
‘रूखको हाँगामा चढेर अलि माथिबाट हेर्छु
मनमनै भन्छु
सकेसम्म ऊ अझै अघि बढिरहोस्
एक-दुई विश्राम लिओस्
अनि अविरल खुट्किलाहरू चढिरहोस्।’
कवि ऋषि बस्ताकोटीद्वारा लिखित ‘पानीको रङ’ कवितासङ्ग्रहको एउटा कविता ‘मेरो छोरो’ को अंश हो यो। ‘मेरो छोरो’ सबै आमाहरूको प्रतिनिधि कविता हो।
सबै आमाहरूलाई आफ्नो सन्तान प्यारो लाग्छ, राम्रो लाग्छ। उनीहरू आफू हारेर सन्तानलाई जिताउन खोज्छन्। जहिले पनि सन्तानले सफलताको चुचुरो छोएको हेर्न चाहन्छन्। चाहे त्यो विद्यालयमा होस् वा विश्वविद्यालयमा। कार्यालयमा होस् वा देवालयमा। यस्तै भाव यो कवितामा झल्किन्छ।
‘पानीको रङ’ कवितासंग्रह आकारमा सानो छ तर यसले सूक्ष्म तरिकाले गहकिलो विषयवस्तु उठाएको छ। झिंगा, भ्यागुता, साँढे, किर्नालाई प्रतीक बनाएर कविले वर्तमानको अस्तव्यस्त अवस्था र व्यवस्थामाथि प्रहार गरेका छन्।
कविले समस्या उजागर मात्रै गरेका छैनन्, बिग्रिएको परिपाटी सुधार्न अनुरोध पनि गरेका छन्। आफ्नो स्वार्थको लागि इमान-जमान बिर्सनेहरूका लागि यी कविता शब्दका बारूद हुन्, जुनसुकै बेला पनि पड्किन सक्छन्।
‘म्यादीमाइला र फूलमाया’ कविताले भुइँमान्छेका कारुणिक आवाज बोलेका छन्। गरिब र निमुखा भएपछि सन्तान, दर-सन्तान बाउबाजेकै बिंडो थाम्न बाध्य हुन्छन् भन्ने उदाहरण हो, म्यादीमाइला।
फूलमाया कवितामा सेरेलेक्स र थरीथरीका पोषणयुक्त खाना खुवाएर हुर्काइने बच्चा र अरूले खाएको हेरेर अघाउने बच्चामा देखिएको फरकबारे चित्रण पाइन्छ।
पहिरो भनेको भत्कनु हो
यो विनाशको संसारमा पहिरो जहाँ पनि जान सक्छ
वनमा जान्छ, मनमा जान्छ
यौवनमा जान्छ
जीवनमा जान्छ
पहिरो भनेको प्रक्रिया हो
यसैले पहिरो जान्छ
पहिरो जहाँ पनि जान्छ
पहिरो पहाडमा जान्छ
वन-जंगल नाङ्गो हुन्छ
यौवनमा जान्छ
जीवनको बैसाखी भाँचिएर
दुनियाँ अपाङ्ग हुन्छ।
– पहिरो
‘पानीको रङ’ संग्रहको ‘पहिरो’ कविताले दुईखालका विपत्तिमाथि बोलेको छ। एउटा, प्राकृतिक विपत्ति जो वन विनाशले निम्त्याइरहेछ। अर्को, मानवीय विपत्ति अशिक्षा, गरिबी र बेरोजगारीले भइरहेछ। यी दुवै विपत्तिमा धेरै हदसम्म मान्छेकै हात रहेको छ।
पहिरो वनमा जान्छ, मान्छेले फेरि जान नदिन थुनछेक गर्छ, बिरूवा लगाउँछ, वन जोगाउँछ। तर जब पहिरो मनमा जान्छ, त्यतिबेला केहीले पनि छेक्न सक्दैन। जसले घर र बस्तीलाई भताभुङ्ग र लथालिङ्ग बनाइदिन्छ।
