
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालको कम्युनिष्ट आन्दोलन र यसको ऐतिहासिक पृष्ठभूमि विस्तृत रूपमा विश्लेषण गरिएको छ।
- पुस्तकले भुइँमान्छेहरूको कथा र उनीहरूको संघर्षलाई उजागर गर्दै नेताहरूको विगत र वर्तमानको तुलना प्रस्तुत गर्दछ।
- कम्युनिष्ट पार्टीभित्रको विवाद, विभाजन र एकता, साथै भुइँमान्छेहरूको योगदानलाई समेटिएको यस पुस्तकले पाठकलाई गहिरो सोच्न प्रेरित गर्दछ।
राजनीति नीतिहरूको राजा हो, जसले समाजलाई मार्गदर्शन गर्छ । जब नीतिमा दूषण पैदा हुन्छ तब सामाजिक प्रदूषणले आकार लिन थाल्छ । आदर्शहरूको स्खलनले सैद्धान्तिक निष्ठालाई जति आघात दिन्छ, त्यसले पैदा गर्ने विचलनले युगलाई नै अन्धकार बनाइदिन्छ ।
आज हामीले देखिरहेका इतिहासका लिखित दस्तावेजहरू अर्धसत्य नै लाग्छन् । जब जीवन भोग्नेहरूले आफ्ना कहानी लेख्न थाल्छन् र समयको प्रतिविम्ब छातीबाट झिकेर सबैका अगाडि पस्किन थाल्छन् । त्यही अलिखित इतिहासको एक पटाक्षेप हो– भुइँमान्छेको कथा ।
निलम्बन
नेपालमा कम्युनिष्ट पार्टीको इतिहास जति पुरानो छ, त्योभन्दा पुरानो इतिहास आदिम साम्यवादी दर्शन छ । जसले हाम्रा सामाजिक मान्यतालाई अभिलेखन गर्दै वर्तमानसँग जोड्नु जरुरत छ । कम्युनिष्टको आदत कसरी स्थापित भयो भन्ने सन्दर्भमा भुइँमान्छेका कथाले संवरण गरिरहेको छ ।
नेकपा एमालेको वेबसाइटमा गएर हेर्यो भने ४१ जना स्थायी समिति सदस्यको नामावली देखिन्छ । यी ४१ जनामध्ये सबैभन्दा भुइँ (पुछार) मा भुइँमान्छे पुस्तकका लेखक डा. बिन्दा पाण्डे (निलम्बित) को नाम देखिन्छ ।
विद्यार्थी, महिला, ट्रेड युनियन लगायत आन्दोलनमा सधैं भुइँमान्छेका पक्षमा वकालत गर्ने डा. पाण्डे आफ्नो दल एमालेको पार्टी कार्यालय निर्माण गर्न विवादास्पद व्यापारिक घरानाबाट चन्दा लिनुहुँदैन भनेर बोल्दा पार्टीबाटै निलम्बनमा परिन् ।
६ पुस २०८१ मा ६ महिनाका लागि निलम्बनमा परेकी पाण्डेले यही समयको सदुपयोग गर्दै फागुन २०८१ फागुनमा आफ्नो किताब ‘भुइँमान्छे’ लोकार्पणको साइत जुराइन् ।
किताब तल्लो वर्गको पक्षमा लेखिएको यथार्थपरक त थियो नै, निलम्बन अवधिको समयमा प्रकाशित भएको हुनाले पनि लेखकका अन्य प्रकाशित कृतिभन्दा शायद यसले बढी चर्चा पायो । यद्यपि, किताब लेखनीको गर्भाधान नेकपा एमाले र एकीकृत समाजवादीको विभाजनको सँघारमा नै भएको देखिन्छ ।
यस्तो किताब लेख्छु भनेर गरिएको थालनी आफैंमा पवित्र थियो नै, किताबका तथ्यलाई निफन–नाफन पार्न लेखक पार्टीका स्थानीय अगुवाको सहयोग लिंदै गाउँका झुप्राहरूमा आफैं पुगेर उनीहरूको कुरा सुन्ने र तत्कालीन परिवेशलाई उजागर गरेको देखिन्छ ।
