
२७ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले विदेशमा रहेका नेपालीलाई आगामी निर्वाचनमा सहभागी हुन आह्वान गरेकी छिन् ।
शनिबार दोलखाको जिरीमा आयोजित संगठन सवलीकरण तथा जागरण अभियानलाई सम्बोधन गर्न पुगेकी सांसद गौतमले विदेशमा रहेका नेपालीलाई भोट हाल्न पाउने व्यवस्था गराउन सरकारले बेवास्ता गरेकोप्रति आपत्ति जनाइन् ।
‘यतिबेला सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीलाई पनि भोट हाल्न पाउने व्यवस्था गर भनेर राज्यलाई निर्देशन दिएको छ । तर, सरकारले सुने पनि नसुनेजस्तो गरेर बसेको छ,’ गौतमले भनिन् ।
विदेशमा बस्ने नेपालीलाई निर्वाचनमा भोट हाल्ने कानुन बनाउँदा रास्वपाको मत बढ्छ भन्ने डर वर्तमान गठबन्धनका दलहरूलाई रहेको सांसद गौतमको जिकिर छ ।
‘उहाँहरूलाई थाहा छ भोलि विदेशमा बस्ने नेपालीलाई निर्वाचनमा भोट हाल्ने कानुन बनाइयो भने त्यो भोट रास्वपालाई नै जाने हो भनेर, त्यही भएर यो बीचमा रोकिराख्नुभएको छ,’ उनले भनिन् ।
‘विदेशमा जानुभएका साथिहरूलाई पनि आह्वान गर्न चाहन्छु, अब नेपाल जाने अभियान चलाउनुस् । ०८४ मा,’ उनको अपिल छ, ‘जतिबेला निर्वाचन हुन्छ त्यतिबेला नेपाल आउने अभियान चलाउनुस् । तपाईं कुन ठाउँमा हुनुहुन्छ, एक ठाउँमा जुटेर आउनुस् ।’
०८४ मा रास्वपा कानुन निर्माणको ठाउँमा पुग्नका लागि मतदान आवश्यक भएको र त्यसपछि विदेशमै मतदानको व्यवस्था गर्ने कानुन बनाउन लाग्ने पनि उनको प्रतिबद्धता थियो ।
‘कानुन निर्माण गर्ने समय पनि आउँछ । तर, त्यो कानुन यसरी पनि निर्माण गर्न सकिन्छ भनेर रास्वपालाई पुर्याउनका लागि ०८४ मा जहाँ जहाँ हुनुहुन्छ, हरेक नेपालीले विदेश जाने अभियान स्वरुप नेपाल आउने अभियान गर्नुपर्छ,’ गौतमले भनिन् ।
फरक प्रसंगमा उनले पार्टी सभापति रवि लामिछानेलाई सरकारले प्रतिशोध साँधेर थुनामा राखेको जिकिर गरिन् ।
उनले यसअघि लामिछानेविरुद्ध प्रमाण छ भन्नेहरूलाई अहिले देखाउन पनि चुनौती दिइन् ।
‘हिजो प्रमाण छ भन्ने काकाहरू पनि त्यो अदालतको प्रक्रिया हो, आज कता गयो, त्यो त त्यही अनुसार जान्छ भन्नुहुन्छ । अदालतको प्रमाण पुर्याउनेले त अहिले पनि देखाइदिए भैहाल्यो नि,’ गौतमले भनेकी छिन्, ‘नेपाली जनताले नियालिरहेकै छ । हिजो एउटा व्यक्ति, पार्टी र उदाउँदै गरेको युवा पुस्तालाई रोक्न प्रतिशोध साँध्नुभएको हो ।’
उनले रास्वपामा भिजन, ज्ञान र हुटहुटी भएकाले शुभेच्छुकहरूलाई नआत्तिन पनि आग्रह गरेकी छिन् ।
‘आज पार्टी सवलीकरण हुँदै गर्दा, विस्तार हुँदै गर्दा नआत्तिनुस् । नडराउनुस् । खुलेर आउनुस् । रास्वपा पार्टीको रुपमा अघि बढेको छ । खोला कहिल्यै पछाडि फर्कंदैन । समय अघि नै बढ्ने हो,’ गौतमले सम्बोधनको क्रममा भनेकी छिन्, ‘यो पुस्तालाई हाँक्ने भनेको रास्वपा नै हो । रास्वपासँग भिजन, ज्ञान र हुटहुटी र इमानदारीता पनि छ । सबै मिलेर यो पार्टीलाई विस्तारित गर्यौं भने देशले मुहार फेर्नेछ ।’
प्रतिक्रिया 4