
भनिन्छ फूल र सङ्गीत नरुचाउने मानिस भेटिंदैन। त्यसैले होला आजका नेपालीका लागि नेपथ्य र अमृत गुरुङ नयाँ र नौला नाम होइनन्। तर तिनले यो परिचय बनाउन गरेको संघर्षको कथा भने थोरैलाई मात्रै थाहा होला। गिरीश गिरीको ‘नेपथ्य‘ पढ्दा त्यो रोचक कथा थाहा लाग्छ।
यस बेला नेपथ्य संयुक्त राज्य अमेरिका घुमिरहेको छ, त्यहाँका विभिन्न शहरमा कन्सर्ट गर्दै। अमृत गला फुलाएर आलाप तानिरहेका होलान्। ‘मादल र किबोर्डको मधुरो सुसेलीलाई ठेलेर एकछिनमा ड्रमसेट छ्याङ्ङ… गर्ला ठूलै चीज छताछुल्ल पोखिए जसरी‘ र अमृतको स्वर झुमझुमाउला- रेश्शम ! रेश्शम ! रेश्शम !
दर्शक दीर्घामा रहेका युवा मात्रै होइन वृद्ध–वनिता समेत अमृतलाई साथ दिंदै साङ्गीतिक माहोलमा मगनमस्त झुम्न थाल्लान्- रेश्शम ! रेश्शम ! रेश्शम !
सन् २०१५ मा न्युयोर्क शहरमा भएको नेपथ्यको यस्तै कन्सर्टमा एकसाथ शरीरमा रहेका तन्तु, फोक्सो र मुटुमा जटिल समस्या भएका कारण हरदम अक्सिजनमा रहने प्रशा तुलाधर नामकी एक महिला अक्सिजन सिलिण्डरका साथ ह्विलचेयरमा भ एपनि अमृतको गीतसँगै नाच्ने प्रयास गरिरहेको दृश्य नेपथ्य परिवारका आँखामा ताजै छ।
नेपाली ब्याण्ड नेपथ्यले गरेको स्वदेश तथा विदेशको यस्तै कठिन तर रोमाञ्चक साङ्गीतिक यात्रा विवरण र ब्याण्डका संस्थापक अगुवा एवम् गायन नायक अमृत गुरुङको संघर्ष र सफलताको वृत्तान्त हो गिरीश गिरीको पुस्तक नेपथ्य। ब्याण्डका संस्थापक सदस्यहरू र यथा समय यसमा जोडिन आउने तथा अलग्गिएर जाने संगीतकर्मी वाद्यवादकहरू र ब्याण्डलाई यहाँसम्म ल्याउनमा तिनले गरेको योगदानलाई पनि यस पुस्तकमा यथोचित स्थान दिइएको छ। अनेक झमेला र झेउला फर्स्याउँदा फर्स्याउँदा आजित भएका अमृतलाई झकझक्याउने र आडभरोसा दिने सङ्गीतप्रेमी मनकारी सज्जनहरूलाई पनि यसमा समेटिएको छ।
अमृत नेपाली लोकगायन परम्पराका मर्मज्ञ, लोकभाकाका अन्वेषक र पैरवीकर्ता हुन्। यस वैश्विक युगमा नेपाली लोकलयलाई पश्चिमा संगीतको पप र रक शैलीको फ्लेवर दिएर युवापुस्तामा आफ्नो साङ्गीतिक वैभव पस्कने कुशल अभियन्ता हुन् अमृत। त्यस अर्थमा नेपाली साङ्गीतिक भावभूमिका समसामयिक खोजकर्ताका साथै नूतन प्रयोगकर्ता पनि हुन् अमृत गुरुङ। नेपथ्यको साङ्गीतिक अभियान नेपालको लोकभाका र लोकलयलाई विश्व रंगमञ्चमा प्रस्तुत गरेर प्रशंसा बटुल्न सफल भएको छ। यसले नेपाल र नेपालीको शिरमा पहिचान फूलको अर्को थुँगो सिउरिदिएको छ। यही मेसोका आरोह–अवरोह समेटिएको छ गिरीशको नयाँ पुस्तक नेपथ्यमा।
श्रुति परम्परालाई हाम्रो अद्वितीय पूँजी मान्ने र अलिकति सुइँको पाउनासाथ कठिन र जोखिमपूर्ण पदयात्रा गर्दै देशका दुर्गम गाउँ–ठाउँमा पुगेर त्यहाँको लोकभाका टिपेर ल्याउन सर्वदा तत्पर अमृत भन्छन्- समुदायभित्र अनेक समूहमा अभ्यास गरिनुपर्ने लोकसंस्कृति दशवर्षे माओवादी द्वन्द्वकालमा धरापमा पर्यो। डढेलो लाग्दा वनजङ्गलबाट जीवजन्तु र वनस्पतिका प्रजाति मासिए जस्तै सशस्त्र द्वन्द्वका कारण हाम्रा अनगिन्ती लोकभाका र सांस्कृतिक परम्परा लोप भए।
गिरीश गिरी पत्रकार तथा लेखक हुन्। युवावस्थामा ‘क्यासेट चक्कामा नेपथ्यलाई सुन्न’ पल्केका गिरीश समयक्रममा अमृत गुरूङसँग नजिक भए र नेपथ्यकै परिवारका सदस्य सरह बन्न पुगे। देश–विदेशका विभिन्न स्थानमा प्रस्तुति दिन नेपथ्यले गरेको साङ्गीतिक यात्रामा सहभागी गिरीशले ती यात्राको सजीव वर्णन मात्रै गरेका छैनन् उनले अमृतको जीवन जिउने कला र नेपथ्यको विकासक्रमको संघर्षपूर्ण नालीबेली समेत केलाएका छन् स्मृतिरमण (फ्ल्यासब्याक) शैलीमा। विषय प्रस्तुतीकरणको गिरीशको यो शैली र भाषा आकर्षक, मनमोहक र प्रभावशाली छ।
प्रविधिले संसार साँघुर्याउँदै ल्याउँदा आएको परिवर्तित परिवेशमा हाम्रो जस्तो पुरातन समाजमा पुस्ताभेद देखापर्नु स्वाभाविक हो। यसले कुनै कुनै परिवारमा द्वन्द्व समेत निम्त्याउने गर्छ। त्यस्तै भयो अमृतको परिवारमा पनि। अमृत र उनका बाको कुरा मिल्न छाडेपछि उनी घर छाडेर आफ्नो साथी पुष्कलको गाउँतिर लागे। त्यहाँ अनौपचारिक शिक्षक बने। यसैताका उनको अर्को साथी बन्यो- गितार। गीत लेख्ने, संगीत भर्ने र गाउने अभ्यासमा लागे उनी।
एक दिन पोखराकै स्कूले साथी दीपकजङ्ग राणासँग भेट भयो। उनी काठमाडौंमा पढ्दैथिए। अमृतको अवस्था सुनेपछि दीपकले उनलाई काठमाडौं बोलाएर आफ्नै डेरामा राखे। आर्ट ग्यालरीमा सानो जागिर पाएका अमृतले कलेजमा भर्ना लिए स्नातक तहमा। यसबीच अरू साथी पनि थपिए। उनीहरू काठमाडौंमा आयोजना हुने कन्सर्टहरू नबिराई हेर्न जान थाले। ती कन्सर्टमा कसो कसो धीत नमरेपछि उनीहरू आफैंले जन्माए नयाँ ब्याण्ड- नेपथ्य।