ऐतिहासिक दस्तावेज
पाँच खण्डमा विभाजित पुस्तकको पहिलो र दोस्रो खण्डमा नेपालको कम्युनिष्ट आन्दोलनको स्थापना कालदेखिका महत्वपूर्ण सवाल र ऐतिहासिक पक्षका विभिन्न आयामलाई केलाइएको छ । ऐतिहासिक तथ्यहरू यथासम्भव गलत नहुन् भनेर दोस्रो तहको स्रोतको प्रयोग धेरै स्थानमा गरिएको छ, जसले पाठकलाई आधिकारिकतामा द्विविधा गराउँदैन ।
कम्युनिष्ट पार्टीको स्थापना, प्रथम सम्मेलनदेखि मालेको चौथो महाधिवेशनसम्म आइपुग्दा मदन भण्डारीको उदय सहित त्यो बेलामा भएका कम्युनिष्ट पार्टी बीचका विवाद, टुटफुट, एकआपसका मनमुटाव, एकअर्कालाई कारबाहीको शृंखलाको फेहरिस्त छ । २०१५ सालमा कम्युनिष्ट पार्टीका उम्मेद्वार, विजेताका नाम र अवस्था समेत पुस्तकमा उल्लेख गरिएको छ ।
पुस्तकमा चर्चित झापा विद्रोहदेखि वर्ग सफाया आन्दोलन, को–अर्डिनेसन केन्द्र (कोके) देखि माले काल, मुक्ति मोर्चा लगायत पार्टीबीच एकता हुँदै अहिलेको एमालेको गठनसम्मको गहन विश्लेषण छ ।
एमाले र माओवादी बीचको लहडपूर्ण पार्टी एकता, त्यसपछि उत्पन्न विवाद र पुनः विभाजनलाइ सहज र सरल ढंगले प्रस्तुत गरिएको छ । एमाले समाजवादी विभाजन, विभिन्न समयका संसदीय र संविधानसभाको चुनावमा नेकपा एमालेको अवस्था र मुख्य राजनीतिक उतारचढावको बारेमा व्याख्या गरिएको छ ।
२०१७ सालको राजा महेन्द्रको सैनिक कुमा कम्युनिष्ट पार्टीको दृष्टिकोणदेखि देशका विभिन्न भागमा चलेका र चलाइएका किसान आन्दोलन, २०३६ को विद्यार्थी आन्दोलन, २०४६ र २०६२/६३ को जनआन्दोलनको बारेमा व्याख्या गरिएको छ । यसले नेपालमा कम्युनिष्ट आन्दोलनका विविध विषयमा संक्षिप्त रूपमा बुझ्न चाहनेलाई गतिलो खुराक छ ।
देशव्यापी किसान आन्दोलनका क्रममा गिरफ्तार भएर सुखानीको जंगलमा हत्या गरिएका शहीद, चर्चित नक्खु जेल ब्रेकको घटना, रत्न बान्तवा, ऋषि देवकोटा, नेत्र पौडेल लगायतको शहादतलाई पुस्तकमा छोटकरीमा भए पनि प्रस्तुत गरिएको छ ।
भुइँमान्छेका कथा
पुस्तकको तेस्रो, चौथो र पाँचौं खण्डमा भुइँमान्छेका कथा छन् । जसमा तत्कालीन को–अर्डिनेसन केन्द्र हुँदै नेकपा माले र हालको नेकपा एमाले गठनको सुरुवाती चरणदेखि यहाँसम्म ल्याइपुर्याउने सहयोगी, आश्रयदाता, योद्धा, शहीदहरूको प्रतिनिधिमूलक कथा छन् ।
धेरै भुइँमान्छेमध्ये केहीका व्यथा, उनका आवेग, आशा र निराशाका कथा हो । वर्गीय समाजमा वर्गीय माया नै चोखो र न्यानो हुन्छ । यी आशा र सपना देखाउन आफ्ना सारा निजी कुरा त्यागेर हिंडेका मुक्तिदातालाई आश्रय, सुरक्षा दिने, पालन गर्ने र आफू कुटिएर, मरेर पनि आफ्ना मुक्तिदाताको अहोरात्र सुरक्षामा खटिएका निस्वार्थी सर्वहारा कर्मवीरहरूको कथा हो ।
