
News Summary
Generated by OK AI. Editorially reviewed.- मौसमी आँप बजारमा उपलब्ध छन् र प्राकृतिक रुपमा पाक्ने समय असार अन्त्यदेखि साउन-भदौ हो।
- आँप कृत्रिम रुपमा पकाउन इथिलिन र क्याल्सियम कार्बाइड जस्ता रसायनको प्रयोग हुन सक्छ, जसले स्वास्थ्यमा हानिकारक प्रभाव पार्न सक्छ।
- सामान्यतः प्राकृतिक रुपमा पाकेका आँप हल्का पहेँलो र हरियो रङका हुन्छन् र मिठो बास्ना हुन्छ, जबकि रसायन प्रयोग भएका आँप गाढा पहेँलो रङका हुन्छन्।
मौसमी फलफूल स्वास्थ्यका लागि फाइदाजनक हुन्छ किनभने तिनीहरूमा भिटामिन, खनिज, फाइबर र एन्टिअक्सिडेन्टहरू प्रशस्त पाइन्छ । तिनले रोगप्रतिरोधी क्षमता बढाउँछ, पाचन प्रणाली सुधार गर्छ । साथै मुटु, छाला र समग्र स्वास्थ्यलाई फाइदा पुर्याउँछ ।
अहिले आँपको मौसम छ । बजारमा विभिन्न प्रजातिका आँप खरिद–विक्री भइरहेका छन् । काठमाडौँमा पनि दैनिक ठूलो मात्रामा आँप भित्रिरहेको छ ।
खास गरी प्राकृतिक रुपमा आँप पाक्ने समय असार महिनाको अन्त्यदेखि साउन-भदौ महिना भए पनि स्थानीय बजारमा भने वैशाख सुरुदेखि नै आँपले बजार कब्जा गरेको देखिन्छ । यस्तोमा अहिले विक्रीका लागि राखिएका यस्ता आँप खानका लागि स्वास्थ्यकर छन् त ?
आँप पकाउन कस्तो केमिकल प्रयोग हुन्छ ?
जेठमा आँपहरू पूर्णरूपमा पोकेका नहुन सक्छन्, किनभने यो सिजनको सुरुवात हो । तर बजारमा त पूर्णरुपमा पाकेका आँपहरू उपलब्ध छन् । यस्तोमा आँप कृत्रिम रुपमा पकाएको हुन सक्ने खाद्य अनुसन्धान अधिकृत उज्ज्वल रायमाझी बताउँछन् ।
भारतका केही ठाउँहरू, जहाँ धेरै गर्मी हुन्छ त्यस्ता ठाउँमा आँप पाक्ने बेला भइसक्यो । नेपालमा भने आँप पाक्ने समय केही सातापछि मात्रै हुने रायमाझीको भनाइ छ ।
‘सामान्यतयाः हामीले खाने फलफूलहरू दुई प्रकारका हुन्छन्’ रायमाझी भन्छन्, ‘एउटा बोटमै पाकेपछि टिप्ने र अर्को काँचैमा टिपेर पकाउने खालको । बजारका लागि टाढा लैजानुपर्ने भएकोले केही फलफूल काँचैमा टिपेर पकाउने गरिन्छ । त्यसमा आँप पनि पर्छ ।’
उनका अनुसार फलफूल पकाउनका लागि इथिलिन नामक हर्मोनको प्रयोग गर्ने गरिन्छ । इथिलिन तोकिएको डोजमा प्रयोग गरियो भने यो मानव स्वास्थ्यका लागि खतरनाक हुँदैन ।
यो एक केमिकल हो । यसलाई विश्वका कुनै पनि प्रयोगशालाले विषादी मानेको छैन । तर यसको प्रयोग पनि निश्चित डोजभन्दा धेरै गरियो वा छिटो पकाउने होडमा धेरै मात्रा राखियो भने फेरि यो आफैँमा घातक हुन सक्ने रायमाझी बताउँछन् ।
साथै बजारमा केही मात्रामा क्याल्सियम कार्बाइड राखेर पकाइएको आँप उपलब्ध हुनसक्छ । त्यसमा भने विशेष ध्यान दिनुपर्छ यसरी पकाइएको आँप स्वास्थ्यका लागि हानिकारक हुन सक्छ । त्यसैले बजारबाट आँप किन्दा सावधानी अपनाउन रायमाझीको सुझाव छ ।
उनका अनुसार क्याल्सियम कार्बाइड हालेर पकाइएका फलफूल सजिलै चिन्न सकिन्छ । यदि बोक्राको सबै भाग एकनासले पहेँलो हुने गरी पाकेको छ भने त्यसमा कार्बाइड हालेको हुनसक्छ । किनकि प्राकृतिक रुपमा फलफूल प्रायः सबैतिर एकनासले पाक्दैनन् ।
यस्तो आँप खाँदा के हुन्छ ?
