+
+
टिप्पणी :

प्रचण्डले संसद‍्मा ओली खोजे, देउवालाई सोधे

एमालेको नियतमाथि आफू विश्वस्त रहेकाले सोध्ने कुरा केही नभएको जनाउ दिंदै प्रचण्डले देउवा र कांग्रेसतर्फ पाँच प्रश्‍नका निशाना साधे ।

बसन्त बस्नेत बसन्त बस्नेत
२०८१ माघ २४ गते २३:२१

२४ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा बिहीबार बोल्ने क्रममा सबैभन्दा पहिले प्रधानमन्त्री र ठूलो दलको नेता खोजे ।

ठूलो दल अर्थात् कांग्रेसका नेता शेरबहादुर देउवा केही ढिलोगरी आइपुग्दा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित थिए । सामान्यतया विपक्षी दलका नेता बोल्दा सत्तापक्षका प्रमुख नेता उपस्थित हुने परम्परा छ । तर प्रधानमन्त्री ओली भने सरकारी निवास बालुवाटारमै रहेको उच्च स्रोतले बतायो ।

अब प्रचण्डले देउवालाई धन्यवादसहित सत्तापक्षभित्र अन्तविर्राेध सिर्जना हुनसक्ने विन्दुहरु पहिल्याउन थाले । उनले ओलीले नेतृत्व गरेको कांग्रेस–एमाले सरकारका ६ महिनाको मूल्यांकन गरे । केही तथ्यांकहरु राख्दै आफू प्रधानमन्त्री छँदाभन्दा देश पछिल्ला छ महिनामा तल्लो अवस्थामा गएको तर्क गरे ।

उनले रास्वपा, जनमत, नागरिक उन्मुक्ति पार्टी लगायतलाई ध्रुवीकरणमा समेट्ने खालको भाषा भाषणमा प्रयोग गरे । अनि एमाले र यसका प्रमुख नेता ओलीको ‘नियत’माथि आफू विश्वस्त नै रहेकाले उनलाई सोध्ने कुरा केही नभएको तर्क दिँदै देउवा र कांग्रेसतर्फ पाँच प्रश्‍नका निशाना साँधे । याद रहोस्, यसअघिका मन्तव्यहरुमा उनी कांग्रेसलाई लक्षित गर्दै खासै केही भन्दैनथे ।

पहिलो प्रश्न– अध्यादेशमाथि कांग्रेसको अडान

प्रचण्डले संसद चार महिनासम्म थुनेर अध्यादेशहरु ल्याइएको भन्दै तिनको औचित्यमाथि प्रश्न उठाए । संविधानतः ६ महिनासम्म संसदको अधिवेशन नबोलाइन सक्छ । अनि अध्यादेशहरु ल्याउन पाउने संवैधानिक अभ्यास छँदै छ ।

तर प्रचण्डले चोरबाटोबाट अध्यादेश आएको दाबी गर्दै यसमा सरकारको नियत सही नभएको आरोप लगाए । उनले यसमा कांग्रेसको अडानसमेत जान्न चाहे ।

‘अरु बेला संसदमा दुई तिहाइको घमण्ड सुन्नुपर्ने । बलियो सरकारको अहंकार सुन्नुपर्ने । अनि शासनचाहिँ अध्यादेशहरुबाट चलाउने ? यो सार्वभौम संसदको अपमान र अवहेलना हो,’ उनले भने, ‘यो केवल हामी विपक्षसँग सरकारको डरमात्र होइन, आफूलाई समर्थन गरेका सत्तापक्षका माननीयहरुमाथि समेत सरकारको अविश्वास हो ।

‘अरु बेला संसदमा दुई तिहाइको घमन्ड सुन्नुपर्ने । बलियो सरकारको अहंकार सुन्नुपर्ने । अनि शासनचाहिं अध्यादेशहरुबाट चलाउने ?’

दोस्रो प्रश्न– विधेयकमा कांग्रेसको पोजिसन

प्रचण्डले संसदमा बोल्ने क्रममा सामाजिक सन्जाल नियमन सम्बन्धी विधेयकलाई प्रधानमन्त्री ओलीको पहिलेदेखिकै नियत भनी आरोप लगाए, बरु प्रश्न कांग्रेसतर्फ मोडे ।

‘ओलीको नियत त मलाई थाहा छ, तर तपाईंहरुले कसरी समर्थन गर्नुभयो ?’ प्रचण्डले संसदको रोष्ट्रमबाट देउवालाई हेर्दै सोधे, ‘हिजो त तपाईंहरु विपक्षमा उभिनुभएको थियो, आज कता उभिनुभएको हो ?’

