+

महिला क्रिकेट : ग्लोबल क्वालिफायरको खुसी र अबको चुनौती

२०८२ जेठ  ८ गते २२:३० २०८२ जेठ ८ गते २२:३०

कुनै बेला नेपाल समुह चरणबाटै बाहिरिने संघारमा पुगेको थियो । तर हङकङ र बहराइनबीचको समूहको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल भाग्यमानी बन्यो ।

महिला क्रिकेट : ग्लोबल क्वालिफायरको खुसी र अबको चुनौती

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले पहिलो पटक महिला टी२० विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाएको थियो ।
  • स्वदेश फर्किएपछि विमानस्थलमा केही खेलाडी भावुक भए।
  • मुख्य प्रशिक्षक मनोज कटुवालले आगामी चुनौतीको लागि टिमको सुधार र तयारी आवश्यक रहेको बताए।

८ जेठ, काठमाडौं । पहिलो पटक महिला टी२० विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाएर स्वदेश फर्किएपछि पूर्व कप्तान रुविना क्षेत्री बेलबासेले त्रिभुवन विमानस्थलमा सीता राना मगरसँग लामो समय अंकमाल गरिन् । त्यो क्षण केही भावुक समेत बनेको थियो ।

सीता नेपाली महिला क्रिकेटकी पहिलो पुस्ताका खेलाडी हुन् । जो हालसम्म पनि सक्रिय नै छिन् । तर चोटका कारण उनी यस पटक महिला टी-२० विश्वकप एसिया छनोट खेल्न गइनन् ।

पहिलो पटक एसिया छनोट पार गर्दै इतिहास रचेको टोलीलाई स्वागत गर्न सीता सहित अर्की पूर्व राष्ट्रिय खेलाडी करुणा भण्डारी पनि विमानस्थल पुगेकी थिइन् । राष्ट्रिय टिमका सबै खेलाडीसँग यी दुईले अंकमाल गरेपनि सीता र रुविना भने भावुक बनेका थिए ।

‘मैले सधैं सिनियर खेलाडीहरूकै लागि खेलिरहेको छु । उहाँहरू नहुनुभएको भए म हुने थिइन होला सायद’ रुविनाले सञ्चाकर्मीहरूसँग भनिन्, ‘चोटका कारण मिसआउट हुनुभयो । तर सधैँ हाम्रै वरपर हुनुहुन्थ्यो । हरेक दिन मेसेज गर्ने तिमीहरू क्वालिफाई भएर आउँछौ भन्ने’ रुविनाले कारण बताइन् ।

नेपाली महिला टोलीको लागि ग्लोबल क्वालिफायरमा पुग्नुले कति अर्थ राख्छ यो इमोसनल मोमेन्टले पनि प्रष्ट पार्छ ।

नेपालले सन् २००७ देखि अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको हो । पहिलो टिमकै सदस्य थिइन् सीता राना मगर । त्यसयता १८ वर्षको इतिहासमा महिला टोलीले पहिलो पटक एसिया छनोट पार गर्दै इतिहास रचेको छ ।

यसपटक नेपाललाई भाग्य, मिहिनेत, आलोचना, अपेक्षा, मोटिभेसन सबैले साथ दियो । जसको फलस्वरुप निर्णायक खेलमा युएईलाई हराएर नेपाल महिला विश्वकपको एक कदम नजिक पुग्न सफल भयो ।

कुनै बेला नेपाल समुह चरणबाटै बाहिरिने संघारमा पुगेको थियो । तर हङकङ र बहराइनबीचको समूहको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल भाग्यमानी बन्यो ।

नेपाली महिला टिमले पछिल्लो पटक लगातार अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेको थियो । तैपनि नतिजा आउन सकेको थिएन । तर विश्वकप छनोट जस्तो महत्वपूर्ण प्रतियोगितामा नेपालले इतिहास रच्दा यस पटक नतिजा पनि राम्रो आयो ।

