+
+

५१ वर्षपछि कलेज फर्किएका पूर्वप्रधानमन्त्री

औपचारिक अध्ययनलाई उमेरले छेक्छ ? ७५ वर्षको उमेरमा कक्षाकोठा धाइरहेका पूर्वप्रधानमन्त्री झलनाथ खनालको विश्वविद्यालय–अनुभवले यो प्रश्नको चाखलाग्दो जवाफ दिन्छ ।

गौरव पोखरेल गौरव पोखरेल
२०८१ माघ २६ गते २३:०३
थेरवाद बुद्धिष्ट एकेडेमीले लिएको स्नातकोत्तर तहको आन्तरिक परीक्षामा सहभागी हुँदै पूर्वप्रधानमन्त्री झलनाथ खनाल ।

२६ माघ, काठमाडौं । औपचारिक समारोहमा पूर्वप्रधानमन्त्रीलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्नु नौलो कुरा भएन ।

तर, एकैछिनमा फरक दृश्य देखियो । प्रमुख अतिथिका रुपमा सम्बोधन गरिएका तिनै ७५ वर्षीय पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई उद्घोषक संगीना बज्राचार्यले विद्यार्थीका रुपमा स्टेजमा आमन्त्रण गरिन् ।

राजनीतिज्ञको रुपमा आसनग्रहण गरेका खनाल केही क्षणमै विद्यार्थीका रुपमा आफ्नो प्रस्तुति दिन अघि बढे । यो दृश्य हो, गएको २७ पुसमा तिनकुनेको थेरवाद बुद्धिष्ट एकेडेमीमा भएको सेमिनारको ।

एकेडेमीका प्रिन्सिपल डा. महेन्द्ररत्न शाक्य भन्छन्, ‘उहाँ अहिले कलेजमा थेरवाद बुद्धिज्ममा स्नातकोत्तर गरिरहनु भएको छ, त्यसैले विद्यार्थीका रुपमा प्रस्तुति दिनु भएको हो ।’

प्राध्यापकहरुका अनुसार, पूर्वप्रधानमन्त्रीका रुपमा सम्मानित व्यक्ति भएकाले सुरुमा उनलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गरिएको थियो ।

तर, डेढ वर्षदेखि कलेजमा स्नातकोत्तर अध्ययनरत रहेकाले खनाललाई केही बेरमा विद्यार्थीका रुपमा प्रस्तुति दिन बोलाइएको शाक्य बताउँछन् ।

‘त्यो विद्यार्थीहरुकै सेमिनार थियो, उहाँले थेरवाद बुद्धिज्म इन लिच्छवी नेपाल शीर्षकमा पेपर प्रस्तुत गर्नुभयो’, शाक्यले अनलाइनखबरसँग भने, ‘त्यसमा उहाँले लिच्छवीकालमा बुद्धिज्मको अवस्थाबारे विस्तृतमा बताउनुभएको थियो ।’

पहिले पूर्वप्रधानमन्त्रीको रुपमा प्रमुख अतिथिको आशनग्रहण गरेका खनालले केहिवेरमा विद्यार्थीका रुपमा स्नातकोत्तर तहको सेमिनारमा प्रस्तुति दिएका थिए ।

उनका अनुसार, सेमिनार थेरवाद बुद्धिज्ममा स्नातकोत्तर अध्ययनकै एउटा पाटो थियो । त्यसैले अरु विद्यार्थीसँगै खनालले पनि कलेजमा आफ्नो प्रस्तुति दिएका हुन् ।

कक्षामा पढाइ चलिरहँदा पनि कहिलेकाहीँ प्राध्यापकहरु उनलाई ‘माननीयज्यू, सम्माननीयज्यू’ लगायतका शब्द प्रयोग गरेर सम्बोधन गर्छन् । कक्षामा दैनिक यस्तो सम्बोधन सुन्दा सुरूमा अरु विद्यार्थीलाई अनौठो पनि लाग्थ्यो ।

‘तर, एक किसिमले त्यो रमाइलो पनि हो, यो उमेरमा पूर्वप्रधानमन्त्रीज्यूलाई पढाउन पाउँदा हामी खुशी छौं’, शाक्य भन्छन्, ‘झन् भर्खरका विद्यार्थीहरुले जस्तो शंका लागेका विषयहरुमा उहाँले प्रति प्रश्न र छलफल गरिरहँदा कक्षा थप अन्तर्क्रियात्मक बनेको छ ।’

