
१९ जेठ, काठमाडौं । चितवनकी लक्ष्मी तामाङको पेटमा पानी जमेको करिब १५ वर्ष भयो । व्यथाले च्याप्दै लगेपछि उनका छोराछोरीले अपरेशन गर्ने निधो गरेर ललितपुरको पाटन अस्पताल उपचार गरिरहेका थिए ।
तर लक्ष्मीलाई लागेको रोग त्यो एउटामात्रै रहेनछ । फोक्सोसँगै जोडिने नसा पनि सुन्निएको र सुरूमा नसाको नसाको अपरेसन नगरे पेटको अपरेसन हुन नसक्ने भन्दै लक्ष्मीलाई पाटन अस्पतालले त्रिवि शिक्षण अस्पताल महारागञ्ज रेफर गर्यो ।
लक्ष्मीका छोराछोरी आमाको उपाचारमा सजिलो पनि हुन्छ भनेर ललितपुरको बज्रबहारी बस्दै आएका थिए । जुन पाटन अस्पतालबाट त्यति बिघ्न टाढा पनि होइन । तर जसै उपचारका लागि टिचिङ अस्पताल जान पर्ने भयो, उनीहरूलाई कठीन भयो ।
पछिल्लो समय लक्ष्मीलाई अस्पतालले फलोअपका लागि बोलाइरहेको रहेको थियो । एक–दुई दिन बिराएर अस्पताल गइरहनुपर्थ्यो । सिकिस्त बिरामी लक्ष्मीलाई अरू दिन ट्याक्सीमा राखेर उनका सन्तानले अस्पताल लान्थे ।
यता बिमारले च्यापिरहेको थियो, उता आजै फलोअपको समय थियो ।
तर अरू दिनहरूमा जस्तो ट्याक्सी चढेर अस्पताल जाने संयोग लक्ष्मीलाई सोमबार जुरेन ।
राइड सेयरिङको विरोधमा यातायात व्यवसायीहरूले सार्वजनिक यातायात बन्द गरेका कारण बिहानैदेखि काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन चलेका थिएनन् ।
करिब २० किलोमिटर हिँडेर जान संभव थिएन, लक्ष्मीको घरमा आफ्नै निजी सवारी थिएन ।
उनलाई छोराछोरीले स्कुटरमा अस्पताल लैजाने निधो गरे । स्कुटरको पछाडि बसेर अस्पताल जान लागेकी लक्ष्मीलाई सुन्धारा पुग्दा झनै च्याप्यो ।
उनी दुखेर सहनै नसक्ने अवस्थामा पुगिन् । परिवारका सदस्यले हतारहतार स्कुटर रोकेर यात्रु प्रतिक्षालयमा केहीबेर आराम गराए ।
केही समयपछि अनलाइनखबरकै पहलमा एम्बुलेन्स बोलाएर उनलाई अस्पताल पठाइयो ।
सोमबार हठात् यातायात बन्द भएपछि सर्वसाधरणले बिहानैदेखि गन्तव्यमा जान नपाएर दु:ख पाएका छन् ।
बन्द गर्ने यातायात व्यवसायीको माग भने राइड सेयरिङ बन्द गर्नुपर्ने छ ।
प्रतिक्रिया 4