
वासिङ मेसिन अनेकथरी र ब्रान्डमा उपलब्ध छन् । फरक क्षमता र फिचर्सका वासिङ मेसिनको मूल्यमा पनि एकरुपता छैन।
जस्तो ८ केजी क्षमताको कुनै वासिङ मेसिन ४५ हजार रुपैयाँमा पाइन्छ भने कुनै एक लाख मूल्य बराबर पर्छ। आखिर मूल्यमा यति अन्तर किन हुन्छ ? किनभने यसको ब्रान्ड, सुविधा, क्षमताअनुसार मूल्यमा पनि फरक पर्छ । त्यसैले वासिङ मेसिन खरिद गर्नुअघि केही कुरा ध्यान दिनैपर्छ।
आफ्नो बजेट कति ?
वासिङ मेसिन किन्दा सबैभन्दा पहिले कति बजेटको वासिङ मेसिन किन्ने हो, त्यो निर्धारण गर्नुपर्छ । बजारमा लगभग २३ हजार देखि एक लाख भन्दामाथि पर्ने वासिङ मेसिन उपलब्ध छन्। यस्तोमा यति बजेटको वासिङ मेसिन किन्छु भनेर निर्धारण गरियो भने त्यो मूल्यमा राम्रो मेसिन छनोट गर्न सकिन्छ ।
वासिङ मेसिनको प्रकार छनोट
वासिङ मेसिन मूलत दुई प्रकारका हुन्छन्, फ्रन्ट लोडिङ र टप लोडिङ । फ्रन्ट लोडिङमा लुगा कसरी धुइदैछ भन्ने कुरा देखिन्छ । टप लोडिङ मेसिनमा कपडा माथिबाट राखिन्छ । यसमा लुगा धुने प्रक्रिया राम्ररी देख्न सकिँदैन। टप लोडिङ मेसिन फ्रन्ट लोडिङ वासिङ मेसिन भन्दा सस्तो हुन्छ।
आवश्यकता कति केजी ?
परिवारको आकार र धुलाई आवश्यकताको आधारमा वासिङ मेसिनको क्षमता छनौट गर्नुपर्छ। फ्रन्ट फोल्डिङमा ८ देखि साँढे १० केजी र टप फोल्डिङमा ७ देखि १२ केजी क्षमताका वासिङ मेसिन बजारमा उपलब्ध हुन्छन् । यस्तोमा परिवारको आकार अनुसार क्षमता निर्धारण गर्न सकिन्छ ।
फुल अटोमेटिक र सेमी अटोमेटिक
प्रविधिको आधारमा, फुल अटोमेटिक र सेमी अटोमेटिक गरी दुई प्रकारका वासिङ मेसिन बजारमा उपलब्ध छन् ।
फुल अटोमेटिक वासिङ मेसिनले कपडाभित्र राखेपछि स्वतः धुन्छ र सुकाउँछ । तर, सेमी अटोमेटिक वासिङ मेसिनमा कपडालाई टबमा निकालेर ड्रायरमा राख्नुपर्छ । यो पूर्णस्वचालित भन्दा सस्तो हुन्छ । यस्तोमा वासिङ मेसिन खरिद गर्दा आफ्नो आवश्यकता बुझेर कुन लिने निर्धारण गर्नुपर्छ ।
विशेषता
वासिङ मेसिन खरिद गर्दा त्यसमा भएको विशेषताहरूलाई पनि नियाल्नु पर्छ । विभिन्न ब्रान्डका वासिङ मेसिनमा स्टिम वास, टाइमर सेटिङ र ड्रायर सेटिङ जस्ता उपयोगी सुविधाहरू हुन्छन् । यस्ता विशेषता पनि हेरेर वासिङ मेसिन किन्नुपर्छ ।
ब्रान्ड र वारेन्टी
नेपाली बजारमा लगभग आधा दर्जन बढी ब्रान्डका वासिङ मेसिन पाइन्छ । यस्तोमा प्रचलित ब्रान्ड र बढी वारेन्टी अवधि भएको वासिङ मेसिन खरिद गर्नुपर्छ । यसो गर्दा वासिङ मेसिन बिग्रिएको खण्डमा पनि कम्पनीले नै त्यसको मर्मत गरिदिन्छ ।
राख्ने ठाउँ
वासिङ मेसिन खरिद गर्दा त्यसलाई राख्नको लागि घरमा पर्याप्त स्थान छ कि छैन भन्ने कुरा पनि सुनिश्चित गर्नुपर्छ । ठाउँको उपलब्धता अनुसार मेसिनको आकार छनोट गरियो भने त्यसलाई कहाँ राख्ने भन्ने तनाव हुँदैन।
ऊर्जाको खपत
वासिङ मेसिन खरिद गर्दा ऊर्जा खपत कति हुन्छ भन्ने कुरामा पनि ध्यान दिनुपर्छ । सामान्यता टप लोड वासिङ मेसिनको तुलनामा फ्रन्ट लोड वासिङ मेसिन प्रयोग गर्दा बढि ऊर्जा खपत हुन्छ ।
फ्रन्ट मेसिनले लुगा वास गर्दा हिटर अन भएर तातो पानीले लुगा धुन्छ । त्यसैले फ्रन्ट लोडमा बत्तीको खपत बढी हुन्छ ।
पानीको खपत
वासिङ मेसिन खरिद गर्दा अर्को ध्यान दिनुपर्ने कुरा भनेको पानीको खपत कति गर्छ भन्ने पनि हो । टप लोड मेसिन भन्दा फ्रन्ट लोड मेसिनहरूले सामान्यतया कम पानी खपत गर्छन् ।
तापमान नियन्त्रण
यदि वासिङ मेसिनमा हिटर छ भने, यो सुविधाले पानीको तापक्रम समायोजन गर्न मद्दत गर्नेछ । यो जाडोमा धेरै उपयोगी साबित हुन सक्छ । साथै, तातो पानीले कपडा राम्रोसँग सफा हुन्छ । केही मेसिनहरूमा स्टिम सुविधा हुन्छ, जसले फोहोर र दागहरूसँग राम्रोसँग सफा गर्छ ।
वासिङ मेसिन किन्दा सोेधिने ४ प्रश्न
डाउन ज्याकेट धुन मिल्छ ?
