+
+
Shares

नीति–कार्यक्रममा जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन

बैठकको कार्यसूचीमै लेखियो– अर्थमन्त्रीले दिनेछन् जवाफ

नीति तथा कार्यक्रममाथिको छलफल तथा जवाफका लागि विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाह खोजिरहेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रधानमन्त्री अनुपस्थित भएपछि विपक्षीहरूले लगातार नारावाजी र अवरोध गरेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३१ गते १०:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधिसभाको आजको बैठकमा दिने भएका छन्।
  • विपक्षी दलले प्रधानमन्त्री बालेन शाहलाई नीति तथा कार्यक्रममाथि छलफलमा उपस्थित हुन आग्रह गर्दै लगातार अवरोध गरेका थिए।
  • आजको बैठकमा नीति तथा कार्यक्रममाथि छलफलपछि संशोधनहरू निर्णयार्थ प्रस्तुत गरिने र विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पेस गरिने कार्यसूची छ।

३० वैशाख, काठमाडौं । सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिने भएका छन् ।

प्रतिनिधिसभाको आजको कार्यसूचीमै नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ अर्थमन्त्रीले दिने उल्लेख छ । आज बिहान तय भएको प्रतिनिधिसभाको दैनिक कार्यसूचीको दोस्रो नम्बरमा यो विषय छ ।

कार्यसूचीमा भनिएको छ, ‘सम्माननीय प्रधानमन्त्रीको तर्फबाट माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्माननीय राष्ट्रपतिले २०८३ वैशाख २८ गते सोमबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लिखित आ.व. २०८३/०८४ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिनुहुने ।’

नीति तथा कार्यक्रममाथिको छलफल तथा जवाफका लागि विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाह खोजिरहेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रधानमन्त्री अनुपस्थित भएपछि विपक्षीहरूले लगातार नारावाजी र अवरोध गरेका थिए ।

प्रधानमन्त्रीले नै नीति तथा छलफल माथिको प्रस्ताव सदनमा टेबल गर्नुपर्ने विपक्षीको माग थियो । पछि सभामुखको पहलमा भएको छलफलपछि विपक्षी दलहरू मन्त्रीलाई टेवल गर्न दिन तयार भए पनि छलफलमा तथा जवाफ दिन प्रधानमन्त्री उपस्थित हुनुपर्ने अडानमा रहेका थिए ।

प्रधानमन्त्रीलाई उपस्थित हुन रुलिङ गर्न उनीहरूले पटकपटक सभामुखसँग आग्रह गरेका थिए । सभामुखले प्रधानमन्त्रीको कार्यसूचीबारे आफूलाई जानकारी नहुने भन्दै त्यस्तो रुलिङ गर्न नसक्ने जनाएपछि विपक्षीले हिजो बैठक चल्न दिएनन् । विपक्षीको लगातारको अवरोधपछि सभामुखले आजका लागि बैठक स्थगित गरेका थिए ।

अब आजको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची छ । अर्थमन्त्रीले जवाफ दिएपछि सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।

आजै सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची पनि छ ।

त्यसपछि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पेस हुनेछ ।

प्रतिनिधिसभाको आजको बैठकमा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?