+
+
Shares

बच्चाको भविष्य होइन वर्तमान पनि हेरौं

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ८ गते १७:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बालबालिकाले वयस्क व्यक्तिहरूको विश्वास र सोच विकास गर्दै जान्छन्, अभिभावक र शिक्षकको भूमिका महत्वपूर्ण हुन्छ।
  • बालबालिकाको जिज्ञासा र व्यवहारलाई ध्यान दिएर सही मार्गदर्शन आवश्यक छ, जसले उनीहरूको व्यक्तित्व निर्माण गर्छ।
  • प्रविधिको प्रयोग र साथीहरूको प्रभावले बालबालिकाको विकासमा प्रभाव पार्दछ, त्यसको निगरानी समाज र परिवारले गर्नुपर्छ।

बालबालिकाले वयस्क मानिसको बारेमा सोच्दा यसरी सोच्दा हुन्-सबै कुरा जानेको, बुझेको, सबै कुराको ज्ञान भएको, सबै कुरा गर्न सक्ने सायद यस्तै-यस्तै । बालबालिका सानोमा घरमा रहँदा आफ्ना अभिभावकलाई सबैभन्दा बढी विश्वास गर्छन्, यसमा कुनै शंका छैन । किनभने उनीहरूको समस्याको समाधान भनेका आफ्ना अभिभावक हुन्छन् ।

जब उनीहरू विद्यालय जान थाल्छन्, तब उनीहरूको विश्वास विस्तारै परिवर्तन हुँदै जान्छ । त्यतिबेला उनीहरूको रोजाइ शिक्षक हुने गर्दछन् । घरका मानिसहरूले भनेका भन्दा बढी विश्वास शिक्षकहरूले भनेका कुरा गर्छन् ।

कतिसम्म भने शिक्षकले गलत सिकाएको, लेखाएको कुरालाई अभिभावकले सुधार गर्न खोज्दा पनि उनीहरू मान्दैनन्, हुँदैन सर, मिसले यसरी लेख्नू भन्नुभएको छ भनेर जिद्दी गरिरहेका हुन्छन् ।

बालबालिकाको मनोविज्ञान बडो सुन्दर हुने गर्छ जे देख्छन्, त्यहीँ व्यक्त गर्छन् । कुनै ‘प्रिजजमेन्ट’ हुँदैन । व्यवस्क मानिसलाई साना-साना लाग्ने कुराहरू जुन उनीहरूले विद्यालयमा, गाँउ-घरमा, बजारमा हिँडदा देख्ने भोग्ने गर्छन्, त्यसबाट उनीहरूमा विभिन्न प्रकारका जिज्ञासा उत्पन्न भइरहेको हुन्छ ।

त्यस्ता जिज्ञासाको उत्तर बालबालिकाहरूले खोजिरहेका हुन्छन् । उनीहरूले त्यस्ता किसिमका जिज्ञासाहरू खुलेर व्यक्त गर्न सक्दैन् । तर, ती जिज्ञासाहरू ती प्रश्नहरूको उत्तर वयस्क मानिसका लागि भने बडो सामान्य हुन्छ ।

बालबालिकाको प्रश्नको उत्तर दिन झन्झट मान्ने, यो पनि समस्या होर ? भनी प्रश्न गर्ने, त्यसलाई कुनै विषयको रुपमा नठान्ने सोच थुप्रै अभिभावकहरूमा हुनेगर्छ । बुझेर या नबुझेर त्यस्ता प्रश्नहरूको उत्तर दिने अभिभावकहरू सीमित हुन्छन् । हो यिनै कुराहरूबाटै बालबालिकामा सोच्ने तरिकाको विकास हुनेगर्छ ।

बालबालिकाहरूले त्यस्तो प्रकारको चासो, जिज्ञासालाई कसरी समाधान गरिरहेको छन्, त्यसबाट नै बालबालिकाहरूको विचार, विश्वास, धारणा, व्यत्तित्व निर्माण भइरहेको हुन्छ ।

अन्तत वयस्क मानिसहरूकै कारण वयस्क मानिसहरूप्रति उनीहरूको सोच निर्माण भइरहेको हुन्छ । उनीहरूलाई केवल भविष्यको कर्णधार मात्र भनेर वर्तमानमा हामीले साझेदार नबनाउने हो भने समाजप्रति उनीहरूलाई कति पनि जिम्मेवार बनाउन सकिँदैन । उनीहरूको भविष्य कस्तो बनाउने भन्ने कुरा वर्तमानमा आधारित रहेको हुन्छ । यदि वर्तमानमा राम्रोसँग प्रशिक्षित नगर्ने अनि भविष्यप्रति चिन्ता मात्र लिने हो भने त्यसले हाम्रो समस्या समाधान गर्न सक्दैन ।