उनले कांग्रेसलाई पनि प्रधानमन्त्रीको जस्तै प्रश्नमुक्त र विवेकमुक्त नेपाल चाहिएको हो भनी प्रश्न उठाए । यद्यपि आफू प्रधानमन्त्री छँदा नै उक्त विधेयकको तयारी भएको तथ्य भने उनले लुकाए । अनि टिकटकमाथि प्रचण्ड प्रधानमन्त्री छँदा नै लागेको प्रतिबन्ध लगायतका विषयतर्फ नजर लगाएनन् ।

तेस्रो प्रश्न– गठबन्धनबारे कांग्रेस किन ‘गतिशील’ ?

विदितै कुरा हो, तीनपल्ट प्रधानमन्त्री बनेका प्रचण्डले आफ्ना पछिल्ला दुई प्रधानमन्त्रीकाल कांग्रेसको समर्थनमा चलाएका थिए । उनको त्यस सत्ता–रणनीतिमा एमाले पनि उपयोग हुन पुगेको थियो । संयोगवश २०७९ को चुनावपूर्व प्रचण्ड र देउवाले पालैपालो आपसी गठबन्धन सरकार चलाएका थिए । त्यसै अभ्याससँग कांग्रेस कार्यकर्ताले रुखबाहेक अन्यत्र भोट हाल्न नसक्ने भन्दै गरेको टिप्पणीमा देउवा इतरका नेताहरुले समर्थन जनाउने गरेका थिए ।

अहिले प्रचण्डले त्यसलाई विगतमा माओवादीसँग गठबन्धनमा हुँदा निर्वाचनपूर्वको गठबन्धन पाप हो भन्ने साथीहरुको ‘गठबन्धनविरोधी गनगन’ कहाँ गयो भनी खोजी गरेका छन् । उनले स्थानीय उपचुनावमा समेत सत्तागठबन्धनले चुनावी गठबन्धन गरेको भन्दै कांग्रेसको पुरानो अडान निरर्थक रहेको तर्क गरेका छन् ।

चौथो प्रश्न– ऊर्जामन्त्री जोडिएको सवालमा मत्थर, एमालेलाई प्रहार

प्रचण्डले ऊर्जामन्त्री दीपक खड्कालाई जोडेर केही जलविद्युत परियोजनामा गडबडी भइरहेको औंल्याए । कांग्रेसका तर्फबाट ऊर्जामन्त्री बने पनि खड्काले गरेका कार्यसम्पादनमा उनलाई जोडेनन्, बरु ‘मुहान’ अर्थात् प्रधानमन्त्री ओलीमै समस्या रहेको दाबी गरे ।

उनले विद्युत् प्राधिकरणमा उर्जामन्त्रीले अफिस खडा गरेको, विद्युत नियमन आयोगको दुरुपयोग गरिएको आरोप लगाए । उनले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई दुर्व्यवहार गरिएको दाबी समेत गरे । पुनरावलोकनमा जाँदा धरौटी राख्न नपर्ने व्यवस्थाका लागि डेडिकेटेड र ट्रंक लाइनको विद्युत महसुल बक्यौता जाँच गर्न बनाइएको सरकारी समितिलाई ‘अवैध’ भएको तर्क गरे । ‘तर यी सबैमा म मन्त्रीको मात्रै पनि दोष देख्दिनँ । माननीयहरु, मूल नै फोहोर भएपछि शाखाहरु कसरी सफा हुन्छन् ?,’ उनले उत्तर मिसिएको प्रश्न गरे ।

पाँचौ प्रश्न– संविधान संशोधन कहिले ?

प्रचण्डले आफ्नो सरकार ढालेर गत असारमा दुई ठूला दल मिलेको प्रसंगतर्फ चिहाए । त्यसबेला संविधान संशोधन गर्ने भनिए पनि यसबीचमा त्यो ०८७ सालमा हुने प्रधानमन्त्रीबाट वक्तव्य आउँदा सत्ता साझेदार कांग्रेसको धारणा जान्न चाहे ।

‘कांग्रेसका साथीहरुलाई सोध्न चाहन्छु, अब म संविधान संशोधनबारे म बोलौं कि नबोलौं ? हुन त तपाईंहरुले आफ्नो भनाइ प्रष्ट नपार्ने हो भने मैले बोल्नुको अर्थ हुँदैन’ प्रचण्डले कांग्रेसलाई सोधे, ‘हिजो दुई प्रतिस्पर्धी दल मिले भन्ने समाचार लज्जापूर्ण हुन्छ भनेर तपाईहरुले त्यसलाई संविधान संशोधनको सैद्धान्तिक जामा लगाइलिनुभएको छ भनेर मैले यही रोष्ट्रमबाट भनेको थिएँ, जुन अहिले पुष्टि भएको छ ।’

लेखकको बारेमा
बसन्त बस्नेत

बस्नेत अनलाइनखबरका सम्पादक हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?