शाक्यका अनुसार, खनालले सेमेस्टर प्रणालीमा तीनवटा परीक्षा दिइसकेका छन्, आन्तरिक परीक्षाहरुमा पनि सधैँ सहभागी हुन्छन् । ‘उहाँले सबै परीक्षामा राम्रो अंक ल्याइरहनु भएको छ’, उनले भने, ‘भर्खरै चौथो सेमिस्टर पनि सुरु भएको छ ।’

प्रायः जावलाखेल इञ्जिनियरिङ कलेजमा अन्तिम जाँच हुने गरेको छ, खनाल त्यहीँ गएर परीक्षा दिन्छन् । उत्तरपुस्तिका र प्रश्न पत्र लिएर लेखिरहँदा खनालका अंगरक्षक र सुरक्षाकर्मीहरु बाहिरैबाट नियालिरहन्छन् ।

खनालले सेमेस्टर प्रणालीमा तीनवटा परीक्षा दिइसकेका छन्, आन्तरिक परीक्षाहरुमा पनि सधैँ सहभागी हुन्छन् । भर्खरै चौथो सेमिस्टर पनि सुरु भएको छ

पाँच दशकपछि औपचारिक शिक्षा

इलामको साँखेजुङको पण्डित परिवारमा ६ चैत २००६ सालमा जन्मिएका खनालले औपचारिक अध्ययन थाल्दा एकाध विद्यालयहरु भर्खरै खुलेका थिए ।

‘मभन्दा अगाडिका मान्छेहरुले पढ्नै पाउँदैन्थ्ये, मेरो बुबा पण्डित हुनु भएकाले गुरुकुल शिक्षा लिनु भएको थियो’, खनाल विगततिर फर्किन्छन्, ‘त्योबेला मैले कखरा सिकेकै धुलौटोमा लेखेर हो ।’

त्यसबेला आफूलाई हजुरबुबाले धुलौटोमा क..ख.. लेख्न सिकाएको उनलाई अझै सम्झना छ । पारिवारिक पृष्ठभूमिका कारण उनले सानैदेखि संस्कृतका पुस्तकहरु पढ्न पाए । स्कुलहरु खुल्न थालेपछि औपचारिक शिक्षा लिन समेत पाए ।

तर, औपचारिक अध्ययन सुरु गरेको केही समयमै उनको रुचि संस्कृतिबाट राजनीतिक पुस्तकतिर मोडिन थाल्यो ।

त्यसबेला स्कुलमा हुने राजनीतिक गतिविधिले उनलाई यति छोयो कि १७ वर्षको उमेरमै उनी मेची विद्यार्थी संगठनको अध्यक्ष बने ।

इलामको आदर्श माविबाट एसएलसी परीक्षा उत्तीर्ण गरेपछि उनी थप अध्ययनका लागि राजधानी काठमाडौंतिर आए । भारतको गलगलिया हुँदै बिराटनगर भएर काठमाडौं आएपछि उनी त्रिचन्द्र क्याम्पसमा आईएस्सी भर्ना भएका थिए ।

त्रिचन्द्रमा आईएस्सीको कोटा थप्न समेत खनालसहितका विद्यार्थीहरुको समूहले आन्दोलन गरेको थियो । त्रिचन्द्र पढिरहँदा उनको राजनीतिक चेतको आयतन बढ्न थाल्यो । उनी विस्तारै क्रान्तिको बाटोमा समात्नुपर्छ भन्नेमा दृढ बन्न थाले ।

डल्लुस्थित निवासमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल । तस्वीरः आर्यन धिमाल/अनलाइनखबर

सानै उमेरदेखि अध्ययनशील स्वभाव भएका उनले त्रिचन्द्रमा छँदा मार्क्सवादका पुस्तकहरु नियमित जसो पढ्थे । त्यसले पनि उनको राजनीतिप्रति लगाव बढाएको थियो ।

