
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा बाढी, पहिरो र अन्य विपद् प्रकोपहरू बारम्बार हुने गरेकोले दीर्घकालीन र दिगो समाधानका लागि परम्परागत ज्ञान र प्रकृति-आधारित उपायहरू अवलम्बन गर्न आवश्यक छ।
- विपद् जोखिम न्यूनीकरणमा केवल भौतिक संरचनामा मात्र होइन, प्रकृतिसँगको सन्तुलन कायम राख्ने र पञ्चतत्त्वीय दर्शनलाई समावेश गर्नुपर्छ।
- सरकार र समुदायले परम्परागत अभ्यास, वैज्ञानिक विधि र प्राकृतिक सन्तुलनलाई समन्वय गरी दीर्घकालीन र समावेशी विपद् व्यवस्थापन रणनीति अपनाउनु आवश्यक छ।
बर्खाको सुरुवातसँगै प्रि–मनसुन वर्षाले विभिन्न स्थानमा बाढी, पहिरो तथा सडक अवरुद्ध जस्ता समस्या सिर्जना गरेको समाचार आउन थालेका छन्। यदि यही गतिमा साना–साना जोखिमहरू समेत सामना गर्न सक्ने क्षमता कमजोर हुँदै जाने हो भने, भविष्यमा सम्भावित ठूला विपद्हरूसँग कसरी जुझ्न सकिएला?
जलवायु परिवर्तन, अव्यवस्थित विकास र अनियन्त्रित बसोबासका कारण उत्पन्न भइरहेका विपद् जोखिमहरूको समाधान केवल भौतिक संरचनाको निर्माणमा सीमित सोचबाट सम्भव छैन। यसका लागि हामीले विगतमा हाम्रा पुर्खाहरूले कसरी जोखिमको पहिचान गर्थे र न्यूनीकरणका उपायहरू अपनाउँथे भन्ने विषयमा पनि गम्भीर अध्ययन र अनुकरण गर्नु आवश्यक छ।
सनातन कालदेखि नै मानव समुदायले प्रकृतिसँग सन्तुलन र सहअस्तित्वमा जीवनयापन गर्दै आएको तथ्यलाई बुझ्न र आत्मसात् गर्न आजको सन्दर्भमा झनै जरूरी भएको छ। केवल प्रविधिमा आधारित समाधानले मात्र दिगो विपद् व्यवस्थापन सम्भव नहुने हुँदा, सांस्कृतिक ज्ञान, पारम्परिक अभ्यास र स्थानीय सन्दर्भको समुचित समायोजनमा आधारित दृष्टिकोण आवश्यक छ।
वैदिक दर्शन अनुसार सृष्टिको मूल आधार पाँच तत्त्वहरू पृथ्वी, जल, अग्नि, वायु र आकाश हुन् र समस्त प्रकृति र मानव शरीर यी पाँच तत्त्वहरूबाट बनेको मानिन्छ। जब यी तत्त्वहरू सन्तुलनमा रहन्छन्, तब जीवन र वातावरण स्थिर र समुन्नत हुन्छ। यदि, यी तत्त्वहरूमा असन्तुलन भए विभिन्न विपद्को कारण बन्दछ।
नेपालमा भूकम्प, पहिरो, बाढी, चट्याङ, हावाहुरी, महामारी तथा अन्य विपद्हरूबाट मानवीय लगायत ठूलो मात्रामा आर्थिक-सामाजिक क्षति भइराखेको छ। हरेक वर्ष जस्तो आउने आपद्-विपद्ले दीर्घकालीन सामाजिक र आर्थिक विकासमा गहिरो प्रभाव पारिरहेको कुरा सर्वविदितै छ। २०७२ सालको विनाशकारी भूकम्प नेपालको इतिहासमै सबैभन्दा बढी आर्थिक क्षति पुर्याउने विपद्हरूमध्ये एक हो।

उक्त भूकम्पबाट करिब ९ हजार जनाको मृत्यु भयो भने २२ हजार भन्दा बढी घाइते भए। भौतिक पूर्वाधार, घर, विद्यालय, अस्पताल र सम्पदाहरू नष्ट हुँदा करिब १० खर्ब रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको थियो। त्यसैगरी गत वर्षको बागमती प्रदेशको बाढी-पहिरो, जाजरकोट र डोटी भूकम्पबाट जन-धनको ठूलो क्षति भयो।
बर्सेनि जाने बाढी तथा पहिरो नेपालमा हुने प्रमुख विपद्हरूमध्ये पर्दछ। केही दशक यताको अव्यवस्थित बस्तीहरूको बिस्तारले गर्दा सानो पानी पर्दा समेत पानी जम्ने, डुबान लगायतले जनजीवन अस्तव्यस्त बनाउने गरेको छ। पहाडमा सडक निर्माणमा जथाभावी भारी उपकरणको प्रयोगले पहिरोका घटनाहरू बढाइरहेको छ।
