्सकको आकर्षण कम छ। डा. राई भन्छन्, ‘काम गरिरहेका जनरल सर्जनलाई एक वर्ष तालिमका लागि आउन आर्थिक रूपमा पनि कठिन हुन्छ।’ यसै कारण अब छोटो अवधिको गहन तालिम कार्यक्रम सञ्चालन गर्ने तयारी भएको उनी बताउँछन्।

स्वास्थ्य मन्त्रालय अन्तर्गत नेपाल हेल्थ ट्रेनिङ सेन्टरसँग समन्वय गरेर एक महिनाको ‘इन्टेन्सिभ ट्रेनिङ’ कार्यक्रम शुरु गर्ने योजना बनाइएको छ। यस कार्यक्रममा जनरल सर्जन र एमडीजीपी चिकित्सकलाई स्किन ग्राफ्ट, अपरेशन, आईसीयू व्यवस्थापन तथा बर्न बिरामीको समग्र उपचार सम्बन्धी सीप सिकाइनेछ। साथै नर्सलाई पनि आईसीयू, अपरेशन थिएटर र वार्ड व्यवस्थापन सम्बन्धी तालिम दिइने योजना छ।

डा.  राईका अनुसार उपकरण र भवन बनाएर मात्रै बर्न सेवा सञ्चालन गर्न सकिंदैन। ‘कोरोना महामारीका बेला सरकारले देशभर भेन्टिलेटर पठायो। तर चलाउन सक्ने जनशक्ति नै भएन। अहिले बर्न सेवामा त्यस्तै भएको छ’ उनी उदाहरण दिंदै भन्छन्, ‘काठमाडौं बाहिरका केही अस्पतालमा वार्ड र उपकरण तयार भए। तर जनशक्ति नै छैनन्।’

विशिष्टकृत अस्पतालको आवश्यकता

विकसित देशको तुलनामा नेपालमा जलनका बिरामी मृत्युदर अधिक छ। विकसित देशमा जलन भएकामध्ये ३ प्रतिशत बिरामीको मात्र मृत्यु हुन्छ। तर नेपालमा १० प्रतिशतको हाराहारीमा मृत्यु हुने गरेको छ।

जलनको ठूलो संख्यामा उपचार गर्ने कीर्तिपुर अस्पतालको अहिलेको संरचनामा ६० प्रतिशतसम्म जलेका एकाध बिरामी बचाउन सकिएको अस्पताल सम्बद्धहरू बताउँछन्। उनीहरूका अनुसार ४० प्रतिशतसम्म जलन भएका ५० प्रतिशत बिरामी बचाउन सकिएको छ।

त्यसमाथि गम्भीर जलन भएका बिरामी छिमेकी देश भारत जाने वा मृत्यु कुर्नुबाहेक अन्य विकल्प छैन। त्यसकारण काठमाडौंमा विशिष्टकृत र अन्तर्राष्ट्रिय स्तरको एक अस्पताल बनाउनुपर्नेमा विज्ञ जोड दिन्छन्। हाल काठमाडौं उपत्यकतामा कीर्तिपुर, वीर, त्रिवि शिक्षण, पाटन, कान्ति बाल, सुषमा कोइराला मेमोरियल अस्पतालमा जलनको उपचार हुन्छ। तर केही बेड र न्यून आईसीयूमा मात्रै सीमित रहँदा अझै प्रभावकारी सेवा दिन सकिएको छैन।

कीर्तिपुर अस्पतालले सन् २०१४ देखि जलेका बिरामीको उपचार गर्न थालेको थियो। अस्पतालको तथ्यांक अनुसार पहिलो वर्ष ९० जना जलनका बिरामी भर्ना भएका थिए। २०२५ मा आइपुग्दा ८७७ जनाको उपचार गरिएको छ। ओपीडीमा ४ हजारभन्दा बढी बिरामी आएका छन्।

डा. राई पहिलो वर्ष ४० प्रतिशतसम्म जलेका बिरामीलाई पनि बचाउन नसकिएको बताउँछन्। ‘त्यतिबेला हामीले ४५ प्रतिशतभन्दा माथि जलेकालाई बचाउन कोशिश नगरेको भए आज ६० प्रतिशत जलन भएकालाई बचाउन सकिंदैनथ्यो होला’ उनी  भन्छन्, ‘अहिले बचाउन नसकिने बिरामीलाई बचाउन सक्ने क्षमताको विशिष्टकृत अस्पतालको आवश्यकता छ।’

वीर अस्पतालका डा. पियूष पनि प्रदेशमा जलनको उपचार प्रभावकारी बनाउँदै केन्द्रमा अत्याधुनिक अस्पताल बनाउनुपर्नेमा जोड दिन्छन्। उनी भन्छन्, ‘जलेका बिरामीको उपचार गर्न प्रविधि सहित ठूलो टिम चाहिन्छ। कुनै एक अस्पताललाई अब्बल बनाउन सक्दा मात्रै प्रभावकारी सेवा दिन सक्छन्।’

जलनको ठूलो संख्यामा उपचार गर्ने कीर्तिपुर अस्पतालको अहिलेको संरचनामा ६० प्रतिशतसम्म जलेका एकाध बिरामी बचाउन सकिएको छ। ४० प्रतिशतसम्म जलन भएका ५० प्रतिशत बिरामी बचाउन सकिएको छ। त्यसमाथि गम्भीर जलन भएका बिरामी छिमेकी देश भारत जाने वा मृत्यु कुर्नुबाहेक अन्य विकल्प छैन।

कीर्तिपुरमा आकस्मिक कक्षमा जनरल र जलनका बिरामीलाई एकै ठाउँमा राख्नुपर्ने बाध्यता छ। अन्य बिरामीबाट संक्रमण हुने हुँदा जलेका बिरामीको अवस्था जटिल बन्न जान्छ। चिकित्सकका अनुसार सामान्यतया जलनका बिरामीलाई आइसोलेसन गरेर छुट्टै क्याबिनमा उपचार गर्नुपर्ने हुन्छ।

डा.  राईका अनुसार जलेका बिरामीलाई संक्रमण हुने सम्भावना धेरै हुन्छ, त्यसैले छुट्टा–छुट्टै कोठामा राख्नुपर्छ। तर पर्याप्त भौतिक पूर्वाधार नहुँदा एकैठाउँमा राखेर उपचार गरिराख्नुपरेको छ।

‘एकैठाउँमा राख्दा संक्रमण फैलिएर केही बिरामीको मृत्यु हुनसक्छ। अहिले सोचे जस्तो बिरामीलाई केयर दिन सकिएको छैन’ डा. राई भन्छन्, ‘काठमाडौंमा अन्तर्राष्ट्रियस्तरको अस्पतालको खाँचो छ। अबको केही वर्षमा कीर्तिपुरले दिएको सेवा प्रादेशिक अस्पतालले दिन सक्ने बनाउनुपर्छ।’

लेखक
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?