+

थोरङलाको आँगन : कठिन गन्तव्य, सुन्दर अनुभूति

२०८२ जेठ  ७ गते १०:२१ २०८२ जेठ ७ गते १०:२१
थोरङलाको आँगन : कठिन गन्तव्य, सुन्दर अनुभूति

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लेखकले तिलिचो र थोरङला पासको पदयात्राको अनुभव र चुनौतीहरू वर्णन गरेका छन्।
  • उनले यात्राले सिकाएको साहस, मित्रता र प्रकृतिको महत्त्वलाई उजागर गरेका छन् ।
  • मुक्तिनाथको यात्रा आध्यात्मिक शान्ति र जीवनको अर्थ खोज्ने यात्राको रुपमा प्रस्तुत गरिएको छ।

जीवन, आफैंमा एउटा अनन्त यात्रा हो । कहिलेसम्म, कहिले उकालो, कहिले ओरालो । तर केही यात्राहरू यस्ता हुन्छन्, जसले जीवनको परिभाषा नै बदलिदिन्छन्, जसले हामीलाई हामीभित्रै लुकेको अर्को ‘म’सँग साक्षात्कार गराइदिन्छन् । यस्तै एउटा यात्रा थियो हाम्रो, तिलिचोको हिउँको आँचलमा आफूलाई समर्पित गरिसकेपछि, अब अझै कठिन, अझै उच्च, अझै रोमाञ्चक गन्तव्यको– थोरङला पास !

भनिन्छ नि, ‘जति कठिन गन्तव्य, उति नै सुन्दर अनुभूति ।’ तिलिचोको चिसो स्पर्शले हाम्रो आँखामा नयाँ सपना भरिदिएको थियो, हाम्रो साहसलाई नयाँ उडान दिएको थियो । तर अबको यात्रा, त्यो सपनालाई यथार्थमा बदल्ने एउटा कठोर तपस्या थियो, जहाँ पाइला मात्र होइन, मन र मस्तिष्कको पनि परीक्षा हुनेवाला थियो ।

हामी चार यात्री– ऊर्जाका स्रोत हँसिला हजुरबुवा शुभराज पोखरेल, दृढ निश्चयी ध्रुव आचार्य, सधैं अग्रसर उत्साही सुरेश आचार्य अनि म । हाम्रो यो सानो टोली, एउटा ठूलो सपना बोकेर फेरि एकपटक हिमालयको काखमा आफूलाई समर्पित गर्न तयार थियो । समुद्री सतहबाट ५ हजार ४ सय १६ मिटरको उचाइमा रहेको थोरङला पास । त्यो नाम मात्रैले पनि मनमा एक किसिमको अज्ञात भय र असीम उत्साहको ज्वारभाटा उत्पन्न गराउँथ्यो । विश्वभरका पदयात्रीहरूका लागि यो एउटा चुनौती र सपनाको पर्याय बनेको रहेछ ।

तिलिचोको महिमा गाथा बोकेर हामी जब श्रीखर्कमा ओर्लियौं, शरीरका हरेक अंगले विश्रामको याचना गरिरहेका थिए । हिउँको साम्राज्यबाट फर्कंदाको त्यो थकान, त्यो मिठासपूर्ण थकाइले हामीलाई लपेटेको थियो ।

श्रीखर्क, आफैंमा प्रकृतिको एउटा सुन्दर क्यानभास । वरिपरि अग्ला पहाडहरूको घेरा, कतै हरियालीको स्पर्श, कतै उजाड तर मनमोहक चट्टानहरू । त्यहाँको चिसो हावाले तिलिचोको स्मृतिलाई अझ गाढा बनाइरहेको थियो ।

बास बसेको त्यो साँझ, हामीले भोलिको यात्राको तानाबाना बुन्यौं । ‘यात्रा केवल गन्तव्यमा पुग्नु मात्र होइन, यात्रा त ती अविस्मरणीय पलहरूको सँगालो हो, जुन हामी बाटोमा बटुल्छौं,’ हजुरबुवा शुभराजले भन्नुभयो । उहाँका आँखामा अनुभवको चमक थियो ।

शरीरले खासै साथ दिएको थिएन, यो सत्य थियो । तिलिचोको उचाइले दिएको थकान अझै मेटिएको थिएन । तर मन ? मन त फुरुङ्ग थियो, एउटा अर्को विजयको पर्खाइमा ।