मानवतामाथि पहिरो कतै आफ्नो मान्छे बाकसमा घर फर्किएपछि जान्छ। कतै उँच-नीचका नाममा गरिएको सामाजिक तिरस्कारले जान्छ त कतै कलिलैमा इज्जत लुटिएपछि जान्छ। मानवीय पहिरो यति खतरनाक हुन्छ जसले प्राकृतिक विपत्तिले भन्दा हजारौं गुणा बढी पीडा दिएको हुन्छ। यस्ता दुवै पहिराबाट समाज र व्यक्तिलाई जोगाउन जरूरी छ भन्ने सन्देश ‘पहिरो’ कविताले दिएको छ।
जब छिमेकबाट एकाएक
बादलका दलहरू उठ्छन्
तब मेरो निरीह चेपे खोला
हरेक वर्षातसँगै
आफ्नै मनलाई चिमोटेर
खियाउँदै आफ्नै मुटु
मलिलो बोकीबोकी ओरालिन बाध्य छ
फगत अर्कैका लागि
बाढी बगाउन बाध्य छ।
–चेपे खोला
‘चेपे खोला’ कविताले दुइटा समयलाई प्रतिनिधित्व गर्छ। एउटा, इतिहासलाई फर्केर हेर्दा हिजो एउटी आमाले चेपे खोलामा दूधको धारा बगाएर आफ्ना छोराहरूलाई झगडा नगर्न अनुरोध गरेकी थिइन् भने आज हजारौं आमाहरू आफ्ना सन्तानलाई त्यही खोलाको वरपरबाट विदेशमा रगत र तागत बगाउन पठाउन बाध्य छन्।
पौरखी हातहरूको अभावमा देश दिनदिनै गरिब हुँदैछ भन्ने तितो सत्य चेपे खोला कविताले बोलेको छ।
हामी को हौं
थाहा छैन हामीलाई
हामी के छौं थाहा छैन हामीलाई
आफैंलाई बिर्सिएर
अरूलाई नै धुरी बनाउँदैछौं हामी।
–हामी बलराम
‘हामी बलराम’ कविताले एकातिर उमेरभरि अरूकै लागि काम गर्न बाध्य मान्छेको प्रतिनिधित्व गरेको छ भने अर्कातिर पैसाको लागि जे पनि गर्न सक्ने मान्छेबारे बोलेको छ।
मैले खाइरहँदा र मुख मिठ्याइरहँदा
किनारामा बसेर
टुलुटुलु हेर्दै
स्वाद लिइरहेका
तिम्रा नानीहरूलाई देखिरहेको छु।
–फूलमाया
‘फूलमाया’ कवितामा गरिबीको दर्दनाक अवस्था देख्न सकिन्छ। आफ्ना सन्तानलाई राम्रो लगाउन र मिठो खान दिन्छु भन्ने हरेक अभिभावकलाई एकपटक हल्लाउँछ यो कविताले। मोफसलमा बसेका फूलमायाहरूले आफ्ना सन्तानलाई पेटभरि खुवाउन गरेका दु:ख पढ्दा कविलाई नै प्रश्न गर्न मन लाग्छ- साँच्ची फूलमायाहरू आफू चाहिं जीवनमा कति दिन अघाउँछन् होला ?
अँध्यारो खोपा भित्रबाट
चीत्कार मिसिएको स्वरमा
तिमीले उज्यालाको गीत गाएपछि हो
मैले आफैं आँगनमा
आफ्नै लागि अलिकति नाँच्न पाएको।
हिजो जे–जे भयो भयो
अब अर्को रात नलागोस्
युगको सपनामाथि
अँध्याराको हात नलागोस्।
–उन्मुक्तिको गीत
देशका लागि ज्यान दिएका शहीदहरूप्रति नतमस्तक छ ‘उन्मुक्तिको गीत’ कविता। सँगसँगै डर पनि छ, शहीदको सपनामाथि कतै कालो बादल मडारिने त हैन ?
