
ढक्-ढक्, ढक्-ढक् !
काठको दैलो जोडले बज्यो । माथिल्लो तलामा लस्करै सुतेका हामी जर्याकजुरुक उठ्यौं र एक-अर्कामा मुखामुख गर्न थाल्यौं ।
गाउँमा बिजुली थिएन, त्यसैले ब्याट्रीबाट चल्ने टर्च हमेसा आमाको सिरानीमुनी हुन्थ्यो । ढोका खोल्न पनि आमा नै अघि सर्नुभो । आमाले बालेको टर्चको उज्यालो पछ्याउँदै हामी केटा-केटी पनि भर्याङबाट झर्यौं ।
ढोका खोलिनसक्दै एक हुल मान्छे भित्र छिरे । हाम्रो ढोका नउघ्रिँदै उनीहरूले हाम्रै खेतबाट एक धोक्रो हरियो मकै भाँचिवरी ल्याइसकेछन् ।
उनीहरूले नै आगो बाले, मकै पोले, खाए । आमाले भान्सामै गुन्द्री ओछ्याइदिनुभयो, त्यहीँ सुते । त्यस रात हाम्रा आँखा फेरि बन्द भएनन् । बिहान ४ बजेको हुँदो हो, उनीहरू गएपछि हाम्रा आँखा बल्ल झकाए ।
खान लायक भएका मकै भाँचेको भए मात्रै फरक पर्दैनथ्यो, पूरै खेत सोत्तर पारेछन् । आउँदो हिउँदमा खाने अन्नको अभाव सम्झेर आमाको मन रुँदा हामी दाजु-बहिनीलाई नरमाइलो लाग्यो ।
ती थिए, माओवादी कार्यकर्ता । कुरा थियो, २०५८ सालको ।
०००
२०५६ सालको आम निर्वाचन ! म अलिअलि बुझ्ने भएकी थिएँ । २०५१ जस्तो नेताहरू घोडा चढेर भोट माग्न आएनन् । त्यतिखेर कांग्रेसबाट उम्मेदवार बनेका नारायणसिंह पुनको हेलिकप्टर रोकियो हाम्रो गाउँमा ।
हेलिकप्टर आउँदामात्रै त केही थिएन, नजिकबाट हेरेकै थियौं । तर उनको हेलिकप्टर लहलहाउँदो गहुँबारीमा ल्यान्ड भयो । गाउँलेहरू हेलिकप्टर हेर्न जाँदा फाँटभरिको गहुँ सोत्तर भयो । त्यस वर्ष गहुँ भित्र्याउन नपाएपछि गाउँको अर्को परिवारलाई खाद्यान्नको जोहो गर्न निकै कठिन भयो । तर चुनाव जितेर काठमाडौं उडेका नारायणसिंह पुन फेरि गाउँ फर्किएनन् ।
०००
भाइ एक-डेढ वर्षको हुँदो हो । दाइ र म कुरा बुझ्ने भइसकेका थियौं । स्कुल पनि जान्थ्यौं हामी । बिहान ९ बजे आमाले हाम्रो थालमा भात पस्किँदै हुनुहुन्थ्यो ।
बुवासँगै केही थान नेता र तीनका कार्यकर्ता हुरूरू घरमा आइपुगे । उनीहरूलाई अर्को ठाउँमा जान हतार थियो सायद । उनीहरू हामीलाई नै पस्किएको खाना खाए र गए ।
आमाले १ बजेको छुट्टीमा आउँदा खाना ठिक्क पारिदिन्छु भनेर हामीलाई स्कुल पठाउनुभयो । त्यस दिन दाइ र म भोकै स्कुल गयौं । यो २०५१ सालको मध्यावधि चुनाव आसपासको कुरा हो । ती थिए एमालेका जिल्लास्तरीय नेता र चुनावका उम्मेदवारहरू ।

त्यसपछि पनि जिन्दगीका कयौं अभावले थिचेका छन् मलाई । भोकले हुरुक्कै हुँदा भोकभोकै सुतेका रातहरूको हिसाब छैन । तर भोको पेटको सम्झना गर्नुपर्दा मलाई त्यही दिनको याद आउँछ । देश बदल्छौं भन्नेहरूले गाँस खोसेको कसैलाई पनि सह्य हुँदैन, मलाई पनि भएन ।
लुकेर गाउँ छिर्दा होस् या तामझामसहित जाँदा दलहरूले जनतालाई दु:ख नै दिएका छन् । कांग्रेस, एमाले, माओवादी होउन् या नयाँ दलहरू, नेताहरूले कार्यकर्तालाई सताएकै छन् ।