हाम्रो मन थोरङलाको कल्पनाले नै रोमाञ्चित थियो । ध्रुव दाइ अलि गम्भीर देखिनुहुन्थ्यो, सायद उहाँको शरीरले अलि बढी नै प्रतिक्रिया देखाइरहेको थियो । तर उहाँको मौनतामा पनि एउटा अदम्य साहस लुकेको हामीले महसुस गरेका थियौं ।

श्रीखर्क ।

भोलिपल्ट, उषाको पहिलो किरणले हिमालका चुचुराहरूलाई सुनौलो रङले पोत्नुअघि नै हामी ब्यूँझिसकेका थियौं । श्रीखर्कको त्यो शान्त बिहानी, चराहरूको मधुर चिरबिर र नजिक देखिने हिउँले ढाकिएका टाकुराहरू– एक अद्भुत संयोजन ।

हल्का नास्ता, तातो चियाको चुस्कीसँगै हामीले नयाँ ऊर्जा सञ्चय गर्यौं । ‘हरेक बिहानीले एउटा नयाँ सम्भावना बोकेर आउँछ र हरेक यात्राले एउटा नयाँ पाठ सिकाउँछ,’ मैले मनमनै सोचें ।

आजको हाम्रो गन्तव्य थियो– थोरङ फेदी बेस क्याम्प । पाइलाहरू अघि बढे, मनमा उत्साह र शरीरमा अलिकति थकानको सम्मिश्रण बोकेर । नाकमा नै ठोक्किन आइपुग्ने सुन्दर हिमालहरू । ती अजङ्गका, मौन तपस्वीझैं देखिने हिमशिखरहरूलाई नियाल्दै हामी उकालो बाटो अघि बढ्यौं ।

अपर खाङसार पुग्दा मन अलिकति खिन्न भयो । कुनै बेला मानिसको चहलपहलले गुञ्जायमान हुने त्यो ठाउँ, आज खण्डहरमा परिणत भएको थियो । ढुङ्गामाटोले बनेका, तर माया र सपनाले सिँगारिएका घरहरू आज रित्ता र उजाड थिए । पहाडबाट मात्र मानिस बसाइँ सरेका रहेनछन्, बिस्तारै हिमाली भेगबाट पनि मानिस बसाइँ सरिरहेका रहेछन् । त्यसैले त हिमाल क्षेत्र पनि खालि हुँदै थियो ।

यो देखेर मनमा एउटा प्रश्न उब्जियो– विकासको यो दौडमा हामीले के गुमाइरहेका छौं ? प्रकृतिको यो अनुपम सौन्दर्यको माझमा यो उजाड दृश्यले मनलाई चसक्क छोयो । तर, त्यही खण्डहरको पृष्ठभूमिमा देखिने हिमालको दृश्य । ओहो ! त्यो दृश्य हृदयमा अमिट छाप बनेर बसेको छ । जीवनको विरोधाभास सायद यही हो– सुन्दरता र उजाडपनको एकैसाथ उपस्थिति ।

अपर खाङसारबाट अलिकति अघि बढेपछि, प्रकृतिको अर्को अनुपम उपहार हाम्रो प्रतीक्षामा थियो । नाउरको बथान ! करिब तिस–चालीसको संख्यामा, ती सुन्दर हिमाली जीवहरू निर्धक्क भएर चरिरहेका थिए । उनीहरूको त्यो स्वतन्त्र, त्यो निर्भीकपन । हामी सबैको अनुहारमा एकाएक मुस्कान छायो । थकान कता हरायो, पत्तै भएन । ‘प्रकृतिसँगको सानो सम्पर्कले पनि जीवनमा असीम ऊर्जा भर्छ,’ ध्रुव दाइले पहिलो पटक खुलेर मुस्कुराउँदै भन्नुभयो । हामीले चुपचाप, उनीहरूको क्रियाकलापलाई क्यामेरामा कैद गर्यौं, तर त्योभन्दा बढी मनको क्यामेरामा ।

बिहान सात बजे यात्रा सुरु गरेका हामी, याक खर्क पुग्दा दिउँसोको एक बजेको थियो । नामजस्तै, यहाँ याकहरू प्रशस्त देखिन्थे । लामो र बाक्लो भुत्लाले ढाकिएका, शान्त र शक्तिशाली यी हिमाली चौपायाहरू प्रकृतिको कठोरतासँग जुध्न अभ्यस्त देखिन्थे ।

