
३ फागुन, काठमाडौं । कीर्तिपुर अस्पतालको तथ्याङ्कले भन्छ– भर्ना भएका बिरामीमध्ये लगभग १५ प्रतिशतलाई बचाउन असम्भव हुन्छ । जबकि विकसित देशमा जलन भएका बिरामीमध्ये ३ प्रतिशतको उपचार असफल हुन्छ ।
उपचारमा संलग्न चिकित्सकका अनुसार नेपालमा जलनको मृत्युदर उच्च हुनुको प्रमुख कारण स्रोत साधनको अभाव हो ।
कीर्तिपुर अस्पताल जलनको उपचारका लागि एक मात्रै भरोसाको केन्द्र बनेसँगै पछिल्ला दिनमा बिरामी उपचार गर्ने क्रममा पनि बढ्दो छ । गत तीन वर्षदेखि अस्पतालले नयाँ भवनका लागि सरकारसँग ५० करोडको सहयोगको याचना गरिरहेको छ ।
तर पटक पटक सरकारी संयन्त्रबाट सहयोगको आश्वासन पाएपनि कीर्तिपुरले रकम अभावकै कारण भौतारिनुपरेको छ ।
२०७९ फागुनमा ग्यास सिलिण्डर लिक भएर भएको आगलागीमा गम्भीर घाइते भएका कांग्रेस सांसद चन्द्र भण्डारीलाई भारत लैजानुपर्ने अवस्था आएपछि नेपालमै जलनको अत्याधुनिक अस्पताल बन्नुपर्ने बहस चलेको थियो ।

कीर्तिपुरलाई जलन उपचारको प्रमुख अस्पतालका रूपमा विस्तार गर्न प्रधानमन्त्री, सांसदहरूले अनुदान दिने प्रक्रिया अगाडि बढेको बताउँदै आएका छन् । तर अनुदान रकम हालसम्म पनि अस्पतालले पाउन सकेको छैन ।
‘उच्चपदस्थ व्यक्ति जलनमा पर्दा कीर्तिपुर अस्पताललाई सुविधा सम्पन्न बनाउने चर्चा हुन्छ’ अस्पतालका एक चिकित्सकले अनलाइनखबरसँग गुनासो गरे, ‘तर, अस्पतालको स्तरोन्नतिका गर्न कसैको नजर पर्न सकेको छैन ।’
पोखरा पर्यटन वर्षको उद्घााटनका क्रममा शनिबार बेलुनमा आगो लाग्दा जलेर घाइते भएका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।
उपचार चलिरहँदा पार्टीगत नेता, मन्त्री र उच्चपदस्थ्य व्यक्तिको घुइँचो नै लाग्यो । आइतबार बिहानै राष्ट्रपति रामचन्द्र पौडेल, सभामुख देवराज घिमिरे, ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्का, स्वास्थ्यमन्त्री प्रदीप पौडेल लगायत पुगेका थिए ।

भीईआईपीहरू अस्पताल आउने क्रम बढेसँगै अस्पताल प्रशासनले संक्रमण बढ्ने जोखिम भएकाले भेटघाट गर्न बन्द गर्यो । यद्यपि आइतबार अपरान्ह प्रधानमन्त्री केपी शर्मा ओली, पत्नि राधिका शाक्यसहित सचिवालयका सदस्यहरू कीर्तिपुर अस्पताल पुगे ।
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले शनिबार बेलुकै अस्पताल पुगेर उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र पोखरा महानगरपालिकाका प्रमुख आचार्यको उपचारमा कुनै कमी हुन नदिन चिकित्सकलाई निर्देशन समेत दिए ।
सरकारको यस्तै विभेदले भीआईपीको उपचारका लागि सबथोक गर्न तयार हुने तर गरिब–निमुखाको भने पैसा अभावमा मृत्यु भइरहेको र्कीतिपुर अस्पतालमा उपचाररत एक बिरामीका आफन्त गुनासो गर्छन् ।

‘नेता तथा ठूला मानिस जलनमा पर्दा सरकारले हेलिप्कोटरमा लेराएर उपचार गर्छ । तर हामी जस्ता नागरिकले पैसाकै अभावमा मृत्यु कुर्नु परिरहेको छ’ ती आफन्त गुनासो गरे, ‘पल्लो वार्डमा भेट्न र सान्त्वना दिन भीआईपीको लर्को लागेको छ । तर हामीलाई कस्तो छ भनेर सोध्न कोही आउँदैनन् ।’
अस्पताल प्रशासनको तथ्याङ्क अनुसार आइतबार जलनमा परेका ४१ बिरामीको उपचार भइरहेको छ ।
गत बिहीबार कमलपोखरीस्थित शान्दार मःम पसलमा भएको ग्यास विस्फोटमा घाइते भएका चार जनाको मृत्यु भइसकेको छ । उक्त विस्फोटमा परी १४ जना घाइते भएका थिए । जसमध्ये गम्भीर घाइते भएका १० जनाको कीर्तिपुर बर्न अस्पतालमा उपचारका भइरहेको छ ।

अस्पताललको स्रोत साधन अत्याधुनिक र चुस्त बनाउनसक्दा मृत्युदरलाई घटाउन सकिने चिकित्सक बताउँछन् । कीर्तिपुर अस्पतालले सन् २०१४ देखि जलेका बिरामीको उपचार सेवा दिँदै आएको छ ।
अस्पतालको तथ्याङ्क अनुसार पहिलो वर्ष ९० जना जलनका बिरामी भर्ना भएका थिए, सन् २०२३ मा आइपुग्दा ७९० जनाको उपचार भएको छ ।
हाल जलेका बिरामीका लागि २ अप्रेशन थिएटर, आठ वटा आईसीयू र २८ वटा जनरल बेड छुट्याइएको छ । जुन पर्याप्त छैन ।
वरिष्ठ प्लास्टिक सर्जन प्रा.डा. शंकरमान राई अनुसार अस्पतालसँग भएको स्रोत–साधन, जनशक्तिले जलनमा परेका बिरामीलाई सकेसम्म सेवा–सुविधा दिएको छ । तर भवनकै अभावमा त्यस्ता बिरामीलाई अन्य बिरामीसँगै राख्नुपर्दा संक्रमणकै कारण मृत्यु हुने जोखिम उच्च छ ।
डा. राईले अस्पतालले भोगिरहेको समस्यालाई उजागर गर्दै भने, ‘जलेका बिरामीलाई संक्रमण हुने सम्भावना धेरै हुन्छ । त्यसैले छुट्टा–छुट्टै कोठामा राख्नुपर्छ । तर पर्याप्त भौतिक पूर्वाधार नहुँदा एकै ठाउँमा राखेर उपचार गरिराख्नुपरेको छ ।’
जलनको ठूलो संख्यामा उपचार गर्ने कीर्तिपुर अस्पतालको अहिलेको संरचनामा ६० प्रतिशतसम्म जलेका एकाध बिरामी बचाउन सकिएको छ भने ४० प्रतिशतसम्म जलन भएका ५० प्रतिशत बिरामी बचाउन सम्भव भएको छ ।
‘एकै ठाउँमा राख्दा संक्रमण फैलिएर केही बिरामीको मृत्यु हुनसक्छ । सोचजस्तो बिरामीलाई केयर दिन सकिएको छैन,’ डा. राई भन्छन्, ‘गम्भीर जलन भएका बिरामीलाई देशमै बचाउन हामीलाई अत्याधुनिक भवनको आवश्यकता छ ।’
तर गम्भीर जलन भएका सर्वसाधारण बिरामीको लागि मृत्यु कुर्नुबाहेक अन्य विकल्प छैन ।
अस्पतालको तंथ्याक अनुसार सन् २०१४ मा ४० प्रतिशतसम्म जलेका बिरामीलाई पनि बचाउन सकिएको थिएन । तर एक दशकको अवधिमा ६० प्रतिशतसम्म जलन भएका बिरामीलाई बचाउन सम्भव भएको छ ।
डा. राई भन्छन्, ‘अहिले बचाउन नसकिने बिरामीलाई बचाउन सक्ने क्षमताको विकास गर्न हामीलाई छुट्टै भवन चाहिएको छ ।’
अस्पतालले प्रस्ताव गरेको ७० बेडको यो अत्याधुनिक भवन बनाउन ५० करोड रूपैयाँ चाहिन्छ । अस्पतालले प्रशासनले भवन डिजाइनको काम सकिसकेको छ । तर बजेट अभावका कारण निर्माणको परिकल्पना अलपत्र छ ।
प्रस्तावित नयाँ भवनमा छुट्टा–छुट्टै १५ वटा आईसीयू कक्ष र एक कोठामा एक बिरामी रहने गरी १५ वटा सिंगल रुम बनाउने अस्पताल प्रशासनको योजना छ ।
‘९० प्रतिशत बिरामी उपचार गर्न नसक्ने अवस्थाका हुन्छन्’
नेपालमा वार्षिक ६० हजार जति मानिस जलनबाट पीडित हुन्छन् । तर सबै अस्पतालसम्म आइपुग्दैनन् । कतिपय बाटैमा प्राण त्याग्छन् कतिपय घरमै सीमित हुन्छन् । अस्पताल पुग्नेहरूमध्ये पनि २४ प्रतिशतको ज्यान जोगाउन नसकिने अस्पतालका निर्देशक डा. किरण नकर्मी बताउँछन् ।
‘हामीकहाँ आउने धेरैजसो बिरामी गम्भीर अवस्थामा हुन्छन्’ डा. नकर्मी भन्छन्, ‘ श्वासनली जलेकाहरूमध्ये ६० प्रतिशतभन्दा बढीको मृत्यु हुने गरेको छ ।’
मधेश प्रदेशबाट सबैभन्दा धेरै जलनका बिरामी आउँछन् । खुला चुलोमा खाना पकाउने, पुरानो विद्युत् प्रणाली, सचेतनाको कमी जस्ता कारणले जलनका घटना बढी हुने गरेको चिकित्सकहरू बताउँछन् ।
अस्पतालको सीमित क्षमता र पूर्वाधारको अभाव अहिलको प्रमुख चुनौती भएको चिकित्सक बताउँछन् ।
छाला बैंकमा दाताको अभाव अर्को समस्या रूपमा रहेको चिकित्सक बताउँछन् ।
गम्भीर रूपमा जलेका बिरामीलाई छाला प्रत्यारोपण गर्नुपर्ने हुन्छ । चिकित्सकका अनुसार ३० प्रतिशतभन्दा बढी गहिरो जलन भएका बिरामीलाई आफ्नै छाला पुग्दैन, अरूको छाला प्रत्यारोपण गर्नुपर्छ । कीर्तिपुर अस्पतालमा छाला बैंक समेत छ । तर छाला दान गर्नेहरूको संख्या एकदमै न्यून छ ।
अस्पतालको तथ्याङ्क अनुसार हालसम्म ३५ जना मृत शरीरको मात्रै छाला दान भएको छ ।
चिकित्सकका अनुसार आँखा लगायतका अंग जस्तै छाला पनि मृत्युपश्चात् दान गर्न सकिन्छ । मृत्यु भएको ६ घण्टा वा शव फ्रिजमा भए १२ घण्टाभित्र छाला निकाल्न मिल्छ ।
‘बिरामी बचाउनका लागि कृत्रिम छाला अर्को विकल्प हो । तर निकै यो मंहगो हुन्छ,’ डा. राई भन्छन्, ‘करिब १०/१० सेन्टिमिटरको कृत्रिम छाला करिब ६० हजार नेपाली रूपैयाँ पर्न जान्छ ।’