०००
साम्यवाद र समाजवादको नारा बोकेर गाउँ छिर्ने नेताहरूले हाम्रो घरको बाली मास्ने र हाम्रो गाँस खोस्ने सिलसिला त्यो एउटा मात्रै थिएन । उनीहरू आएर बर्खामा मकै भाँचिदिँदा हामीलाई हिउँदमा खानेकुराको अभाव भएको छ । पाकिसकेको खाना खाएर हिँडिदिँदा धेरै पटक भोकले छट्पटिएका अँध्यारा दिन र रातहरू ताता गोलीका दागजस्तै मनमै गढेर बसेका छन् ।
कहिलेकसो नेताहरू अति भावुक भएर गोलीका छर्राहरू देखाउँदा, मलाई निँद र भोक गुमेका ती दिनको छर्राको दागले सताउँछ । नेताहरूले गाउँ-गाउँ डुलेर संगठन बनाएको बयानबाजी गर्दा मलाई हाम्रो स-सानो खुसी खोसिएका तिनै दिनले चिमोट्छन् ।
यसै कारण, नेताहरू गाउँ पस्दा म अर्को कुनै परिवारमा हुने सम्भावित अभावको कल्पनाले हायलकायल हुन्छु । कुनै समूहमा बसेर पालेको कुखुरा नेताहरूको स्वागतका लागि ढाल्नुपर्यो भने आउन सक्ने अप्ठ्याराहरू सम्झेर ऐंठन हुन्छ मलाई । उनीहरूका मेजमानीका लागि गाउँभरिबाट सापटी लिएको घिउ, सकिनसकी धुनुपरेको सिरकका खोलहरू, खेतको काम छोडेर लिप्नुपरेको घरका भित्ताहरू सबै-सबैले गिज्याउँछन् ।
मुटुमाथि ढुंगा राखेर नेताहरूलाई स्वागत गर्न तम्तयार भएका हुलाकी र मध्यपहाडी राजमार्ग आसपासका धेरै परिवार सायद यही बाध्यताबाट गुज्रिएका छन् अहिले पनि । २०७९ को निर्वाचनमा गरेको बाचा पूरा नगर्दै मिसन ८४ बोकेर गाउँ पसेका दलहरूलाई जनताको निराशासँग के मतलब ?
०००
फेरि काठमाडौंबाट दलबलसहित कुनै उपलब्धिको उत्सव मनाउन हिँडेझैं गरी गाउँ छिर्ने उनै नेता र उनीहरूको वरिपरि हुने छोटे नेताहरूको कुरा भने बेग्लै हुन्छ ।
गएको वर्षदिनमा यसै गरे प्रमुख तीन दलका शीर्ष नेताहरूले । कांग्रेसले चलाएको समुदायमा कांग्रेस, एमालेको मिसन ग्रासरूट होस् या माओवादीको जनतासँग माओवादी अभियान सबैको चालढाल एउटै छ, तौरतरिका र मिसन उस्तै छ ।

कांग्रेस, एमाले र माओवादीका अभियान जनताको दैलोसम्म पुग्न नसकिरहेकै बेला राष्ट्रिय स्वतन्त्र पार्टीले यिनै पुराना दललाई पछ्याउँदै ‘जनअभियान’ चलाउँदैछ । उसको अभियान यही जेठ २३ बाट झापाबाट सुरु हुँदैछ ।
सरकारमा होउन्जेल उनीहरूलाई जनताको मतलब हुँदैन । चुनाव जितेको गाउँ त के, आफैं जन्मिएको घरको पनि याद आउँदैन । सत्तामा छँदा आफ्नै नेता र कार्यकर्ताको असहयोगका कारण काम गर्न पाएनौं भन्ने दलहरूलाई प्रतिपक्षमा जाने बित्तिकै जनताको याद आउनु आफैंमा अजिबको कुरा छ ।
त्यसमाथि, काठमाडौंबाटै दलबल बोकेर, महँगो गाडी चढेर, बजारमा पाइनेमध्ये सबैभन्दा महँगो लुगा लगाएर दलहरू जनता भेट्न जनताको दैलोमा गएका छन् कि जन्मेदेखि जीवनशैली फेर्न नसकेका जनताको खिसिट्युरी गर्न ?