याक खर्कमा एउटा होटलमा हामीले न्यानो भोजन गर्यौं । करिब एक घण्टाको विश्रामले शरीरलाई केही राहत दियो । तर हाम्रो लक्ष्य अझै टाढा थियो– थोरङ फेदी बेस क्याम्प । ‘विश्राम यात्राको अन्त्य होइन, यो त नयाँ ऊर्जाका साथ अघि बढ्ने तयारी हो,’ हजुरबुवाले हामीलाई हौसला दिनुभयो ।

त्यसैले, हामीले फेरि पाइला चाल्यौं, अलि लामो, अलि छिटो । बाटोमा देखिने सुन्दर दृश्यहरू म कसरी बयान गरूँ ? शब्दहरूले ती दृश्यहरूको जीवन्ततालाई न्याय गर्न सक्दैनन् । कतै आँखै अगाडि विशाल चट्टानहरू, कतै कलकल बग्ने हिमाली खोला– मानौं प्रकृतिले आफ्नो सम्पूर्ण कला प्रदर्शन गरिरहेकी छन् । हावा चिसो थियो, तर मन न्यानो । हरेक मोडमा एउटा नयाँ दृश्य, हरेक दृश्यमा एउटा नयाँ आश्चर्य ।

थोरङ फेदी बेस क्याम्प पुग्दा साँझको करिब सात बजिसकेको थियो । दिनभरिको हिँडाइले शरीर गलिसकेको थियो । अन्तिमको केही घण्टाको बाटो अझ ठाडो र चुनौतीपूर्ण थियो । हामी सबै एकदमै थकित थियौं । खाना खान पनि मन लागिरहेको थिएन । तर, बेस क्याम्प पुग्दाको दृश्यले हाम्रो थकानलाई क्षणभरमै बिर्साइदियो ।

त्यहाँ आन्तरिक र बाह्य पर्यटकहरूको चहलपहल थियो । विभिन्न भाषा, विभिन्न संस्कृति, तर सबैको एउटै लक्ष्य– थोरङला पास । त्यो भीड देखेर हामी तिनछक्क पर्यौं । लाग्यो, यो केवल एउटा पदयात्रा मार्ग होइन, यो त मानव साहस र प्रकृतिको प्रेमको संगमस्थल हो ।

हाम्रो होटलको कोठामा सामान बिसाएर हामी डाइनिङ हलतिर लाग्यौं । त्यहाँको वातावरण अद्भुत थियो । कोही भोलिको यात्राको योजना बनाउँदै थिए, कोही आफ्नो अनुभव साटासाट गर्दै थिए, कोही शान्त भएर तातो चियाको आनन्द लिइरहेका थिए । हामीले पनि तातो सुप र सामान्य खाना खायौं ।

मुक्तिनाथ ।

भोलिको दिन हाम्रो लागि अझै चुनौतीपूर्ण थियो । एउटा कठिन उचाइमा पुगेर फेरि तल मुक्तिनाथसम्म झर्नु थियो ।

मुक्तिनाथ ! त्यो पवित्र नाम सुन्नासाथ मन कति प्रफुल्लित हुने । लाग्यो, हामी शारीरिक तपस्यासँगै आध्यात्मिक यात्रामा पनि छौं ।

तर, त्यो रात ध्रुव दाइलाई अलिकति गाह्रो भइरहेको थियो । उहाँ बारम्बार भनिरहनुहुन्थ्यो, ‘म त जान सक्दिनँ जस्तो छ ।’

उहाँको अनुहारको रङ पनि अलि फरक देखिन्थ्यो । हामीले उहाँलाई हौसला दिइरह्यौं, ‘सकिन्छ दाइ, हामी साथमा छौं । बिस्तारै हिँड्ने, आराम गर्दै जाने ।’

तर मनमा एउटा अज्ञात डरले डेरा जमाइसकेको थियो । रातभरि मलाई राम्रोसँग निन्द्रा लागेन । सायद हाई अल्टिच्युडले होला वा भोलिको चुनौतीको चिन्ताले ।

बाहिर चिसो सिरेटो चलिरहेको थियो र मेरो मनभित्र अनेकौं विचारहरू दौडिरहेका थिए । ‘जब शरीरले चुनौती दिन्छ, तब मनको शक्ति परीक्षण हुन्छ,’ यो भनाइ बारम्बार याद आइरहेको थियो।

