News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कम्पनी मेड आईक्यू पा.लि.ले अस्पतालको लागि नयाँ ‘हस्पिटल अपरेटिङ सिस्टम’ सफ्टवेयर ल्याएको छ।
- सफ्टवेयरले अस्पताल प्रणालीलाई सहज र प्रभावकारी बनाउने दावी गरिएको छ र सरकारको डिजिटल स्वास्थ्य योजना सँग मेल खान्छ।
- सफ्टवेयरले अस्पतालका सबै विभागलाई मिल्ने गरी विभिन्न फिचर र ड्यासबोर्डहरू समावेश गरेको र प्रयोग गर्न सहज रहेको बताइन्छ।
२० जेठ, काठमाडौ । अस्पतालको प्रणालीलाई सहज बनाउने नयाँ सफ्टवेयर ‘हस्पिटल अपरेटिङ सिस्टम’ ल्याइएको छ । नेपाली कम्पनी मेड आईक्यू पा.लि.ले हेल्थ कन्सर्नसँगको सहकार्यमा यो सफ्टवेयर प्रयोगमा ल्याएको हो ।
यसले अस्पतालमा प्रयोग हुने विद्युतीय प्रणालीलाई सहज र प्रभावकारी बनाउन दावी कम्पनीको छ ।
सरकारले सबै व्यक्तिको स्वास्थ्य विवरण एकीकृत हुने गरी स्वास्थ्य सेलालाई डिजिटलाइजेसन गर्ने योजना अगाडि सारिरहेको छ । सरकारको यो योजनालाई सहज हुने गरी यो सफ्टवेयर ल्याइएको कम्पनीकी प्रमुख कार्यक्रम अधिकृत सृष्टि पन्तले बताइन् ।
सरकारले जारी गरेको एकीकृत विद्युतीय चिकित्सा अभिलेख प्रणाली सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०८१ बमोजिम ‘हस्पिटल अपरेटिङ सिस्टम’ सफ्टवेयर ल्याइएको उनले जानकारी दिइन् ।
अस्पतालहरूमा अहिले प्रयोग भइरहेको भन्दा यो सफ्टवेयरको प्रणाली विस्तृत रहेको, धेरै फिचर समावेश गरिएको र प्रयोग गर्न सहज रहेको पन्तको दावी छ ।
नेपालको संविधान, स्वास्थ्य नीति तथा स्वास्थ्यका योजनाहरूलाई समेत ध्यान दिएर नेपालको परिस्थितिबारे अध्ययन गरी यहाँको स्वास्थ्य क्षेत्रलाई उपयुक्त सफ्टवेयर बनाइएको पन्तले जानकारी दिइन् ।
पन्तका अनुसार अस्पतालका सबै विभागलाई मिल्ने गरी छुट्टाछुटै प्रणाली सफ्टवेयरमा समावेश गरिएको छ । अस्पतालको इमर्जेन्सीदेखि, फार्मेसी, प्रयोगशाला, लेखा र प्रशासनसम्मका लागि छुट्टाछुटै ड्यासबोर्डहरू तयार गरिएको छ । सफ्टवेयरको पूरै प्याकेज नलिई आफूलाई मन परेका फिचर मात्रै लिन मिल्ने गरी माइक्रो सर्भिसहरू समेत रहेको पाण्डेले बताइन् ।
चिकित्सक, स्वास्थ्यकर्मी तथा बिरामीको समय बचतलाई विशेष ध्यान दिइएको उनले जानकारी दिइन् । यसमा दर्ता भएका बिरामीले आफ्नो युजर र पासवर्ड पाउनेछन् ।
व्यक्तिको समान्य विवरण राखिएको क्यूआर कोडसहितको कार्ड पनि प्रदान गरिने छ ।
फेसबुक चलाउने सक्ने व्यक्तिले सहजै चलाउन सक्ने गरी सफ्टवेयर बनाइएको हेल्थ कन्सर्नका नेपालका संस्थापक डा.सुवास प्याकुरेलले बताए ।
सरकारले ल्याएको एकीकृत विद्युतीय चिकित्सा अभिलेख प्रणाली संञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०८१ का सबै मापदण्ड पूरा हुने गरी तयार गरिएको प्याकुरेलले जानकारी दिए ।
अहिले तीन तहका सरकार, स्वास्थ्य संस्था तथा नियामक बीच समन्वय नहुँदा व्यक्तिको स्वास्थ्य विवरण एकीकृत हुन नसकेको उनले बताए । ‘हस्पिटल अपरेटिङ सिस्टम’ले फरक–फरक सरकारी निकायमा रहेका व्यक्तिको विवरणलाई तानेर एकीकृत गर्ने दावी उनको छ ।
आवश्यकताअनुसार यसलाई समय सापेक्ष परिमार्जन गर्दै लैजाने प्याकुरेलले जानकारी दिए ।
सबै नागरिकको स्वास्थ्य विवरणलाई डिजिटलाइजेसन गर्ने सरकारको योजनामा यो सफ्टवेयर ठूलो सहयोगी हुने उनले बताए ।
प्रतिक्रिया 4