News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली फुटबलका पूर्व कप्तान रूपकराज शर्माको निधन २०४९ असोज १२ मा विमान दुर्घटनामा भयो।
- उनी पुलिस सेवा र फुटबलमा आफ्नो व्यक्तित्व र शैलीका लागि परिचित थिए।
- उनको निधनले नेपाली फुटबल र समाजमा ठूलो शोक ल्याएको थियो।
नेपाली फुटबलले अहिलेसम्म सबैभन्दा बढी कसैलाई गुमाएर थकथक मानेको छ भने ती हुन्, रूपकराज शर्मा । धेरैको अनुमान के छ भने सायद, ‘रूपक दाइ’ भएको भए नेपाली फुटबललाई अझ राम्रो हुने थियो । धेरै सजिलो हुने थियो । किनकि, उनी त्यस्ता व्यक्तित्व थिए, जोसँग समस्या समाधान गर्ने क्षमता थियो । लगभग सबै उनलाई रूपक दाई नै भन्थे । उनी अहिलेसम्म पनि बाँचेको भए, नेपाली फुटबल त्यस्तो रहने थिएन, जस्तो अहिले छ ।
नेपाली फुटबलको पक्षमा कोही कसैसँग झगडा गर्नु पर्यो भने उनी नै अगाडि सर्थे, कारण जे सुकै होस् । त्यसैले धेरैलाई उनको अनुपस्थिति खड्केको हो । उनी लामो समय नेपाली राष्ट्रिय टिमका कप्तान रहे । एक अर्थमा उनी सबैका कप्तान थिए । मान्छेको जीवनमा ‘इफ एन्ड बट्स’ हुन्न । अर्थात् ‘यदि र तर’ । यस्तो भइदिएको भए, रूपक दाइ पनि हामीसँग हुने थिए । र, उनको उपस्थितिले नेपाली फुटबललाई धेरै राहत हुन्थ्यो । राम्रो हुन्थ्यो ।
जे पनि हुन्थ्यो, खराब केही पनि हुने थिएन। उनीसँग जत्तिले संगत गरे, सबैले अनुभव गरेको कुरा हो, यो । रूपक दाइलाई जत्ति सबथोकमा ज्ञान अरू कसैलाई थिएन । उनले नबुझेको, नसुनेको र नदेखेको पनि केही थिएन। शर्माका दुई व्यक्तित्व थियो । त्यो हो, फुटबलर र पुलिस सेवा । फुटबलमा पनि पछि उनका दुई व्यक्तित्व तयार भए, एक खेलाडी र अर्को रेफ्रीका रूपमा ।
पुलिस सेवा पनि फुटबलकै देन त हो । पुलिसलाई लिएर उनको प्रसङ्ग उठाउने हो भने उनी जति बेला काठमाडौंको समाजमा चर्चित थिए, दन्त्य कथाका नायक जस्तै थिए ।
उनलाई लिएर खुबै चाखलाग्दा उडन्ते किस्साहरू सुन्न पाइन्थ्यो । पुलिसका रूपमा उनले यस्तो गरे, उस्तो गरे । उनी चर्चित छँदा राजनीति व्यवस्था र शासन पद्धति प्रति जनताको गुनासो त थियो नै । तर, त्यो गुपचुप समाज थियो । यही समाजले उनलाई नायकका रूपमा चित्रण गरेको थियो ।
त्यो त्यही समय थियो, जति बेला भित्ताको पनि कान हुन्थ्यो भनिन्थ्यो । त्यसैले आम मान्छे बोल्न पनि डराउँथे । अनि माथिको आदेशमा धेरैथोक हुन्थ्यो । यो माथिको आदेश कहाँबाट कसरी आउँथ्यो , कमैलाई मात्र थाहा थियो । बरू, भुमिगत रूपमा कोही कसैले काम गरिरहेको छ भन्ने विश्वास थियो ।
यी नायक त्यही राजनीतिक व्यवस्था र शासन पद्धतिविरुद्ध तहल्का मच्चाउँथे । उनले २३ वर्ष पुलिस सेवामा बिताए र सेवाको अन्तिम पद थियो, एसपी । पुलिसमा छँदा किस्सा जस्ता थिए, फुटबलको मैदानमा रूपकराजको व्यक्तित्व पनि त्यस्तै थियो ।
फुटबलको गोर्खाली शैली
रूपकराज शर्माले लगभग १३ वर्ष कप्तानी चलाए । सन् १९८३ मा नयाँ दिल्लीमा भएको नवौं एसियाली खेलकुद नेपाल सहभागी पहिलो औपचरिक फुटबल प्रतियोगिता हो भने शर्मा त्यो टिमका पनि कप्तान थिए । सन् १९८६ को विश्वकप छनोटका सुरुवाती दुई खेल खेले र त्यसपछि सक्रिय खेलाडी जीवनबाट टाढा रहे । त्यसैयता उनको रेफ्री खेल जीवन सुरु भएको हो । खेलाडी छदा उनी क्रिएटिभ मिडफिल्डका रूपमा खेल्थे ।