बिहान साढे तीन बजेतिर, बाहिर अझै कालो रातको साम्राज्य बाँकी थियो, हामी सबै उठ्यौं । शरीर आलस्यले भरिएको थियो, तर मनमा एउटा अदम्य उत्साह थियो । हल्का नास्ता, तातो पानी खाएर ठीक चार बजे हामीले उकालो यात्रा प्रारम्भ गर्यौं । टर्चलाइटको मधुरो उज्यालोमा, एकपछि अर्को गर्दै पदयात्रीहरूको लाम देखिन्थ्यो– मानौं कमिलाको ताँती उकालो लागिरहेको छ । त्यो दृश्य आफैंमा अद्भुत थियो । सबैको मुहारमा एउटा दृढ सङ्कल्प, सबैको पाइलामा एउटा गन्तव्य ।

हजुरबुवा शुभराज पोखरेल र म सँगसँगै हिँडिरहेका थियौं । उहाँको त्यो जोस र उत्साह साँच्चै प्रेरणादायक थियो । सुरेश आचार्य, आफ्नो स्वाभाविक गतिमा, अलि अघि लागिसकेका थिए । तर, ध्रुव आचार्य दाइ धेरै तल, सकीनसकी उक्लिरहनुभएको थियो । उहाँको हरेक पाइलामा संघर्ष देखिन्थ्यो । उहाँले भन्नुहुन्थ्यो, ‘मलाई केही भएको छैन, मात्र खुट्टा नचलेको हो । लक्ष्य त मेरो जसरी नि थोरङला पास पार गर्ने हो नि !’

उहाँको यो अठोट देखेर हामीलाई एकातिर गर्व लाग्थ्यो भने अर्कोतिर चिन्ता ।

शुभराज हजुरबुवाले बारम्बार ध्रुव आचार्यलाई घोडामा जान आग्रह गरिरहनुभएको थियो । ‘बाबु, शरीरलाई धेरै दुःख नदेऊ । घोडामा जाँदा पनि पास त पार हुन्छ नि,’ उहाँले मायालु स्वरमा सम्झाउनुभयो । तर ध्रुव दाइ मानिरहनुभएको थिएन । उहाँको स्वाभिमानले सायद घोडा चढ्न दिइरहेको थिएन ।

हामीलाई डर थियो, कतै केही हुने पो हो कि ! हामीले बुझिसकेका थियौं, ध्रुव दाइलाई लेक लागेको हो । लेक लागिसकेपछि माथि जानुहुन्न, तल झर्नुपर्छ भन्ने पनि थाहा थियो । तर ध्रुव दाइ डगमगाउने अवस्थामा हुनुहुन्थ्यो । ‘जसरी नि पुग्ने हो,’ उहाँ यही रटान लगाइरहनुभएको थियो । ज्ञानले भन्थ्यो, ‘तल झर’, तर मनले भन्थ्यो, ‘उहाँको सपना नमारौं’ ।’

हामी थोरङ फेदी हाई क्याम्पबाट धेरै माथि पुगिसकेका थियौं । उचाइ बढ्दै जाँदा अक्सिजनको मात्रा कम हुँदै थियो, सास फेर्न गाह्रो भइरहेको थियो । तर, वरिपरिको दृश्य । ओहो ! त्यो दृश्यले सारा थकान र कष्टलाई बिर्साइदिन्थ्यो ।

हिउँले ढाकिएका विशाल पर्वत शृङ्खलाहरू, सूर्यको पहिलो किरणले सुनौलो रङमा रङ्गिएका ! तलतिर हेर्दा, बादलका टुक्राहरू हाम्रा पैतालामुनि देखिन्थे । साँच्चै, हामीलाई लाग्यो, स्वर्ग कतै छ भने, सायद यस्तै उचाइमा होला, जहाँ बादलहरू पनि पैतालामुनि हुन्छन्, र मनले अनन्त शान्तिको अनुभव गर्छ ।

त्यो यति सुन्दर, यति विराट, यति पवित्र दृश्य थियो कि म शब्दमा उतार्न सक्दिनँ । कति पटक त मेरो आँखालाई नै रहर नपुगेर होला, तस्बिर पनि खिच्न बिर्सिन्थें । म केवल मोहित भएर प्रकृतिको त्यो अनुपम रचनालाई हेरिरहन्थें ।

