
केपी शर्मा ओलीले ठिकै भनेका हुन्, ‘चान्स पायो भने नेपालीले गर्छ ।’ नेपालीले केके गर्छ भनी थाहा पाउन चाहिँ टिकटक चाहर्नुपर्छ । भिडियो साझेदारी प्लेटफर्म टिकटकमा जब तपाईं प्रवेश गर्नुहुन्छ, त्यहाँ अनेक तमासा देख्नुहुनेछ ।
ख्यालठ्टा गर्ने, चर्काचर्की पर्ने, बाजी थाप्ने, नाच्ने–गाउने, मुख छाड्ने । टिकटक लाइभमा के मात्र हुँदैन ? भौतिक दुनियाँमा नदेखेका, नभेटेका, नसुनेका कुराहरु सबै त्यही हुन्छन् । त्यहाँ अनेक पात्र छन् र उनीहरु अनेक हर्कत गरिरहेका हुन्छन् ।
उनीहरुको हतारो र व्यस्तता कतिसम्म भने, आरामले खाने वा शौच जाने फुर्सद पनि छैन । टिकटक लाइभ स्ट्रिमिङमै भात खाने, लुगा फेर्नेदेखि मस्त सुत्नेहरुसम्म छन् ।
एकाबिहानै जसलाई तपाईं टिकटक लाइभमा ‘ट्याप–ट्याप’ भनिरहेको देख्नुहुनेछ मध्यरातमा पनि उही व्यक्ति फेला पार्नुहुनेछ । उही स्थानमा, उस्तै अवस्थामा । उनीहरु भनिरहेका हुनेछन्, ‘फलानोलाई फलो गरौं गाइज । डबल ट्याब लगाउँदै जाने…।’
यस्तो लाग्छ, आधासरो नेपाली त त्यहीँ छन् । दिनमा पनि, रातमा पनि । त्यहाँ समयको कुनै पाबन्दी छैन । टिकटक लाइभमा यत्तिका मान्छेहरु के गर्छन् ? किन यतिबिघ्न मरिहत्ते गर्छन् ?
यी प्रश्नको केन्द्रमा सबैभन्दा लोभलाग्दो जवाफ छ, ‘पैसा ।’
टिकटक लाइभमा हुने तमाम झाँकीको पछाडि ‘पैसा’ जोडिएको छ । त्यहाँ पैसा कमाउन पसिना बगाउनु पर्दैन, कुनै व्यवसायिक योजना बनाउनु पर्दैन, अतिरिक्त पुँजी दाउमा राख्नु पर्दैन, विशेष दक्षता वा सीपको बायोडाटा पेस गर्नुपर्दैन ।
बस्, टिकटक लाइभमा आएर अन्य प्रयोगकर्तालाई आफूमा एकत्रित गर्नुपर्छ । उनीहरुलाई भुलाउनुपर्छ । रिझाउनुपर्छ । नाचेर, गाएर, छाडा बोलेर, गेम खेलेर । कुनै न कुनै तबरले लाभान्वित तुल्याउनुपर्छ । यसमा एक किसिमको अघोषित साझेदारी हुन्छ, फलोअर्स बढाउने र त्यसबापत गिफ्ट दिने ।
होस्टले त्यही गेस्टको ‘फलोअर्स बढाउन’ अनुरोध गर्छन्, जसले गिफ्ट दिन्छन् । उक्त भर्चुअल गिफ्ट डलरमा रुपान्तरण गरेर आफ्नो खल्तीमा ल्याउन सकिन्छ । यसरी टिकटकमा प्राप्त हुने क्वाइनलाई डलरमा र डलरलाई नेपाली रुपैयाँमा साट्नेहरुको यहाँ फेरी छुटै कारोबार छ ।
टिकटक लाइभमा उपलब्ध यही फिचर्स हो, जसले उन्मक्त नेपालीहरुको निद्रा बिथोलिदिएको छ । जति–जति रात छिप्पिदै जान्छ टिकटक लाइभमा उपद्रो सुरु हुन्छ । एकअर्कासँग छिल्लिने, कामुक हाउभाउ देखाउने, अशोभनीय हर्कत गर्ने, मुख छाडेर गाली गर्ने उपक्रम जारी रहन्छ । यसो गर्दा धेरै भन्दा धेरै ‘भिजिटर’ भेला हुने र फलोअर्स बढ्ने अपेक्षा गरिन्छ । त्यसमाथि गिफ्ट माग्ने र पाउने त छँदैछ ।
टिकटक लाइभमा बारम्बार देखिने अनुहार हुन्, पूण्य गौतम । उनी स्वयम् भन्छन्, ‘टिकटक लाइभमा विकृतिको भण्डार छ । छाडाहरुको घुइँचो छ । अरुको चरित्र हत्या गर्ने, दिल्लगी गर्ने, काण्ड मच्चाउनेहरु त्यहाँ छन् ।’ यस क्रममा उनले केही नामहरु लिए जो टिकटकमा ‘काण्ड’ मच्चाउन माहिर छन् । जस्तो, माइला दाइ, लुते कुकुर, ओली किङ, बिउ, हेन्सी आयुष ।
गौतम कतिसम्म भन्छन् भने, ‘जापानतिरका एकजना माइला दाइ भन्ने छन् । विकृतिको हेडमास्टर हुन् उनी ।’
टिकटक लाइभमा आएर ‘कान्ड मच्चाउनु’को पछाडि विकृत मानसिकता र पैसा नै मुख्य कुरा भएको उनी बताउँछन् । ‘त्यहाँ जति नकारात्मक कुरा गर्यो, जति अरुको उछितो काड्यो त्यती नै भिजिटर आउँछ’ गौतम भन्छन्, ‘त्यसैले उनीहरु जे गर्न पनि तयार हुन्छन् ।’