क्याल्सियम कार्बाइडले पकाएको फलफूल खाँदा पेट दुख्ने, बान्ता हुने, पखाला लाग्नेजस्ता सामान्य समस्यादेखि फोक्सो, मुटु, मिर्गौलाको स्वास्थ्यमा समेत घातक असर पर्छ । गर्भवती महिलाले कार्बाइड धेरै सेवन गर्दा गर्भ तुहिने र क्यान्सरसमेत हुने सम्भावना रहेको क्यानेडियन वैज्ञानिकहरूले गरेको एक अध्ययनले देखाएको छ ।
क्याल्सियम कार्बाइडले पानीसँग प्रतिक्रिया गरी एसिटिलिन ग्यास बनाउँछ, जसले गर्दा मस्तिष्कमा अक्सिजनको मात्रामा असन्तुलन हुन जाने इन्टरनल मेडिसिन प्रा. डा. विद्या सागर प्रसाद बताउँछन् ।
मस्तिष्कमा अक्सिजनको मात्राको कमी हुँदा टाउको दुख्ने, आँखा धमिलो देखिने, रिँगटा लाग्ने, बोली लरबराउने, सास फेर्न समस्या हुनेजस्ता असर देखिने प्रसादले जानकारी दिए।
आँप किन्दा के कुरामा ध्यान दिने ?
सकेसम्म खुला ठाउँमा राखिएको आँप किन्नु उपयुक्त हुने पोषणविद् आयुष अधिकारी बताउँछन् । ‘कार्टुनमा राखेको आँपमा यदि इथिलिनको मात्रा बढी छ भने त्यसले असर गर्न सक्छ’ अधिकारी भन्छन्, ‘तर खुला ठाउँमा रहेको आँप किन्दा त्यसले समस्या सिर्जना गर्दैन ।’ आँप किन्दा सकेसम्म काँचो किन्ने र घरमा लगेर पकाएर खान अधिकारीको सुझाव छ ।
रसायन प्रयोग भए नभएको पत्ता लगाउन आँपको सुगन्ध पनि धेरै महत्त्वपूर्ण छ । रसायनको प्रयोगबाट पाकेको आँपको बास्ना निकै कम हुन्छ र कुनैमा आँपमा त बास्ना नै हुँदैन । तर प्राकृतिक रूपमा पाकेको आँपको मिठो बास्ना आउने अधिकारी बताउँछन् ।
सामान्यतया धेरै आँपको आकर्षक रङ हेरेर त्यसको आधारमा आँप किन्ने गर्छन् । तर रङकै आधारमा त्यसमा रसायन प्रयोग भएको छ कि छैन भन्ने कुरा पनि पत्ता लगाउन सकिन्छ ।
आँप प्राकृतिक रूपमा पाकेको छ भने यसको रङ हल्का पहेँलो र हरियो हुन्छ । रसायनले पकाएको आँप भने धेरै गाढा पहेँलो रङको हुने अधिकारीले जानकारी दिए ।
प्रतिक्रिया 4