यही सुन्दर दृश्य नियाल्दा नियाल्दै, केही तल हेर्छु त– ओहो ! ध्रुव दाइ घोडामा चढेर आइरहनुभएको रहेछ । सायद उहाँको शरीरले साँच्चै नै हार मानेको थियो वा हाम्रो निरन्तरको आग्रहले काम गरेको थियो । जे भए पनि, उहाँलाई घोडामा देख्दा हाम्रो मन ढुक्क भयो । ‘कहिलेकाहीँ परिस्थितिसँग सम्झौता गर्नु पनि बुद्धिमानी हो, लक्ष्यसम्म पुग्ने बाटो फरक हुन सक्छ, तर लक्ष्यप्रतिको समर्पण उस्तै रहनुपर्छ ।’ अब भने हामी अलि ढुक्क भएर, फटाफट हिँड्यौं ।

अन्ततः त्यो क्षण आयो जसको लागि हामीले यति धेरै कष्ट सहेका थियौं, यति धेरै सपना देखेका थियौं । बिहानको करिब नौ बजे, हामी समुद्री सतहबाट ५ हजार ४ सय १६ मिटर उचाइमा रहेको थोरङला पासको शिखरमा पुग्न सफल भयौं ! त्यो विजयको अनुभूति । त्यो शब्दमा बयान गर्न नसकिने खुशी ।

पासमा पुग्नासाथ चारैतिर फहराइरहेका रंगीबिरंगी ध्वजाहरूले हाम्रो स्वागत गरे । चिसो सिरेटो चलिरहेको थियो, तर हाम्रो मन उत्साहले न्यानो थियो ।

हामी एकअर्कालाई अँगालो मार्दै बधाई साटासाट गर्न थाल्यौं । धेरै यात्रीहरू यहाँ पुगेपछि रुँदा पनि रहेछन्– सायद खुशीले होला, सायद आफ्नो संघर्ष सम्झेर होला वा सायद प्रकृतिको त्यो विराट रूप देखेर भावविभोर भएर होला ।

हाम्रो खुशी पनि फरक थिएन । हाम्रो अनुहारमा पीडा र विजयको मिश्रित भाव देखिन्थ्यो ।

ध्रुव दाइले मुस्कुराउँदै भन्नुभयो ‘मैले हार मानिनँ ।’

उहाँको यो वाक्यले हाम्रो मन छोयो । साँच्चै, ‘साहस हार मान्नुमा होइन, बरु हरेक पटक लडेर उठ्नुमा छ ।’

चारैतिर हिउँले ढाकिएका अग्ला–अग्ला हिमालहरू । अन्नपूर्ण, धौलागिरि, निलगिरि र अरू कति हो कति । मानौं हामी संसारको छानोमा उभिएका छौं । तलतिर हेर्दा कहालीलाग्दो भीर, माथितिर हेर्दा अनन्त आकास । त्यो उचाइबाट देखिने दृश्यले जीवनको क्षणभङ्गुरता र प्रकृतिको शाश्वतताको बोध गराउँथ्यो । शिखरमा पुग्दाको आनन्द शब्दमा कहाँ वर्णन हुन्छ र । त्यो त केवल अनुभव गर्न सकिन्छ, आत्माले महसुस गर्न सकिन्छ ।

हामीले त्यहाँ केही तस्बिरहरू खिच्यौं । केहीबेर त्यो स्वर्गीय सुन्दरतालाई मनमा खिच्यौं । तर, अब हाम्रो यात्रा ओरालो लाग्नु थियो, मुक्तिनाथतर्फ । जीवन पनि त यस्तै हो । सधैं उचाइमा मात्र रहेर पनि हुँदैन, कहिलेकाहीँ ओरालो झर्नु नै पर्छ । उकालो चढ्दा जति धैर्य र साहस चाहिन्छ, ओरालो झर्दा पनि उत्तिकै संयम र सावधानी । उक्लिनु जति कठिन छ, ओर्लिनु पनि उत्तिकै कला हो, जीवनका हरेक मोडमा सन्तुलन आवश्यक छ ।

थोरङला पासबाट मुक्तिनाथसम्मको ओरालो यात्रा पनि कम चुनौतीपूर्ण थिएन । करिब चार घण्टाको ठाडो ओरालो । घुँडाहरू कामिरहेका थिए, तर मनमा एउटा छुट्टै उत्साह थियो– मुक्तिनाथ पुग्ने उत्साह । बाटो निकै चिप्लो र ढुङ्गेनी थियो । पाइला–पाइलामा होसियार हुनुपथ्र्यो । तर, हरेक पाइलाले हामीलाई एउटा पवित्र धामको नजिक पुर्याइरहेको थियो ।

