१३ वैशाख, काठमाडौं । ‘एनएसएलको दोस्रो संस्करणमा ललितपुरले उपाधि जित्यो । हामील नेवारी भोज दिएका थियौं । यस पटक पनि मैले त्यो अवसर पाउँछु भन्ने आशा छ’ नेपाल सुपर लिग २०२५ को लागि ललितपुर सिटीको आधिकारिक जर्सी लन्च कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले यसो भनेका थिए ।
‘यस पटक हामीलाई उपाधि रक्षा गर्न गाह्रो हुन्छ होला । किनभने सबै टिमहरु राम्रा छन्’ ललितपुरका कप्तान अनन्त तामाङ लिग सुरु हुनुअघि यसो भनेका थिए ।
***
दुवै भनाई ललितपुरले एनएसएलको उपाधि रक्षा गर्नुअघि आएको थियो । मेयर चिरिबाजुले ललितपुर सिटीलाई उपाधि जित्नलाई लागि अझ ऊर्जा भर्ने काम गरेका थिए ।
कप्तान अनन्तले पनि उपाधि जित्न जस्तो रक्षा गर्न सहज नहुने र अझ मिहिनेत गर्नुपर्ने भन्दै उक्त भनाई राखेका थिए । त्यसले पनि टिमलाई अझ बलियो भएर मैदानमा उत्रन सहयोग गर्यो ।
त्यही ललितपुर सिटीले शनिवार पोखरा थण्डर्सलाई २-१ ले हराउँदै अपराजित रहेर तेस्रो संस्करणको उपाधि जित्यो । ललितपुरले यस पटक उपाधि जित्दा केही विशेष कीर्तिमानहरु बने । जुन आउने दिन सहजै रुपमा तोडिन कठिन छ ।
पहिलो ललितपुर एनएसएलमा अपराजित रहँदै उपाधि जित्ने पहिलो टिम बन्यो । अनि ललितपुर लगातार दोस्रो पटक च्याम्पियन बन्दै उपाधि रक्षा गर्ने पहिलो टिम बन्यो ।
यस्तै अपराजित रहँदै उपाधि जितेको ललितपुरले अपराजित यात्रालाई समेत लम्बाएर ११ खेल पुर्याएको छ । त्यसमा अघिल्लो सिजन च्याम्पियन बन्दाका अन्तिम ३ खेल र यस सिजनको ८ खेल समावेश हुनेछ ।

फुटबलमा इनभिन्सिबल भन्ने एउटा शब्द छ । जसको अर्थ हुन्छ कुनै खेल नहारी अपराजित रहेर उपाधि जित्नु । ललितपुरले त्यही काम गरेको छ । अब ललितपुर इनभिन्सिबल च्याम्पियन बनेको छ । जुन अब अन्य टिमलाई त्यो बराबरी गर्नु चुनौती पनि हुनेछ ।
इनभिन्सिबल, अनडिफिटेड, जायन्ट टिम । ललितपुर सिटीलाई जे जे भनेर सम्बोधन गर्दा पनि हुन्छ । किनभने ललितपुरले मैदानमा त्यस्तै किसिमको प्रदर्शन गर्यो अनी एनएसएल ट्रफी र नगद ८० लाखको हकदार बन्यो ।
ललितपुरका प्रशिक्षक र कप्तानले अपराजित रहँदै उपाधि जित्न पाउँदा खुशी व्यक्त गरे । खेलाडीहरुको मिहिनेतले नै यो सफलता पाएको उनीहरुको भनाई थियो ।
‘हामीले पछिल्लो ६‑७ हप्ता कडा मिहिनेत गरेका थियौँ । त्यसैको नतिजा हो । पूरा क्रेडिट खेलाडीहरुलाई जान्छ’ ललितपुरका मुख्य प्रशिक्षक साइमन ग्रेसनले भने, ‘म एकदमै खुशी छु । यो यात्रा गज्जबको रह्यो ।’
यस्तै कप्तान अनन्त तामाङले लगातार दुई पटक उपाधि जित्न पाउँदा खुशी लागेको बताए । ‘फेरि जित्न पाउँदा एकदमै खुशी छु । दुई वटा भयो । पहिलो सिजन चोटका कारण खेल्न पाइँन, उनले भने, ‘जितको श्रेय सम्पूर्ण टिम मेम्बर, फिजियो र म्यानेजमेन्टलाई दिन चाहन्छु । टिमवर्कले गर्दा नै यो नतिजा आएको हो ।’
कप्तान अनन्तसँगै नेपाली खेलाडी सनिश श्रेष्ठ र आदित्य शाक्य अनी विदेशी खेलाडीहरु गोलकिपर जेफ्री बाल्टुस तथा फरवार्डद्वय इमोह इजेकेल र पापा इबोउ केबेले पनि लगातार दोस्रो पटक उपाधि जितेका हुन् ।
फाइनलमा दुई विदेशी खेलाडीको गोल
दुई विदेशी खेलाडी इमोह इजेकेल र पापा इबोउ केबेले गोल गरेपछि ललितपुरले दशरथ रंगशालमा भएको फाइनलमा पोखरा थण्डर्सलाई २-१ ले हरायो । त्यसमा पनि नाइजेरियन इमोह नायक नै रहे । उनले एक गोल गर्नुका साथै एक असिस्ट पनि गरे । उनी फाइनलको प्लेअर अफ दि म्याच समेत बने ।
खेलको सुरुवात सुस्त रहेपनि इमोहले ४२औं मिनेटमा पहिलो गोल गर्दै ललितपुरलाई अग्रता दिलाएका थिए । सुदिल राईले ६४औं मिनेटमा पोखराका लागि बराबरी गोल त फर्काए तर पोखराको खुशी लामो समय टिकेन । इमोहकै पासमा पापा इबोउ केबेले ७४औं मिनेटमा गोल गर्दै ललितपुरलाई अग्रता दिलाए र त्यही गोल निर्णायक बन्दा ललितपुर च्याम्पियन बन्यो । त्यसबाहेक ललितपुर र पोखरा दुवैले गोल गर्ने केही अवसर बनाएको थियो तर त्यो गोलमा परिणत भएन ।
यस पटक पनि फाइनलमा विदेशी खेलाडी नै निर्णायक बने । दोस्रो सिजनमा पनि इमोहले फाइनलमै दुई गोल गरेका थिए र सर्वाधिक गोलकर्ता बनेका थिए ।
यस पटक पनि उनले फाइनलमै गोल गरे । यस सिजन ३ गोल गरेका इमोह धनगढी एफसीका लेवनानी फरवार्ड अहमद हिजाजीसँगै एनएसएल इतिहासमै सर्वाधिक गोल (९ गोल) गर्ने सूचीमा अगाडि छन् ।

