
गत चैत २३–२५ सम्म रामेछापका कठजोर, भँगेरी, मन्थली र सिर्जनानगरमा राणा प्रधानमन्त्री चन्द्रशमशेरको आततायी शासनद्वारा दमित स्रष्टा कृष्णलाल अधिकारी, अर्का राणा प्रधानमन्त्री जुद्धशमशेरद्वारा हत्या गरिएका सहिद गङ्गालाल र निजका भाइ एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संस्थापक एवम् नेपालमा मार्क्सवादी साहित्य र विचारका जनक पुष्पलालसमेत सम्बद्ध विविध कार्यक्रममा सहभागी हुन पुष्पलाल जन्मशताब्दी–कृष्णलाल बलिदान शताब्दी समारोह समिति तथा हितप्रसाद उपाध्याय जूनमाया सुवेदी साहित्य प्रतिष्ठानको निमन्त्रणामा रामेछाप पुगियो ।
३६ औँ जनआन्दोलन दिवसका अवसरमा आयोजित उक्त कार्यक्रमअन्तर्गत उक्त ऐतिहासिक पुरुषहरूको पवित्र जन्मस्थलको स्थलगत अवलोकन भ्रमणका अतिरिक्त देहायका कार्यक्रमहरूसमेत निर्दिष्ट थिए :
१) कृष्णलाललाई नेपालका प्रथम साहित्यिक सहिद र पुष्पलाल मार्क्सवादी विश्वविद्यालय घोषणा ।
२) कृष्णलाल–पुष्पलाल–गङ्गालाल (तीन लाल) को जन्मजिल्ला रामेछापको मन्थली २ स्थित कृष्णलाल जन्मस्थल कठजोर, गङ्गालाल–पुष्पलालको जन्मस्थल रामेछाप भँगेरी र हित–जून युद्ध–कला सङ्ग्रहालय सिर्जनानगरको भ्रमण ।
३) कम्युनिस्ट पार्टी नेतृत्व/बौद्धिक वर्गको सहभागितामा तीन लालको योगदानसम्बन्धी विचारगोष्ठी ।
४) अग्रज कम्युनिस्ट योद्धा/नेताको अभिनन्दन ।
५) कृष्णलाल–गङ्गालाल–पुष्पलालको जीवनी, व्यक्तित्व र योगदान समेटिएको विशेष पुस्तक प्रकाशन ।
माथि पनि उल्लेख गरिएझैँ गत चैत २३ गते हामी काठमाडौँको कोटेश्वरबाट हाम्रा लागि तयार पारिएको ‘हिमाली सौगात’ को बस चढेर मन्थली प्रस्थान भयौँ । एकपछि अर्का पाहुनाहरू एकत्रित हुँदै गए ।
सुरुमा केही अपरिचित मित्रहरू टाप्लाकटुप्लुक झुल्किन थाले भने क्रमशः चिरपरिचित कमरेडहरू समेत देखापर्न थाले । एकाध कमरेडहरू सपत्नी पनि थिए । मन्थली सिर्जनानगरबाट आयोजक अशोक सुवेदीले काठमाडौँका सहजकर्ता पुराना वामपन्थी कमरेड लोककृष्ण भट्टराई रहेको र हाम्रा लागि कोटेश्वरको समय बिहान १० बजे दिइएको भए तापनि १०ः३० बजेसम्म पनि निजको अत्तोपत्तो थिएन । मुस्किलले कार्यक्रमका सम्मानित व्यक्तित्व पुराना कमरेड मोहनचन्द्र अधिकारी भने सपत्नी समयमै आइपुगे । तत्पश्चात् एमालेका उपाध्यक्ष युवराज ज्ञवालीको आगमन भयो । सुरुमा त कमल सुवेदी एक्ला थिए त्यहाँ, त्यसपछि म पुगेथेँ । कमल सुवेदी हाम्रा गुरु राजेन्द्र सुवेदीका पुत्र हुन् । राजेन्द्र गतवर्ष नै कोरोनाको घातक आक्रमणबाट प्राणान्त भइसकेका ठूला साहित्यिक हस्ती थिए ।
त्यसपछि नेकपाका अर्का नेता लोकनारायण सुवेदी पनि सपत्नी आइपुगे । धेरै भएको रहेछ सुवेदीसँग भेट नभएको । इलामका यिनलाई म २०४५/२०४६ सालदेखि नै राम्रोसँग जान्दछु, सत्संग पनि तारन्तार चल्दै आयो । उनकी पत्नी सीता पनि त्रिविकी कर्मचारी भएको हुँदा नचिन्ने कुरै भएन । अब भने क्रमशः एकपछि अर्का पाहुनाहरू आउँदै गए । सङ्गमस्थल नजिकै रहेको मेरा लन्डनबासी मित्र कृष्ण थापाकहाँ छिरेर बिहानी खानाको लघु बन्दोबस्त पनि गरिहालेँ । भतिज ज्योतिकिरण पनि उपस्थित भए । कतिपय मित्रहरू अपरिचित पनि थिए । अन्ततः काठमाडौँ सहजकर्ता भट्टराई पनि सपत्नी आइपुगे ।
रमाइलो लाग्दैछ किनभने कोरोना सङ्क्रमण (कोभिड १९) पछि लामो अन्तरालमा आजै सार्वजनिक बस चढ्दैछु । एकपछि अर्का पाहुनाहरू आउँदै गए । अशोकले कार्यक्रममा हिरण्यलाल श्रेष्ठ पनि सहभागी हुने भनेका थिए तर बुढ्यौली र अस्वस्थताका कारण उनको आगमन अन्तिममा आएर सम्भव भएन । तथापि ३२ सिटे बस पूरै भरिएर चालकआसपासका छेउकुनाहरू पनि टनाटन भए । अब हाम्रो बूढो रिजर्भ बस मन्थली प्रस्थान भयो । हामी सबै उमङ्गित र उत्सुकतापूर्ण मनस्थितिमा भयौँ ।
आहा कठजोर !
हाहु र गल्झ्याङगुल्जुङ गर्दै ज्यादै रमाइलोसँग हामीहरू आफ्नो यात्रा क्रममा हेलियौँ । गतवर्षको भयङ्कर बाढीले विनष्ट भइसकेको बीपी राजमार्ग र साँगा–धुलिखेलसम्मको निर्माणाधीन धुलाम्मे सडक छिचोल्न पनि सहज थिएन । त्यति ठूलो गर्मी नभएकाले असिनपसिनको पीडा भने उस्तो थिएन । गानबजान र रामरौसको वातावरण नभएको हुँदा सङ्गीत र धूनको सुमधुरताबाट भने यात्रु वञ्चित नै थिए । जेहोस्, पाँच घन्टाको उबडखाबड एवम् बाङ्गोटिङ्गो सडक पार गर्दै बेलैमा हामीहरू मन्थली पुग्यौँ । यहाँ हामीहरू मूल आयोजक पक्षसँग एकाकार हुनेछौँ ।
आयोजकहरूको तर्जुमाअनुसार आजको हाम्रो औपचारिक कार्यक्रमको अन्तिम गन्तव्य कठजोर हुनेछ । ‘कठजोर’ आफैँमा अनौठो शब्द लाग्छ हामीलाई । यो शब्द प्रायः विमातृभाषाको लाग्छ । सायद कुनै स्थानीय भाषाको शब्द हो कि यो । यतातर्फ भने म लागिरहेको छैन । कारण के भने वास्तवमा त्योभन्दा गहु्रुँुगो पाटो पनि छ कठजोरको जसका लागि टाढा– काठमाडौँबाट नै हामी पनि यहाँसम्म आइपुगेका छौँ । वास्तवमा आफ्नै बलबुतामा यस कार्यक्रमको प्रायोजन र आयोजना गर्ने समाजवादी कम्युनिस्ट पार्टी नेपालका युवा नेता एवम् साहित्यकार अशोक सुवेदी धन्य छन् । अशोक नै यस कार्यक्रमका हर्ताकर्ता र नेतृत्व हुन् । अब उनी मन्थलीको ठोस कार्यक्रमसँग जोड्दैछन् हामीलाई र त्यो थियो– प्रथम कार्यक्रमका रूपमा कठजोर पुग्ने अनि त्यहाँस्थित सुब्बा कृष्णलालको सालिकमा उभिएर निजप्रति सम्मान एवम् श्रद्धाञ्जली चढाउँदै सामूहिक रूपमा प्रथम साहित्यिक सहिद घोषणा गर्ने र बासका लागि सिर्जनानगरस्थित हित–जून सङ्ग्रहालय भवन फर्कने ।
कृष्णलाल अधिकारी चन्द्रशमशेरकालीन सुब्बा तहका कर्मचारी थिए । जागिरे जीवनमै उनले ‘मकैको खेती’ नामक एउटा पुस्तक प्रकाशमा ल्याए । उक्त पुस्तकको भूमिकामा परेको ‘राता टाउके घुन’ र ‘काला टाउके घुन’, त्यसैगरी ‘बेलायती कुकुर’ र ‘भोटे कुकुर’ शब्दावलीको लाक्षणिक अर्थ निकालियो । चन्द्रशमशेर प्रधानमन्त्री र बेलायती मालिकमाथि व्यङ्ग्य ठहर गर्दै अधिकारीमाथि राजद्रोहको आरोप ठोसेर ९ वर्षको कठोर काराबास पठाइयो । बन्दी अवस्थामै अधिकारी प्राणान्त भए । उनको गिरफ्तारी विसं १९७७ साउन १७ गते भएको थियो । उनीसँगै शम्भुप्रसाद ढुङ्ग्याल, सोमनाथ सिग्देल, दुर्गानाथ अधिकारी, ऋषिभक्त पौडेल, चूडामणि, उपेन्द्रबहादुर, कृष्णचन्द्र अर्याल आदि पनि पक्राउ परेका थिए । १०४ वर्षपछि पनि रामेछापका सिर्जनशील एवम् जागरुक युवा अशोक सुवेदी आज आफ्नो सर्वस्व होमेर यिनै कृष्णलालको उत्खनन गर्दैछन् भने निश्चय नै यसलाई स्तुत्य कार्य मान्नु पर्दछ ।
कठजोरको उक्त कार्यक्रममा अधिकारीको स्मरण गर्ने क्रममा एक युवा भन्दै थिए– म यसै कठजोर र कृष्णलालकै वंशको हुँ तर उनीबारे घटित इतिहासको घटना र प्रसङ्ग मैले काठमाडौँ पुगेर मात्र सुन्न थालेँ । यस एउटै दृष्टान्तले अधिकारी कति विस्मृत भइसके र यस प्रसङ्गको उजागर कति औचित्यपूर्ण थियो ! स्वतःसिद्ध छ । त्यसैले अशोकको यस कार्यको सराहना र उनको साथ–सहयोगका लागि हामी काठमाडौँबाट त्यहाँसम्म पुगेका हौँ । उनको विगत लामो समयदेखिकै सत्प्रयास के रहँदै आयो भने रामेछापमा जन्म लिएका तीन लालहरू– कृष्णलाल, गङ्गालाल र पुष्पलालका कर्महरूलाई हामीले अजरअमर राख्नका लागि सदैव दत्तचित्त एवम् तत्पर रहनु पर्दछ । अघि नै उल्लेख गरियो– यो कार्यक्रम सोही प्रयोजनार्थ थियो भने त्यस क्रमको पहिलो कार्यक्रम यही कठजोर भ्रमण थियो । साथै अशोकलाई यस सन्दर्भमा भन्नु के थियो भने हाम्रो पुस्ताले कृष्णलाललाई स्मरण मात्र गर्ने होइन, सँगसँगै उनलाई नेपाली साहित्यकै प्रथम सहिद घोषणा गर्नतर्फ सरकारलाई झकझक्याउन समेत प्रयास गर्नुपर्ने हुन्छ ।
चैत २३ गतेको पहिलो दिनको कार्यक्रम सम्पन्न गरिसकेपछि हाम्रो बस आफ्ना लागि निर्दिष्ट हित–जुन ऐतिहासिक सङ्ग्रहालय भवन अर्थात् अशोक सुवेदीको विशाल एवम् भव्य निवास आइपुग्यो । निकै रात भइसकेको छ । अब हामी सादगीपूर्ण रात्रीकालीन भोजनपछि शयनका लागि तयार पारिएका आआफ्ना कक्षतर्फ प्रस्थान हुन्छौँ । ४५ भन्दा बढी पाहुनाका लागि यस किसिमको व्यवस्था छ । उक्त भव्य निवासको एउटा सुन्दर कक्षमा म, सीपी मैनाली र युवराज ज्ञवालीका लागि एउटा कक्ष छुट्ट्याइएको छ । अब हामी भोलिको बाँकी दुई लाल (गङ्गालाल–पुष्पलाल) को जन्मस्थान भँगेरीतर्फ प्रस्थान गर्ने गरी मस्त निद्रातर्फ उन्मुख हुन्छौँ ।
अनि भँगेरी !
२४ गते बिहानी नास्ताका लागि हामी अभियात्रीलाई नेकपा (एमाले) जिल्ला समितिको निम्तो छ । सबै साथीहरू आफ्नो नित्यकर्मपछि चियामा जुटेका छन् । अब हामी उता जान तत्पर छौँ ।
सिर्जनानगरबाट विनिताचोक हुँदै मन्थली बजारतर्फ हामी कार्यक्रमका विभिन्न ब्यानर समातेर प्रभातफेरीमा सहभागी हुन्छौँ र दुई किलोमिटरको यात्रापछि चिया–नास्तास्थलमा पुग्छौँ । चिया–नास्तापछि हाम्रो बस मन्थलीबाट रनजोर खोलाको पुल तरेर ठाडै उकालो भँगेरीतर्फ लम्कन्छ । झन्डै १५ किलोमिटरको ठाडो उकालो भए तापनि ५–७ वर्षअघिको भन्दा अहिलेको स्थिति आधारभूत रूपमा नै पृथक् भइसकेको रहेछ, त्यस बेला सडक कच्ची नै थियो भने हाल पूर्णतः पिच भइसकेको रहेछ । त्यतिबेला पनि हामी हित–जून साहित्य प्रतिष्ठानकै निमन्त्रणामा सिर्जनानगर–भँगेरी सिर्जनायात्रामा यसैगरी निम्तालु भएर आएका थियौँ ।
सरर्र उक्लियो हाम्रो ‘हिमाली सौगात’ । ज्यादै राम्रो चालक अनि सहायक पनि उस्तै शालीन । ३० मिनेटमै उक्लेर टक्क अडियो हाम्रो बस पुष्पलाल–गङ्गालाल जन्मिएको आवास परिसरमा । तिनताका गङ्गा–पुष्पका पिताश्री भक्तलाल मालअड्डामा खरिदारको जागिरे हुँदा त्यहीँ एउटा गोठमा दुवैको जन्म भएको थियो । त्यसै ऐतिहासिक दिनलाई अविस्मरणीय तुल्याउने हिसाबले अशोक कृष्णलाल अधिकारीको बलिदान शताब्दी र पुष्पलालको जन्मशताब्दी धुमधामसँग मनाउँदै यी स्थानहरूको महत्तालाई अविस्मरणीय बनाउँदै पुष्पलालले परिकल्पना गरेको नेपालको मार्क्सवादी परिवर्तनलाई बौद्धिक र सैद्धान्तिक पूठ दिने हिसाबले भँगेरीमा नै पुष्पलाल मार्क्सवादी विश्वविद्यालय नै स्थापित गर्ने उद्घोषका लागि यो कार्यक्रम आयोजना गरिरहेका छन् ।
तदनुरूप यिनै अशोकले आफ्ना बाबा–आमा हित–जूनको स्मृति र सम्मानमा स्थापित हितप्रसाद उपाध्याय जूनमाया सुवेदी साहित्य प्रतिष्ठानले निर्माण गरेको गङ्गालाल–पुष्पलालको संयुक्त सालिकको अघिल्तिर खडा भई मोहनचन्द्र अधिकारी, सीपी मैनाली, युवराज ज्ञवाली, नारायण शर्मा, लोककृष्ण भट्टराई, लोकनारायण सुवेदीलगायत ११ कम्युनिस्ट र वाम समूहका उपस्थित नेताहरूले अशोक सुवेदीको भूमिकामा आआफ्नो भावना र मन्तव्य व्यक्त गरिसकेपछि संयुक्त रूपमा दुई लालको सालिक र ताम्रशिलापत्र अनावरण गरी पुष्पलाल मार्क्सवादी विश्वविद्यालयको उद्घोष गरेपछि त्यहाँको सङ्क्षिप्त कार्यक्रम पनि समाप्त भयो । वास्तवमा निकै नै उजाड भँगेरीको दीनहीनताले हाम्रो मानसपटललाई नराम्रोसँग त चिमोट्यो नै, तैपनि त्यस्ता महान् हस्तीहरूको जन्मस्थल स्पर्श गर्न पाएको सुखद क्षणबाट निश्चय नै हामी सबै उमङ्गित पनि थियौँ । त्यसबाहेक अशोकको २० वर्षको निरन्तर प्रयाससमेतको फलस्वरूप सरकार स्वयम्ले ५ करोड खर्चेर ५२ रोपनीको उक्त परिसरलाई नेपाल सरकारका तर्फबाट उक्त कार्यहेतु उपलब्ध गराएको प्रयासलाई मनमनै सबैले सराहनासमेत गर्यौँ । कदाचित अशोकले भनेजस्तो त्यहाँ मार्क्सवादी विश्वविद्यालयको स्थापना र सम्बद्ध गतिविधिहरू सुचारु हुन सकेको खण्डमा त्यो निश्चय नै एउटा कोसेढुङ्गा हुन जाने पनि त्यत्तिकै स्वप्नशील पक्ष हुन जानेछ ।
यसपछि भने हामी सोझै लन्चका लागि सङ्ग्रहालयतर्फ नै आर्लिंदैछौँ । तर थोरै खल्लो के भने ओर्लिनासाथको भँगेरी–बाबियाखर्कको पहिलो घुम्तीमै एउटा ट्याक्टर दुर्घटित हुन पुगी चालकको घाइते अवस्थाको छट्पटाहट देख्दा मन मर्माहत भयो । हत्तपत्त बसबाट ओर्ली उनको थोरै उद्धार सकेपछि पुनः हामी ओरालो लाग्यौँ । कार्यक्रमको दोस्रो दिन खानापछि हामीलाई पुष्पलाल र नेपालको वाम आन्दोलनबारे विचारविमर्शका लागि मन्थली नगरपालिकाको सभाकक्षमा आयोजित कार्यक्रममा जम्नु छ जहाँ आयोजक प्रमुख सुवेदी र विमलकुमार फुयालले पुष्पलालका विविध पाटापक्षमा आआफ्ना कार्यपत्रहरू प्रस्तुत तथा विचारविमर्श हुनेछन् । साथै सुवेदीको ‘नेपालको जनतान्त्रिक आन्दोलनमा कृष्णलाल गङ्गालाल र पुष्पलालका योगदानहरू’ नामक कार्यपत्रमाथि म आफैँले पनि टिप्पणी गर्नु पर्ने छ ।
समयमै सबै साथीहरू तदारुकतापूर्वक समुपस्थित भए । मोहनचन्द्र अधिकारी, ईश्वरी दाहाल, मोहनविक्रम सिंह, हिरण्यलाल श्रेष्ठ, नारायणमान बिजुक्छेँसहित आठजना पुराना कम्युनिस्ट–वामपन्थी नेता र सहिद परिवारका सरला रेग्मी, लक्ष्मी पौडेल र कमला बस्नेत अभिनन्दित भए । दुवै प्रस्तोताहरूका ओजिला कार्यपत्रहरू पाठ पनि गरिए । अर्का प्रस्तोता फुयालको ‘अध्ययन, अनुसन्धान र शिक्षासम्बन्धी पुष्पलालको चिन्तन र अभ्यास’ शीर्षकको प्रस्तुति पनि बेजोडको थियो जसमाथि टिप्पणी गरेका थिए पुष्पलाल समाजका सचिव मुकुन्द आचार्यले । त्यसपछि खुला छलफल र टीकाटिप्पणीको क्रम सुरु भएको थियो जहाँ एक से एक वक्ताहरूले जमेर आआफ्ना जोड–कोण व्यक्त गरेका थिए । ११ वाम घटकका क्रान्तिकारी योद्धाहरू जो भिड्दै थिए यसमा । जतिवटा पोया बाटे पनि गाँठो एउटै भनेझैँ जो–जतिले जे जो जोड–कोण व्यक्त गरे पनि सबैको चुरो एउटै थियो– हामीहरू बिग्रिएका छौँ, कम्युनिस्ट आन्दोलनमाथि घात भएको छ । देश र जनता ठगिएका छन्, क्रान्तिको प्रयोग व्यक्तिगत फाइदामा फसाइएको छ । क्रान्त आवश्यक छ ।
ठीक यस्तोमा अशोक सुवेदी त्यही जगमा भँगेरीको प्राङ्गणमा नेकपाका संस्थापक पुष्पलालका नाममा मार्क्सवादी विश्वविद्यालय खोल्छु, साथ चाहियो भन्दैछन् । दुई दर्जन बढी डिग्रीमुखी विश्वविद्यालयहरू मरणासन्न भइरहेको पृष्ठभूमिमा यस्तो सैद्धान्तिक दार्शनिक विश्वविद्यालय कत्तिको सम्भव होला ! निश्चय नै यो सगरमाथाभन्दा अग्लो विषय त्यत्तिकै अग्लो प्रश्न बनेको छ । त्यसैले अब त्यसतर्फ जानुभन्दा सोही सभाकक्षमा सम्पन्न नेपालका नेल्सन मन्डेला भनी ख्याती कमाएका मोहनचन्द्र अधिकारीलाई गरिएको सम्मान र अभिनन्दनलाई यहीँनेर जोडेर यी पङ्क्तिमाथि विराम दिँदैछु ।
कार्यक्रमको तेस्रो दिन चैत २५ गते बिहान आयोजकले सबै वाम घटकका नेता–कार्यकर्ताहरूलाई एक विपन्न किसानले खेतीकमाइ गरेको खेतमा मकै गोड्ने श्रममा सहभागी गराएर कम्युनिस्ट हुनुको परिचय दिने प्रयास गरे । यो मौलिक, सिर्जनात्मक अनि कृष्णलाल र पुष्पलालको विचारलाई व्यवहारमा रूपान्तरण गर्ने साङ्केतिक कार्य पनि सम्पन्न भयो ।
अन्त्यमा सङ्ग्रहालय परिसरमै रहेको हित–जून स्मृति भवनमा कविगोष्ठी लगायत सामाजिक–सांस्कृतिक कार्यक्रम सम्पन्न भए । ससाना नानीबाबुहरूले समेत अतिथि स्थापित कविहरूसँग कुम जुधाएर हिम्मतिला कविता वाचन गरेर पुरस्कृत भए । समाजमा असल ठहरिएका छोरा–बुहारी दोसल्ला, अभिनन्दनपत्र र नगदसहित सम्मानित भए । एउटै मञ्चबाट अग्रजदेखि कलिला नानीबाबुहरूसमेतलाई प्रतिभा प्रस्फुटन गर्न लगाएर सम्मानित एवम् प्रोत्साहित गर्ने र त्यज्य हुँदै गएका अग्रजहरूलाई सम्मान गर्न सिकाउने यो मौलिक तरिका अनुकरणीय थियो ।
यी सबै काम सरासर सकिएपछि दिनको एक बजे हामी उही प्रक्रियाबाट काठमाडौँ फर्कंदैछौँ । वास्तवमा यसअघिका भन्दा यो भ्रमण गुणात्मक ढङ्गले नै अविस्मरणीय बनेकोमा आयोजना, व्यवस्थापन र अवसरका लागि अशोक धन्य छन् ।
प्रतिक्रिया 4