दिउँसोको करिब एक बजेतिर हामी मुक्तिनाथ आइपुग्यौं । मुक्तिनाथ ! नाम सुन्दै मनमा शान्ति छाउने । यहाँ पुग्दा लाग्यो, हामी साँच्चै अर्कै स्वर्गमा आइपुगेका छौं । मन्दिर परिसर, १०८ धाराहरू, वरिपरिको शान्त र पवित्र वातावरण ! त्यहाँको हावामा पनि एक किसिमको आध्यात्मिक ऊर्जा थियो । हामीले १०८ धारामा स्नान गर्यौं । मैले त हिम्मत मात्र गरें, चिसोले कठ्याङ्ग्रिएला भन्ने डर । मन्दिरमा दर्शन गर्यौं । मुक्तिनाथ, जहाँ पाइला टेक्दा मनका मैला पखालिन्छन् र आत्माले नयाँ ऊर्जा पाउँछ ।

 

यहाँको वातावरण थोरङलाको भन्दा बिल्कुल फरक थियो । त्यहाँ प्रकृतिको कठोरता र विराटता थियो भने यहाँ आध्यात्मिकता र शान्ति । लाग्यो, हाम्रो यो यात्रा केवल शारीरिक मात्र थिएन, यो त आत्माको शुद्धीकरणको यात्रा पनि थियो । भगवानहरूसँग भेटघाट चलिरहेको छ जस्तो अनुभूति भइरहेको थियो । सायद, यस्तै अनुभवहरूले नै जीवनलाई अर्थपूर्ण बनाउँछन् ।

थोरङला पास र मुक्तिनाथको यो यात्रा, मेरो जीवनको पानामा सुनौलो अक्षरले लेखिएको एउटा अविस्मरणीय अध्याय बनेको छ । यो केवल एउटा पदयात्रा थिएन, यो त साहसको परीक्षा थियो, मित्रताको अटुट बन्धनको अनुभव थियो र प्रकृतिको असीम शक्ति र सुन्दरताप्रतिको समर्पण थियो ।

यो यात्राले सिकायो– जीवनमा चुनौतीहरू आउँछन् तर तिनको सामना गर्ने साहस हामीभित्रै हुन्छ । यसले सिकायो– लक्ष्य जतिसुकै कठिन किन नहोस्, दृढ स‌ंकल्प र निरन्तर प्रयासले त्यसलाई हासिल गर्न सकिन्छ । यसले सिकायो– प्रकृतिको अगाडि हामी कति साना छौं, तर त्यही प्रकृतिले हामीलाई कति धेरै दिन सक्छ । र, सबैभन्दा महत्वपूर्ण कुरा, यसले सिकायो– यात्रा केवल पाइलाहरूको चाल मात्र थिएन, यो त आत्माको उत्थान थियो ।

आज पनि, जब म ती दिनहरू सम्झन्छु, मेरो मन रोमाञ्चित हुन्छ । ती हिमालका दृश्यहरू, ती कठिन बाटाहरू, ती साथीहरूको साथ, सबै कुरा मेरो स्मृतिको सन्दुकमा अमिट छाप बनेर बसेका छन् । र, मलाई विश्वास छ, जीवनको कुनै न कुनै मोडमा, ती स्मृतिहरूले मलाई फेरि नयाँ यात्राको लागि प्रेरित गर्नेछन्, नयाँ उचाइ छुनको लागि हौसला दिनेछन् । किनकि, जीवन चल्नुको नाम हो र यात्रा जीवनको पर्याय हो । जबसम्म सास रहन्छ, तबसम्म आस रहन्छ, र जबसम्म आस रहन्छ, तबसम्म नयाँ यात्राहरूको सम्भावना जीवित रहन्छ ।

थोरङलाको त्यो विजय र मुक्तिनाथको दिव्य शान्तिमा मन रम्दै गर्दा, यात्राको अर्को रोमाञ्चक अध्यायले हामीलाई बोलाइरहेको थियो– बाग्लुङ ! त्यो त अब अर्को आलेखको पानामा शब्दचित्र बनेर, अझै रसमय भएर उपस्थित हुने नै छ ।

        

       

अनुभूति थोरङ्ला पास यात्रा संस्मरण
लेखक
प्रलाद आचार्य
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय