+
+
Shares
विमर्श :

गणतन्त्रको गतिमा मूल नेता बाधक !

गणतन्त्र विरुद्ध राजावादी शक्ति सडक संघर्षमा उत्रेसँगै २०६२/६३ सालको आन्दोलनमा नेतृत्व पंक्तिमा रहेका नागरिक समाज चिन्तित देखिएका छन् । उनीहरूले व्यवस्था जोगाउन विमर्श पनि थालेका छन् ।

लिलु डुम्रे लिलु डुम्रे
२०८२ जेठ १८ गते २२:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राजावादीहरूले १५ जेठदेखि अनिश्चितकालीन आन्दोलन गरिरहेका छन् र सडक संघर्षबाट देशलाई नयाँ समझदारीमा लैजान चाहन्छन्।
  • नेताहरूले वर्तमान शासन प्रणालीमा समस्या नभएर सञ्चालकमा समस्या भएको बताए र नेतृत्व परिवर्तन गर्न नसकेको स्वीकार गरे।
  • गणतन्त्र र राजतन्त्रको विषयमा नेताहरूले स्पष्ट धारणा व्यक्त गर्दै, राजतन्त्र फर्कन असम्भव र संविधान परिवर्तन आवश्यक रहेको बताए।

१८ जेठ, काठमाडौं । राजसंस्था र हिन्दू राज्य पुनर्स्थापनाको माग सहित राजावादीहरूले १५ जेठदेखि अनिश्चितकालीन आन्दोलन गरिरहेका छन् । राप्रपा, राप्रपा नेपाल सहितका राजावादी शक्तिले सडक संघर्षबाटै देशलाई नवीन समझदारीमा लैजाने दाबी गरेका छन् ।

राजावादीले सडक तताएसँगै गणतन्त्र स्थापनार्थ सडक विद्रोहको अगुवाइ गरेका नागरिक समाज पनि चिन्तित देखिएका छन् । उनीहरूले शनिबार ‘गणतन्त्र नै सही बाटो !’ विषयमा दोस्रो एवं तेस्रो पुस्ताका नेताहरूसँग संवाद राखेका थिए ।

संवादका वक्ताहरू थिए– गगन थापा, घनश्याम भूसाल, योगेश भट्टराई, राम कार्की, रामकुमारी झाँक्री, ठाकुर गैरे, अनिल झा र पासाङ शेर्पा लगायत ।

नेतृत्वमा समस्या ?

कांग्रेस महामन्त्री थापाको बुझाइमा वर्तमान शासन प्रणालीमा समस्या होइन, समस्या छ सञ्चालकमा । ‘गाडीको गडबडीको सबैभन्दा ठूलो समस्या त्यसको चालकमा छ’ थापाले भने, ‘जसले चालक फेर्छ, अलिअलि भए पनि गडबडी सप्रिन्छ । चालक नफेरे गडबडी सप्रिन्न । जति भने पनि झन् झन् गडबडी बढ्दै जान्छ । समस्या चालकमा हो ।’

मुख्य तीन दलको नेतृत्व परिवर्तन हुन नसकेको र आलोपालो सत्ताको नेतृत्व गरिरहँदा नागरिकमा निराशा देखिएको उनको बुझाइ छ । एकीकृत समाजवादीका महासचिव घनश्याम भूसाल पनि पार्टीभित्र नालायकीपन रहेको स्वीकार्छन् ।

मूल नेतृत्व परिवर्तन गर्न नसक्नुलाई दलभित्रको नालायकीपन मान्छन्, उनी । ‘ज्ञानेन्द्र शाहका बारेमा साँच्चिकै त्यत्रो चिन्तित छैन । जति म मेरै गणतान्त्रिक नेतृत्वका प्रति यसको कार्यकारी नेतृत्वका प्रति चिन्तित छु’ भूसालले भने, ‘म यस्तो के ठाउँमा छु कि म मेरो नालायकीको बारेमा बोल्न सक्दिनँ । म ती किला–कब्जाहरूभित्र बाँधिएको छु । संविधान बदलिने, कानून बदलिने, सबै कुरा बदलिने । तर अनुहार र भूमिका नबदलिने?’

लामो समयसम्म एउटै भूमिकामा एउटै अनुहार रहिरहने संसारमा विरलै हुने वक्ताहरूको निष्कर्ष थियो । कांग्रेस, एमाले र माओवादी केन्द्रका प्रमुखले विश्राम लिए राजावादीको आन्दोलनसँगै वितृष्णा पनि घट्ने महामन्त्री थापा दाबी गर्छन् । ‘त्यसको अर्थ सबै सुध्रिन्छ भन्ने होइन । त्यो अत्यावश्यक शर्त हो, हाम्रो सन्दर्भमा नेसेसरी कन्डिसन भइसक्यो’, उनी भन्छन् ।

दलहरू कहाँ चुके ?

