+
+

गाजालाई प्यालेस्टिनीमुक्त गराउने ट्रम्प चाहना

इजरायली प्रधानमन्त्रीलाई साथ राखेर ट्रम्पले भने- ‘अमेरिकाले गाजा नियन्त्रणमा लिएर पुनर्निर्माण गर्छ’

ट्रम्प–नेतन्याहूका अभिव्यक्तिले इजरायल–हमास युद्धविरामको भविष्यसँगै गाजालाई शक्तिकेन्द्रहरूको क्रिडास्थल बनाउने चिन्ता थपेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २३ गते २१:५५

२३ माघ, काठमाडौं । गत १५ जनवरी २०२५ मा इजरायल र हमासबीच युद्धविराम सम्झौता भयो । पृष्ठभूमिमा थिए, कतार, इजिप्ट र अमेरिका । विशेषतः कतारको अनवरत प्रयासपछि ४६७ दिनदेखि जारी घातक युद्ध अन्त्य गर्न इजरायल–हमास तयार भएका थिए । अनवरत प्रयासको मुख्य कारण थियो, ७ अक्टोबर २०२३ बाट सुरु भएको घातक युद्धले निम्त्याएको बर्बरताको अन्त्य र गाजाको पुनर्निर्माण ।

तीन चरणमा सम्पन्न गरिने युद्धविराम सम्झौतामा हमासको कब्जामा रहेका बन्दी र इजरालयको कारागारमा रहेका प्यालेस्टिनीहरूको रिहाइ, गाजाबाट इजरायली सैन्य फिर्ता र गाजा क्षेत्रको दीर्घकालीन पुनर्निर्माणको प्रतिबद्धता छ ।

युद्धविराम सम्झौताअनुसार पहिलो चरण ६ साताको हुनेछ । त्यसमध्ये तीन साता बितिसकेको छ । यसबीच, बन्दी आदानप्रदान चलिरहेको छ । युद्धपछि विस्थापित लाखौं प्यालेस्टिनी घर फर्किरहेका छन् । यद्यपि, खण्डहर बनेको गाजामा बस्नलायक घर होस् या प्रियजन नगुमाएको परिवार भेट्न मुस्किल छ ।

१८ हजार बालबालिकासहित ४६ हजारभन्दा बढी प्यालेस्टाइन नागरिकको ज्यान लिएको बर्बर युद्धको दीर्घकालीन विराम सबैको चासोमा छ । जीवित रहेका प्यालेस्टिनीहरू गाजाको पुनर्निर्माणको सपना बोकेर पुनः घर (खण्डहर) समेट्न जुटेका छन् ।

तर, केही गम्भीर प्रश्नका उत्तर आउन बाँकी छन्, जसले प्यालेस्टिनीका सपना साकार हुने–नहुने निर्धारण गर्नेछ ।

गाजाको पुनर्निर्माण सहज छ ? पुनर्निर्माण भइहाले पनि गाजा प्यालेस्टिनीकै अधिनमा रहन्छ ? अथवा, गाजामै प्यालेस्टिनीको भविष्य कति सुनिश्चित छ ? यी त्यस्ता प्रश्न हुन्, जसको केन्द्रमा प्यालेस्टिनी जनताभन्दा विश्वका शक्ति राष्ट्रहरूका स्वार्थ छन् । त्यसको छनक पछिल्लोपटक ट्रम्प–नेतन्याहू पत्रकार सम्मेलनमा देखियो ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू ह्वाइटहाउसमा पुनर्बहाली गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भेट्न अमेरिका पुगेका थिए । दुईबीच लामै छलफल चल्यो । छलफलपछि मंगलबार ट्रम्प र नेतन्याहूले संयुक्त पत्रकार सम्मेलन गरे ।

इजरायलका प्रधानमन्त्री नेतन्याहू र अमेरिकी राष्ट्रपति ट्रम्प । तस्वीर : एपी ।

नेतन्याहूलाई साथ राखेर पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले भने, ‘गाजा एक विध्वंशस्थलमा रूपान्तरण भइसकेको छ । यस्तोमा गाजामा रहेका १८ लाख प्यालिस्टिनीहरूलाई अन्य अरब देशहरूमा पठाउनुपर्छ । ताकि, गाजालाई नियन्त्रणमा लिएर यहाँबाट जिउँदो बमहरूलाई हटाई पुनर्निर्माण गर्न अमेरिकालाई सफलता मिलोस् र अर्थव्यवस्थालाई गति दिन सकियोस् ।’