आजका दिनमा धेरैजसो अभिभावकहरू व्यस्त छन् । आफ्ना सन्तानका लागि भनेर कडा मेहनत गरिरहेका हुन्छन् । आफ्ना बालबालिकाको सुन्दर भविष्य कल्पना गर्दै आफूले आर्जन गरेको रकम सञ्चय पनि गरिरहेका हुन्छन् जुन, स्वभाविक पनि हो ।

तर खासमा वर्तमानमा बालबालिकाहरू के गर्दैछन् भनेर खासै सोच्ने गरेको पाइँदैन । अभिभावकहरूले आफ्ना नानीहरूको पढाइ कस्तो छ, भनेर मात्र बुझ्ने गरेको पाइन्छ ।
आफ्ना नानीहरू विद्यालय त जान्छन् तर कक्षा कोठामा उनीहरूको क्रियाकलाप कस्तो छ, संगत कस्तो छ ? त्यसबारे धेरै चासो राखिएको पाइँदैन । पकेट मनीका रुपमा दिएको रकम उनीहरूले के मा प्रयोग गरीरहेका छन्, विद्यालय तथा कलेजमा दिएका गृहकार्य अथवा अन्य किसिमका असानइमेन्ट गर्दै छन् वा छैनन् भनेर सोधखोज गरेको पाइँदैन ।

कम्तीमा ती विषयमा अभिभावकले दिनमा एकपटक सोध्ने गरेमा त्यसले नतिजामा परिवर्तन ल्याउछ । तर यसो नगर्दा उनीहरूमा एक प्रकारको विचलन उत्पन्न हुन सक्छ, गर्दा नगर्दा केही फरक छैन भन्ने भान उनीहरूमा पलाउन दिनुहुँदैन ।

उनीहरूलाई उचित निगरानी, सरसल्लाह, मार्गनिर्देशन आवश्यक पर्छ । सानो परिवर्तनले पनि बालबालिकालाई ठूलो परिवर्तन ल्याउँछ किनकि उनीहरू भावनात्मक रुपमा संवेदनशील हुन्छन् । रिस, आवेग उनीहरूमा हुने गर्छ ।

बालबालिकाहरू आफ्ना साथीहरूबाट बढी मात्रामा प्रभावित हुने हुँदा, साथी नराम्रो बाटोमा रहेमा, कुलतमा फसेको वा अन्य कुनै कुरामा फसेका रहेछन् भने ऊ पनि त्यसबाट प्रभावित हुने सम्भावना बढी हुने गर्छ । हिजोआज विद्यालयमा अध्ययनरत धेरै बालबालिकाहरू कुलतमा फसेका छन्, यो देशव्यापी विकराल समस्या बन्दै गएको छ ।

अभिभावहरूको कारणले होस या अन्य कुनै कारणले समस्या बेलैमा पहिचान हुन नस्कदा पछि गएर ठूलो समस्या भोग्नुपरेका उदाहरण धेरै भेटिन्छन् । परिवार समेत बिखण्डन हुनपुगेका घटना धेरै छन् ।

बालबालिकाले सूचना प्रविधिको प्रयोग गरिरहेका हुन्छन् । त्यसलाई पूर्णरुपमा बन्देज लगाउने अवस्था पनि छैन तर उनीहरूले कस्तो कन्टेन्ट उपयोग गरिरहेकाछन ? प्रविधिलाई कुन रुपमा प्रयोग गरिरहेका छन् यसको निगरानी गर्ने जिम्मेवारी अभिभावक तथा समुदायकै हो । त्यसबाट कोही पनि उम्किँन हुँदैन ।

साना बालबालिकाहरू विषेश गरी मोबाइल चलाउने गर्छन्, त्यसमा उनीहरूले विभिन्न प्रकारका रङ्गी विरङ्गी कार्टुनहरू हेर्ने गर्छन् । त्यहाँ देखिने पात्र तथा गतिविधिहरूको उनीहरूले नक्कल गर्दै आफूलाई त्यस्तै बनाउनेतर्फ लाग्छन् । त्यसतर्फ पनि ध्यान पुर्‍याउन जरुरी छ ।

बालबालिका जसले पूर्णरुपमा के राम्रो, के नराम्रो, असल, खराब, गुण र दोषको आधारमा फरक छुटयाउन सक्दैन उनीहरूलाई सही मार्गनिर्दशन आवश्यक छ । मार्गनिर्देशनको काम समाजका सबै सरोकारवालाहरू मिलेर गर्न जरुरी छ । बालबालिकाको समस्यालाई केवल बालबालिकाको समस्याको रुपमा नबुझेर यो त सबैको समस्याको रुपमा बुझ्न जरुरी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?