
News Summary
Generated by OK AI. Editorially reviewed.- काभ्रेमा मध्यम खालको वर्षापछि आएको बाढीले ठूलो क्षति पुर्याएको छ।
- गत वर्षको बाढीले क्षेत्रलाई कमजोर बनाएको र क्रसर उद्योगको अनियन्त्रित सञ्चालनले पनि क्षतिलाई बढाएको प्रारम्भिक अनुमान छ।
- मानवीय गतिविधि र प्राकृतिक कारणले मिलेर बाढी र पहिरोको जोखिम बढिरहेको छ।
३० वैशाख, काठमाडौं । काभ्रेमा मध्यम खालको वर्षापछि आएको बाढीले पनि ठूलो क्षति पुर्याएको छ । सोमबार अपराह्नको बाढीले पनौतीमा एक महिला बेपत्ता भइन् भने सडक, खानेपानी र कृषि क्षेत्र नराम्रोसँग प्रभावित भयो ।
त्यसको अध्ययनका लागि मौसम विज्ञान विभागका बाढीविज्ञ, कृषि प्राविधिक लगायतको टोली आज बिहान काभ्रे गएका छन् । विभागको मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाबाट विजय ढुकुछु नेतृत्वको टोली स्थलगत अध्ययनमा खटिएको छ । टोलीले अध्ययन प्रतिवेदन तयार पार्न बाँकी नै छ ।
यद्यपि, प्रारम्भिक अध्ययनमा भने यो घटना गत वर्ष असोजमा आएको बाढीसँग सम्बन्धित रहेको बाढीविज्ञको अनुमान छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीले अनलाइनखबरसँग भने, ‘गत वर्षको बाढीले सो क्षेत्र क्षतविक्षत पार्दा जमिन कमजोर भएको थियो । त्यसैले सोमबार मध्यम खालको पानी पर्दा पनि विनाशकारी बनेको हाम्रो प्रारम्भिक अनुमान छ ।’
वर्षा कस्तो थियो ?
सोमबार अपराह्न काभ्रेको खोपासी र रोशीमा मध्यम खालको वर्षा मापन भएको थियो । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार विगत २४ घण्टामा खोपासीमा ४३.४ र रोशीमा ४१ मिलिमिटर वर्षा मापन भएको थियो । यसैगरी बनेपामा तीन घण्टाको अवधिमा ३८ मिलिमिटर पानी परेको रेकर्ड छ ।
१० मिलिमिटरभन्दा बढी र ५० मिलिमिटरसम्म पानी पर्नुलाई मध्यम खालको वर्षा भनिन्छ । त्यसैले सोमबार काभ्रेमा भएको यो वर्षालाई मध्यम खालको भनिएको हो ।
‘पानी ठूलो परेको होइन । बनेपामा तीन घण्टामा ३८ मिलिमिटर वर्षा रेकर्ड भएको छ,’ बाढी पूर्वानुमान शाखा प्रमुख पराजुली भन्छन्, ‘गत असोजको बाढीले सेडिमेन्टहरु जम्मा गरेर गयो र अहिलेको पानी लेदोसहित बग्दा क्षति भयो ।’
गत वर्षको बाढीसँग सम्बन्ध
२०८१ साल असोज १० देखि १२ गतेसम्मको भीषण वर्षा तथा त्यससँगै आएको बाढीपहिरोले मानवीय र भौतिक क्षति गरेको थियो । काभ्रे जिल्लामा मात्रै ७८ जनाको मृत्यु, ६ जना बेपत्ता र ७९ जना घाइते भएका थिए । यसैगरी स्थानीयका घर, कृषि, पशु, शिक्षा, सडक, सञ्चार, खानेपानी तथा विद्युत् क्षेत्रमा पनि करोडौंको क्षति पुगेको थियो ।
काभ्रेमा यति धेरै क्षति हुनुमा क्रसर उद्योगलाई जिम्मेवार ठानिएको थियो । जिल्ला अनुगमन समितिको २०८१ माघ ९ गते बसेको बैठकले नदी तथा खानीजन्य क्रसर उद्योग र भौगोलिक विषमता बाढीपहिरोको मुख्य कारण रहेको निष्कर्ष निकालेको थियो ।