प्यालेस्टिनीहरूका लागि त्यहाँबाट बाहिरिने बाहेक अर्को विकल्प नभएको ट्रम्पको भनाइ थियो । ट्रम्पले जोर्डन र इजिप्टले प्यालेस्टिनीहरूलाई शरण दिनुपर्ने र त्यसपछि अमेरिकाले गाजालाई नियन्त्रणमा लिएर पुनर्निर्माण गर्ने बताए ।

ट्रम्पले भने, ‘गाजालाई पुनः बसोबास गराउनुको साटो, प्यालेस्टिनीहरूलाई नयाँ स्थानमा स्थानान्तरण गर्नु राम्रो हुनेछ । यदि उपयुक्त स्थान फेला परे र राम्रो घरहरू बनाइए भने गाजामा फर्कनुभन्दा यो विकल्प उत्तम हुनेछ ।’

ट्रम्पका अनुसार गाजा एउटा यस्तो अन्तर्राष्ट्रिय क्षेत्र हुनेछ जहाँ पुनर्निर्माण गरिएपछि संसारभरका मानिसहरू बस्न सक्छन् । यसको अर्थ प्यालेस्टिनीहरू पनि पुनर्निर्माणपछि यहाँ फर्कन सक्नेछन् ।

के अमेरिका गाजामा अमेरिकी सैनिक पठाउन चाहन्छ भन्ने प्रश्नमा ट्रम्पले यो सम्भावनालाई अस्वीकार गरेनन् । उनले भने, ‘गाजाको हकमा हामी त्यो गर्नेछौं जे आवश्यक हुन्छ । हामी त्यो क्षेत्र कब्जा गर्नछौं जसलाई हामी विकसित गर्न चाहन्छौं ।’

ट्रम्प–नेतन्याहू जुगलबन्दीले इजरायल–हमास युद्धविरामको भविष्यमाथि कुनै पनि बेला संकट उत्पन्न गर्ने विश्लेषण हुन थालेको छ। साथै, गाजामा शान्ति र स्थिरता तथा बर्बर युद्धको मारमा परेका प्यालेस्टिनीको भविष्यमाथि अन्योल उत्पन्न गरेको छ ।

ट्रम्पले आफ्नो पुरानो अभिव्यक्ति दोहोर्‍याउँदै प्यालेस्टिनीलाई गाजाको नरकबाट निकाल्न चाहेको जिकिर गरेका थिए ।

नेतन्याहूले ट्रम्पको यस योजनाको समर्थन गर्दै यो योजनाले इतिहास बदल्न सक्ने बताए । पत्रकार सम्मेलनमा नेतन्याहूले गाजामा आफ्नो तीन उद्देश्य रहेको बताए । ‘इजरायल गाजाबाट बन्धक मुक्त गराउने, गाजामा यसअघि नै तय गरिएका सैन्य लक्ष्यहरू पूरा गर्ने र हमासको सैन्य शक्ति पूर्ण रूपमा समाप्त गर्ने यी तीन लक्ष्यहरू प्राप्त गर्नेछौं,’ नेतान्याहूले भने ।

संयुक्त पत्रकार सम्मेलनमा नेतान्याहूले ट्रम्पको प्रशंसा पनि गरे । उनले भने, ‘अहिलेसम्म ह्वाइट हाउसमा रहेकाहरूमध्ये ट्रम्प इजरायलका सबैभन्दा असल मित्र हुनुहुन्छ । उहाँले जहाँबाट अन्त्य गर्नुभएको थियो, त्यहींबाट पुनः सुरुवात गर्नुभएको छ ।’

उनले इजरायली बन्धकहरूको रिहाइको प्रमुख श्रेय ट्रम्पलाई दिँदै भने ‘तपाईंको नेतृत्वकै कारण बन्धकहरू आफ्नो घर फर्किन सफल भए ।’

पत्रकार सम्मेलनमा इजरायलका प्रधानमन्त्री नेतन्याहू, साथमा अमेरिकी राष्ट्रपति । तस्वीर : एपी ।

पत्रकार सम्मेलनमा ट्रम्पले पछिल्लो समय गाजाबारे नजिकबाट अध्ययन गरिरहेको बताए । ‘मैले पछिल्ला केही महिना गाजाको अवस्थालाई नजिकबाट अध्ययन गरेको छु र गाजालाई नियन्त्रणमा लिएर विकास गर्ने योजनालाई विश्वका शीर्ष नेताहरूबाट जबरजस्त समर्थन प्राप्त भएको छ । यो मध्यपूर्वमा स्थायी शान्ति ल्याउने प्रभावकारी योजना हो,’ उनले भने ।

गाजा नियन्त्रणमा लिएर पुनर्निर्माण गर्ने र प्यालेस्टिनीलाई गाजाभन्दा अन्यत्रै बसोबास गराउनेसम्मका ट्रम्पको प्रस्ताव हमासले तत्काल खारेज गरेको छ । मिश्र र जोर्डनले पनि ट्रम्पको प्रस्ताव अस्वीकार गरेका छन् ।

ट्रम्पले यसका लागि छिट्टै मध्यपूर्वका देशहरूको भ्रमण गर्ने योजना सुनाए । ‘म चाँडै इजरायल, गाजा, साउदी अरेबिया र मध्यपूर्वका अन्य स्थानहरूको भ्रमण गर्नेछु,’ उनले भने, ‘मध्यपूर्व एक सुन्दर क्षेत्र हो, जहाँ अद्भुत मानिसहरू बस्छन्, तर कमजोर नेतृत्वले धेरै समस्या सिर्जना गरेको छ ।’

ट्रम्पको अभिव्यक्तिले तनाव बढाउँछ : हमास

गाजा नियन्त्रणमा लिएर पुनर्निर्माण गर्ने र प्यालेस्टिनीलाई गाजाभन्दा अन्यत्रै बसोबास गराउनेसम्मका ट्रम्पको प्रस्ताव हमासले तत्काल खारेज गरेको छ । हमासका वरिष्ठ अधिकारी सामी अबू जुहरीले भने, ‘अमेरिकी राष्ट्रपति ट्रम्पको यो अभिव्यक्ति गाजामा अराजकता र तनाव बढाउने औषधि मात्र हो ।’

हमासद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो जनताले गाजामा यस्ता योजनाहरू लागू हुन दिने छैनन् । हाम्रा जनतालाई आफ्नै भूमिबाट निष्कासन गर्नुभन्दा उनीहरूमाथि भइरहेको कब्जा र आक्रमणहरू अन्त्य गरिनु आवश्यक छ ।’

मिश्र र जोर्डनले पनि ट्रम्पको प्रस्ताव अस्वीकार गरेका छन् । संयुक्त राष्ट्रसंघका प्यालेस्टिनी प्रतिनिधिले भनेका छन्, ‘विश्व नेताहरूले प्यालेस्टिनी जनताको इच्छालाई सम्मान गर्नुपर्छ ।’ साउदी अरब, संयुक्त अरब इमिरेट्स, प्यालेस्टिनी प्राधिकरण र अरब लिगले पनि साझा धारणा सार्वजनिक गर्दै ट्रम्पको योजना खारेज गरेका छन् ।

पश्चिमा राष्ट्रहरूको पनि विरोध

ट्रम्पको गाजामा नियन्त्रणको प्रस्तावलाई अरब देशहरूका साथै जर्मनी र फ्रान्सले पनि आलोचना गरेका छन् । फ्रान्सले भनेको छ, ‘गाजाबाट प्यालिस्टिनीको निष्कासन या अमेरिकाको नियन्त्रण अन्तर्राष्ट्रिय कानुनहरूको गम्भीर उलंघन हुनेछ ।’ यस्तै, जर्मनीले भनेको छ, ‘यस्तो कुनै पनि कदमले केवल पीडा र घृणा पैदा गर्नेछ ।’

इजरायल–हमास युद्धविराम सम्झौता हुनुअघि ह्वाइटहाउसको नेतृत्वमा जो बाइडेन थिए । राष्ट्रपति निर्वाचित भइसके पनि ट्रम्पको प्रवेश बाँकी नै थियो । तर, उनको पुनरागमनसँगै नेतन्याहूका अभिव्यक्ति पनि बदलिएका छन् । त्यसोतः नेतन्याहू युद्धविरामको लागि सहजै तयार भएका भने थिएनन् ।

देशभित्रको शक्ति सन्तुलनको जटिलताका कारण सत्तामा टिकिरहन उनी दक्षिणपन्थीहरूले चाहेअनुसार नै युद्धलाई लम्ब्याइरहेका थिए । अझै पनि उनको त्यो बाध्यता हटेको छैन । गाजामा आफ्नो चाहना लाद्न सक्दा मात्र खस्किँदै गएको लोकप्रियता फर्काउन सकिने र सत्तामा टिकिरहन सकिने उनको बुझाइ स्पष्टै देखिन्छ ।

यस्तोमा ट्रम्प–नेतन्याहूको संयुक्त पत्रकार सम्मेलनमा देखिएको जुगलबन्दीले इजरायल–हमास युद्धविरामको भविष्यमाथि कुनै पनि बेला संकट उत्पन्न हुन सक्नेविश्लेषण गर्न थालिएको छ। साथै, गाजामा शान्ति र स्थिरता तथा बर्बर युद्धको मारमा परेका प्यालेस्टिनीको भविष्यमाथि अन्योल उत्पन्न गरेको छ ।

(एजेन्सीहरूको सहयोेगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?