
२३ माघ, काठमाडौं । सर्वाधिक लोकप्रिय एआई च्याट प्लाटफर्म च्याट जिपिटी निर्माता कम्पनी ओपन एआईले पछिल्लो समयमा चिनियाँ डीपसीक एआईबाट पेचिलो चुनौतिको सामना गरिरहेको छ ।
यस्तो परिस्थितिमा ओपन एआईलाई डीपसीक लगायतका प्रतिस्पर्धी कम्पनीभन्दा केही नयाँ गरेर देखाउनै पर्ने बाध्यता छ । सोही तथ्यलाई हृदयंगम गर्दै ओपन एआईले एउटा नयाँ आर्टिफिसियल इन्टेलिजेन्स उपकरण ल्याउने तयारी गरिरहेको छ ।
ओपन एआईको उक्त डिभाइस स्मार्टफोन आकारको हुनेछ । कतिपय विश्लेषकहरुका अनुसार च्याट जिपिटी निर्माताको यो उपकरणले विद्यमान स्मार्टफोनलाई नै प्रतिस्थापित गर्न सक्नेछ ।
समाचार अनुसार सो डिभाइस आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिमा केन्द्रित हार्डवेयर प्रडक्ट हुनेछ । यो यतिधेरै अत्याधुनिक हुनेछ कि अहिलेको स्मार्टफोन पूरानो तथा निकम्मा बन्नेछ ।
ओपन एआई कम्पनीका सिइओ साम अल्टम्यानले गतवर्ष नै खुलासा गरेका थिए कि कम्पनीले आफ्नै एआई डिभाइस तयार गर्ने योजना बनाइरहेको छ । त्यसका लागि कम्पनीले एप्पलका पूर्व मूख्य डिजाइन अफिसर जोनी इभसँग सहकार्य गरी काम गरिरहेको उनको भनाइ थियो ।
ओपन एआई र एप्पलका पूर्व मूख्य डिजाइनर जोनी इभबीच नयाँ एआई डिभाइसको डिजाइन तथा निर्माणमा सहकार्य भईरहेको बताइएपनि अहिले काम कहाँ पुगेको छ भन्ने बारेमा कुनै जानकारी गराइएको छैन ।
यद्यपि समाचारहरुमा चाहीँ उक्त एआई डिभाइसको सफ्टवेयर अत्याधुनिक हुने र त्यसले जटिल अन्तरक्रियामा पनि काम गर्नसक्ने बताइएको छ । ओपन एआईको उक्त एआई फोन निकै विकसित तथा नितान्त फरक हुनेछ । यसको डिजाइन कस्तो हुनेछ भन्ने बारेमा केहीपनि खुलेको छैन ।
हालै केही डिभाइसका झलकहरु सार्वजनिक भएका थिए जसको नाम एआई पिन तथा आर१ थियो, जसमा कुनैपनि बटन थिएन । त्यसैले च्याट जिपिटी निर्माताको एआई डिभाइस पारम्परिक स्मार्टफोन भन्दा निकै फरक हुने सहजै अनुमान गर्न सकिन्छ । एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4