कीर्तिपुर अस्पतालको अध्ययन अनुसार ४० प्रतिशतको हाराहारी जलेका बिरामीले तीन महिनाभन्दा बढी अस्पतालमा बिताउनुपर्ने हुन्छ । अस्पताल बसाइमा सामान्यतः ४ लाखभन्दा बढी खर्च हुन्छ । आम नागरिकका लागि यो आफैंमा धेरै हो ।
डा. राई नेपालमा सबैभन्दा बढि आगोबाट जल्ने मानिस निम्न वर्गका रहेको बताउँदै जलन महंगो उपचारले गर्दा उनीहरू झन् गरिबीतर्फ धकेलिने बताउँछन् । चिकित्सकहरूका अनुसार अस्पताल आइपुगेकामध्ये १० प्रतिशतलाई निःशुल्क नै उपचार गर्नुपर्ने अवस्था छ ।
यस्तै १० प्रतिशत बिरामी उपचार गर्न सक्ने क्षमताका हुन्छन् । बाँकी ८० प्रतिशतलाई उपचार खर्चको केही प्रतिशत कुनै माध्यमबाट जुटाउनुपर्ने अवस्था रहेको डा. राईले बताए ।
सांसदको आक्रोश : भीआईपी मात्रै मान्छे हुन् ?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद बिन्दवासिनी कंसाकारले आइतबार प्रतिनिधि सभामा आकस्मिक समय लिएर बोल्दै काठमाडौंकै कमलपोखरीस्थित शानदार मःम सेन्टरमा आगलागी पीडितको एम्बुलेन्स नपाएर गाडीको हुटमा राखेर उद्धार गरिएको बताइन् ।
‘तर, अस्ति भर्खर शान्दार मममा ग्याँस विस्फोट हुँदा, सर्वसाधारण जल्दा एम्बुलेन्स नपाएर गाडीको हुटमा उद्धार गर्नुपर्ने अवस्था सिर्जना भएको थियो,’ कंसाकारले आक्रोश पोख्दै भनिन्, ‘आज मन्त्रीज्यु र मेयरज्युलाई हेलिकप्टरबाट उद्धार गरिएको छ ।’
नेपालमा आगलागीको घटना बढिरहेको भन्दै उनले सरकारले पूर्व तयारीमा ध्यान दिनुपर्ने बताइन् । ‘नेपालमा अकुपेस्नल सेफ्टी एण्ड हेल्थलाई प्राथमिकता दिइँदैन । जसका कारण उच्च पदस्थ व्यक्तिहरू समेत दुर्घटनाको सिकार भइरहेका छन्,’ उनले भनिन् ।
जलन जसलाई जहाँ जुन बेला पनि हुन सक्ने र यसले ठूलो मान्छे र जो पनि पीडित हुन सक्ने, ज्यान जान सक्ने र अपांगता हुन सक्ने उनले बताइन् । यही आवश्यकता महसुस गरेर आफूले संसद्मा गैरसरकारी विधेयक दर्ता गरेको पनि उनले स्मरण गरिन् ।
आफूले सात महिना अगाडि नै दर्ता गरेको उक्त विधेयक अगाडि बढ्न नसकेको भनेर उनले सदनकै ध्यानाकर्षण गरिन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विनिता कठायतले समस्यामा परेका सबैको समान रूपमा उद्धार र उपचार हुनुपर्ने बताइन् ।
तर, राज्यको व्यवहार सर्वसाधारण नागरिकका लागि एक र भीआईपीका लागि अर्को व्यवहार हुने गरेको उनको भनाइ छ । संविधानले देशका सबै नागरिक समान रहेको भनेको र यही अनुसार व्यवहार हुनुपर्ने उनको माग गरिन् ।
‘राज्यको व्यवहारले भन्छ भीआईपी मात्रै मान्छे हुन् । भुँइ मान्छेका नागरिक दोस्रो दर्जाको नागरिक हुन् जस्तो देखाउँछ,’ उनले भनिन् ।
प्रतिक्रिया 4