समाजमा दलित भनेर दुत्कारिएका, सबैभन्दा पुछारमा रहेका जातीय र वर्गीय उत्पीडनको दलनबाट मुक्त हुने सपना बोकेका तमाम निर्धाहरूको कथा हो । यो देशको कुनै एक वर्ग र समाजको मात्र नभई समग्र देश र प्रवासमा रहेकाहरूको सर्वहारा वर्गको नेतृत्वमा सुनौलो देश हुनेछ, स्वर्णिम दिन आउने आशामा आफ्नो व्यक्तिगत आकांक्षा र सपना थाती राखेर नेता र नेतृत्वलाई जोगाएका मान्छेहरूको कथा हो ।
यो कथा बिर्सिएका भुइँमान्छेको मात्र कथा होइन । यो कथा ठूला आलिसान महल, इमारत, सांस्कृतिक सम्पदा र भौतिक संरचनामा उभिएर त्यसको सुन्दरताको अनवरत वर्णन गर्नेहरूको कथा हो ।
निशाचरहरूका कथा
यो कथाले केवल आश्रयदाताको मात्र कथा भनेको छैन । सुनौलो भविष्य ल्याउन पढाइ, सम्पत्ति, परिवार सबै छाडेर आफूलाई पूर्णतः सर्वहाराकरण गर्दै, जनताको घरमा हली बस्दै, जनतामा उज्यालो चेतना छर्ने योद्धाहरूको कथा पनि हो । अहिलेका चिल्ला, सुकिला, ठूला गाडी चढ्ने, आलिसानमा बस्ने नेतालाई हेर्दै यी नेताले कामै गरेनन्, ब्याज मात्र खाए भनेर जसलाई दुत्कारिरहेका छौं, यो उनीहरूको पनि यथार्थ कथा हो ।
पुस्तकमा अहिलेको यो अवस्थासम्म ल्याइपुर्याउन यी नेतृत्वले कतिसम्म दुःख, हन्डर, कष्ट बेहोरेका थिए, त्यो कुरा सहज ढङ्गले अनुभूति गर्न सकिन्छ । आफ्ना सहयोद्धाले शहादत प्राप्त गरिरहँदा, केन्द्रीय नेतृत्व लगातार पक्राउ हुँदा एक जना जीवित रहेसम्म पनि क्रान्तिको झण्डा उठाइरहने प्रतिबद्धता हेर्दा यी त्यतिकै नेता भएका होइनन्, कठोर राप र तापबाट गुज्रेर यहाँसम्म आइपुगेका हुन् भन्ने अनुभूति दिलाउन पुस्तक सफल छ । यद्यपि उनीहरूले त्यो बेलामा जनतालाई देखाइएको सपना, आफूले बोकेको आदर्श अनुरूप आफूलाई कति रूपान्तरण गरे गरेनन्, राष्ट्रलाई त्यो मार्गमा हिंडाउन सफल भए भएनन्, त्यो छुट्टै विषय हो ।
भक्तबहादुरदेखि वीरबहादुर, चुमकलादेखि बालकुमारीका कथा
किताबले नेताहरूको विस्मृतिको गर्भमा गइसकेका धेरै योद्धा, आश्रयादातालाई पुनः जमीन खोतलखातल पारेर बाहिर निकालिदिएको छ । यसले कम्तीमा जो जीवित छन् उनलाई र जो मृत भइसके उनको परिवारलाई थोरै भए पनि सन्तोषको सास फेराएको छ । धेरैले अब हामी सधैंलाई सबैबाट बिर्सियौ भनेर चित्त बुझाउने परिस्थितिमा पुगिसकेको अवस्थाबाट एक पटक जलसिञ्चन भएर मूर्झाउन सफल भएको छ ।