यस पटक एसिया छनोटमा सहभागी ९ टिमलाई ३ समूहमा विभाजन गरिएको थियो नेपालको समूहमा हङकङ र बहराइन थियो । वर्षाका कारण धेरै खेललाई असर गर्‍यो ।

नेपाल र हङकङविरुद्धको पहिलो खेल वर्षाले रद्ध भएको थियो । नेपालले बहराइनविरुद्ध दुवै खेल जित्यो । तर हङकङसँग अर्को खेलमा पराजित भयो । बहराइनसँगको दुई खेल जित्नु नेपालको लागि अर्को भाग्य बन्यो ।

हङकङ र बहराइनबीच समूहको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल र हङकङको समान ५ अंक भएको थियो । तर धेरै खेल जित्ने टिम नै अघिल्लो चरणमा पुग्ने प्रतियोगिताको नियम रहेकोले दुई खेल जितेको नेपालले हङकङलाई पछि पार्‍यो । हङकङले नेपाल विरुद्धको एक खेल मात्र जितेको थियो भने तीन खेलमा वर्षाका कारण अंक बाँडेको थियो ।

नेपाली टिमको मिहिनेत र टिमवर्कको कारण नै यो सफलता हात पारेको कप्तान इन्दुले बताइन् ।

‘लामो समय (१८ वर्षपछि) यो सफलता हासिल गरेका छौं । सबैको मिहिनेत र परिश्रमले यो सफल भएको हो । आगामी दिनमा अझ यो भन्दा राम्रो सफलता दिने प्रयास गर्नेछौं’ उनले भनिन् ।

यस्तै हाल नेपाली टिममा सबैभन्दा सिनियर खेलाडीको रूपमा रहेकी रुविनाले यो खुशी व्यक्त गर्ने कुनै शब्द नै नभएको बताइन् । ‘एकदमै खुशी । के भन्ने विश्वास गर्न सकेको छैन । म सँग कुनै शब्द छैन । मैले भगवनासँग दुई दिनअघि प्रार्थना समेत गरेको थिएँ । २०२७ सम्म म कुर्न सक्दिनँ । यस पटक केही गर्दिनु भनेर’ रुविनाले भनिन्, ‘यसपटक जस्तो अवस्था आएपनि पहिलो दिन देखि नै हामी छनोट हुन्छौँ भन्ने टिममा एक खालको विश्वास थियो ।’

नेपाली महिला टिमका मुख्य प्रशिक्षक मनोज कटुवालले पनि धेरै खुशी रहेको सुनाए । ‘म आएपछि यो एक वर्ष दौरान एसिया कप खेल्यौं, ग्लोबल छनोटमा पनि पुग्यौं म एकदमै खुशी छु’ उनले भने ।

कटुवालले अहिलेको सफलताले नेपाली क्रिकेटमा ठूलो अर्थ राख्ने बताए । ‘यसले ठुलो अर्थ राख्छ । पहिलो पटक नेपाल ग्लोबल क्वालिफायर जाँदैछ । महिला सिनियर टिम अहिलेसम्म ग्लोबल क्वलिफायर पुगेको छैन’ उनले भने, ‘यसले सिनियर खेलाडी भन्दा पनि आउने पिडीलाई धेरै मोटिभेट गर्छ जस्तो लाग्छ । यसले गर्दा आउने दिनमा अझ रामरो नतिजा आउँछ जस्तो लाग्छ।’

निर्णायक खेलमा सिनियर खेलाडीको प्रदर्शन

इन्दु बर्माको नेतृत्वमा रहेको नेपालले सुपर थ्री मा सोमबार यूएईलाई ५ विकेटले पराजित गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेको हो । इन्दुको अविजित ३० र पूर्व कप्तान रुविनाले २३ रनको योगदान गरेपछि यूएईले दिएको ११५ रनको लक्ष्य नेपालले ३ बल अगावै ५ विकेट गुमाउँदै पूरा गरेको थियो ।

