
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली साहित्यको २०० वर्ष लामो इतिहास र प्रकाशन कार्यहरूको क्रमिक विकास उल्लेख गरियो।
- यी पाँच ग्रन्थहरूले नेपाली वाङ्मयको समग्र इतिहासलाई समेटेपछि गर्व गर्न सकिन्छ।
आदिकवि भानुभक्त आचार्यको जन्ममितिलाई प्रारम्भ विन्दु मान्दा पनि नेपाली साहित्यको इतिहास २०० वर्ष लामो भइसकेको छ। तर नेपाली साहित्यको विकासको क्रम त्यसअघि नै शुरु भइसकेको थियो।
राणा काल १९७३ सालमा स्थापित गोर्खा भाषा प्रकाशिनी समिति वि.सं. १९९१ मा नेपाली भाषा प्रकाशिनी समिति हुँदै २०२१ सालमा साझा प्रकाशनका रूपमा रूपान्तरित भई निरन्तर प्रकाशनमा लागेको कालक्रम हेर्दा यो प्रकाशनको आयु पनि सय वर्ष नाघिसकेको छ।
निजी क्षेत्रको पहिलो र हालसम्म जीवन्त रत्न पुस्तक भण्डारले पनि २००३ सालदेखि प्रकाशन यात्रा थालनी गरेर आफ्नो आयु आठ दशक पूरा गर्ने क्रममा छ।
२०१४ सालमा स्थापित तत्कालीन “नेपाल साहित्य कला एकेडेमी” र हालको “नेपाल प्रज्ञा प्रतिष्ठान” स्थापनाको पनि आयु सात दशक पूरा हुने छेउमा छ।
तर आजसम्म नेपाली साहित्यको आधिकारिक समग्र इतिहास लेखाउने र प्रकाशन गर्ने काम यी कुनै पनि संस्थाबाट हुन सकेन। निकै लामो समयसम्म डा. तारानाथ शर्मा लिखित “नेपाली साहित्यको इतिहास” समग्र विश्वविद्यालयका विद्यार्थीका लागि पाठ्यसामग्री बन्यो। पछि उनैले नेपाली साहित्यको सङ्क्षिप्त इतिहास पनि तयार गरे, यसले पनि काम गर्यो। पछि नेपाली साहित्यका विद्यार्थीकै लागि उपयुक्त हुने “नेपाली साहित्यको सङ्क्षिप्त इतिहास” प्रा.डा. दयाराम श्रेष्ठ र प्रा. मोहनराज शर्माबाट लेखियो र शुरूमा प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित भयो र पछि दोस्रोदेखि कैयन् संस्करणहरू परिमार्जित रूपमा साझा प्रकाशनबाट प्रकाशित भए। मूल रूपमा यिनै र अन्य अनौपचारिक रूपमा लेखिएका नेपाली साहित्यको इतिहासले नै नेपाली साहित्यका अध्ययनकर्ताहरूलाई सन्दर्भ सामग्री बन्यो।
यसै परिप्रेक्ष्यमा मदन पुरस्कार गुठीका उत्प्रेरक र जीवनको पछिल्लो समयमा अध्यक्ष रहेका नेपाली साहित्यका अन्वेषक एवम् लेखक कमलमणि दीक्षितले प्रा.डा. माधवप्रसाद पोखरेलको प्रस्तावमा “जगदम्बा बृहत् नेपाली साहित्यको इतिहास” प्रकाशनको बिंडो लिए र त्यसको प्रधान सम्पादकको दायित्व प्रा.डा. माधवप्रसाद पोखरेललाई सुम्पिए।
यो बृहत् योजना शुरू भएपछि कमल दीक्षितको २०७३ सालमा निधन भयो। उनको निधनको एक वर्ष पश्चात् मात्र इतिहासको पहिलो ठेली २०७४ सालमा प्रकाशित भयो र २०८१ सालमा पाँचौं ठेली प्रकाशित भएपछि यसले पूर्णता प्राप्त गरेको छ।
वास्तवमा यी पाँच ग्रन्थहरूको लेखन तथा प्रकाशन नेपाली वाङ्मय जगतकै अभूतपूर्व कार्य हो। पाँच हजार पृष्ठ बढीको यति विशाल ग्रन्थ प्रकाशनले एक कीर्तिमान बनेको अनुभूति कुनै पनि नेपाली वाङ्मय प्रेमीले गर्न सक्तछ।
यी पाँच ग्रन्थको प्रकाशन नेपाली वाङ्मयका महारथीलाई समर्पण गर्दै तिनका जयन्तीका अवसरमा प्रकाशित गरिएको छ। पहिलो ठेली २०७४ सालको भानु जयन्तीमा, दोस्रो ठेली २०७६ सालको भानु जयन्तीमा, तेस्रो ठेली २०७७ सालको पारसमणि जयन्तीमा, चौथो ठेली २०८० सालको देवकोटा जयन्ती तथा पाँचौं ठेली २०८१ सालको सम जयन्तीमा प्रकाशन गरिएको छ। यी पाँच महारथीको जन्मजयन्तीमा यी पाँच ठेलीको प्रकाशनले ती महान् स्रष्टाहरूको सम्मान भएको छ। यी प्रतिभाहरू नेपाली जगतका यस्ता पूजनीय शिखर व्यक्तित्त्व हुन् जसले नेपालको भौगोलिक सिमानालाई समेत पार गरेका छन्।
पहिलो ठेलीमा भाषा, व्याकरण र अभिलेखलाई समेटिएको छ र यसमा चार खण्ड रहेका छन्। पहिलो खण्ड “नेपाली भाषाको सामाजिक इतिहास” डा. शैलजा पोखरेल, “नेपाली व्याकरणको इतिहास” डा. सुकुम शर्मा, “अभिलेखीय नेपाली व्याकरणको इतिहास” डा. विदुर चालिसे तथा “नेपाली अभिलेखीय शब्दकोश” डा. रामनाथ तिमिल्सिनाले लेखन गरेका छन्।
दोस्रो ठेलीमा लोक साहित्य, प्रारम्भिक काल, माध्यमिक काल र अनुवादलाई समेटिएको छ। यसमा “नेपाली लोक साहित्य र विधागत अनुसन्धानको इतिहास” डा. चूडामणि बन्धु, “प्रारम्भिक कालको नेपाली साहित्यको पूर्वपीठिका” डा. दयाराम श्रेष्ठ, “नेपाली साहित्यका माध्यमिक कालको इतिहास” कमलमणि दीक्षित तथा डा. नारायणप्रसाद गडतौला र “नेपाली अनुवादको इतिहास” बलराम अधिकारीले लेखन तथा सम्पादन गरेका छन्।
“नेपाली लोक साहित्य र विधागत अनुसन्धानको इतिहास” अन्तर्गत “लोकवार्ता, लोक साहित्य, लोक भाषा, लोक मन्त्र र चुट्किला” प्रा.डा. चूडामणि बन्धु, “नेपाली लोक कविता” डा. ध्रुवप्रसाद भट्टराई, “सामान्य नेपाली लोकगीतहरूको सङ्कलन” डा. गोविन्द आचार्य, “नेपाली विशेष लोकगीत” प्रा.डा. कुसुमाकर न्यौपाने, “नेपाली लोक काव्य” प्रा.डा. जयराज पन्त, “नेपाली लोक गाथा” प्रा.डा. होमनाथ सापकोटा, “लोक नाटक र लोक नाच” प्रा.डा. जहीवेन्द्र देव गिरी, “नेपाली लोक कथा” प्रा.डा. मोतीलाल पराजुली, “नेपाली गाउँ खाने कथा” प्रा.डा. कपिल लामिछाने, “नेपाली उखान” प्रा.डा. कुलप्रसाद कोइराला र डा. शिवप्रसाद पौडेल तथा “नेपाली उखान टुक्काको स्वरुप र प्रयोग” डा. ध्रुवकुमार घिमिरे र डा. सखिशरण सुवेदीले लेखन गरेका छन्।
“नेपाली साहित्यको माध्यमिक कालको इतिहास” अन्तर्गत “माध्यमिक काल” डा. नारायण गर्तौला, “माध्यमिक कालको पद्य” प्रा.डा. काशीनाथ नेउपाने तथा डा. नारायण गर्तौला, “माध्यमिककालीन नेपाली नाटक” डा. अशोक थापा, “माध्यमिक कालीन नेपाली गद्याख्यान” डा. चन्द्रमान श्रेष्ठ, “माध्यमिक कालको निबन्ध” डा. रजनी ढकाल, माध्यमिक कालको पत्रकारिताको इतिहास” डा. साधना प्रतीक्षा तथा “माध्यमिककालका अन्य गद्य विधाको इतिहास” डा. गीता त्रिपाठीले लेखन गरेका छन्।
तेस्रो ठेलीमा नेपाल बाहिरको नेपाली साहित्य समेटिएको छ। यसमा “दार्जीलिङ डुवर्स र सिक्किमको नेपाली साहित्यको इतिहास” डा. कविता लामा, “पूर्वोत्तर भारतको नेपाली साहित्यको इतिहास” डा. खगेन शर्मा, “उत्तर भारतको नेपाली साहित्यको इतिहास” डा. अलका आत्रेय चुडाल तथा “अन्तर्राष्ट्रिय नेपाली साहित्य” डा. गोविन्दराज भट्टराईले लेखन–सम्पादन गरेका छन्।
“भारतीय नेपाली साहित्य” अन्तर्गत “दार्जीलिङ-डुवर्स र सिक्किमको नेपाली साहित्य” डा. कविता लामा, “दार्जीलिङ-डुवर्सका नेपाली कविता” डा. वासुदेव पुलामी, “दार्जीलिङ-डुवर्सका नेपाली कथा” बलराम सापकोटा र डा. सुमन वान्तवा, “दार्जीलिङ-डुवर्सका नेपाली उपन्यास” बनवीन पौड्याल, “दार्जीलिङ-डुवर्सका नेपाली नाटक” भूपेन तामाङ, दार्जीलिङ-डुवर्सका नेपाली निबन्ध” दीपक तिवारी, “दार्जीलिङ-डुवर्सका नेपाली अनुवाद साहित्य” डा. राजकुमारी दाहाल, “दार्जीलिङ-डुवर्सका नेपाली अनुवाद साहित्य” तथा “दार्जीलिङ-डुवर्सका नेपाली भाषाको सामाजिक शक्ति” डा. योगेश पन्त र विक्रम राईले लेखन गरेका छन्।
त्यस्तै “सिक्किमका नेपाली कविता” डा. देवचन्द्र सुब्बा, “सिक्किमका नेपाली कथा” डा. राजेन्द्र भण्डारी तथा डा. सविता तामाङ, “सिक्किमका नेपाली उपन्यास”, “सिक्किमका नेपाली नाटक”, “सिक्किमका नेपाली निबन्ध” एवम् “सिक्किमका नेपाली साहित्य अनुवाद” दीपक तिवारी तथा सिक्किममा नेपाली भाषाको सामाजिक शक्ति” कृष्णमाया मगरले लेखन गरेका छन्।
त्यसैगरी “दार्जीलिङ-डुवर्स अनि सिक्किमको नेपाली पत्रकारिता” डा. पारसमणि दङ्गाल तथा “दार्जीलिङ-डुवर्स अनि सिक्किमका नेपाली साहित्यिक संस्था तथा पुरस्कार” डा. सरस्वती मिश्रले लेखन गरेका छन्।
“भारतीय नेपाली समालोचना” डा. देवचन्द्र सुब्बा, “भारतीय नेपाली बालसाहित्य” डा. कविता लामा, “भारतीय नेपाली गीत” र “भारतीय नेपाली गजल” डा. सुमन बान्तवा तथा “समकालीन भारतीय नेपाली कविता” डा. रेमिका थापाले लेखन गरेका छन्।
“पूर्वोत्तर भारतको नेपाली साहित्यको इतिहास” अन्तर्गत “पूर्वोत्तर नेपाली साहित्यको इतिहास” डा. खगेन शर्मा, “नेपाली भाषाको सामाजिक स्थिति” अविकेशर शर्मा, “उत्तर पूर्वाञ्चल भारतको नेपाली कविताको विकासक्रम” नव सापकोटा र डा. दैवकी देवी तिमिल्सिना, “असमेली नेपाली निबन्ध विधाको इतिहास” डा. जमदग्नि उपाध्याय, “पूर्वोत्तर भारतको नेपाली उपन्यास साहित्य (मेघालय बाहेक) डा. इन्दु प्रभा देवी, “पूर्वोत्तर भारतको नेपाली कथा यात्रा” डा. शान्ति थापा, “पूर्वोत्तर भारतको नेपाली समालोचना” ज्ञानबहादुर क्षेत्री, “पूर्वोत्तर भारतमा नेपाली बाल साहित्यको इतिहास” मुक्ति उपाध्याय बराल तथा एकदेव अधिकारी, “पूर्वोत्तर भारतको नेपाली अनुवाद साहित्य” डा. खेमराज नेपाल, “मणिपुरमा नेपाली भाषा र साहित्यको स्थिति” भवानी अधिकारी तथा “मेघालयको नेपाली साहित्येतिहासको सङ्क्षिप्त परिचय” डा. टेकनारायण उपाध्यायले लेखन गरेका छन्।
“उत्तर भारतको नेपाली साहित्यको इतिहास” अन्तर्गत “नेपाली साहित्यको इतिहासमा काशी” डा. अलका आत्रेय चूडाल, “नेपाली भाषा-साहित्यको विकासमा काशीबाट प्रकाशित साहित्यिक पत्र-पत्रिकाको भूमिका” दुर्गाप्रसाद श्रेष्ठ तथा डा. शिवप्रसाद पौड्याल, “चम्पारनका कवि गोपाल सिं नेपाली” डा. अलका आत्रेय चूडाल तथा “भाक्सू (धर्मशाला) र देहरादूनको नेपाली साहित्य” भूपेन्द्र अधिकारी र डा. अलका आत्रेय चूडालले लेखन गरेका छन्।
“अन्तर्राष्ट्रिय नेपाली साहित्य” अन्तर्गत “भूटानी नेपाली साहित्यको इतिहास” शिवलाल दाहाल, “म्यान्माली (बर्मेली) नेपाली भाषा साहित्य” डा. दुवसु क्षेत्री, “मलेसियामा नेपाली साहित्य” देवेन्द्र सुर्केली, “हङकङेली नेपाली डायस्पोरा” राजकुमार राई, “हङ्कङेली नेपाली साहित्य” टङ्क सम्बाहाम्फे, “दक्षिण कोरियामा नेपाली साहित्यको विगत र वर्तमान” जीवन खत्री, इजरायलमा नेपाली साहित्यको गतिविधि” सुनिता राई कन्दङ्वा, “रूसमा नेपाली भाषा साहित्य” कृष्णप्रकाश श्रेष्ठ, यूरोपको नेपाली साहित्य” (बेल्जियम, फ्रान्स, पोर्चुगल, जर्मनी, स्पेन, नर्वे, स्वीडेन, नेदरल्याण्ड, इटाली र रोमानिया) कृष्ण बजगाईं, अष्ट्रेलियाको नेपाली साहित्यको इतिहास” डा. अलका आत्रेय चूडाल, “बेलायतमा नेपाली साहित्यको इतिहास” गोपी सापकोटा तथा विकलचन्द्र आचार्य, अष्ट्रेलियामा नेपाली साहित्य” निष्प्रभ सजी तथा “उत्तर अमेरिकामा नेपाली साहित्यको विकास” होमनाथ सुवेदीले लेखन गरेका छन्।