गणतन्त्रपछि आर्थिक पूर्वाधार लगायत क्षेत्रमा सुधार भए पनि नागरिकलाई बुझाउन नसकेको नेताहरूको बुझाइ छ । नागरिकको अपेक्षा अनुसार कार्य गर्न नसकिरहेको र त्यसप्रति दलहरू चुकेको एमाले सचिव योगेश भट्टराई बताउँछन् । बाटो, स्वास्थ्यचौकी, विद्यालयमा उल्लेख्य प्रगति भए पनि त्यसलाई बुझाउन दलहरूले नसकेको भट्टराई बताउँछन् ।

‘हामीले नगरेको होइन, पर्याप्त गरेका छौं । तर हामीले यो बुझेनौं कि यसले पुगिरहेको छैन । सम्झाउन सकिरहेको छैन’ भट्टराई भन्छन्, ‘आज गाडी चढेर आउने मान्छेको व्यथा अर्कै छ । गाडी चढेर आउने मान्छेहरूलाई सन्तुष्टि भयो होला भन्ने हामीले ठान्यौं, तर उसको छटपटी र व्यथा हामीले बुझेनौं ।’

नागरिक असन्तुष्टिको तह बढ्नुमा कुशासनलाई अर्थ्याउने गरिएको छ । रोजगारी प्रमुख समस्या बनेको छ । शासन सत्तामा हुने दलहरूले डेलिभरी गर्न नसकेकोप्रति असन्तुष्टि बढिरहँदा सरकार बनाउनका लागि हुने गठबन्धनले समेत नागरिकमा आक्रोश बढेको छ । राजनीतिक दलभित्रको आन्तरिक लोकतन्त्र मात्र होइन, राजनीतिक दलभित्र शुद्धता आवश्यक रहेको महामन्त्री थापा बताउँछन् ।

घनश्याम भूसालको बुझाइमा पार्टीहरूको पञ्चायतीकरण र नेताहरूको राजाकरण भएकाले गणतन्त्रमा समस्या देखिएको हो । उनी भन्छन्, ‘गणतन्त्रको सुदृढीकरण मात्रै होइन, पहिलो त शुद्धीकरण हो । यदि शुद्धीकरण नहुने हो भने कसरी सुदृढीकरण हुन्छ ? यसर्थ गणतन्त्रको शुद्धीकरण आजको सबभन्दा ठूलो समस्या हो ।’

नआउने राजतन्त्रको चिन्ता नगरौं

राजावादी शक्तिहरू निरन्तर सडकमा रहे पनि राजतन्त्र फर्कन असम्भव रहेको गणतन्त्र पक्षधर नेताहरू दाबी गर्छन् । नेतृ रामकुमारी झाँक्री राजावादीको आन्दोलनलाई भीडको संज्ञा दिन्छिन् । ‘सकिएको राजसंस्था अब आउँछ भन्ने कुरा मलाई लाग्दैन । यस्तो सामाजिक अर्थ व्यवस्थामा राजा संसारमा कहीं आएकै छैनन् । एकपटक फेरि इतिहास पढौं’, उनी भन्छिन् । राजा फर्कन नसक्ने अर्थमा जनताको आशाप्रति भने तुषारापात नगर्न दलका मूल नेतृत्वलाई उनको चेतावनी थियो ।

नेपालको राजसंस्था हरेक कालखण्डमा राजतन्त्रवादी देखिएको कांग्रेस महामन्त्री थापा दाबी गर्छन् । ‘नेपालको राजसंस्थालाई न हिजो, न भोलि, न कसैले पनि संवैधानिक बनाउनै सक्दैन । हाम्रो डिबेट संवैधानिक राजसंस्था, संवैधानिक राजतन्त्र छान्ने कि गणतन्त्र छान्ने भन्नेमा हुँदै होइन । सिधा के कुरा हो नेपालमा राजतन्त्र रहन्छ कि गणतन्त्र रहन्छ । कुन छान्ने भन्ने कुरा हो ।’ पूर्व राजा ज्ञानेन्द्र शाह मैदानमा आएर प्रश्नहरूको सामना गर्नुपर्ने थापा बताउँछन् । उनी थप्छन्, ‘नेपालमा राजतन्त्र स्थापना गर्छु भन्ने नाइकेले प्रश्नको सामना गर्न नपर्ने?’

दलहरूलाई जवाफदेही बनाउन र गणतन्त्र रक्षार्थ नागरिक अगुवाहरू नीलाम्बर आचार्य, कनकमणि दीक्षित, सुशीलराज प्याकुरेल र टीकाराम भट्टराईले संवाद प्रक्रिया सुरु गरेका छन् ।

लेखक
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?