भान्सा फेरिंदा
अलकति अचार फेरिएको हो
काम त उस्तै गर्दै आएको छु
दुरूस्त हिजो जस्तै
अस्ति जस्तै
तर पत्रकार फेरिंदा
अलिकति समाचार फेरिएको हो।
–म त अझै तपाइँ जस्तै छु
परदेशिएका मान्छेमाथि आफन्त, साथीभाइ र छिमेकीले गर्ने शंका र दर्शाउने व्यवहारमाथि व्यंग्य हो ‘म त अझै तपाइँ जस्तै छु’ कविता। घर छोडेर हिंडेको मान्छेले भिन्न परिवेश र संस्कृतिको महासागरमा पौडिन कति कसरत गरेको हुन्छ। हाँस्नका लागि भित्रभित्रै कति रोएको हुन्छ। उठ्नका लागि कति पटक लडेको हुन्छ। त्यो उसलाई मात्र थाहा हुन्छ। त्यसमाथि आफ्नाहरूले गरेको शंकाले ऊ झन् मर्माहत हुन्छ। घर छोडेका मान्छेलाई बिग्रिने समय कहाँ हुन्छ र ! आफ्नाहरूले अस्वीकार गर्दा उठेको मनको छाल हो यो कविता।
‘शिल्पीले छोएपछि’ र ‘मूर्ति’, कविताले अझैसम्म गाडिएरै बसेको जातपातप्रति व्यंग्य गरेका छन्। मूर्तिकारले बनाएका मूर्ति चल्ने, मन्दिर भित्र पस्न नपाउने, उनीहरूले बनाएका गिलास चल्ने तर गिलास भित्रको पानी नचल्ने आडम्बरी समाजलाई मर्मसम्मै पुगेर घोच्छन् यी कविताले।
‘बाका जुत्ता’ कविताले दुई समयमा हुर्किएका मान्छेहरूको तुलना गरेको छ। एकजोर जुत्ता र एकजोर लुगा नफाटेसम्म लगाइरहने बाको सुदूर सोच र पाएसम्म जुत्ता र लुगा फेरिफेरि हिंड्ने आजका छोराछोरीको सोचको तुलना गरेको छ।
अचेल पानी पानी जस्तो छैन
खोला खोला जस्तो छैन
नदी नदी जस्तो छैन।
–पानीको रङ
‘पानीको रङ’ कविताले दिनदिनै प्रदूषित भएका खोलानालाको बारेमा बोलेको छ। धमिलो पानीको रङ देखेर विरक्तिएका कवि मान्छेको मन पनि पानी जस्तै मैलिएको देखेर दिक्क छन्। मान्छेको मन र पानी दुवै सङ्लो हुन जरूरी छ स्वस्थ जीवनयापनका लागि भन्ने सन्देश यो कविताले दिन्छ।
‘पानीको रङ’ कविता सङ्ग्रहभित्र रहेका सबै कवितामा माटोको माया, चौतारीको माया, आफन्तको माया र हजारौं सपुतको बलिदानबाट प्राप्त प्रजातन्त्रको माया भेटिन्छ। कविता कति घरदेशमा हुँदा लेखिएका जस्ता छन् त कति परदेशमा। तर जहाँ लेखिए पनि राष्ट्रप्रेमले ओतप्रोत छन्। कवि आफ्ना कविता मार्फत सजग रहन, सकारात्मक रहन र इमानदार रहेर देशको उन्नति-प्रगतिमा लाग्न आग्रह गर्छन्।
‘पानीको रङ’ भित्रका प्राय: कविताले पाठकलाई छुन्छन्। शब्दका थुप्राहरूले भरिएका मोटा किताबभन्दा चिन्तन, व्यवहार र विचारले खारिएका साना किताबले समयको यथार्थ बोल्न सक्छ भन्ने सन्देश यो कविता संग्रहले दिएको छ।
नम्रता गुरागाईँ, नर्थ क्यारोलाइना, अमेरिका
प्रतिक्रिया 4