मजदूर नेता भक्तबहादुरदेखि नक्खु ब्रेकपछि नेताहरूलाई सकुशल आफ्ना आश्रयस्थलसम्म पुर्याउने, सेल्टरको व्यवस्थापन गर्ने वीरबहादुर लामा, सानुकान्छा लामा लगायत अनेकानेक जीवन्त कथा छन् । नेताहरूलाई हरतरहले सुरक्षित गर्ने चुमकला बन्जाडेदेखि सम्पूर्ण जीवन नै पार्टीको काममा अर्पण गर्ने बालकुमारी थापाका कथा मात्र होइन, राम अवतार पासवान, कुस्मी कवरका त्यागका कथा छन् ।
माले पार्टी गठन गरिएको टेकबहादुर राईको घर मात्र होइन, पार्टीको चौथो महाधिवेशनको सिंगो घर नै निर्माण गर्ने सर्रे आम्बासका बलबहादुर सुनुवार र नारायणी, गण्डकी, लुम्बिनी र मेची, कोशीका अनेक आश्रयदाताको भूमिका उल्लेख गरिएको छ ।
काठमाडौं सबलबहालदेखि बारा, पर्सा, धनुषाका गरिब दुसाध बस्तीदेखि रूपन्देहीका विभिन्न दलित बस्ती, महोत्तरीको कालापानी, मकवानपुरको पाखेल, राईगाउ, चितवनको दराई बस्ती एवं धादिङ स्यादुलका विभिन्न स्थानको सहज र सरल व्याख्याले मानौं हामी पनि त्यहीं कतै नजिक बसेर त्यो सबै दृश्य हेरिरहेका छौं भन्ने अनुभूति दिलाउन पुस्तक सफल छ ।
एक सय तीन पैसा
पुस्तकमा धेरै प्रवृत्तिगत प्रसङ्ग उल्लेख छन् । यीमध्ये एक सय तीन पैसाको मार्मिक प्रसङ्गले कसरी पार्टी यहाँसम्म आइपुग्यो भन्ने उल्लेख छ । ललितपुरको कुनै दुर्गमस्थलका आश्रयदाताले आफूलाई खानको लागि फाँडो पनि नभएको अवस्थामा पार्टीलाई सहयोग गर्न जम्मा पारेको एक सय तीन पैसाको अमूल्य सहयोगको उल्लेख छ ।
यसले देखाएको अहम् सवाल अहिलेको पार्टी साना दुःखले स्थापित भएका होइनन्, लाखौं जनताको त्याग र समर्पणको उपज हो भन्ने कुराको पुष्टि गरेको छ । कोही एक उच्च घरानाबाट प्राप्त हुने लाखौंको सहयोग भन्दा श्रमजीवी जनताको यस्ता सहयोग महत्वपूर्ण हुने कुरा बताइएको छ । सायद यिनै प्रसङ्ग र स्कुलिङले बिन्दा पाण्डेहरूलाई निलम्बनको सौभाग्यपूर्ण यात्रामा हिंडाउन मद्दत पुर्यायो ।
तिता प्रसङ्ग
कम्युनिष्ट बीचको विवादमा फरक मतप्रतिको व्यवहार कतिसम्म तितो र अप्रिय हुन्छ भन्ने कुरालाई पुस्तकमा प्रष्टसँग देखाइएको छ । जसको नीति उसको नेतृत्व हुने कम्युनिष्टहरूको सर्वमान्य सिद्धान्त विपरीत दोस्रो महाधिवेशनपश्चात् हठात् पदच्युत गरिएका पुष्पलालको प्रसंग पुस्तकमा छन् ।
राजनीतिक स्वतन्त्रता कि पार्टी स्वतन्त्रता विवाद, एक्स र वाई सिद्धान्तमा वाई सिद्धान्तका प्रणेता मणिलाल राईहरूलाई गरिएको व्यवहारको प्रसंग पुस्तकमा उल्लेख छ । साथै तत्कालीन अखिल (पाँचौं) का दुई पटक अध्यक्ष भइसक्नुभएका टंक कार्की र फरक मतवालालाई अन्य सबैलाई गडबडियाको संज्ञा दिंदै राजनीतिक करिअर नै समाप्त पारिदिनेसम्मका कुरा र जनमत सङ्ग्रह जस्तो अहम् सवालमा समयमा नै गर्नुपर्ने निर्णयमा नेतृत्व अलमलमा परेको कुरा नलुकाई पस्किइएको छ ।
