+
+
Shares

आख्यान कि गैरआख्यान ?  

मनुष्य जातिले प्रतिपादन गरेका यावत् विचार र सिद्धान्त जति नै समृद्ध भएतापनि तार्किक क्षेत्रफलमा मात्र आबद्ध भए भने तिनीहरू विषालु र घातकसिद्ध हुन्छन्। कुनै पनि विचार त्यतिबेला मात्र व्यवहारमा प्रदर्शित हुन्छ जतिबेला त्यसले मानवीय संवेदनाबाट शक्ति प्राप्त गर्छ।

कञ्चन बस्नेत  कञ्चन बस्नेत 
२०८२ वैशाख २७ गते ९:५५

यो लेखिरहनु भन्दा चार–पाँच महिना अघिको कुरा हो।  हामी केही साहित्यानुरागी, त्यस्तै विद्यार्थी, दर्शनानुरागी मित्रहरू सामाजिक सञ्जाल इतर पहिलो पटक भेट भएका थियौं। यस प्रकारको भेटघाटलाई हात मिलाउनु, गफ गर्नु, चिया/कफी पिउनु जस्ता अतिसरल क्रियापदहरू मात्र कैद गर्न सकिंदैन। यदि भेटघाटमा आध्यात्मिक यात्रा (Spiritual Journey) जस्तो अत्यावश्यक विषय सम्मिलित भएन भने जति नै सुन्दर क्रियापदले सौन्दर्य थप्न खोजे पनि उक्त भेटघाट नीरस हुने गर्छ।

सोही यात्राको अभिक्रममा मलाई एक जना दर्शनानुरागीले प्रश्न सोध्नुभएको थियो– “कसरी गैरआख्यान भन्दा आख्यानले सत्य समाहित गरेको हुन्छ ?”

त्यस भेटघाटको लामो समय पश्चात् तिनै मित्रहरूसँग पुन: भेट भयो।  पत्रमञ्जुषा ( पत्रमञ्जुषा एउटा साहित्यिक अनलाइन पत्रिका हो) ले रसियन हाउसमा आयोजना गरेको पुस्तक विवेचना कार्यक्रममा सोही प्रश्न अन्य मित्रहरूले पनि सोधेका थिए। त्यसपछि मलाई लाग्यो, यो प्रश्न साधारण मात्र होइन र यसबारे केही लेखिनु आवश्यक छ।

धेरै वर्ष पहिला मलाई श्रवण मुकारुङको बिसे नगर्चीको बयान नामक कवितासंग्रह पढ्ने अवसर जुरेको थियो। एकपटक सबै कविताहरू पढिसके पश्चात् मैले सीके लालले लेख्नुभएको सो किताबको भूमिका पढें। सीके लालको लेखनबाट सधैं चमत्कृत हुने म फेरि अर्को पटक चमत्कृत बन्न पुगें। भूमिका लेख्दै जाँदा सीके लालले एकठाउँमा लेखकलाई सम्झाए झैं गरी प्रश्न गर्नुभएको थियो– कविता भन्दा शक्तिशाली पत्रकारिता अन्य के होला र ? तार्किक रूपमा उहाँको तर्क बुझे पनि सो तर्कलाई सजीव रूपमा मेरो अगाडि उभ्याउन मलाई केही वर्ष लाग्यो। यसपश्चात् मैले साहित्य, कला र आख्यानको महत्व प्रष्टताका साथ बुझ्न थाले झैं लाग्यो।

कहिलेकाहीं म आफ्नो वरिपरि तथाकथित बौद्धिक वर्गहरू देख्छु। शब्दहरू र त्यसको ताल (Rythm) सँग राम्रोसँग खेल्न सक्ने क्षमता आर्जन गरेका ती व्यतित्वहरूको जीवन भने ती तालयुक्त शब्दहरूको विरोधमा खडा भएको पनि देख्छु। विचार, तर्क र दर्शनहरूलाई आफ्नो जिब्रोमा कण्ठस्थसँग खेलाउन सक्ने तर सोही विचारले हात–खुट्टामा लगाम लगाउन नसकेको कठोर विरोधाभाषले मलाई आजसम्म पनि झकझक्याइराख्छ। आफूले बलियोसँग पक्रिएर प्रस्तुत गरेका तर्कहरूमाथि नै व्यावहारिक अविश्वास गरिसकेपछि ती तर्कहरू सत्य भनिनयोग्य छन् होलान् र?

कुनै पनि विचार या तर्क, साधारण रूपमा कतिबेला पूर्ण हुन्छ अथवा सत्य भनिन योग्य हुन्छ ? हामीले हाम्रो अध्ययनको क्रममा, छलफलको क्रममा, प्रश्नोत्तरको क्रममा कति धेरै सङ्ख्यामा विचारहरूको जन्म भइरहेको हुन्छन् ? तीमध्ये कति विचारहरूले हामीलाई लामो समयसम्म सोचमग्न बनाउँछ? कति विचारहरूले हाम्रो  सोच्ने तरिका, व्यवहार र जीवनदर्शन बदल्न सक्छ होला?

विचार त्यतिबेला मात्र पूर्ण हुन्छ, जतिबेला त्यसलाई हामी मस्तिष्कको एक तह अगाडि बढेर हृदयले ग्रहण गर्छौं। अझ स्पष्ट भएर भन्दा, कुनै पनि विचारको अर्थग्रहण हाम्रो परिपक्वताको आधारमा हुन्छ। त्यस्ता विचारहरू कमै मात्र हुन्छन्, जसले हामीलाई लामो समयसम्म सोच्न बाध्य बनाउँछन्। र हामीलाई तिनै विचारले मात्र सोच्न बाध्य बनाउँछन् जो हाम्रो हृदयले ग्रहण गर्छ। ती बाहेकका अन्य विचारहरू हामी कुनै बेला बौद्धिक विवाद (संवाद हैन) को तापको संयोगमा आफ्नो तर्कलाई विजयी बनाउन प्रयोग गर्छौं।

त्यसो भए तर्क, विचार या ज्ञानलाई महसुस गर्नका लागि सर्वोपरि माध्यम के होला त ? डेनमार्कका अस्तित्ववादी दार्शनिक सोरेन किरकिगार्डले आफ्नो मुख्य दार्शनिक कृति “आइदर/अर” को पहिलो भोल्युममा मोजार्टको संगीतको लामो व्याख्या गर्दै उनले  मानिसको अभ्यन्तरमा सहसा उत्पन्न हुने साक्षात् भाव (immediacy) लाई व्याख्या गर्न कसरी सङ्गीत मात्र योग्य छ भनेर आफ्ना तर्कहरू प्रस्तुत गरेका छन्। यसमा दुईमत छैन कि संगीत बाहेक कलाका अन्य विधाले हामीलाई सोही तीव्रताका साथ सङ्क्रमित पार्न सक्दैन। यद्यपि यहाँ हामीले आख्यान र गैरआख्यानको तुलना गर्ने हो भने आख्यान सदैव सघन अनुभूतियुक्त हुन्छ। त्यसकारण कुनै पनि विचारको सत्यता उक्त विचारको सङ्क्रमण र सोही सङ्क्रमणको अनुभूतिमा निर्भर रहन्छ भनेर विश्वास गर्नेहरूले आख्यानलाई गैर–आख्यान भन्दा अधिक सत्य मान्नुपर्ने हुन्छ।

अधिकांशत गैर–आख्यानहरू आफ्नो विषयप्रति इमानदार नहुन सक्छन् र यसका प्रमाणहरू हाम्रो वरपर छरपष्ट छन्। गैर–आख्यानले कुनै पनि विषयलाई विविध कोणबाट व्याख्या गर्ने प्रक्रियामा मूल तत्त्व ओझेलमा पर्ने खतरा धेरै हुन्छ

मेरो यस विचारको ध्येय गैरआख्यानलाई कमजोर मान्नु होइन। मैले केवल आख्यान र गैरआख्यान मध्ये कुन माध्यमद्वारा चाहिं हामीमा गहनतापूर्वक ज्ञान प्रसारित हुन्छ या कुन चाहिं माध्यम अधिक ग्राह्य हुन्छ भनेर आफ्नो दृष्टिकोण प्रस्तुत गर्न खोजेको हो। विश्वमा गैरआख्यान हुनुको बावजुद तिनमा आख्यानका तत्त्वहरूको प्रचुरता भेटिएका किताबहरूले समाज परिवर्तन गरेका उदाहरण पनि प्रशस्त छन्। तर अपवादहरू वास्तविकताको वर्णन गर्न अक्षम हुने भएकाले यो विषयलाई म यत्तिकै छाडिदिन्छु।

यहाँ मैले आफ्नो विचार लेखिरहँदा पाठकहरूलाई एउटा स्वाभाविक प्रश्न उठ्न सक्छ – “आख्यानहरू अधिकांश त काल्पनिक हुने गर्छन्, यथार्थमा नरही कल्पनामा कोरिएको सिर्जनाले कसरी सत्य व्यक्त गर्न सक्छ त?”

यो प्रश्नलाई उत्तर दिनका लागि मैले निम्न साध्यबाट प्रारम्भ गर्नुपर्ने हुन्छ– यथार्थ र कल्पना पूर्णतया सत्य होइनन् तर सत्यका दुई भिन्न स्वरूप हुन्। सत्य हाम्रो कल्पना र यथार्थ दुवै स्वरुपमा प्रकट हुन्छ। कल्पना र यथार्थको बीचमा सधैं एउटा सम्बन्ध भइराख्छ। संसारका यथार्थलाई हामी कहिलेकाहीं काल्पनिक रूपले सत्यलाई इंगित गर्नका लागि प्रस्तुत गर्छौं। कहिलेकाहीं कल्पनाद्वारा हामी नयाँ यथार्थ दिने काम गर्छौं, जुन यथार्थले सत्यलाई नै इंगित गरिरहेको हुन्छ। तसर्थ, यथार्थ र कल्पनाको सम्बन्धले सधैं नै सत्य प्रदर्शन गरिरहेको हुन्छ।

प्रथमत: आख्यान कल्पना होइन। कल्पना आख्यानको एउटा साधन या माध्यम मात्र हो। सत्य आख्यानको साध्य हो, सत्यलाई साध्य बनाउन असफल आख्यानहरू कलाको अभ्यास मात्र हुन्, कला होइनन्। सर्जकले कुनै व्यक्तिको मनोभावना र आन्तरिक द्वन्द्वलाई सोही व्यक्तिसरह अनुभव गर्न सक्दैन, तसर्थ सो व्यक्तिको अनुभवलाई सर्जकले महसुस गरेर त्यसलाई अक्षरमा उतार्नका लागि विविध कल्पना प्रयोग गर्नुपर्ने हुन्छ। अनि दोस्रो कुरा, तथ्य–तथ्याङ्क–विचारमा मानवीय संवेदना र अनुभूतिको अभाव हुन्छ।

अहिलेको समयमा हरेक व्यक्ति सूचना, तथ्य र तथ्यांकको सुविधा उपभोग गरिरहेको छ। सबै मानिस अवगत छन्, देश–‍विदेशमा कुन कुन राजनीतिक घटनाक्रम भइरहेको छ, कति मानिसहरू/कुन कुन समूहका मानिसहरू कस्तो कस्तो समस्या भोग्न बाध्य छन्… आदित्यादि। तर के मानिसका समस्याहरू बुझिनको लागि यति सरल छन् र? के यिनै सूचना र तथ्याङ्कको आधारमा मानवीय अवस्थाको बारेमा हामी समग्रतामा बुझ्न सक्छौं र? कदापि सक्दैनौं – जति बृहत् बाह्य संसार छ, त्योभन्दा धेरै बृहत् मानिसको आन्तरिक संसार छ। तथ्यांकले मानिसलाई केही वाक्यहरूभित्र कैद गर्न सक्छ, तर वास्तविकता भने यी वाक्य सङ्गठनहरूको साँघुरो पर्खाललाई भत्काएर फैलिरहेका हुन्छन्। मानिसको आन्तरिक संसारलाई कसैले जीवनभर व्याख्या गर्ने प्रयत्न गरेतापनि ऊ पूर्णतया विफल हुन्छ। आख्यान यस अर्थमा विशिष्ट छ कि यसले सो विफलतालाई अत्यधिक मात्रामा घटाउन सक्छ। तसर्थ आख्यान लेख्नु अत्यन्त साहस र जिम्मेवारीयुक्त कार्य गर्नु पनि हो। आख्यानले सत्यताको सबैभन्दा महत्वपूर्ण भिन्नतालाई सर्वजनमा प्रकाश पार्ने कार्य गर्छ।

आफ्नो विचारलाई प्रस्ट्याउनको लागि सानो उदाहरण प्रस्तुत गरें: नेपालमा जातीय विभेदको अन्त्य विषयक कति आलेख, कति विचार विवेचना प्रकाशित भएका छन् होला ? हाम्रो प्रमुख सामाजिक समस्याबारे बोल्ने राजनीतिक दल, विचार मञ्च र विविध संस्थाहरूले  विचार पक्षमा कति कार्यहरू सञ्चालन गरेका छन् होला? र यिनको प्रभाव अवधि कतिञ्जेल रह्यो होला? केही महिना, वर्ष ? यद्यपि आजसम्म पनि यी सबै गैरआख्यान, वैचारिक मन्थन, कोठामा बसेर गरिएका मेन्टल मास्टरवेशन् भन्दा लक्ष्मीप्रसाद देवकोटाको  मुनामदनको एउटा पद्यांश “क्षेत्रीको छोरा यो पाउ छुन्छ घिनले छुँदैन/मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन”ले मानिसहरूलाई अत्यधिक प्रभाव पारेको देखिन्छ। अझ त्यसमाथि विचार विवेचना केही निश्चित प्राविधिक शब्दको भण्डारण भएको यान्त्रिक मस्तिष्कहरूको समूहमा मात्र सीमित हुन्छ तर देवकोटाको मुनामदन बालबालिकादेखि वृद्ध मानिसहरू सबैलाई प्रभाव पार्न सक्छ। एक वाक्यमा भन्नुपर्दा– गैरआख्यान सीमितको मात्र हुन्छ, असल आख्यान सबैको हुन्छ।

यसपश्चात् कुरा गरौं– यथार्थ, कल्पना र सत्यको। मुना, मदन, भोटे, आमा काल्पनिक पात्रहरू हुन् तर मदनको विवशता, मुनाको विलाप, आमाको आँशु र जातप्रथाको प्रसङ्गहरू हाम्रो समाजका सत्य हुन् जो काल्पनिक पात्रहरूद्वारा अभिव्यक्त भएका छन्। यदि यसलाई यथार्थको धरातलमा मात्र उभिएर लेखेको भए, देवकोटाको भावना र कल्पनाको सम्मिश्रण नभएको भए मुनामदन यतिको प्रभावशाली नहुने थियो।

अधिकांशत गैर–आख्यानहरू आफ्नो विषयप्रति इमानदार नहुन सक्छन् र यसका प्रमाणहरू हाम्रो वरपर छरपष्ट छन्। गैर–आख्यानले कुनै पनि विषयलाई विविध कोणबाट व्याख्या गर्ने प्रक्रियामा मूल तत्त्व ओझेलमा पर्ने खतरा धेरै हुन्छ। तर्क अत्यन्त खतरनाक साधन हो। तर्कसँग सत्यलाई मानिसको आँखाबाट लुकाउने क्षमता हुन्छ। यद्यपि यो तथ्यलाई भने स्वीकार गर्नै पर्छ कि जति धेरै विषयको व्याख्या जति धेरै कोणबाट हुन्छ त्यति अधिक नै उक्त विषय समृद्ध हुँदै जान्छ। यद्यपि यसको एउटा शर्त छ– यी व्याख्याहरूले विषयको मूल तत्त्वलाई  कमजोर तुल्याउनुहुँदैन, अधिक व्याख्याहरूको बीचमा विषयान्तर हुनुहुँदैन।

यस आयामलाई प्रष्ट पार्नको लागि म एउटा सजीव उदाहरण प्रस्तुत गर्दछु। पत्रमञ्जुषाले रसियन हाउसमा एउटा आख्यानको विमर्श कार्यक्रम आयोजना गरेको थियो। विमर्शको लागि फ्योदोर दोस्तिवस्कीद्वारा लिखित ह्वाइट नाइट्स (White Nights) आख्यान चयन गरिएको थियो। दोस्तोवस्कीलाई मिहिनतापूर्वक अध्ययन गर्ने पाठकहरूलाई अवश्य पनि ज्ञात छ कि यस आख्यानको केन्द्रीय विषयवस्तुको रूपमा मानिसको जीवनमा यदाकदा प्राप्त हुने “मोमेन्ट अफ् ब्लिस” रहेको छ। मैले यसलाई अझ विस्तारमा वर्णन गर्न चाहिन किनभने ह्वाइट नाइट्स पढ्ने अवसर नपाएका पाठकहरूको लागि यस्ता वर्णनहरू आख्यानको कौमार्य लुट्ने कार्य हुन जान्छ, जो साहित्यानुरागीहरूको पात्रताभित्र पर्दैन। तर सोही आयोजनामा अधिकांश आख्यानको विश्लेषण गर्ने प्रक्रियामा विभिन्न दृष्टिकोण प्रस्तुत गरेर भिन्न देखिने प्रयत्न गर्दा मूल तत्त्व भने नराम्रोसँग शेष रहिरह्यो। हरेक आलोचना, शल्यक्रिया, विचारका वैविध्य, विश्लेषण नितान्त गैर आख्यानिक प्रक्रिया हुन्।

अन्तिममा–  

मनुष्य जातिले प्रतिपादन गरेका यावत् विचार र सिद्धान्तहरू तार्किक रूपमा जति नै समृद्ध भएतापनि तार्किक क्षेत्रफलमा मात्र आबद्ध भए भने तिनीहरू विषालु र घातकसिद्ध हुन्छन्। कुनै पनि विचार त्यतिबेला मात्र व्यवहारमा प्रदर्शित हुन्छ जतिबेला त्यसले मानवीय संवेदनाबाट शक्ति प्राप्त गर्छ। विचार र मानव संवेदनाको उपयुक्त संयोजनबाट सत्य मूर्त बन्दछ। यदि विचार व्यावहारिक सत्य बन्न सकेन भने त्यसले मानव मस्तिष्कलाई सडाउँछ जसको दुर्गन्ध सहन गर्नु अतिशय भारयुक्त कार्य हो।

यदि आख्यानमा जस्तै विचार विश्लेषण सजीव भएर प्रस्तुत भएन भने त्यसको प्रयोजन के होला र ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?