
काठमाडौं । शुक्रबारदेखि नेपाली हलमा घरेलु फिल्म ‘झिल्को’सहित ४ फिल्म रिलिज भएका छन् । अन्य ३ विदेशी फिल्ममा हलिउडको प्रतीक्षित ‘थन्डरबोल्ट्स’, दुई हिन्दी फिल्म ‘रेड २’ र ‘हिट : द थर्ड केस’ छन् ।
यादवकुमार भट्टराई निर्देशित ‘झिल्को’ले डिजिटल कुलतले बालबालिकामा पार्ने मनोसामाजिक असरको कथा भन्छ । देशभर ११६ शोसहित फिल्म रिलिज भएको जनाइएको छ ।
९० मिनेटको फिल्ममा आयुषी ढकाल, सुनिल पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जान्वी बस्नेत, जेनीश श्रेष्ठ र जेभीश श्रेष्ठ लगायतको अभिनय छ ।
हलिउड स्टुडियो मार्वलको प्रतीक्षित फिल्म ‘थन्डरबोल्ट्स’ले ९० प्रतिशत रटन टम्याटोजको रेटिङ प्राप्त गरेको छ । जेक श्रेयर निर्देशित फिल्ममा फ्लोरेन्स पग, सेबास्टियन स्ट्यान, राहेल वेइजको शीर्ष भूमिका छ । सरकारी मिसनमा जाने सुपरभिलेनको एक समूहलाई भर्तीको कथामा फिल्म बनेको छ ।
यो फिल्मको रनटाइम १२६ मिनेट छ । यो फिल्मलाई एक्सन, एड्भेन्चर र क्राइम जनरामा राखिएको छ ।
राजकुमार गुप्ता निर्देशित बलिउड फिल्म ‘रेड २’मा अजय देवगन, रितेश देशमुख र वाणी कपुरको शीर्ष भूमिका छ । यो क्राइम ड्रामा थ्रीलर फिल्मले भ्रष्टाचारको जालोलाई पर्दाफास गर्ने मिसनमा निस्किएको पात्रको कथा भन्छ ।
नानी र श्रीनिधी सेट्ठी अभिनित दक्षिण भारतीय फिल्म ‘हिट : द थर्ड केस’ पनि रिलिज भएको छ । शैलेश कोलनानु निर्देशित यो फिल्मलाई एक्सन, थ्रीलर र क्राइम जनरामा राखिएको छ । यो फिल्मको रनटाइम १५७ मिनेट छ ।
प्रतिक्रिया 4