
२७ वैशाख, जनकपुरधाम । सिरहाको गोलबजारमा रहेको बर्धमान अस्पतालमा शल्यक्रियाबाट शिशु जन्माएकी एक सुत्केरीको मृत्यु भएको छ । मिर्चैया नगरपालिका–११, सीतापुरकी ३० वर्षीया रामकाशी यादवको मृत्यु भएको हो ।
अस्पताल र चिकित्सकको लापरबाहीले मृत्यु भएको परिवारका सदस्यले दाबी गरेका छन् ।
शुक्रबार बिहान व्यथा लागेपछि रामकाशीलाई मिर्चैया–६ स्थित सरकारी अस्पताल लगिएको थियो । तर अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. सारिका गोइतले नसा विशेषज्ञ नभएको भन्दै उनलाई सिधै निजी बर्धमान अस्पतालमा रेफर गरेकी थिइन् ।
बर्धमान अस्पतालमा सञ्चालक तथा शल्यचिकित्सक डा. तेजशंकर यादवले शल्यक्रिया गरेका थिए । रामकाशीले छोरालाई जन्म दिइन् ।
तर शल्यक्रियामा भएको लापरबाहीले अत्यधिक रक्तस्राव भएर अवस्था सिकिस्त भएको र पटक–पटक सुविधासम्पन्न अस्पतालमा रिफर गरिदिन आग्रह गरेपनि समयमा नगर्दा छोरीको मृत्यु भएको बुबा बुवा महेश्वर यादवको आरोप छ ।
उनका अनुसार अस्पतालले यहाँ ठीक हुने आश्वासन दिँदै आज बिहान ३ बजे मात्र उनलाई विराटनगरस्थित न्युरो अस्पताल रिफर गरिएको थियो ।
तर बिहान ५ बजे त्यहाँ पुग्दा उनको निधन बाटोमै भइसकेको चिकित्सकले घोषणा गरेका थिए ।
‘शल्यक्रियामा लापरबाहीको कारण रक्तस्राव भयो । अवस्था जटिल भएपछि रिफर गरिदिन पटकपटक भन्यौं । तर यहीँ ठिक हुने भन्दै रेफरमा ढिलाई गर्दा अस्पताल र चिकित्सक दुवैको कारण मेरो छोरीको अकालमा ज्यान गुमेको छ । हामीलाई न्याय चाहियो,’ बुवा महेश्वरले अनलाइनखबरसँग भने ।
घटनापछि आक्रोशित स्थानीयवासी र परिवारले शवसहित पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरका थिए । त्यसपछि इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक गोविन्दकुमार साहको टोलीले डा. तेजशंकर यादवलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी बिरेन्द्र कुमार पासवानले घटनाबारे अनुसन्धान सुरु भइसकेको जानकारी दिए ।
शवलाई पोस्टमार्टमका लागि धरान पठाइएको छ ।
आफन्तहरूले घटनाको निष्पक्ष अनुसन्धान र लापरबाही गर्ने अस्पताल र चिकित्सक माथि कारबाहीको माग गरेको छ ।
डा. तेजशंकर यादव यसअघि पनि विवादमा मुछिँदै आएका छन् । यादब प्रादेशिक अस्पतालमा कार्यरत हुँदा केही महिना अघि महोत्तरीकी रिंकु कुमारी सिंहको पेटमै गज छोडिएको आरोपमा नेपाल मेडिकल काउन्सिलमा मुद्दा चलिरहेको छ ।
औरही–४ की राधा दासको नवजात शिशुको मृत्यु प्रकरणमा पनि उनीमाथि संलग्नताको आरोप लागेको थियो ।
प्रतिक्रिया 4