कृषि क्षेत्र, साना तथा मझौला उद्योग र पूर्वाधारमा गम्भीर असर पुर्याइरहेको छ। प्रत्येक वर्ष बाढीबाट करोडौं रुपैयाँ बराबरको कृषि उत्पादन नष्ट हुने गरेको छ। साथै, हरेक वर्ष जस्तो हजारौं परिवारलाई आफ्नो थातथलोबाट विस्थापित बनाइरहेको छ। चट्याङ, हावाहुरी र आँधीबेहरी जस्ता घटनाहरूले मानवीय क्षति लगायत व्यक्तिगत सम्पत्ति, विद्युत् पोल, टेलिकम टावर, बाली, घर हरेक वर्ष जस्तो क्षति भइरहेको छ।
नेपालमा चट्याङका घटनाहरू चिन्ताजनक रूपमा वृद्धि भइरहेका छन्। ९ वैशाख २०७९ देखि २०८० चैत ३० सम्मको अवधिमा २९० वटा चट्याङका घटनाहरूबाट ८४ जनाको मृत्यु र २३८ जना घाइते भएको सरकारी तथ्याङ्कमा पाइन्छ। रोगब्याध र महामारीबाट पनि समाज र अर्थतन्त्रमा गहिरो असर पुर्याउने गरेको छ।
केही वर्षअघिको विश्वव्यापी महामारी (कोभिड–१९) ले पर्यटन, व्यापार, रोजगारी र सेवा क्षेत्रमा गम्भीर प्रभाव पारेको थियो। लामो समयसम्मको बन्दाबन्दी र आर्थिक गतिरोधका कारण लाखौं मानिस बेरोजगारी र चरम गरीबीमा धकेलेको थियो ।
यी तथ्य र प्रमाणले देखाउँदछ कि नेपालमा विपद्ले गर्दा देशको कुल गार्हस्थ्य उत्पादनमा प्रत्यक्ष असर पर्ने गरेको छ। सरकारले पुनर्निर्माणमा ठूलो धनराशि खर्च गर्नुपर्ने भएकोले विकासका अन्य क्षेत्रहरू प्रभावित हुने गरेका छन्। तसर्थ, विपद् व्यवस्थापनमा माटो सुहाउँदो, प्रकृतिसँगै सामञ्जस्य मिलाउने र कम खर्चिलो र मौलिक रणनीति अपनाउनु अत्यन्तै आवश्यक छ।
नियमित जस्तै भएको विपद्ले मानव अस्तित्वमै खतरा निम्त्याइरहेको अवस्थामा प्रकृतिसँगको सहअस्तित्वको बाटो रोज्नुपर्छ। अब, प्रकृतिको अविवेकी दोहन रोकेर, संयमित र पारस्परिक सहयोगीको सम्बन्ध कायम गर्नुपर्दछ।
नेपाल जस्ता विशिष्ट भूगोल र सामाजिक बनोट भएका मुलुकहरूले विना सोचविचार विकसित राष्ट्रहरूको विकासको मोडेल अनुकरण गर्दा गम्भीर पारिस्थितिक सङ्कटको सामना गर्नु परिरहेको छ। केवल भौतिक संरचनाहरूमा मात्र जोड गरेर दीर्घकालीन समाधान सम्भव छैन। त्यसैले अब वैदिक चिन्तनमा आधारित, प्रकृतिसँग सन्तुलन सृजना गर्ने समाधानहरूतर्फ ध्यान दिनुपर्दछ।

वैदिक दृष्टिकोणले प्रकृतिलाई पूजा गर्ने, संरक्षण गर्ने र समन्वयमा बाँच्ने शिक्षा दिन्छ। यस्ता समाधानहरू कम खर्चिलो, स्थानीय स्रोतमा आधारित र वातावरणमैत्री हुन्छन्, जसले हाम्रो दिगो भविष्यको लागि पनि सहयोग पुर्याउँछ।
पृथ्वी तत्त्वको असन्तुलनले भूकम्प र पहिरो जस्ता भौगर्भिक र भौगोलिक प्रकोप निम्त्याउँछ। अनियन्त्रित भू-प्रयोग, डढेलो र अव्यवस्थित भू-उपयोगका कारण हरेक वर्ष पहिरो र भू-स्खलन जस्ता घटनाहरू बढिरहेका छन्। जल तत्त्वको सन्तुलन बिग्रिंदा बाढी र डुबान जस्ता विपद् हुन्छन्। अग्नि तत्त्व असन्तुलित हुँदा आगलागी र डढेलो जस्ता घटनाहरू भइरहेका छन्। वायु तत्त्व असन्तुलनले हावाहुरी, चट्याङ र वायु प्रदूषण बढिरहेको देखिन्छ।
आकाश तत्त्व/मौसमको असन्तुलनले शीतलहर, लू र गर्मीको लहर लगायत घटनाहरू बढिरहेका छन्। सरकारी तथ्याङ्क अनुसार, विगत १० वर्षमा नेपालमा मौसमी विपद्का कारण ३ हजार ५२ जनाको मृत्यु भएको छ, ७९१ जना बेपत्ता र ४ हजार १७६ जना घाइते भएका छन्। बाढी, पहिरो, चट्याङ, भारी वर्षा, आगलागी, शीतलहर, हिमपहिरो, महामारी र डढेलो जस्ता विविध विपद्का ८ हजार ४४१ घटना रिपोर्ट भएका छन्, जसबाट ८५ हजार ६४६ परिवार प्रभावित भएका छन्।
आगलागी मात्रै हेर्ने हो भने २०७० देखि २०७९ सम्म १८ हजार ७९१ घटनाहरू भएका छन्, जसमा ७६९ जनाको मृत्यु, २ हजार ५६८ जना घाइते र २२ अर्ब २३ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ। यी सबै घटनाको मूलमा कतै न कतै पञ्चतत्त्वको असन्तुलन देख्न सकिन्छ।
पञ्चतत्वीय दर्शनले विपद् व्यवस्थापनमा एक समग्र र दिगो दृष्टिकोण प्रदान गर्दछ। पृथ्वी, जल, अग्नि, वायु र आकाश पाँच तत्त्वहरू हाम्रो जीवन मात्र होइन, हाम्रो वातावरण र समाजसँग पनि गहिरो रूपमा जोडिएका छन्। विपद्का कारणहरू यिनै तत्त्वहरूको असन्तुलनसँग सम्बन्धित छन्। पृथ्वी तत्त्वसँग सम्बन्धित भू-उपयोगमा प्राकृतिक र परम्परागत ज्ञानको समावेशले भूमिको सन्तुलित उपयोग सम्भव हुन्छ।
जलस्रोतको संरक्षणद्वारा बाढी, सुख्खा जस्ता जलजन्य प्रकोप न्यूनीकरण गर्न सकिन्छ। वायु तत्त्व सन्तुलनका लागि हरियाली प्रवर्धन, खुला स्थानको संरक्षण र प्रदूषण नियन्त्रण अनिवार्य छन्। आकाश तत्त्वको सन्दर्भमा भने, मौसमको पूर्वानुमान र सूचना प्रणालीको प्रयोगले पूर्व तयारीलाई प्रभावकारी बनाउन सहयोग पुर्याउँछ।
आधुनिक विपद् व्यवस्थापनले अब भौतिक पूर्वाधार निर्माणमा मात्र ध्यान केन्द्रित नगरी, प्रकृति-आधारित समाधान र पूर्वानुमान प्रणालीमा जोड दिनुपर्दछ। यस सन्दर्भमा, प्रकृतिसँगको सहअस्तित्वमा आधारित परम्परागत ज्ञान र अभ्यासहरू अझ सान्दर्भिक बनेका छन्। हाम्रा पुर्खाहरूले वातावरण, मौसम र भौगोलिक अवस्थालाई बुझेर जीवनशैली अपनाएका थिए।
समकालीन नीति तथा कार्यक्रमहरूले अब वैज्ञानिक विधि, परम्परागत ज्ञान र पञ्चतत्वीय समन्वयलाई आत्मसात् गर्न अपरिहार्य भएको छ। प्रकृतिमा आधारित विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि पञ्चतत्त्वको दर्शनलाई व्यवहारमा उतार्नु समयको माग हो। हाम्रो शरीर पञ्चतत्त्वको सन्तुलनमा टिके जस्तै समाज र वातावरणको दिगोपना पनि यिनै तत्त्वहरूको सन्तुलनमा निर्भर रहन्छ।
यदि हामीले विपद् जोखिम न्यूनीकरणका उपायहरूमा पञ्चतत्वीय दर्शनलाई समावेश गर्न सक्यौं भने, दीर्घकालीन रूपमा दिगो र समावेशी समाधानको मार्गमा लम्कन सकिन्छ। यसका लागि सरकारले नीतिनिर्माणमा पञ्चतत्त्वको समन्वयकारी दृष्टिकोणलाई अवलम्बन गर्नुपर्छ, समुदायहरूले परम्परागत ज्ञानको पुनर्जागरणतिर लाग्नुपर्दछ। अब विज्ञान र परम्पराको संयोजन मार्फत नेपालको विपद् जोखिम न्यूनीकरण क्षमतामा आमूल परिवर्तन ल्याउन ढिला गर्नुहुँदैन। यस दिशामा सार्थक पहलका लागि सबै तहका सरकार, नीतिनिर्माता, अनुसन्धानकर्ता र समुदाय अग्रसर हुन जरूरी छ।
(संयुक्त राष्ट्रसंघमा कार्यरत लेखकका यी निजी विचार हुन्।)
प्रतिक्रिया 4