नेपाललाई ग्लोबल छनोट युएई विरुद्ध जित्नैपर्ने खेलमा यी दुई सिनियर खेलाडी चम्किए । उक्त खेलमा इन्दु र रुविनाले ३७ रनको साझेदारी गरे । कप्तान इन्दुले खेल जिताउँदा खुशी लागेको र अझ धेरै गर्न सकिने बताइन् । ‘पक्कै पनि खुशी लाग्छ । अझै राम्रो गर्न सकिन्छ । हरेक टुर्नामेन्टमा म लगायतमा सम्पूर्ण खेलाडीले हरेक दिन राम्रो प्रदर्शन गर्नुपर्छ जस्तो लाग्छ।’

यस्तै रुविनाले आफूले ठूलो म्याचमै रन बनाउनुपर्छ भनेर प्रतिक्षा गरिरहेको र अवसर पाउँदा प्रमाणित गर्न सकेको खुशी व्यक्त गरिन् ।

‘जब टिमले ठूलो प्लेअर भनेर जिम्मेवारी दिन्छ । लामो समयम मैले खेल्न नसक्दा पनि टिमले विश्वास गरेको थियो । मेरो लागि अवसर थियो । म कुरेर बसिराथे, कुनै न कुनै दिन त ब्याटिङमा पालो आउँछ भने’ रुविनाले भनिन्, ‘मलाई बिग डे मै राम्रो खेल्नु थियो । मैले प्रेसर भन्दा पनि अवसर मानेर खेलेँ । जीवनकै महत्वपूर्ण म्याच थियो । यसले भविष्य निर्धारिण गर्दै थियो । जस्तो बल आयो पनि लागेपछि चौका हुन्छ भन्ने थियो ।’

छैटौं नम्बरमा क्रिजमा गएकी रुविनाले सुरुदेखि नै आक्रमक खेल्दै नेपालको रनरेट बढाउन मद्दत गरेकी थिइन् । रुविना र इन्दुको पार्टनरसिपले नेपालको जितको आधार तयार गरेको थियो । इन्दुले म्याच फिनिस गर्दै कप्तानी प्रदर्शन गरिन् ।

ग्लोबल क्वालिफायरमा स्थान बनाइकेपछि नेपालले थाइल्याण्डविरुद्ध अन्तिम खेलमा बिना दबाब खेल्दै च्याम्पियन बन्ने लक्ष्य राखेको थियो । तर सुपर थ्री को अन्तिम खेलमा थाइल्याण्डसँग पराजित भयो । त्यस खेलबाट पनि नेपालले धेरै सिक्ने अवसर पायो ।

रुविनाले आफ्नो लागि अहिलेसम्मकै यो सबैभन्दा ठूलो क्षण भएको बताइन् । ‘यो भन्दा बेस्ट त अरु छैन । व्यक्तिगत माइलस्टोन मैले धेरै अचिभ गरेँ होला तर त्यो भन्दा यो छनोट हुनु ठूलो हो । त्यो क्षणमा छनोट हुन सक्यौँ । अबको यात्रा धैरै राम्रो हुनेछ’ रुविनाले भनिन्, ‘यत्रो वर्ष देखेको सपनाको बाटोमा छौँ । अब त्यो बाटोमा हिँड्ने असर पाएको छौँ । सपना देख्यो भने पूरा हन्छ । मैले सिकेको कुरा जस्तो सुकै अवस्थामा पनि हार नखानु, स्टे काल्म एण्ड फोकस । तपाईं आफ्नो काममा इमानदार हुनुहुन्छ भने गड इज देयर । गर्ड्स प्लान हो।’

कडा परिश्रमको नतिजा

नेपाली महिला टिमले पछिल्लो पटक लगातार अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेको थियो । तैपनि नतिजा आउन सकेको थिएन । तर विश्वकप छनोट जस्तो महत्वपूर्ण प्रतियोगितामा नेपालले इतिहास रच्दा यस पटक नतिजा पनि राम्रो आयो ।