वासिङ मेसिनमा डाउन ज्याकेट धुन मिल्छ कि मिल्दैन ? भन्ने प्रश्न धेरै सुनिन्छ । वासिङ मेसिनमा डाउन ज्याकेट मज्जाले धुन मिल्ने काठमाडौँ इलेक्ट्रिक सेल्स एण्ड सर्भिसका सर्भिस इन्चार्ज आशिष तामाङ बताउँछन् ।
इनरवेयर धुन मिल्छ ?
वासिङ मेसिनमा इनरवेयर धुन मिल्छ । तर, इनरवेयर र मोजा जस्ता साना लुगा धुँदा लोन्ड्रि ब्यागमा राखेर धुनुपर्छ । यत्तिकै धोइयो भने यस्ता साना लुगा मेसिनमा अड्कन सक्छ । त्यसैले लोन्ड्रि ब्यागको प्रयोग गर्नुपर्ने आशिष सुझाउँछन् ।
वासिङ मेसिनमा धोएको कपडा सफा हुन्छ ?
वासिङ मेसिनमा धोएको कपडा सफा हुँदैन, दाग जाँदैन भनेको पनि सुनिन्छ । तर, मेसिनमा यस्ता कपडा सफा गर्ने फिचर पनि हुन्छ । लुगामा दाग लागेको ४८ घण्टा भित्र त्यो लुगा धोइयो भने त्यो सफा हुने आशिषले बताए ।
पानी सफा छैन के गर्ने ?
कसैको घरमा पानी सफा छैन भने टेक्निकल टिमले पानी जाँच गरेर पानी कडा छ भने मेसिनलाई त्यस्तै अनुसारको फङसनमा राखिदिन्छन् र त्यसपछि समस्या नहुने आशिष् बताउँछन् ।
प्रयोग गर्ने विधि
मेसिनमा लुगा हाल्दा ठूला लुगा पहिला हाल्नुपर्छ भने साना र त्योभन्दा पनि साना लुगाहरू त्यसपछि हाल्नुपर्छ । मेसिनमा लुगा हाल्दा खोलेर हाल्नुपर्छ । यदि लुगालाई त्यतिकै मेसिनमा हाल्नाले लुगाहरू आपसमा अल्झिन्छन् र जुन समयमा मेसिन घुम्छ, त्यो समयमा लुगा च्यातिने र मेसिनमा पनि समस्या आएर नचल्ने स्थिति पनि उत्पन्न हुनसक्छ ।
वासिङ मेसिनमा कुनै पनि नयाँ लुगा हाल्नुअगाडि रङ जान्छ कि जाँदैन भन्ने कुरा जाँच गर्नुपर्छ । यदि रङ जाने लुगा छ भने मेसिनमा हालेका सबै लुगा बिग्रन सक्छ ।
डिटर्जेन्टको प्रयोग गर्दा फेब्रिकलाई पनि ध्यान दिनुपर्छ । सिल्क अथवा ऊनीका लुगा धुनका लागि सफ्ट डिटर्जेन्टको प्रयोग गर्नुपर्छ ।
धेरै वासिङ मेसिनहरूको बुकलेटमा नर्मल डिटर्जेन्टसँगै आधा बिर्को मेसिनको डिटर्जेन्ट पनि हाल्नुपर्छ भनेर निर्देशन दिएको हुन्छ । मेसिनको डिटर्जेन्ट भिन्दै हुन्छ । जसलाई छुट्टै किन्नुपर्छ ।
प्रतिक्रिया 4