+
+
Shares

हिमाली क्षेत्रमै सरदरभन्दा बढी वर्षाको संकेत ‘चिन्ताजनक’

जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा हिमाली क्षेत्रमा पनि सरदरभन्दा बढी वर्षा र गर्मी हुने सम्भावना देखाएको छ । यसलाई विज्ञहरूले चिन्ताजनक भनेका छन् ।

विनोद घिमिरे विनोद घिमिरे
२०८२ जेठ ७ गते २१:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जल तथा मौसम विज्ञान विभागले २०८२ सालको मनसुन प्रक्षेपणमा हिमाली र पहाडी जिल्लाहरुमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण गरेको छ।
  • विज्ञहरूले हिमाली क्षेत्र जलवायु परिवर्तनको मारमा परिरहेकाले वर्षा तथा तापक्रम वृद्धिको संकेतले थप जोखिम बढाएको बताएका छन्।
  • सामान्यतया नेपालमा १३ जुनदेखि २ अक्टोबरसम्म मनसुन रहन्छ ।

७ जेठ, काठमाडौं । जलवायु परिवर्तनको असरले हिमालय क्षेत्र संकटमा परिरहेका बेला यस वर्षको मनसुन अवधिमा नेपालका हिमाली जिल्लाहरूमै सरदरभन्दा बढी वर्षा र गर्मी हुने सम्भावना देखिएको छ । हिउँ पर्ने ठाउँमा वर्षा र गर्मी सरदरभन्दा बढी हुने संकेतलाई विज्ञहरूले चिन्ताजनक मानेका छन् ।

जल तथा मौसम विज्ञान विभागले बुधबार सार्वजनिक गरेको २०८२ सालको मनसुन प्रक्षेपण नक्सामा मधेश प्रदेशका केही भूभागमा मात्र सरदर वर्षा हुने भनेर हरियो रंगले संकेत गरिएको छ । तर, पूर्वदेखि पश्चिमसम्मका अरू सबै भूभागमा हल्का नीलो र गाढा नीलो रंग देखिन्छ । यसले ती क्षेत्रमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको संकेत गरेको छ ।

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशी अनलाइनखबरसँग भन्छन्, ‘सरदरभन्दा बढी वर्षा हुने सम्भावना हिमाल पारीका जिल्ला मनाङ र मुस्ताङमा समेत देखिनु चिन्ताजनक हो ।’

नेपालको भौगोलिक बनावट अनुसार हिमाली र पहाडी क्षेत्रबाट पर्ने पानी बगेर तल झर्ने भएकाले त्यसले तराई/मधेशमा पनि जोखिम हुने सम्भावना देखाएको छ ।

‘नक्सामा माथि नीलो छ, तल हरियो भएकाले नर्मल जस्तो देखिन्छ । तर तराई नर्मल होइन, किनभने माथिबाट सोहोरिएर त तलै आउने हो नि,’ विभागका महानिर्देशक जोशी भन्छन् ।

विज्ञहरूका अनुसार हिमाली क्षेत्र जलवायु परिवर्तनको मारमा परेको छ । हिउँ पर्ने ठाउँमा पानी पर्ने र तापक्रम वृद्धिको असरले जमिनमा हिउँ रहिरहने अवधि घट्ने र हिमताल तथा पोखरीहरू फुट्ने गरेको छ । यसलाई जलवायु परिवर्तनका असरहरूको रूपमा हेरिएको छ ।

यहीबीचमा २०८२ सालको मनसुन प्रक्षेपणले नेपालको हिमाली क्षेत्र झन् बढी जोखिममा पर्ने सम्भावना देखिनु चिन्ताजनक भएको भूगर्भविद डा. बसन्त राज अधिकारी बताउँछन् । उनी भन्छन्, ‘हिमाल पारिका जिल्लामा पानी पनि बढी पर्ने अनि तापक्रम पनि बढ्ने हुनाले हिमाली क्षेत्र झन् जोखिममा देखिन्छ ।’

वर्षाको सम्भावना कहाँ कस्तो ?

२०८२ सालको १८ जेठदेखि १४ असोजसम्मको मनसुन ऋतुगत वर्षाको आकलन अनुसार सरदरभन्दा बढी वर्षा हुने सम्भावना ठाउँपिच्छे फरक–फरक छ ।

गण्डकी प्रदेशको अधिकांश भूभाग, कर्णाली प्रदेशको पूर्वी भूभाग र लुम्बिनी प्रदेशको उत्तरी भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ५५ प्रतिशतदेखि ६५ प्रतिशतसम्म रहेको विभागकी वरिष्ठ मौसमविद विभूति पोखरेल बताउँछिन् ।

यसैगरी सुदूरपश्चिम प्रदेशको दक्षिणी भूभाग, लुम्बिनी प्रदेशको पश्चिमी भूभाग, गण्डकी प्रदेशको उत्तर–पूर्वी भूभाग, बागमती र कोशी प्रदेशका उत्तरी भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत छ ।

बुधबार २०८२ सालको मनसुन प्रक्षेपण सार्वजनिक गर्दै विभाग ।

यस्तै मधेश प्रदेशका पूर्वी तथा दक्षिणी भू-भागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागको आकलन छ । देशका बाँकी भूभागमा भने सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशतसम्म छ ।

प्रि-मनसुन सिजनमै सरदरभन्दा बढी वर्षा भएकाले माटोको चिस्यान बढेको र मनसुनको सुरूवातमा हुने वर्षाले नै पहिरो जाने र गेग्रान बहाव बढाएर क्षति पुर्‍याउन सक्ने विभागकी वरिष्ठ मौसमविद विभूति पोखरेलको भनाइ छ ।

यस वर्ष २९ वैशाखमा पनौतीमा परेको मध्यम खालको वर्षाले नै एक महिलालाई बेपत्ता बनाएको थियो । खेतीयोग्य जमिन पुरिएर बालीनालीमा क्षति पुगेको छ । सडक र पुलहरू पनि बाढीले बगाएको छ ।

यसलाई झन् बढी पानी पर्ने मनसुन अवधिमा हुने विपत्तीको संकेतको रूपमा लिनुपर्ने विज्ञहरू बताउँछन् । त्यसैले मनसुनमा जनधनको क्षतिबाट जोगिन पूर्वतयारी र सतर्कताको कामलाई तीव्रता दिनुपर्ने मौसमविद सुदर्शन हुमागाईं बताउँछन् ।

विपत्तिको जोखिम

नेपालमा सामान्यतया १३ जुनमा मनसुन भित्रिएर २ अक्टुबरमा बाहिरिने गर्दछ । मनसुन भित्रिने र बाहिरिने गति सामान्य भएमा नेपालमा ११२ दिनसम्म मनसुन रहन्छ । यो अवधिमा वर्षभरि पर्ने पानीको करिब ८० प्रतिशतसम्म वर्षा हुन्छ । त्यसैले वर्षाले बालीनाली सप्रिए पनि बाढी, पहिरो र डुबान जस्ता विपत्तीले जनधनको क्षति पनि हुने गर्दछ ।

जल तथा मौसम विज्ञान विभागको मनसुन रिपोर्ट अनुसार २०८१ सालमा अति भारी वर्षा र उत्पन्न बाढीजन्य घटनाहरू अघिल्लो वर्षको तुलनामा झन्डै तीन गुणाले वृद्धि भएका थिए । भारी वर्षा र पहिरोको कारणले ३५१ जनाको र बाढीबाट मात्रै ९७ जनाको ज्यान गएको गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रकाशित गरेको विपद् बुलेटिनमा उल्लेख छ ।

राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार विगत १० वर्षलाई हेर्दामा मनसुन अवधिमा विपद्‍जन्य घटना र मृत्युदर पनि बढिरहेको छ । १० वर्षको अवधिमा औसतमा ८४२ वटा विपद्‍जन्य घटना हुने गरेको र २७४ जनाको मृत्यु हुने गरेको प्राधिकरणको तथ्यांक छ ।

तर गत वर्ष २०८१ सालमा मनसुनी विपदका कारण ४९५ जनाको मृत्यु र ६६ जना बेपत्ता भएका थिए । ४५ अर्बभन्दा बढीको भौतिक क्षति भएको थियो । त्यसैले प्राधिकरणका प्रवक्ता रामबहादुर केसी भन्छन्, ‘हामीले विगतबाट पाठ सिकेनौं भने यो वर्ष पनि उस्तै हुनसक्छ ।’

उनी यस वर्ष थप सतर्कताका साथ काम गर्न आपसी समन्वय, चुस्त सूचना आदानप्रदान एवम् राहत तथा उद्धार सामग्री जोहोमा जुटिरहेको बताउँछन् ।

लेखक
विनोद घिमिरे

घिमिरे अनलाइनखबर डटकमका डेस्क सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?