‘सबैको कडा परिश्रमले यो नतिजा आयो । सबै जनाले हार्ड वर्क गरिराथे तर भनेअनुसार नतिजा आउन सकको थिएन । हरेक पटक केही न केही चुनौती भइरहेको थियो । हरेक पटक दु:खी हुँदै फर्कनुपरेको थियो । ग्लोबल क्वलिफायर हुन कुनै जोक होइन । हामी पूरा महिला टिम खुशी छौं’ कप्तान इन्दुले सफलताको कारण बताइन् ।

यस्तै यस पटक क्यानले पनि महिला क्रिकेटको लागि लामो समयमको तयारी गराएको थियो भने विभिन्न सिरिजहरूमा सहभागि गराएको थियो । त्यो तयारीले पनि सहयोग पुगेको इन्दुले बताइन् ।

यस्तै पूर्वकप्तान रुविनाले धेरै आलोचना र अपेक्षाले गर्दा पनि यस पटक टिमोटिभेट भएको बताइन् । ‘धेरै आलोचना । यो वर्ष धेरै गाली खायौं, गाली भन्दा मानिसकको अपेक्षा र आशा आशा कि महिला टिमले अब गर्नुपर्छ भनेर । पुरुष सिनियर टिमले र महिला यू१९ टिमले विश्वकप खेल्यो । त्यसले पनि मोटिभेट गर्‍यो’ रुविनाले भनिन्, ‘यू-१९ टिमले विश्वकप खेलेपछि प्रेसर पनि भयो । अब पनि गरेन भने कहिले गर्ने । हामीले गर्ने तयारीको कुनै दु:ख नहेरी जसरी पनि छनोट हुनुपर्छ भनेर लाग्यौं ।’

कोचिङ स्टाफहरूले पनि धेरै मिहिनेत गरेको र खेलाडीले पनि कहिल्यै पनि नो नभनी जिम्मेवारी लिएर खेलेकोले सफल भएको रुविनाले बताइन् ।

मुख्य प्रशिक्षक कटुवालले पनि क्यानले लामो समयमको बन्द प्रशिक्षण राखेकोले यस पटक तयारी राम्रो भएको र टिमले पनि मिहिनेत गरेको बताए । ‘हाम्रो टिमले राम्रो खेलेको थियो । क्यानले ४०-४५ दिन लामो बन्द प्रशिक्षण राखेको थियो । थाइल्याण्डको मौसम अनुसार हामीले भैरहवा र दिल्लीमा तयारी गर्‍यौँ । राम्रो टिमसँग प्राक्टिस म्याच पनि भयो । यस पटक कुनै खेलाडीहरू घाइते थिएनन्’ कटुवालले भने, ‘यसपटक नेपाली टिम राम्रो थियो । मिहिनेत पनि गर्‍यौं, क्यानले तयारीका लागि पनि धेरै समय दिएकोले राम्रो नतिजा आयो।’

यस्तै यस पटक नेपाली टिममा सल्लाहकर प्रशिक्षक र ट्रेनर समेत समावेश थियो । जसले गर्दा टिमलाई फाइदा पुग्यो । क्यानले महिला टी२० विश्वकप एसिया छनोटलाई मध्यनजर गर्दै भारतका मनिष झालाई महिला टोलीको सल्लाकार प्रशिक्षक नियुक्त गरेको थियो । रणजी टिमलाई प्रशिक्षण दिइसकेका अनुभवी प्रशिक्षक झाले सिक्किम र उत्तराखण्ड पुरुष टोलीको प्रशिक्षण सम्हालिसकेका छन् ।

झा प्रशिक्षक रहँदा उत्तराखण्ड महिला क्रिकेट टोली सन् २०२३-२४ को सिजनमा एकदिवसीय र टी२० ट्रफीको फाइनल पुगेको थियो ।

अबको चुनौती

एसिया छनोट पार गरेर पहिलो पटक ग्लोबल छनोटमा स्थान बनाउँदा नेपाल महिला विश्वकपको एक कदम नजिक त पुगेको छ तर विश्वकपमा पुग्न चुनौती पनि उत्तिकै छ । नेपालको असली परिक्षा अब सुरु हुनेछ ।