बाढी–पहिरो प्रभावित क्षेत्रमा पुनर्निर्माणको काम बाँकी नै छ । ठाउँठाउँमा माटो, ढुंगा र गेग्रान असरल्ल छन् । ती राम्रोसँग जमिनमा जमेर बसेका छैनन् । सो क्षेत्रमा रहेका क्रसर उद्योग पनि पुनः सञ्चालनमा आएका थिए । त्यसैले सोमबार पानी पर्दा लेदोसहितको बाढी देखिएको थियो ।
पनौती नगरपालिकाका मेयर रामशरण भण्डारीका अनुसार रोशी खोला र पुण्यमाता खोलाको बाढीले किनारका क्षेत्रमा क्षति पुर्याएको छ । पुण्यमाता खोला बनेपा पुलबजार हुँदै पनौतीतर्फ बग्छ ।
यसैगरी रोशी खोला महाभारत पहाड हुँदै पनौतीतर्फ आउँछ । ती दुई खोला पनौतीको त्रिवेणीघाट (बाह्रवर्षे मकर मेला लाग्ने ठाउँ)मा मिसिन्छन् । यी खोलाका बाढीले हरेक वर्ष बजार र बस्ती क्षेत्र डुबानमा पर्छ । साथै खेतीयोग्य जमिन कटान गर्ने र गिट्टी–बालुवाले पुरिने पनि गर्दछ ।
सोमबारको वर्षा र बाढीले पनि पनौतीका वडा नम्बर २ देखि ९ वडासम्मको क्षेत्रमा क्षति पुगेको मेयर भण्डारीले जानकारी दिए । उनका अनुसार १० नम्बर वडामा भने आंशिक क्षति पुगेको छ । आलु, गोलभेंडा लगायतका तरकारी खेती गरिएको क्षेत्र डुबानमा परे भने बाटोघाटो क्षतिग्रस्त भएका छन् ।
वडा नम्बर ४, ७ र ८ मा खानेपानी प्रणालीसमेत बगाएको छ । गत असोजको बाढीले पनि खानेपानी प्रणालीमा क्षति पुगेको थियो । अस्थायी मर्मत गरी पानी आपूर्ति गरिएकोमा सोमबार फेरि खानेपानीका पाइपमा क्षति पुगेको मेयर भण्डारीले जानकारी दिए ।
‘प्राकृतिक मात्र होइन, मानवीय गतिविधि पनि जिम्मेवार’
गत असोजमा आएको बाढीपहिरोले अत्यधिक क्षति गर्नुमा मापदण्ड विपरीत सञ्चालित खानी तथा क्रसर उद्योग पनि प्रमुख कारण थिए । जनजीवन सामान्य बन्दै गएपछि केही खानी तथा क्रसर उद्योगहरु पुनः सञ्चालनमा आएका थिए । मापदण्डविपरीत सञ्चालित केही खानी तथा क्रसर उद्योगहरु पनौती नगरपालिकाले बन्द पनि गराएको थियो ।
विपदविज्ञ डा. धर्मराज उप्रेतीका अनुसार नेपालमा बाढी केवल प्राकृतिक कारणले मात्र होइन, मानवीय गतिविधिका कारणले पनि विनाशकारी बन्ने गरेका छन् ।
‘नदीजन्य पदार्थको अनियन्त्रित दोहन र वन विनास हुनुमा मानवीय गतिविधि जिम्मेवार छन्,’ विपदविज्ञ उप्रेती भन्छन्, ‘त्यसलाई कम गर्न वैज्ञानिक अध्ययन, पूर्वसूचना प्रणाली, वन संरक्षण र नदी तथा खोलाको व्यवस्थापनमा लगानी आवश्यक छ ।’
काठमाडौं पनि जलमग्न हुनुमा नदी तथा खोला अतिक्रमणमा पर्नु, पानी निकासको वैज्ञानिक प्रबन्ध नहुनु र पानी सोस्ने जमिनको क्षमतामा ह्रास हुनुलाई मानिएको छ । त्यसैले हाम्रा निर्माणका काम पनि प्रकृतिमैत्री हुनुपर्ने डा. उप्रेतीको भनाइ छ ।
उनी भन्छन्, ‘काभ्रेमा बढी क्षति हुनुमा पनि मानवीय गतिविधि उत्तिकै जिम्मेवार हुनसक्छ, त्यसबारे थप कुरा वैज्ञानिक अध्ययनपछि मात्रै भन्न सकिन्छ ।’
प्रतिक्रिया 4