News Summary
Generated by OK AI. Editorially reviewed.- इरानबाट इजरायलमा भइरहेको क्षेप्यास्त्र आक्रमणले त्यहाँका नेपालीहरूमा सुरक्षा चिन्ता बढाएको छ।
- तेल अविव, अराद र दिमोनामा मिसाइल आक्रमण तीव्र हुँदै गएका छन् र केही व्यक्तिहरू घाइते भएका छन्।
- एनआरएनए इजरायलले नेपालीहरूलाई उच्च सुरक्षा सतर्कता अपनाउन र समस्यामा परे सम्पर्क गर्न अनुरोध गरेको छ।
८ चैत, काठमाडौं । इजरायलमा पछिल्ला दिनहरूमा इरानबाट भइरहेको क्षेप्यास्त्र तथा ब्यालेस्टिक मिसाइल आक्रमणका कारण अवस्था गम्भीर बन्दै गएको त्यहाँ रहेका नेपालीहरूले बताएका छन् ।
विशेषगरी हिजोदेखि आक्रमणको तीव्रता बढ्दै गएको र सर्वसाधारणमा त्रासको अवस्था देखिएको छ । त्यहाँ रहेका नेपालीहरू हालसम्मको अवस्थामा सुरक्षित रहेपनि बढ्दो आक्रमणबाट त्रसित देखिएका छन् । उनीहरूमा सुरक्षा चिन्ता बढ्दै गएको हो ।
एनआरएनए आईसीसी सदस्य अलि महम्मद मियाँका अनुसार विगतको तुलनामा हिजोबाट बढी मात्रामा क्षेप्यास्त्र आक्रमण भइरहेका छन् ।
दक्षिणी शहर अराद, उत्तरी क्षेत्र दिमोना तथा राजधानी क्षेत्र तेल अविवमा लगातार मिसाइल आक्रमण भएका छन् । इजरायलको मिसाइल प्रतिरक्षा प्रणाली पहिलेको तुलनामा कमजोर देखिएको छ ।
आज बिहान मात्रै तेल अविव क्षेत्रमा पटक–पटक आक्रमण भएको थियो । विशेषगरी रामत गान र पेटाह टिक्वा लगायतका स्थानमा मिसाइल खसेका छन्, जसबाट कम्तीमा केही व्यक्ति घाइते भएका छन् ।
लगातार क्षेप्यास्त्र आइरहेपनि हालसम्म नेपालीहरू प्रत्यक्ष रूपमा प्रभावित भएको जानकारी नआएको मिँयाको भनाइ छ । तर अवस्था दिनप्रतिदिन जोखिमपूर्ण बन्दै गएको बताए ।
इजरायलमा अधिकांश घर तथा कार्यस्थलमा बंकर (सेल्टर) व्यवस्था भए पनि सबै नेपालीले समान रूपमा त्यसको उपयोग गर्न नपाएको गुनासो छ । विशेषगरी वृद्ध तथा अशक्त व्यक्तिको हेरचाह गर्ने काममा रहेका नेपालीहरूलाई साइरन बजेपछि तत्काल सेल्टरमा जान कठिन हुने गरेको बताइएको छ । रोजगारदातालाई छाडेर आफैं सुरक्षित हुन जान पनि सम्भव हुँदैन । त्यस्तो अवस्थामा नेपाली नेपाली केयरगिभरहरू जोखिममा पर्ने देखिन्छ ।
इजरायलमा साइरन बज्नु अघि करिब १० मिनेटअघि चेतावनी सन्देश आउने र त्यसपछि एक मिनेटभित्र नजिकको बंकरमा पुग्नुपर्ने व्यवस्था रहेको छ । तर व्यवहारमा सबैका लागि यो सहज नहुने उनीहरूको अनुभव छ ।
लगातार बढ्दो आक्रमणका कारण सर्वसाधारण तथा नेपालीहरूमा त्रास फैलिएको छ र यदि युद्ध लामो समयसम्म लम्बियो भने स्थिति झन् जटिल बन्नेछ ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) इजरायलले त्यस्तो समस्यामा परेका नेपालीहरूलाई सम्पर्कमा आउन अनुरोध गरेको छ । इजरायल–इरान युद्ध अत्यन्तै विषम अवस्थामा पुगेको भन्दै इजरायलमा रहेका नेपालीहरूलाई उच्च सुरक्षा सतर्कता अपनाउन अनुरोध गरेको हो । कुनै समस्यामा परेको खण्डमा एनआरएनलाई जानकारी गराउन अनुरोध गरिएको छ ।
प्रतिक्रिया 4