फरक मत पार्टीमा दर्ज गराएबापत गोपाल शाक्यमाथिको ज्यादतीदेखि पार्टीका भूमिगत नेतामा भएको यौन विचलनका कुरा समेत पुस्तकमा समावेश छ । यस अर्थमा यो पुस्तकले सकेसम्म त्यो बेलाका घटना, दुर्घटना, विवाद, तिक्तता र त्यसबाट सिर्जित समस्यालाई यथार्थ रूपमा देखाएको छ ।
आफूले मानेका, आश्रय दिएका नेता राजकीय सत्तामा पुग्दा पटक–पटक भेट्न प्रयत्न गर्दा सामान्य भेटसम्म नपाएर अत्यन्त दुःखित हुँदै फर्किएको एक होइन अनेक घटना पनि राखिएको छ ।
पठनयोग्य पुस्तक
नेपालको वाम राजनीतिमा सामान्य मात्रै पनि रुचि हुनेका लागि यो पुस्तकले धेरै जानकारी दिन्छ । त्यसमा पनि अहिले कम्युनिष्ट पार्टीको शीर्ष नेतृत्वमा पुगेका तर विगत बिर्सिएर आफ्नै संसारमा रमाएका नेताहरूले यो पुस्तक अनिवार्य पढ्नुपर्ने देखिन्छ । ताकि, आफ्ना विगतका ती दिन सम्झँदै पुनः भुइँमान्छेका पक्षमा लाग्न सकून्, आफ्नो धरातल सम्झन सकून् । आजको युवा पुस्ताको लागि हिजोको कठिन अवस्थाको लागि पठनीय सामग्री हुन सक्छ ।
किताबमा कैयौं प्रसंग दोहोरिएका छन्, शायद सिलसिला मिलाउन यसो गरिएको पनि हुनसक्छ, त्यसलाई घटाउन सकिन्थ्यो । मलाई सबैभन्दा खट्किएको कुरा चाहिं किताबमा भएका कैयांै घटनाक्रम र ऐतिहासिक पक्षलाई पुष्टि, पुनर्पुष्टि गर्न शीर्ष नेतृत्वमध्ये अधिकांश अमृत बोहराको सहारा लिइएको छ ।
उहाँको पुष्टिप्रति कुनै शंका छैन तर यी तथ्य र कैयौं विवादका विषयमा त्यो बेलाका संस्थापक नेता सीपी मैनाली, माधवकुमार नेपाल, मोहनचन्द्र अधिकारी, झलनाथ खनाल, मणिलाल राई, भर्खर दिवंगत हुनुभएका नेता प्रदीप नेपाल, अशोक राई लगायतबाट समेत पुष्टि गराइएको भए अझै घनीभूत देखिन्थ्यो ।
किताबले यी तमाम भुइँमान्छेको तर्फबाट आफ्ना नेता र नेतृत्वले ती दिन, आफ्ना सपना, लक्ष्य आदि बिर्सिएको तितो यथार्थता देखाउन सफल भएको छ । व्यक्तिगत रूपमा आफूलाई केही नचाहिएको तर आम जनताको लागि आगामी दिनमा घनीभूत भएर नेतृत्व वर्ग लागिरहून् भन्ने ठूलो अपेक्षा गरिएको छ ।
मानिस स्वभावले नै स्वार्थी छ, स्वार्थी मानिसले यी कुरा बिर्सन्छ पनि तर उज्याला आशा देखाउँदै हिंडेका अगुवाले यी भुइँमान्छेका कथा बिर्सनुहुँदैन भन्ने सुन्दर सन्देश किताबले बोकेको छ । भुइँमान्छेका पक्षमा निरन्तर लागिरहन अहिलेका तमाम वाम नेतृत्वलाई यसले झक्झकाउन सफल भएको छ ।
प्रतिक्रिया 4