‘जतिबेला म राजनीतिप्रति एकदमै आकर्षित भएर नेपालमा समाजवादको आवश्यकता रहेछ भन्ने निष्कर्षमा पुगेँ, त्यतिबेला कम्युनिष्ट पार्टीहरु टुक्राटुक्रा भएको भेटेँ’, उनी भन्छन्, ‘त्यसपछि २०२५ सालको अन्तिमतिर मार्क्सवादी बन्ने सिलसिलामा छरिएका कम्युनिष्ट पार्टीहरुलाई कसरी एकीकृत गर्न सकिन्छ भनेर शशी शेरचन, मसहितका अरु युवा साथीहरुले राष्ट्रिय कोअर्डिनेसन सेन्टर बनाउन पूर्व–पश्चिम दौडाह थालेका थियौं ।’

राजनीतिक गतिविधिलाई गति दिँदै अध्ययन अघि बढाएका खनाल विएस्सी सकेर कम्युनिष्ट पार्टीको पूर्णकालीन सदस्य र शिक्षक लगभग सँगसँगै भए । ‘मैले बागलुङको गलकोट माध्यमिक विद्यालयमा विज्ञान शिक्षकका रुपमा पढाउन सुरु गरेको थिएँ’, उनी सम्झन्छन्, ‘अध्यापनसँगै मैले पार्टीको काम समेत नियमित अघि बढाएँ ।’

पहिले बुर्जुवा शिक्षा पढेर मात्र नहुने भन्दै देशदेशावर हिँडेका खनाल अहिले आफ्नो ध्यान राजनीतिभन्दा बढी अध्ययनमै लगाइरहेका छन्

त्यसबेला कम्युनिष्ट नेता चित्रबहादुर केसी उनले अध्यापन गराउने स्कुलमा प्रधानाध्यापक थिए । खनाल त्यहाँ पुगेपछि किसान संगठन, विद्यार्थी संगठन लगायत बन्यो, प्रशासनसम्म सूचना पुग्यो । खनाल पक्राउ परे ।

अञ्चलबाटै निष्कासित भएर मेची पुगे । त्यसपछि भूमिगत रहेरै उनले इलामबाट पार्टीका बाँकी कामलाई अघि बढाएका थिए । ‘त्यतिबेला मलाई पश्चिमको कम्युनिष्ट आन्दोलनको एक किसिमले नेतृत्व गर्ने राम्रो मौका मिल्यो’, उनले सम्झिए, ‘इलामतिर फर्किएर मैले फेरि आफैं कम्युनिष्ट पार्टीको गठन गर्न सुरु गरेँ ।’

२०३२ सालमा उनीसहितका नेताहरुले कोअर्डिनेसन केन्द्र बनाए, तर पार्टी गतिविधि गरिरहँदा खनाल २०३३ देखि २०३७ सालसम्म जेल परे । झापाको सीमा नाका काँकडभिट्टाबाट पक्राउ परेर उनी जिल्ला कारागारको थुनामा पठाइएका थिए ।

योबीचमा उनको औपचारिक अध्ययनको पाटो छुटिरह्यो ।

तस्वीरः आर्यन धिमाल/अनलाइनखबर

‘मैले त्यतिबेला २७ दिन पढेर राजनीति शास्त्रमा स्नातकको परीक्षा दिएको थिएँ, त्यो २०३० सालको कुरा थियो । पछि कलेज नगइ त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा पनि स्नातक पूरा गरेँ’, उनी सम्झन्छन्, ‘खासमा २०२६ सालदेखि नै बुर्जुवा शिक्षा पढेर मात्र काम छैन, अब क्रान्तिको बाटोमा लाग्नु पर्छ भनेर मैले औपचारिक शिक्षा छाडेको थिएँ ।’

तर, समाजवाद ल्याउने भन्दै औपचारिक शिक्षा छाडेर क्रान्तिको मार्गमा लागेको पाँच दशकपछि खनालको जीवनले नयाँ मोड लिएको छ । अहिले ७५ वर्षको उमेरमा उनी स्नातकोत्तर तहको औपचारिक शिक्षा लिन तिनकुनेस्थित थेरवाद बुद्धिष्ट एकेडेमीमा भर्ना भएका छन् ।