लाइभको लत
गौतम हरेक दिन नियमित दुई/तीन घण्टा लाइभमा बस्छन् । ‘लाइभमा बस्दा रिफ्रेस भइन्छ । सपोर्ट गर्नेले गिफ्ट पनि दिन्छन्’ उनी सुनाउँछन्, ‘मैले यसबाट राम्रै पैसा कमाएँ र उत्तिकै सहयोग पनि गरिसकें ।’ उनले क्यान्सर पीडित लगायत विभिन्न समस्यामा परेकालाई तीस लाख रुपैयाँ सहयोग गरेको बताए । कतिपयले टिकटक लाइभमा बसेर १० देखि १५ करोड रुपैयाँसम्म कमाउने गरेको उनको भनाइ छ ।
प्राय रातको समय टिकटक लाइभमा बस्नेहरु बढी सक्रिय हुन्छन् । एकै समयमा लाइभमा बस्दा भिजिटर बढ्छ । लाइभको लतले कसरी गाँज्दैछ भने दूरदराजकी प्रौढ महिलादेखि शहरका कुनै गल्लीमा बस्ने तन्नेरीसम्मले यसैलाई मुख्य कामधन्दा बनाएका छन् ।
टिकटक चलाउनकै लागि दुहुनो भैंसी बेचेको प्रसंगले पनि यसप्रतिको आशक्ति कति छ भनेर देखाउँछ । सुदूरपश्चिमकी एक महिलाले टिकटक चलाउन रिचार्ज गर्दागर्दै ५० हजार रुपैयाँ ऋण लागेको खबर आएको थियो । सोही ऋण चुक्त गर्न उनले दुहुनो भैंसी बेचेकी थिइन् ।
देश–दुनियाँका मान्छेहरुसँग जोडिन पाइने, मनलाग्दी कुरा गर्न पाइने, बसीबसी पैसा कमाउन सकिने सुविधाका कारण टिकटक लाइभमा ठूलो जमात एकोहोरिँदैछ । भौतिक रुपमा कहिल्यै नभेटेका मान्छेसँग ‘तँतँ–मम’को सम्बन्ध बनाउने, अन्तरंग कुराकानी गर्ने, झगडा गर्ने, तथानाम गाली गर्ने क्रम त्यहाँ बारम्बार चलिरहन्छ । टिकटक लाइभले नेपालीहरुको अर्को छुटै भर्चुअल दुनियाँ निर्माण गरिसकेको छ ।
सामाजिक सञ्जालमा विभिन्न कारणले ‘भाइरल’ भएकाहरुका लागि अझ काइदाको प्लेटफर्म बनेको छ, टिकटक लाइभ । थुप्रै गायक, कलाकार पनि यतातिर होमिएका छन् । त्यससँगै कति यस्ता पात्र छन्, जो टिकटक लाइभबाटै चर्चित बनेका छन् । उनीहरुले टिकटक लाइभबाट मनग्यै पैसा कमाउने गरेको बताइन्छ ।
टिकटक लाइभमा थरीथरीका गिफ्ट उपलब्ध हुन्छन् । उक्त गिफ्टको मूल्य ‘क्वाइन’मा हुन्छ । यस अनुसार कुन गिफ्टबाट कति क्वाइन पाइने हो भनी तय हुन्छ । जस्तो गुलाबको एक क्वाइन हुन्छ भने क्यापको ९९ । नट्टी चिकेनको २९९ क्वाइन हुन्छ भने तारापुञ्जको १००० । यी क्वाइनहरु डलरमा रुपान्तरण हुन्छन् ।
‘टिकटक लाइभमा बसेर फलानोले काठमाडौंमा दुई वटा घर जोडे’, ‘टिकटक लाइभबाट फलानोले एकै महिनामा एक करोड कमाए’ भन्ने जस्ता तात्तातो खबरले ‘टिकटक’मा मान्छेहरु अरु आकर्षित भएका छन् । र, छँदाखादाको कामकुरो छाडेर टिकटक लाइभलाई नै मूल कामधन्दा बनाएका छन् । यो पंक्तिमा मजदुरी गर्नेदेखि सेलिब्रेटी भनिनेहरुसम्म चलायमान छन् ।
जस्तो वर्षा राउत, राजाराम पौडेल, बान्द्रे नामले चिनिने सुरज चापागाईँ, सुष्मा कार्की । परिचित अनुहार भएकाले उनीहरुसँग झुम्मिने नै भए । त्यसैको लाभ उठाउँदै उनीहरुले ‘गिफ्ट माग्ने’ गरेका थिए/छन् । टिकटक लाइभमा बसेर ‘भिख मागेको’ भन्दै आलोचना भएपछि उनीहरुमध्ये कति पछि हटे ।
कुनै न कुनै काण्ड मच्चाउँदै विवाद र चर्चाको केन्द्रमा रहनेहरु टिकटकमा स्थान्तरण भएका छन् । उनीहरुको लागि यो ‘सेफ ल्यान्डिङ’ गर्ने ठाउँ मात्र भएको छैन बरु अझ चर्को विवाद खडा गरेर भिजिटर बढाउने माध्यम पनि बनेको छ ।
त्यसो त नेपालमा मात्र होइन, विश्वभर नै टिकटकको लाइभ स्ट्रिमिङ अनेक हर्कत गर्ने, गिफ्ट माग्ने, पैसा कमाउने धन्दा बनेको छ । प्रयोगकर्तालाई रियल टाइममा जोड्ने र एकअर्काको प्रतिभा देखाउने भन्दै सार्वजनिक गरेको टिकटकको यो सुविधा उच्छृखंल जमघटको मेलो बनेको छ ।
प्रतिक्रिया 4