त्यसपछि शुरु भयो क्यासेट निकाल्न गीतहरूको संकलन र गायन वादन अभ्यास। गीतहरू तयार भए तर क्यासेट बनाउने पैसा कहाँ जुटाउने ? दैवले भन्छन् रे— तँ चिता म पुर्याउँछु ! नभन्दै त्यस्तै भयो। हङकङ जान तयारी गरिरहेका राजकुमार गुरुङ नामका साथीले आफ्नो यात्रा केही पर सार्दै १८ हजार रुपैयाँ सापट दिए। त्यसबाट तीन सय चक्का तयार भए अल्बम ‘नेपथ्य‘ का। त्यसको विमोचन गर्नुपर्ने भयो तर कसरी गर्ने, कसैलाई भेउ थिएन। कसलाई के बुद्धि फुर्यो, विघ्नहर्ता गणेशको मन्दिरमा गई मूर्तिलाई देखाएर विमोचन गरे। दिन परेछ सन् १९९२ को अप्रिल १। तर क्यासेटले अनपेक्षित लोकप्रियता पायो। अर्को पाँच सय थान तयार गरे, त्यो पनि सकियो। अनि हजार थान तयार गरे।
ब्याण्ड बन्यो, नाम चल्यो तर त्यसलाई टिकाइराख्न अमृतले कति हण्डर खानु पर्यो भन्ने कथालाई लेखक गिरीले मिहीन पाराले सप्रसङ्ग चर्चा गरेका छन् जो एकदमै रोचक छ। तर संकटमा अमृतलाई सहयोग गर्न उनका साथीहरू, खासगरी दीपक, हरदम तयार भए। उनलाई हौसला दिन छाडेनन्। भनिरहे- तैंले गर्ने भनेकै सङ्गीत हो।
नेपथ्यका गीतहरू श्रोताका ओठ–ओठमा झुण्डिन थाले। देशभित्रका विभिन्न शहर र गाउँबाट मात्र होइन विदेशबाट समेत कन्सर्टका लागि निम्ता आउन थाल्यो। हङकङ गए, कोरिया गए, अस्ट्रेलिया, जापान गए तर जता गए पनि नयाँ–नयाँ समस्या र चुनौती थपिन छाडेनन्। ब्याण्डका रानो बनेका अमृतले एक पटक होइन पटक–पटक यही अन्तिम कन्सर्ट हो भनेर पनि हिंडे तर उनलाई त्यसबाट मुक्ति दिन साथीभाइ किमार्थ तयार भएनन्।
नेपथ्य हङकङ पुग्यो, केही साथी त्यतै बसिदिए, जापान पुग्यो त्यस्तै भयो। बल्ल बल्ल वाद्ययन्त्रमा हात जमाएका साथीभाइ त्यसरी छुटेपछि ब्याण्डमा पुनः नयाँ कलाकार भित्र्याउन सहज पक्कै थिएन।
त्यसैले समय समयमा हतास नबनेका होइनन् अमृत तर अघि नै भने जस्तो कोही न कोही साथी आएर उनलाई सम्झाउन थाल्थ्यो- तैंले गर्ने भनेको सङ्गीतै हो। फेरि उनी नयाँ पाइला चाल्न थाल्थे।
सहलेखन गरेजस्तो लेखक गिरीले पुस्तकका कति अध्याय आफ्ना अनुभव र अनुभूति आफैं लिपिबद्ध गर्न लगाएका छन् अमृतलाई। विषय प्रस्तुतीकरणको यो शैली नूतन लाग्छ। यस अर्थमा यो नयाँ प्रयोग गरेका छन् लेखक गिरीले आफ्नो कृतिमा। मन मिलेपछि भाव र शैली पनि मिल्दो रहेछ- अमृतले लेखेका र गिरीशले लेखेका अध्यायमा भाषा र शैलीको अन्तर खासै अनुभूत हुँदैन।