पहिले बुर्जुवा शिक्षा पढेर मात्र नहुने भन्दै देशदेशावर हिँडेका खनाल अहिले आफ्नो ध्यान राजनीतिभन्दा बढी अध्ययनमै लगाइरहेका छन् । भलै उनी नेकपा एमालेमै हुँदा पनि समकालीनहरुभन्दा अध्ययनशील नेताका रुपमा परिचित थिए ।

अहिले एकीकृत समाजवादी पार्टीमा सम्मानित नेताको भूमिकामा रहँदा उनले अध्ययनलाई मजाले प्राथमिकता दिन पाइरहेका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालय अन्तरगतको यो कोर्समा विपश्यना अनिवार्य भएकाले उनले एकपटक अध्ययनकै लागि पार्टीबाट १० दिनको बिदा समेत लिएका थिए ।

१६ भदौमा भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले अनुपस्थितहरुको सूची पढ्दा खनालको नाम पनि लिएका थिए । त्यसबेला नेपालले खुलाएका थिए, ‘सम्मानित नेता झलनाथ खनाल अध्ययन विदामा हुनुहुन्छ ।’

‘अनि पढ्ने निर्णयमा पुगेँ’

खनाललाई पहिल्यैदेखि कला, साहित्य, संस्कार र संस्कृतिप्रति लगाव थियो ।

२०६२/६३ को आन्दोलनलाई पार गरेर आउँदा देशमा समाजवाद निर्माणको आवश्यकता बढ्दै गएको महसुस भएको उनी बताउँछन् । तर, त्यसका लागि देशको इतिहासलाई गहिरो गरी अध्ययन गर्नुपर्छ भन्ने लागेको खनाल सम्झन्छन् । त्यो अध्ययनका लागि विभिन्न दर्शन र पुराना साहित्यहरु महत्वपूर्ण हुनसक्थे ।

‘समाजवादी कार्यक्रम र लक्ष्य अघि सार्ने सिलसिलामा हाम्रो देशको कसरी उत्पत्ति, विकास हुँदै आयो भन्ने विभिन्न दर्शनको गहन ढंगले अध्ययन गनुपर्छ भन्ने लाग्यो’, उनी भन्छन्, ‘त्यो सिलसिलामा बुद्धिज्म र बौद्ध कालको अध्ययन नगरी मुलुकको इतिहासको अध्ययन अपूर्ण हुन्छ भन्ने मलाई लाग्यो ।’

यसपछि आफूले बुद्धकालका साहित्य र त्यतिबेला लेखिएका अन्य सामग्रीहरु पढ्न थालेको खनाल बताउँछन् ।

‘त्यो अध्ययन गर्दै जाँदा मलाई के लाग्यो भने त्यसबेलाका साहित्यहरु एकदमै गहन रहेछन्, बुद्धिज्म मैले जति पढेको बुझेको भन्दा पनि विशाल चिज रहेछ’, उनले थपे, ‘त्यसैले बुद्धिज्म पढ्नका लागि सामान्य केही घन्टाको समय मात्र दिएर नहुने रहेछ भन्ने निष्कर्षमा पुगेँ ।’

तर, सुरुमा उनको मनमा पनि प्रश्न उठेको थियो – ७५ वर्षको उमेरमा आएर औपचारिक शिक्षा लिनु कति सहज होला ? मान्छेलाई अध्ययनको लागि उमेरको कुनै सीमा होला ? यो प्रश्न उनले एकेडेमीका प्रमुख डा. महेन्द्र शाक्यलाई पनि सोधेका थिए ।

डा. महेन्द्ररत्न शाक्य, प्राचार्य, थेरवाद बुद्धिष्ट एकेडेमी

‘उहाँ पहिले पनि तीनकुनेको विश्वशान्ति बिहारमा आइरहनु हुन्थ्यो, त्यसैले उहाँले मलाई म पढ्न सक्छु कि सक्दिनँ भनेर सोध्नुभएको थियो’, एकेडेमीका प्राचार्य शाक्य भन्छन्, ‘बौद्ध दर्शन अध्ययनमा उहाँको असाध्यै रुचि देखेको थिएँ, मैले मजाले पढ्न सक्नुहुन्छ, तपाईंको उमेरका मान्छेहरु पनि पढिरहेको हुन्छन् भनेर प्रोत्साहित गरेँ ।’

