२५ वैशाख, जनकपुरधाम । तेस्रो संस्करणको मेयर कप टी–२० क्रिकेट प्रतियोगिता शुक्रबारदेखि सुरु हुँदैछ ।
जनकपुरको निर्माणाधीन रामजानकी बहुउद्देश्यीय रंगशालामा शुक्रबार उद्घाटन खेल हुनेछ । जनकपुरधाम उपमहानगरपालिकाको आयोजनामा हुने प्रतियोगिताबारे जिल्ला क्रिकेट संघले बिहीबार पत्रकार सम्मेलनले जानकारी गराएको छ ।
प्रतियोगितामा भारतका चारसहित मधेश प्रदेशका आठवटै जिल्लाबाट एक–एक गरी १२ टिम सहभागी हुने क्रिकेट संघ धनुषाका सचिव आशिषकुमार झाले जानकारी दिए ।
उनका अनुसार भारतबाट दिल्ली, लखनउँ (उत्तर प्रदेश), मुजफ्फरपुर र पुरनिया (बिहार) का टोलीहरू सहभागी हुँदैछन् ।
प्रतियोगिताको विजेता टिमलाई दुई लाख रुपैयाँ र उपविजेतालाई एक लाख २५ हजार रुपैयाँ पुरस्कार दिइने झाले जानकारी दिए । उनका अनुसार प्रत्येक खेलमा म्यान अफ द म्याच घोषित खेलाडीलाई केएफसीको ५ हजार रुपैयाँ बराबरको गिफ्ट भौचर, ३ हजार नगद तथा ट्रफी प्रदान गरिनेछ ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूमध्ये वेष्ट ब्याट्सम्यान, वेष्ट बलर र म्यान अफ द सिरिजलाई नगदसहित सम्मान गरिने जिल्ला क्रिकेट संघका सदस्य सरोज मिश्रले बताए ।
२ जेठसम्म आयोजना हुने प्रतियोगितामा ३४ लाख ७६ हजार ५५० रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । उपमहानगरपालिकाले २० लाख रुपैयाँ सहयोग गरेको छ भने बाँकी रकम विभिन्न दातृ संस्थाको सहयोगबाट व्यवस्थापन गरिएको आयोजकले जनाएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले क्रिकेटलाई प्रवरद्धन गर्न अन्तर्रास्ट्रियस्तरको रंगशाला बनाउन पहल गरिरहेको बताए ।
प्रतिक्रिया 4