इमोह र पापा इबोउ केबे तिनै खेलाडी हुन् जो यस सिजन एनएसएलमा सबैभन्दा ढिला ललितपुर सिटीमा समावेश भएका थिए । दुवैले अघिल्लो सिजन खेलिसकेकोले उनीहरुले कस्तो खेल्छ टिमलाई थाहा थियो । तर पापा इबोउ त अन्तिम समयमा मात्र ललितपुरबाट खेल्ने पक्का भएका थिए । यसअघि भुटानका कप्तान चेन्चो ग्याल्तसेनलाई अनुबन्ध गरिएपनि उनी घाइते भएपछि ललितपुरले पापा इबोउ केबेलाई अनुबन्ध गरेको थियो । र उनी पापा केबेले निर्णायक गोल गर्दै ललितपुरलाई उपाधि जिताउन सहयोग गरे ।
जितको सुत्र
फुटबलमा उपाधि जित्न जति गाह्रो हुन्छ त्यसलाई रक्षा गर्न झन् गाह्रो हुन्छ भनिन्छ । अझ लगातार उपाधि जित्नु त्यसमा पनि अपराजित रहेर उपाधि जित्नु आफैँमा चुनौतीपूर्ण नै हुन्छ । ललितपुरले त्यो काम गरेर देखाएको छ ।
खासमा ललितपुर टिममा के त्यस्तो जादु छ जसले लगातार उपाधि जित्न सफल भयो र अपराजित यात्रा कायम राख्यो ? मैदान भित्र खेलाडीको प्रदर्शन अनी मैदान बाहिर टिम म्यानेजमेन्टको साथले ललितपुरले यो सफलता हात पारेको हो ।
‘राम्रो रिजल्ट आएकोछ । लगातार ट्रफी जित्न सक्यौँ । प्रदर्शन जस्तो भएपनि मैदान बाहिरको टिमवर्क र सबै म्यानेजमेन्टको सपोर्टले गर्दा रिजल्ट आएको हो,’ कप्तान अनन्तले भने, ‘प्रदर्शन उतारचढाव भएपनि टिमवर्कले गर्दा नै यो सफलता आएको जस्तो लाग्छ ।’
यस्तै प्रशिक्षक साइमन ग्रेसनले खेलाडीको मिहिनेत, टिम स्प्रिटले गर्दा सफलता हात परेको बताए । ‘हामीले ट्रेनिङमा कडा मिहिनेत गर्यौँ । टिम स्प्रिट राम्रो थियो र मुख्य कुरा खेलाडीहरु राम्रो थिए,’ ग्रेसनले भने, ‘नेपाली खेलाडीहरु राम्रा थिए र विदेशी खेलाडीहरुले पनि राम्रो खेले । लिगमा एक खेलमा सुरुवात गरेका मनोज राईले फाइनलमा राम्रो खेले । आदित्य शाक्यले राम्रो खेले । उनले नम्बर टेनमा यसअघि खेलेका थिएनन् होला ।’
लगातार उपाधि जित्नु, त्यो पनि अपराजित रहेर चानचुने कुरा होइन । त्यसमा खेलाडीको प्रदर्शन, टिम म्यानेजमेन्ट, बन्डिङ देखि धेरै कुराहरु महत्वपूर्ण हुन्छ । जुन ललितपुरमा देखिएको थियो ।
*******
फाइनलमा पराजित भएपनि पोखराका आयुष घलान मोस्ट भ्यालुएबल प्लेअर घोषित भए । पोखरालाई फाइनलसम्म पुर्याउन मद्त गरेका उनले नगद २ लाख ५० हजार पुरस्कार प्राप्त गरे । यस्तै पोखराकै गोलकिपर प्रिसोले बेस्ट गोलकिपर अवार्ड जिते । उनले कूल ५ खेलमा क्लिनसिट राखेका थिए । यस्तै च्याम्पियन ललितपुर सिटीले पनि दुई व्यक्तिगत अवार्ड पायो । सन्तोष खत्रीले इमर्जिङ प्लेअरको अवार्ड जित्दा मणि कुमार लामाले इनर्जेजेटिक प्लेअरको अवार्ड जिते । धनगढी एफसीका अहमद हिजाजीले सर्वाधिक गोलकर्ताको अवार्ड पाए । उनले ५ गोल गरेका थिए । झापा एफसीले फेयर प्लेअ अवार्ड पायो ।
 
                    










 २०८२ वैशाख  १३ गते २३:२३
                        २०८२ वैशाख  १३ गते २३:२३                     
                         
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4