चौथो ठेलीमा नेपाली पद्य र बाल साहित्य समेटिएको छ । यसमा “नेपाली आधुनिक गीतको इतिहास” डा. बेनी जङ्गम रावल, “आधुनिक नेपाली कविताको इतिहास” डा. लक्ष्मणप्रसाद गौतम, “नेपाली खण्डकाव्यको इतिहास” डा. देवी नेपाल, “नेपाली महाकाव्यको इतिहास” डा. कृष्णलाल अधिकारी तथा “नेपाली बालसाहित्य” प्रमोद प्रधानले लेखन गरेका छन्।
पाँचौं ठेलीमा आधुनिक नेपाली कथा, उपन्यास, नाटक, निबन्ध र समालोचनाको इतिहास समेटिएको छ। यसमा “आधुनिक नेपाली कथाको इतिहास” डा. दयाराम श्रेष्ठ, “आधुनिक नेपाली उपन्यासको इतिहास” डा. खेम दाहाल, “आधुनिक नेपाली नाटकको इतिहास” डा. रामचन्द्र पोखरेल, “आधुनिक नेपाली निबन्ध र सम्बद्ध विधाहरूको इतिहास” प्रमोद प्रधान तथा “नेपाली समालोचनाको इतिहास” ज्ञानु अधिकारीले लेखन गरेका छन्।
यसरी यी पाँच ठेलीले सिङ्गो नेपाली वाङ्मयलाई समेटेको छ, जुन यसअघि यस प्रकारको लेखन–प्रकाशन हुनसकेको थिएन।
यी सबै ग्रन्थहरूको आकार–प्रकार र बृहत् पृष्ठभूमि हेर्दा दुसाध्य झैं लाग्दछ। तर यो कार्य सम्पन्न भएको छ र यौटा नयाँ कीर्तिमान, कोसेढुङ्गा स्थापित भएको छ। अतः यसका कल्पनाकार प्रा.डा. माधवप्रसाद पोखरेल तथा यसलाई मूर्तरुप दिन कम्मर कस्ने कमलमणि दीक्षित तथा उहाँको देहान्तपछि त्यसलाई अघि बढाउने उनका सुपुत्र कुन्द दीक्षित हरेक दृष्टिकोणबाट प्रशंसाका पात्र छन्।
यति ठूला ग्रन्थहरू प्रकाशनका लागि गरिएको उदार पक्षहरू हुँदाहुँदै पनि यसका केही लेखकहरू भने त्यति इमानदार हुन नसकेको देखिन्छ। कतिपय लेखकले आफ्नै अति प्रशंसा र आत्मश्लाघामा शब्दहरू खर्चेको देखिनु दुःखद् लाग्छ। त्यस्तै विभिन्न ठेलीमा इतिहास प्रस्तुत गर्ने तरिकामा एकरूपता नदेखिंदा सम्पादन पक्षमा कमजोरी भएको हो कि, लेखकहरूले जसरी लेखिदिए त्यही मान्य भएको हो कि भन्ने लख काट्न सकिन्छ।
तर इतिहासमा नभएको काम भएको छ। यसलाई क्रमश: अद्यावधिक गर्दै, त्रुटिहरू सच्याउँदै आगामी दिनमा परिमार्जन गर्न सकिने सम्भावनाको ढोका त खुल्ला छँदैछ। सबभन्दा ठूलो कुरा अब हामीसँग नेपाली साहित्यको बृहत् इतिहास छ भनेर गर्व गर्न पाइने भएको छ।
प्रतिक्रिया 4