खनाल पनि उमेरले साढे ७ दशक पार गर्दै गरेको समयमा अध्ययन गर्दा आफूलाई अनुशासनमा राख्न नसके पूरा गाह्रो हुने निष्कर्षमा थिए ।

‘त्यसैले मैले सोचेँ – विश्व विद्यालयकै कोर्समा गएँ भने म अनुशासनमा बस्न पनि बाध्य हुन्छु र मैले अध्ययनमा बढी ध्यान केन्द्रीत गर्न पाउँछु’, पूर्वप्रधानमन्त्री खनालले अनलाइनखबरसँग सुनाए, ‘त्यसैले म यो उमेरमा औपचारिक शिक्षा लिने निर्णयमा पुगेको थिएँ ।’

त्यो बेलाको शिक्षा, यो बेलाको शिक्षा

६ दशकअघि धुलौटोमा लेखेर खनालले कखरा सिकेका थिए । पछि आफैंले चक, डस्टर बोकेर धेरैलाई विज्ञान सिकाए ।

अहिले फेरि वर्षौंपछि आफैं औपचारिक शिक्षा लिँदा उनलाई शिक्षण–सिकाइमा ठूलो भिन्नता महसुस हुँदैछ ।

‘आकाश जमिनको फरक छ, त्यतिबेला पढेको, पढाएको जस्तो कहाँ हो र !’, विगततिर फर्किँदै खनाल वर्तमानको अनुभव सुनाउँछन्, ‘त्यतिबेला हामी कति अन्धकारमा थिएछौंं, प्रविधिमा तीब्र विकास देखेको अहिलेको पुस्तालाई त्यसबेलाका कुराहरु कथा जस्ता लाग्छन् ।’

अहिले खनाल विगतमा औपचारिक शिक्षा लिँदा जस्तो नियमित कक्षामा पुग्नु पर्दैन । पाठ्यसामग्री नपाएर हैरानी खप्नुपर्दैन ।

उनी हरेक दिन बिहान ४ देखि ५ बजेभित्रै उठिसक्छन् । डल्लुस्थित घरमा भएका किताबहरु पढ्छन् । ‘बिहानी मेरा लागि पढ्नलाई अत्यन्त जागरुक र ताजा समय हो’, उनी थप्छन्, ‘त्यसपछि ७ बजेदेखि ९ बजेसम्म पढ्नलाई म अनलाइन क्लासमा बस्छु ।’

निश्चित अवधिमा कलेजमै पनि उपस्थित हुनुपर्छ । उनी प्रायः कलेज पुगेकै हुन्छन् । स्वदेशमा हुँदा आफूले हम्मेसी कुनै दिन पनि कक्षा नछुटाउने उनी बताउँछन् ।

‘विदेशमा गएको छु भने पनि समय मिलेसम्म सकभर उपस्थिति जनाउने गरेको छु’, खनाल भन्छन्, ‘अहिले आर्टिफिसियल इन्टलिजेन्स (एआई) को समयमा अध्ययन गर्न थप सहज भएको छ ।’

एकेडेमीका प्राध्यापकहरुका अनुसार, पूर्वप्रधानमन्त्री खनाल स्वयम् नियमित कक्षामा उपस्थित हुन थालेपछि अरु विद्यार्थीहरु पनि उत्साहित हुने गरेका छन् ।

‘म ७५ माथि पुगेँ, मसँगै पढ्ने अरु साथीहरु यो उमेरको त हुनुहुन्न । अधिकांश युवा नै हुनुहुन्छ’, खनाल भन्छन्, ‘तर, मैले समेत अध्ययन गर्न थालेपछि साथीभाइ अझ धेरै प्रेरित भएको देख्छु ।’

मानिसको जीवनमा ज्ञान प्राप्ति कुनै सीमा हुँदैन, उमेरले त्यसमा कुनै अर्थ राख्दैन । विगत र वर्तमानका ज्ञान प्राप्त गरेर त्यसको आधारमा हामीले भविष्य कता जान सक्छ भन्ने आँकलन गर्नुपर्छ र समाजलाई अघि बढाउनुपर्छ – झलनाथ खनाल