खेल्ने बेला ज्यान दुब्लो थियो । राम्रो ड्रिब्लिङ गर्थे । त्यो समयको अन्तर्राष्ट्रिय फुटबलमा ‘टाइम किलिङ’ चल्ने गर्थ्यो । त्यसमा पनि उनी सिपालु थिए । अझ महारत प्राप्त थियो भन्दा केहि फरक नपर्ला । उनको नेतृत्वमा पुलिस टिम घरेलु फुटबलमा कमजोर हुने प्रश्नै थिएन। खेल्ने प्रवृति लडाकु स्वभावको थियो नै । ‘रफ एन्ड टफ’ उनको खेलको विशेषता थियो, उनी यस्तै खेल्न रूचाउँथे । रुदी गुटेनडफ आउन अगाडि नेपालले केही समय शर्माकै शैलीमा फुटबल खेल्यो र उनको शैली थियो, ‘गोर्खाली ।’
उनी भन्ने गर्थे रे,
‘हामी नेपालीको फुटबल खेल्ने शैली गोर्खाली हुनु पर्छ, गोर्खाली ।’
सबै उनलाई पछ्याइहाल्थे । अनुशासनमा पनि राम्रै थिए, उनी । ट्रेनिङ चल्दा उनी ठीक समयमा आउथे । नतिजा अरूलाई पनि समयमै पुग्न कर लाग्थ्यो । उनको व्यक्तित्व र सान सौकतमा विदेशी प्रशिक्षकलाई पनि डाहा लाग्थ्यो । खेलाडी छँदाको स्वभावका कारण उनी जति बेला रेफ्री बने, मैदानमा हुने सानातिना घटनालाई ठूलो मान्दैन थिए । उनी त्रिपुरेश्वरका थिए, त्यसैले नजिकैको दशरथ रंगशालाले उनको व्यक्तित्वमा गाढा प्रभाव पारेको थियो ।
उनले सुरुवाती दिनमा ब्वाइज युनियनबाट खेले । कुनै समय ब्वाइज युनियन नेपाली फुटबलको सबैभन्दा ठूलो शक्ति थियो । यो यस्तो क्लब थियो, जहाबाट श्याम थापा र उनका भारतीय साथी खेलाडी खेल्थे । यही त्रिपुरेश्वरको फुटबल माहौलमा उनी हुर्के बढे र टोल छिमेकमा युवा पुस्तालाई पनि फुटबलमा आकर्षित बताए । रेफ्री पनि उनी गज्जब निस्के । चाडै फिफा रेफ्री बने । र, रेफ्रीकै रूपमा मृत्युलाई पनि आत्मसात् गरे ।
त्यो कालो दिन
धेरैका लागि २०४९ असोज १२ कालो दिन सावित भयो । नेपाली फुटबल पनि अछुतो रहेन । उनी पाकिस्तानमा ‘गेम’ खेलाएर पीआईए एयरबसबाट काठमाडौं फर्किरहेका थिए । फ्लाइट नम्बर थियो, २६८ । यो विमानले काठमाडौं छुनै लागेको थियो, ललितपुरको भट्टेडाडा–३ मा दुर्घटना भयो । सबै यात्रु र क्रु–मेम्बरले ज्यान गुमाए । नेपाली इतिहासमै त्यो ठूलो विमान दुर्घटना थियो, पूरा देशमा तहल्का मच्चिनु स्वभाविक थियो ।
त्यस्तै, दुर्घटनामा परेर शर्माको पनि निधन भएको समाचारले अझ धेरैको मन दुखेको थियो । उनीसँगै दुर्घटनामा जीवन गुमाउने अरु दुई फुटबल व्यक्तित्व पनि थिए, रोशनकुमार श्रेष्ठ र हिरारत्न वज्राचार्य । दुवै शर्मासँग ‘गेम’ खेलाउन पाकिस्तान गएका थिए । दुवै सहायक रेफ्री थिए । शर्मा जिवित छँदा जर्मन प्रशिक्षक होल्गर ओभरमन उनीसँग नजिक भइसकेका थिए । ओभरमनलाई शर्माको असामयिक निधनले चोट पुर्याएको रहेछ ।
उनले भनेका छन्,
‘मेरो लागि सन् १९९३ मा स्वर्ण जित्नु सबैभन्दा ठूलो खुसीको क्षण हो भने सबैभन्दा खराब क्षण, शर्मा लगायत अरु दुईलाई हवाई दुर्घटनामा गुमाउनु हो ।’
नेपाली खेल पत्रकारिताको दिग्गज नाम हो, हिमेशरत्न वज्राचार्य । कान्तिपुर दैनिकमा रहेर खेल पत्रकारितामा अविछिन्न दशकौं बिताएका वज्राचार्यको पुस्तक ‘स्वर्णकथा : नेपाली फुटबलको’ हालै सार्वजनिक भएको छ ।
प्रतिक्रिया 4