सायद त्यसैले हो- माओवादी सचिव राम कार्की यहाँ केबल नाटक देखिरहेका छन् । कार्की भन्छन्, ‘हाम्रो पार्टी तलको पंक्तिसम्म यति तिव्रतामा बिग्रेको छ भन्ने यही अभियान हेरे पनि पुग्छ । पूर्वदेखि पश्चिमसम्म उनै पहुँचवालाको लस्कर छ । जनतासँग भेट्न हिँडेका मान्छे सीमित कार्यकर्ताको घेराभन्दा बाहिर ननिस्की फर्केका छन्, तैपनि सफल भयौं भन्छन् ।’
कार्कीले भनेको जस्तै दृष्य दिनदिनै दोहोर्याएर देखिएका छन् माओवादीको अभियानमा । माओवादी केन्द्रले २ जेठदेखि बैतडीको पाटनबाट मध्यपहाडी राजमार्ग केन्द्रित जनतासँग माओवादी अभियान सुरु गर्यो । तर यो अभियानमा अध्यक्ष प्रचण्डको वरिपरि जनताभन्दा धेरै काठमाडौंमा पनि उनकै अघिपछि गर्ने शीर्ष तहका नेताहरू नै देखिए ।
जाजरकोटमा शक्ति बस्नेत, रूकुमपश्चिममा जनार्दन शर्मा र रोल्पामा वर्षमान पुन तथा ओनसरी घर्ती मगरले नै अभियानको टोलीलाई स्वागत र बिदाइ गरे । बाग्लुङमा त झन् देवेन्द्र पौडेल मात्रै होइन, टोलीलाई भेट्न र फोटो खिच्न म्याग्दी, पर्वत र कास्कीसम्मका माओवादी नेताहरू पुगे ।

पहुँचमा भएका नेतासँग नेताले नै भेट्ने र नेतैका कुरा मात्रै सुन्ने हो भने खाना खान मात्रै जनताको घरमा किन जानु ? कार्यक्रमको नाम जनतासँग माओवादी किन राख्नु ? शहीदका सपना पूरा गर्न एकरत्ति काम नगरेकाहरू शहीदकै घरमा पुगेर पुराना घाउ किन कोट्याउनु ?
नजाने कति जनताले कति हजार ऋणको भारी बोकेका छन् यो अभियानमा । जनतासँग भेट्न गएको दलको नेतृत्वले जनताकै कुरो सुनेको र उनीहरूसँग सुख-दु:ख बाँडेको कुनै खबर आएको छैन । सरकार र सत्तापक्षीय दलहरूलाई गाली गर्न प्रचण्डलाई न हुलाकी राजमार्ग खोज्दै कचनकवल पुग्न आवश्यक छ न त मध्यपहाडी राजमार्ग खोज्दै दुल्लु नै । गाली गर्ने फोरम काठमाडौंमै एक से एक उपलब्ध छन् ।
प्रतिपक्षमै भएका बेला २०७९ फागुन ५ देखि ८० वैशाख ९ सम्म एमालेले पनि मिसन ग्रासरूट चलाएको थियो । त्यसबेला उसको अभियान विशेषतः २०७९ को निर्वाचन समीक्षामा केन्द्रित थियो ।
अभियानपछि एमालेले जारी गरेको १०९ पाने अन्तरपार्टी निर्देशनमा पार्टी कमजोर हुनुको दोष कार्यकर्तामाथि थोपरिएको थियो ।
‘निर्वाचनमा आफ्नै पार्टीको बागी उम्मेदवार बन्ने र घात-अन्तर्घात गर्ने समस्या देखा परेको, आफू उम्मेदवार भए पार्टीको उम्मेदवार अरु भए नातावाद र कृपावादबाट उम्मेदवारी पाएको जस्ता आरोप लगाउने प्रवृत्ति र व्यक्तिवादी-अहंकारी सोच देखापर्यो,’ त्यसबेला एमालेले आफ्नो अपानीमा लेखेको थियो ।
त्यसपछि पनि एमालेले जरा अभियान भनेर चलायो । तर अभियानको नाम जे दिए पनि नेताहरू जिल्ला-जिल्ला पुगेर नेतैसँग बसेर फर्किए । पार्टीका सांगठनिक सदस्यसम्मको पनि पहुँचमा नपुग्ने नेताहरूले भोट मात्रै हाल्ने जनतासम्म पुग्न र उनीहरूको कुरा सुन्न चाहेनन् ।
कांग्रेसले चलाएको समुदायमा कांग्रेस अभियान त अलपत्र नै पर्यो ।
यस्तोमा आफ्नै रवाफ र फेरिएको जीवनशैली देखाउन नेताहरू जनताको आँगनमा किन जानु ? दु:खले बाँचिरहेका जनतालाई किन गिज्याउनु ? किन जानु मध्यपहाड ? किन धाउनु हुलाकी राजमार्ग !
प्रतिक्रिया 4