कतिपयले आफूलाई ‘तपाईं समेत यसरी बुद्धिज्म पढेको देख्दा हामी पनि अभिप्रेरित भएका छौ’ भन्ने गरेको उनी बताउँछन् ।

राजनीतिक दलमा पठन संस्कृति

अध्ययनले मानिसहरुका अनुभवलाई कारण र तथ्यसँग जोड्न सिकाउँछ । संस्कृतिमा एउटा उक्ति नै छ – विद्या ददाति विनयं (विद्याले विनम्रता दिन्छ) ।

दार्शनिकहरुले मानिसले ज्ञान खोज्न नछाडेसम्म उसको जीवनको अस्तित्व रहन्छ पनि भन्छन् । चिनियाँ दार्शनिक कन्फ्यूसियसले भनेका छन्, ‘यदी तिमी अध्ययन गर्छौं, सोच्दैनौं भने तिमी अलमिलिन्छौं, यदी तिमी सोच्छौं, तर अध्ययन गर्दैनौं भने तिमी ठूलो जोखिममा हुन्छौं ।’

खनाललाई पनि लाग्छ – कला, संस्कृति र साहित्यको अध्ययन नगर्ने मानिसहरुको जीवन बेरसिलो हुन्छ, मानवीय संवेदना कम हुन्छ ।

‘जतिबेला हामीले राजनीति सुरु गरेको थियौं, त्यतिबेला नेताहरुमा पढ्ने चलन एकदमै धेरै थियो, अझै पनि आम कार्यकर्तामा पढ्नुपर्छ भन्ने छ’, उनी भन्छन्, ‘तर, पार्टी पंक्तिलाई पाठ्यसामग्री दिनुपर्ने दायित्व बोकेको नेतृत्वले त्यो आवश्यकतालाई गहिराइबाट बुझेको छैन ।’

अन्य विषयको अध्ययनमा पनि अग्रसरता गराउनुपर्नेमा त्यो नभइरहेको खनालको बुझाइ छ । ‘पहिले हामीमध्ये धेरैसँग उग्र वामपन्थी चिन्तनहरु थिए, बढी मात्रामा दक्षिणपन्थी चिन्तनविरुद्ध लड्दै थियौं’, उनी समीक्षा गर्छन्, ‘२०३७ सालदेखि दुवैविरुद्ध लड्दै आयौं, ४० को दशकमा नेकपा मालेको नाममा आदर्श पार्टी गठन गर्‍यौं, जसको नीति, रणनीति, विदेश नीति सबै ठिक थियो, कार्यक्रम ठिक थियो । हामी त्यसबेला एकदमै अध्ययन गर्थ्यौं ।’

तर, २०४६ सालको परिवर्तनपछि अध्ययन गर्ने र आमजनतासँग घनिष्ट सम्बन्ध बनाउनुपर्ने विषयलाई नेताहरुले छाड्दै गएको उनको बुझाइ छ ।

‘०४६ सालपछि विस्तारै बहुदलीय जनवादको हावामा पुग्यौं, त्यो हावाले नेपाली कम्युनिष्ट आन्दोलनलाई दक्षिणपन्थी अवसरवादतर्फ लगिदियो, विस्तारै उदार लोकतन्त्रको पुँजीवादी धारमा नेताहरु रंगमगिए’, उनी भन्छन्, ‘त्यसक्रममा उनीहरुले अध्ययनको शैली छाडिदिए, देश र जनतासँग समर्पित भएर लाग्नु मात्र एउटा प्रगतिशील राजनीति हो भन्ने कुरा विर्सिदिए ।’

यो उमेरमा औपचारिक अध्ययनलाई फेरि सुरु गरेका खनाललाई अहिले अध्ययन गर्ने सिलसिला जिन्दगीको अविराम प्रवाह हो भन्ने लाग्छ ।

‘मानिसको जीवनमा ज्ञान प्राप्तिको कुनै सीमा हुँदैन, उमेरले त्यसमा कुनै अर्थ राख्दैन’, खनाल निष्कर्ष पेश गर्छन्, ‘तिनै विगत र वर्तमानका ज्ञान प्राप्त गरेर त्यसको आधारमा हामीले भविष्य कता जान सक्छ भन्ने आँकलन गर्नुपर्छ र समाजलाई अघि बढाउनुपर्छ ।’

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?