
News Summary
Generated by OK AI. Editorially reviewed.- गाउँको मचान र आँपको रुखले बाल्यकालको रमाइलो र स्वास्थ्य लाभ प्रदान गर्थ्यो।
- आँपको फेदमा बन्थ्यो मचान। त्यही मचानको चिस्यान हामीलाई ‘एसी’ लाग्थ्यो ।
गाउँमा त्यो बेला बिजुली थिएन । शितलताका लागि न पंखा, न एसी । गर्मी भने उखरमाउलो । वैशाख-जेठको तातो घाम, टिनको छाना भएको घर । दिउँसो घरभित्र सुतेँ सुकुटी नै बनिएला जस्तो हुन्थ्यो ।
गर्मी छल्नकै लागि स्कुल पनि बिहानै लाग्थ्यो । बिहान उज्यालो नहुँदै दही, चिउरा आँप खाएर हातमा किताब बोक्यो, कुद्यो स्कुल । किताब, कापी मिलाएर झोलामा बोक्ने चलन थिएन । एउटै कापीमा सबै विषय लेखिन्थ्यो, अहिलेको जस्तो विषयपिच्छे कापी हुँदैनथ्यो। गृहकार्य, कक्षाकार्य भन्ने खासै थिएन, हिसाब अलिअलि गर्नुपर्थ्यो । न त स्कुलको ड्रेस, न कम्मरमा पेटी, न त काँधमा झोला, न खुट्टामा जुत्ता, रमाइलै थियो ।
पानीका लागि स्कुलमै ट्युबेल थियो । टिफन भनेको दादीको दुकानको ढुङ्गी (एक किसिमको पापड) हुन्थ्यो । ४ आना (पच्चीस पैसा) मा ४ वटा आउँथ्यो । तर त्यो किनेर खान सधैं पैसा कहाँ पाउनु ।
भोकले रुखिएर स्कुलबाट फर्कँदा आमाले पकाएर राखेको दाल, भात, तरकारी कम्ता मिठो हुँदैनथ्यो । खाना फेरि तताएर खाने चलन थिएन । घरमा भैसी पाल्ने भएकाले दूध, दही प्राय टुट्दैनथ्यो ।
…………
बिहान स्कुल गएपछि दिउँसोको योजना पहिले नै तय हुन्थ्यो, ‘पहिला खाना, अनि खोला ।’ भात खाइसकेपछि हामी केटाकेटीहरू प्राय खोलातिर लाग्थ्यौं । गाँउनजिकै पश्चिमतर्फ पुतौधारा नामको खोला छ ।
कसै–कसैले गाई–भैसीलाई नुहाउन तथा पानी खुवाउन पनि त्यही खोलामा लैजान्थे । किनार र पुलबाट खोलाको दहमा जम्प हान्ने प्रतिस्पर्धा नै हुन्थ्यो । उफ्रिदै, हाँस्दै, छपाछप पौडी खेल्थ्यौं । तर, हाम्रा बाआमालाई त्यो मन पर्दैनथ्यो । ‘पानीमा डुबिएला, खोला बगाउला भन्ने डर हामीलाई हुँदैन थियो, तर सायद अभिभावकहरूलाई हुन्थ्यो । हाम्रो पछिपछि कोही न कोही अभिभावक आइपुग्थे ।
म चाहिँ आमालाई देखेपछि भाग्थेँ । बुबा प्रायः खेतको काममा नै व्यस्त हुनुहुन्थ्यो । आमाले हामीलाई घर वरपर नदेखेपछि खोलैसम्म खोज्न आउनुहुन्थ्यो । त्यसताका अहिलेको जस्तो पुलपुल्याउने चलन थिएन, खोलामा खेलिरहँदा आमाको फेला परियो भने झापु भेट्ने जोखिम धेरै हुन्थ्यो । धेरैपटक भागेर जोगिएँ, कहिलेकाहीँ झापु भेटियो पनि। आमाको पिटाइले धरधर रुन थालेपछि फेरि आमले नै फकाउनुहुन्थ्यो ।
स्कुल जाने बेला ढुङ्गी खान ४ आना दिने लोभ देखाएर फकाउनुहुन्थ्यो । पिटाइमा आमाको रिससँगै माया मिसिएको हुन्थ्यो । आज सम्झँदा लाग्छ, ती झापडहरूमा आमाको मप्रतिको माया, चिन्ता र भविष्यको मार्गदर्शन पनि थियो । त्यो लठ्ठीले मलाई जीवनको पाठ पढाउँथ्यो, शब्दविहीन भाषामा ।
खोलाबाट फर्किएपछि र खोला नगएका बेला हाम्रो आश्रय हुन्थ्यो, घरछेउको ठूलो आँपको बोट । त्यो बोट कुनै बोटमात्र थिएन, त्यो हाम्रो घरको अभिन्न अंश थियो । त्यसको फेदमा बन्थ्यो मचान। बाँसको तीन–चारवटा डण्डी अड्याएर माथि पात खर वा बोरा ओछ्याइएको । त्यही मचानको चिस्यान हामीलाई ‘एसी’ लाग्थ्यो । गाउँभरि त्यस्ता अनगिन्ती मचानहरू हुन्थ्यो । गर्मीबाट जोगिने उतम उपाय थियो त्यो समय ।
मचानमा लम्पसार परेर म माथि हेर्थेँ, पातहरू हल्लिन्थे, आँपका पातहरूका साना छिद्रबाट घाँमका तिखा किरणहरू मचानसम्म आइपुग्थे । हावा चल्दा पाकेका आँपहरू झर्थे । म खासै रुख चढ्न सक्दिनथेँ, रूखबाट झरेका आँप टिप्थे । चुसेर खाने चलन थियो, काटेर होइन । राता, पहेँला, केही मैलिएका, माटोमा लट्पटिएका आँप । तर औधी स्वादिला। चपक्क चुस्दा रस चुहिन्थ्यो, मुखबाट हातसम्म, अनि लुगाभरि लाग्यो ।
त्यो मौसममा खाजा नै आँप थियो । हाम्रो गर्मी बिर्साउने अनि थकाइ भगाउने औषधि थियो । खेत जोतेर आएका हलीहरू खाना खाएर त्यही आँपको छायाँमा सुस्ताउँथे । झरेको आँप चुस्थे । आँपले गाउँलाई जोड्थ्यो, बच्चा, बुढा, हली, मालिक (गृहत) सबैलाई एउटै मचानमा ल्याउँथ्यो । र मचान, हामी गाउँलेको ग्रीष्मकालीन शरणस्थल नै हुन्थ्यो ।
साँच्चै भन्नुपर्दा, तराईको आँपको रुखमुनि जीवन पलाउँथ्यो । त्यसको मुनि म आफ्ना सपनाहरू देख्थेँ, डरहरू बिर्सन्थें, अनि कहिलेकाहीँ–म आफ्नो आमाको लठ्ठी सम्झन्थेँ । आज म चिकित्सकको भूमिकामा छु । आँपलाई म केवल स्वादका दृष्टिले मात्र होइन, स्वास्थ्यका दृष्टिले पनि बुझ्न थालिसकेको छु ।
यो फल मात्र होइन, औषधि पनि हो । आँपमा पाइने भिटामिन ए, सी, के, फाइबर, पोटासियम, म्याग्नेसियम, बिटा–क्यारोटिन, फोलेट आदिले शरीरलाई बलियो बनाउँछ । रोग प्रतिरोधात्मक शक्ति बढाउँछ ।
कब्जियत हटाउँछ । क्यान्सरदेखि मुटु रोगसम्मका लागि एक अव्यक्त रक्षाकवच हो आँप । तर यो गुलियो फल भएकाले मधुमेह भएका व्यक्तिले थोरै मात्रा मिलाएर खानु उपयुक्त हुन्छ । दिनमा दुई वटा आँप खाली पेटमा वा खाना खाएको आधा घण्टा पछि खानुले आँप अमृत बन्न सक्छ ।
आज पनि जब आँप देख्छु उही दिनको याद आउँछ । त्यो मचान, त्यो आँपको रुख, आमाको झापड, खोला, घाम, खेत जोत्न हिँडेका हली र बालापनको म । आजका बच्चाहरू एसी रुममा बस्छन्, नभए पनि कोठैपिच्चे फ्यान हुन्छ । उनीहरूलाई ‘मचान’ शब्द नै थाहा छैन । आँप त खान्छन् तर रुखबाट झर्दाझर्दैको टिपेर चुस्दै होइन, ‘ताछेर, काटेर, क्यालोरी गनेर’ । पौडी खेल्ने कुरा गर्दा उनीहरू ‘स्वीमिङ पुल सम्झन्छन् खोला होइन।
आज पनि आमा गाउँमै हुनुहुन्छ । फोनमा कुरा भइरहन्छ । बारीमा आँप फलेको छ रे । ‘अनि कहिले आउछँछस् ?’ आमाले सोध्नुहुन्छ । म मौन हुन्छु । तर, मनमनै भनिरहेको हुन्छ’, ‘कहिल्यै गएको थिइनँ आमा, म अझै त्यही मचानमै छु ।’
म चाहन्छु-फेरि त्यही मचान बनाऊँ । त्यहाँ आफ्नाहरूसँग रमाइला बात मार्दै बसूँ । उनीहरूलाई आँप चुस्न सिकाऊँ, क्यालोरी गन्ने होइन, रस महसुस गर्ने । आँपको छायाँमुनिको ‘प्राकृतिक एसी’सँग नयाँ पुस्तालाई साक्षात्कार गराऊँ ।
प्रतिक्रिया 4