पुस्तकको अन्त्यतिर आएर उस बेलाका चर्चित गायक अरुण थापाको प्रसङ्ग पनि जोडिन्छ। अरुणको गलाको हृदयबाट प्रशंसा गर्छन् अमृत तर लागूपदार्थका दुर्व्यसनी थापालाई कसै गर्दा पनि जोगाउन सक्दैनन्। अमृत आफूसँग नभएका बखत साथीसँग सापट मागेर समेत पैसा दिन्छन् अरुणलाई तै बाटोमा फिर्छन् कि भनेर तर काम काट्दैन। बरु एउटा भयानक दुर्घटना आइलाग्छ अमृतलाई।
एक दिन अमृत अरुणलाई भेट्न उनलाई राखिएको बागबजारको एउटा लजमा पुग्छन्। त्यहाँ उनी आफूलाई लागूऔषधको सुई घोच्न संघर्षरत भेटिन्छन्। हात कामेर र नसा नभेटेर सुई घोच्न नसकिरहेका अरुण अमृतको सहयोगको याचना गर्छन्। अमृतलाई दया लाग्छ, उनी अरुणको हात समाइदिन्छन् तर अरुणका थर्थराएका हातको सुईले अमृतको हात खोच्न पुग्छ र तरर्र रगत आउँछ। अरुण एचआइभी पोजिटिभ भएको जानकारी भएका अमृतलाई संकट पर्छ। भर्खर विवाह गरेका अमृतले घरमा त्यो कुरा कसरी भन्ने ?
चुपचाप टेकुमा गएर रगत परीक्षण गर्न दिए तर त्यसको रिपोर्ट आउन ४२ दिन लाग्थ्यो। डकुमेन्ट्री बनाउने निहुँ गरेर उनी मुस्ताङतिर लागे। पछि फर्केर हेर्दा धन्न त्यो रिपोर्ट नेगेटिभ फेला पर्यो। यसैबीच अरुणले यो संसारबाट विदा लिइसकेका थिए।
अनेकन् दु:ख गरेर जन्माएको संस्थालाई निरन्तरता दिन कठिन परिरहेका बेला नेपथ्यसँग जोडिन आइपुग्छन् नेपालयका किरणकृष्ण श्रेष्ठ। उनले ब्याण्डको व्यवस्थापनमा सघाउन थालेपछि अमृतलाई पनि सहज पर्दै जान्छ। तर अमृतको गलामा समस्या देखिन थाल्छ। गाउने मानिसलाई गलामा समस्या !
माओवादी द्वन्द्वकालमा नेपथ्यले कसरी ‘सुन्दर शान्त नेपाल’ र ‘शान्तिका लागि शिक्षा’ जस्ता कार्यक्रम सञ्चालन गरेर शान्ति प्रवर्धन कार्यमा सहयोग पुर्यायो भन्ने कुराको पनि पुस्तकमा सविस्तार चर्चा छ।
अमृत शान्ति, न्याय र प्रकृतिको पक्षामा पहरा दिन हरदम तयार भेटिन्छन्। नेपथ्य मानवताको पक्षपाती देखिन्छ।
लण्डनको सबैभन्दा ठूलो सभागृह वेम्बली एरेनामा ३ अगस्ट २०१३ मा कन्सर्ट गर्न पाउँदा नेपथ्यले आफ्नो एउटा सपना पूरा भएको अनुभव गरेको थियो तर त्यहाँ गाउँदा अमृतको घाँटी विरामी थियो तथापि उनले गाए तर कसरी ? यो पीडादायी प्रसङ्ग थाहा पाउन यो पुस्तक पढ्नै पर्छ। गीत–सङ्गीतमा रुचि राख्नेले अमृतको साधना सिक्नै पर्छ।
पठन र लेखनमा रुचि हुने दुवै थरीका लागि गिरीश गिरीले तयार गरेको ३५१ पृष्ठको नेपथ्यको यो आत्मवृत्तान्त पठनयोग्य र सङ्ग्रहणीय छ। यसलाई गत वर्ष प्रकाशनमा ल्याउने नेपालयलाई साधुवाद भन्नै पर्छ।
प्रतिक्रिया 4