ग्लोबल छनोटमा नेपालसहित १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । जहाँ हरेक महादेशबाट छानिएका उत्कृष्ट टिमहरूले खेल्नेछन् । ग्लोबल छनोटको मिति र स्थान सार्वजनिक हुन बाँकी छ ।

ग्लोबल छनोटमा सहभागि टिमलाई दुई समूहमा विभाजन गरिनेछ । दुवै समूहको शीर्ष दुई टिमले सन् २०२६ जुन-जुलाईमा युकेमा हुने महिला टी-२० विश्वकप खेल्नेछन् ।

अहिलेसम्म ग्लोबल छनोटमा एसियाबाट नेपाल र थाइल्याण्ड, अमेरिका क्षेत्रबाट अमेरिकासहित पछिल्लो टी२० विश्वकपको प्रदर्शनको आधारमा बंगलादेश र स्कटल्याण्डले स्थान पक्का गरिसकेका छन् । अब युरोप र अफ्रिकाबाट समान दुई तथा इस्ट एसिया प्यासिफिकबाट एक टोली छनोट हुन बाँकी छ ।

नेपाल ग्लोबल छनोटका लागि अहिले देखि नै तयारी सुरु गर्नुपर्ने कप्तान र प्रशिक्षकको भनाई छ । कप्तान इन्दुले अझै पनि सुधार गर्नुपर्ने कुरा धेरै रहेकोले योजना बनाएर अघि बढ्नुपर्ने बताइन् ।

यस्तै पूर्व कप्तान रुविना क्षेत्रीले अब डबल मिहिनेत गर्नुपर्ने बताइन् । ‘अब कठिन टिम आउनेछ । ग्लोबल क्वालिफायरमा छनोट भयो । यो हुनु नै थियो । अब हामीले धेरै मेहेनत गर्नुपर्छ । यतिकै बसेर हुँदैन । विश्वकप खेल्ने हो भने डबल मिहिनेत गर्नुपर्छ’ उनले भनिन् ।

यस्तै मुख्य प्रशिक्षक मनोज कटुवालले टिममा फिल्डिङमा धेरै सुधार गर्नुपर्ने बताए । ‘अझै पनि हामीले फिल्डिङमा सुधार गर्नुपर्छ । ब्याटिङमा पनि अझै सुधार गर्नुपर्छ’ उनले भने, ‘ग्लोबल क्वालिफायरको लागि ५-६ महिनाको तयारी समय छ । भोलिदेखि नै हामी प्लान दिनेछौं’ उनले भने ।

प्रशिक्षक कटुवालले पछिल्लो समय नेपाली टिम राम्रो बन्दै गएकोले विश्वकपमा छनोट हुने सम्भावना रहेको पनि बताए । ‘म सम्भावना धेरै उच्च नै देख्छु । हामीले पहिला पनि युगान्डा, थाइल्याण्डसँग सिरिज खेल्यौं । उता गएर हङकङ, नामिबिया जस्ता टिमसँग पनि खेल्यौँ । थाइल्याण्ड हामीसँग छनोट भएको टिम हो । ग्लोबल क्वालिफायरमा पनि यीनै टिमहरूबाट आउने हो । यो हिसावले हेर्दा सम्भावना छ । यो टिमहरूलाई बिट गर्न सक्छौं र विश्वकप पुग्न सक्छौं भन्ने लाग्छ’ कटुवालले भने ।

कटुवालले नेपाले पछिल्लो समय एसिया कपदेखि विभिन्न सिरिजहरू खेल्दा राम्रो एक्सपोजर पाएको बताए । यस्तै अब ग्लोबल क्वालिफायर विश्वकपको अन्तिम खुड्किलो रहेकोले पनि क्यानले पनि चासोका साथ हेरिरहेको समन्वय गरिरहेको बताए ।

नेपाली महिला क्रिकेट टोली
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय