+
+
Shares

युद्ध सुरु भएयता पश्चिम एसियाबाट फर्किए ३० हजार नेपाली

परराष्ट्र मन्त्रालयका सहसचिव रामजी खड्काले हालसम्म ३० हजार नेपाली स्वदेश फर्किएको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ११ गते १७:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इजरायल-अमेरिका र इरानबीच युद्ध सुरु भएयता पश्चिम एसियाबाट ३० हजार नेपाली स्वदेश फर्किएका छन्।
  • परराष्ट्र मन्त्रालयका सहसचिव रामजी खड्काले कतारबाट मात्रै २१/२२ हजार नेपाली फर्किएको बताए।
  • सरकारले युद्धबाट प्रभावित नेपालीको लागि अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ, जसमा हालसम्म ८७ हजार ८ सय १९ जनाले नाम दर्ता गराएका छन्।

११ वैशाख, काठमाडौं । इजरायल-अमेरिका र इरानबीच युद्ध सुरु भएयता पश्चिम एसियाबाट ३० हजार नेपाली फर्किएका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार पश्चिम एसियाका विभिन्न देश तथा खाडी मुलुकबाट उनीहरू नेपाल फर्किएका हुन् ।

परराष्ट्र मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव रामजी खड्काले हालसम्म ३० हजार नेपाली स्वदेश फर्किएको बताए । ती सबै जना युद्धबाट प्रभावित भएर स्वदेश फर्किएका भन्न नसकिने उनको भनाइ छ ।

‘नाम टिपाउने, नटिपाउने सबै गरेर अहिलेसम्म ३० हजारजति फर्किए भन्ने हाम्रो अनुमान हो, कतारबाट मात्रै २१/२२ हजार फर्किएका छन्, यो फेरि लामो समय यतै बस्नका लागि फर्किएका हुन् भन्न पनि सकिने अवस्था छैन,’ सहसचिव खड्काले भने, ‘परिस्थितिका कारण मात्रै फर्किएका हुन सक्छन् अथवा बिदामा आएका पनि हुन सक्छन् ।’

युद्धपछि सरकारले युद्धबाट प्रभावित भएका, तत्काल उद्धार गर्नुपर्ने रहेका लगायतका लागि अनलाइन पोर्टल सञ्चालनमा ल्याएको थियो । उक्त अनलाइन पोर्टलमा हालसम्म ८७ हजार ८ सय १९ जनाले अनलाइन मार्फत नाम दर्ता गराएका छन् ।

सुरुवाती चरणमा ७ हजारभन्दा बढीले तत्काल उद्धार गर्नुपर्ने भन्दै अनलाइनमा नाम दर्ता गराएका थिए । तर, पछि अवस्था सहज भएसँगै तत्काल उद्धार गर्नुपर्ने भन्दै नाम दर्ता गराउनेहरूको संख्यामा कमी आएको खड्काले बताए ।

युद्धपछि इरानले खाडी देशहरूमा रहेका अमेरिकी सैन्य बेसक्याम्पमा क्षेप्यास्त्र तथा ड्रोन हमला गर्दै आएको थियो । जसले गर्दा ती देशमा रहेका १७ लाखभन्दा बढी नेपालीको सुरक्षा अवस्था मध्यनजर गर्दै सरकारले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको थियो ।

युद्धपछि साउदी अरब, यूएई, कतार लगायत देशका कतिपय क्षेत्रमा नेपाली श्रमिक समस्यामा परेका थिए । कतिपय कम्पनीले श्रमिकलाई बिदा दिएको थियो ।

परराष्ट्र मन्त्रालयको मूल्यांकन अनुसार हाल होटल, रेस्टुरेन्ट तथा सेवा क्षेत्रमा प्रभाव परेको देखिन्छ । युद्धपछि पर्यटक आवागमन रोकिएपछि होटल, रेस्टुरेन्ट प्रभावित भएका थिए ।

ती क्षेत्रमा कार्यरत नेपालीले आफूहरू समस्यामा परेको वा काम नपाएको भनेर हालसम्म कुनै प्रकारको गुनानो नगरेको सहसचिव खड्काले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?