+
+
Shares

‘झिल्को हरेक घरको कथा र हरेक परिवारको व्यथा हो’

यादव भट्टराई यादव भट्टराई
२०८२ वैशाख १९ गते १०:३६

मेरो पहिलो चलचित्र ‘झोला’ प्रदर्शन भएको करिब ५ वर्षको अन्तरालमा अर्को फिल्म बनाएँ । फिल्म थियो ‘भोर’ । भोर प्रदर्शनमा आएको ७ वर्षपछि ‘झिल्को’ लिएर आएको छु ।

करिब ५–६ वर्षको अन्तरालमा मैले फिल्म बनाएँ । किन ? मान्छेहरूले मलाई सोध्छन् । झोला प्रदर्शनपछि धेरैले मलाई सफल निर्देशक माने । तर, त्यस्तो हुँदैन रहेछ । मान्छे कहिले पनि सफल हुँदैन । मेरो एउटा काम सफल भएको हो । अर्को कामको लागि म शून्य नै हो ।

झोलापछि अर्को सफल चलचित्र बनाउन सक्छु भन्ने मेरो अहंम् फिल्म ‘भोर’को असफलताले तोड्यो ।

भोर तराईको कथा थियो । दाइजो प्रथा सम्बन्धी । सती प्रथा जस्तै डरलाग्दो छ दाइजो प्रथा पनि । यसैमाथि फिल्म बनाएँ । फिल्म चलेन । त्यो फिल्मले मलाई फेरि ‘असफल’ बनायो । आर्थिक रुपमा, पारिवारिक रुपमा । करियर नै परिवर्तन गर्नुपर्छ भन्ने पारिवारिक दबाब बढ्न थाल्यो ।

तर, मैले कहिल्यै त्यसरी सोचिनँ । किनभने म सिनेमाबाट टाढा जान सक्दिनथें ।

म हरक्षण सिनेमा बनाइरहेको हुन्छु । कथा खोजिरहेको हुन्छ । स्क्रिप्ट लेखिरहेको हुन्छु । मेरो मन र मस्तिष्क कथा र पात्र वरिपरि घुमिरहेको हुन्छ ।

झिल्कोको कथा

भोरको असफलताका पछाडि मेरा त्रुटीहरू थिए । म आफ्नो त्रुटी खोज्नका लागि फिल्महरू हेर्न थालें । खासगरी नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा विश्वका ५०० फिल्म हेरेपछि मलाई यसबारे केही व्यवसायिक ज्ञान आर्जन भयो ।

झोला र भोरको सफलता र असफलता दुवैको भोगाइ र सिकाइ संगालेर मैले झिल्को बनाएँ । आजभन्दा तीन बर्षअघि मेरो दिमागमा फुरेको कथा थियो यो । कथा दिमागमा बोकेर म समाजका त्यही तप्कामा पुगें, जहाँ यसको बढी असर छ । धेरै अध्ययन, अवलोकन र अन्तर्क्रियापछि मैले झिल्कोको पटकथा तयार गरें ।

यसको आधार तयार गर्नका लागि मेरा एकजना पत्रकार साथी स्रोत बनिदियो । उनको तीन वर्षका छोरोलाई मोबाइलको लत थियो । तीन वर्षको एउटा बालकलाई जम्माजम्मी तीन वटा शब्द मात्र बोल्न आउने । कसैसँग दोहोरो संवाद गर्न नजान्ने ।

उनीहरू छोराको उपचार खोज्दै अस्पताल पुगे । छोरोलाई भर्चुअल अटिज्म भएको रहेछ । त्यसपछि उनले नियमित यसको उपचार गर्नुपर्यो भने घरबाट इन्टरनेट पनि हटाउनुपर्‍यो ।

यो एक प्रतिनिधि कथा हो । र घरघरको कथा पनि ।

त्यही घटनाले मलाई यो चलचित्र बनाइरहँदा यसले दीर्घकालीन कस्तो असर पार्छ भन्ने सोच आयो । त्यो दृष्टिकोणले कथा बनाएँ । चलचित्रबाट नाफा होस् न होस्, व्यवसायिक कति बन्छ भन्दा पनि यसले दिने सन्देश प्रभावकारी होस् भन्ने मैले सोचें ।

समाजको जल्दोबल्दो संरचनामा समाजका लागि राम्रो खालको प्रभावकारी चलचित्र बनाउन सकियो भने त्यो व्यवसायिक हुन्छ भन्ने पनि मेरो विश्वास हो । यो कुरालाई हामीले दर्शकसँग कसरी लाने भन्ने प्रश्न मात्र हो ।

त्यही विश्वासको कारणले गर्दा डिजिटल लतमाथि सन्तति, मेरो छोरी, छोरा, परिवार र समाजका लागि यो चलचित्र हो । मोबाइल प्रयोगकर्ता भएर हामीले यसबाट हुन सक्ने प्रभावबारे त्यति गम्भीर रुपले लिएका छैनौँ । यो गम्भीरतालाई देखाउनुपर्छ भनेर यो विषयवस्तुमा आएका छौं ।

डिजिटल एडिक्सनको कथा

हो, यसलाई नेमोफोबिया पनि भनिदो रहेछ । यो रोग नै हो । मानौं, मोबाइल कतै छुट्यो भने के होला ? कसो होला भनेर एन्जाइटी प्रायलाई हुनेगर्छ । कहिलेकाहीँ मोबाइलको ब्याट्री सकिएर मोबाइल अफ भए पछि मानिस छट्पटाउँछ भने त्यो डिजिटल एडिक्सन भएको मान्न सकिन्छ ।

यो मानसिक समस्या अधिकांशमा छ । जसमा सबै उमेर समूहका बच्चा देखि वृद्धसम्म पर्छन । यही विषयवस्तुमा हामीले कथा बनायौं ।

जो जन्मिँदै हातमा मोबाइल पाउने सुविधामा छन्, उनीहरूलाई मोबाइलले बिगारिसके । उनीहरू हामीसँग अन्तर्क्रिया गर्न चाहँदैनन् । मात्र मोबाइलसँग अन्तर्क्रिया गर्छन् । उनीहरूको संसार नै त्यही भइसक्छ । यो बाहिरको प्रकृति रुखो लाग्छ । मजा नै त्यसमै छ उनीहरूलाई ।

किनभने जन्मदेखि नै उसले मोबाइलमा जीवन संस्कार देख्यो र बनायो । उसको शरीरमा त्यो घटित भयो । उ त्यस्तै छ । उ त्यस्तै भइसक्यो । यो संवेदनशील कुरा हो । यसले अबको पुस्ता कस्ता आउलान् ? कस्तो उनीहरूको अवस्था बन्ला ?

अहिले तपाईं आफ्नै बच्चा हेर्नुहुन्छ भने पनि ऊ मोबाइलमा झुण्डिएको कारण २४ घण्टै झगडा भइरहेको हुनसक्छ । समस्या आउँछ भन्दा पनि यो समस्या आइसक्यो ।

कथाबाट सिनेमा बन्ने प्रक्रिया

यो कथा सुरु गर्नु अघिकै प्रक्रियामा जाउँ । जब साथीको परिवारमा त्यस्तो अवस्था देखेँ, यो अटिजम कसरी हुन्छ भनेर अटिजमको तालिम केन्द्रमा गएँ । अवलोकन गरें । गुगलमा खोजें ।

२०१५ मा यूनिर्भसिटी अफ मेलवर्नमा यसबारे अध्ययन भइसकेको थियो । त्यसपछि ६ जना चिकित्सक राखेर मोबाइलले डिजिटल अटिजम कसरी बनाउँछ र यसले कहाँसम्म लान्छ भनेर छलफल पनि गरेँ ।

उनीहरूले कसरी यसबाट बच्ने भनेर अध्ययन पनि गरेको पाएँ । कथा विकास गर्न अटिजमको सामना गरेकाहरूको उपचार गर्ने झण्डै १० विशेषज्ञसँग कुरा गरेपछि कथाको रेखी हालेर विकास गरें ।

३० जना बालमनोविज्ञान र साइकोकाउन्सिलिङ विशेषज्ञ यससँग जोडिने कानुन, पुलिससँग हाम्रो सबै टोलीले नै अध्ययन गर्‍यौं । हाम्रो निमार्ण टोली लगातार स्क्रिप्टमा बस्दै गएपछि सरल किसिम, नेपालीपनले कसरी मिठो कथामा चलचित्र बनाउन सकिन्छ भनेर निष्कर्ष निकालेपछि एक वर्ष अगाडिबाट शुटिङ सुरु गर्‍यौं ।

विभिन्न पात्रको चयन भयो । कथा त विकास भयो । पर्दामा कसरी उतार्ने भन्ने थियो । अहिले मुख्य पात्र आयुषी ढकाल हुनहुन्छ । जो सुरुमा भेट्दा आठ वर्षकी थिइन । अहिले ११ वर्षको भइन । मैले उनलाई भेटेपछि उनको पात्रबारे अध्ययन गरे । त्यसपछि झन् सरल भयो ।

चलचित्रलाई कत्रो भावनासम्म लाने भन्ने कुरा पात्रमा पनि भर पर्छ । त्यो मैले उनीमा पाएँ । उनको क्षमता अनुसारको कथा उर्तान सकेँ । मैले सोचेको जस्तो पात्रको अभिनय उनले गर्न सक्ने देखेपछि मलाई आत्मबल आयो । त्यसपछि कथा पर्दामा उतार्न टिग्रर भयो । उनले साच्चैँ मैले सोचेको भन्दा पनि राम्रो अभिनय गरिन् ।

यो काम गर्दै जाँदा बच्चालाई यो समस्या भएपछि समाजमा घुलमिल हुन गाह्रो भएको, स्कुलमा समस्या भोगेको यसको उपचारमा समस्या सबै देखेँ । सोचेको भन्दा पनि भयानक घटनाक्रम देखेँ । जसलाई जीवन्त रुपमा कथामा उतारेँ । मैले यो कथाबाट अलगै स्वाद पाएँ । मलाई यो विषय छानेकोमा गर्व पनि लाग्छ ।

सिनेमा आफैँमा बुलन्द आवाज हो । मैले यो विषय सिनेमाबाट भन्दा अझ बुलन्द हुन्छ भन्ने लाग्यो । किनकी, जसरी मदिरा र धुम्रपानको लतलाई स्वीकारी यसबारे जनचेतनाका कुरा उठ्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?